संक्रमित १२ जनासँगै अन्य चारलाई पनि सँगै विराटनगर ल्याइयो, चिकित्सक भन्छन्, ‘गम्भीर लापर्वाही’

विराटनगर – प्रदेश एकको उदयपुर जिल्लाबाट विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा ल्याइएका कोरोनाभाइरस कोभिड १९ संक्रमित १२ जनाको अवस्था सामान्य रहेको छ।

कोशी अस्पताल विराटनगर अन्र्तगत रहेको उपचार केन्द्रमा राखिएका सबै संक्रमितमा हालसम्म कोभिड १९ को कुनै लक्षण नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

अस्पतालकी निमित्त मेसु डा. संगीता मिश्राले भर्ना गरिएका १२ जनालाई उपचारमा राखिएको र हालसम्म उनीहरुमा अत्याधिक ज्वरो, रुघाखोकी, नदेखिएको जानकारी दिइन्। त्यसैगरि, केन्द्रमा कार्यरत चिकित्सकहरुले भने उदयपुरबाट संक्रमित १२ जनासँगै अन्य ४ जनालाई समेत पठाइएको जनाएका छन्। ती ४ जनाको नतिजा भने नेगेटिभ रहेको छ।

चिकित्सकहरुका अनुसार १२ जनामा पोजेटिभ देखिनासाथ रातारात गरेर ल्याउनुपर्ने अवस्था नभएपनि दबाबका रुपमा काम गराउने प्रवृत्ति देखिएको छ।

सरकारले शुक्रबार बेलुका पोजेटिभ निक्र्यौल गर्नासाथ पूर्वतयारी बिना संक्रमतिलाई विराटनगर पठाएकोमा उनीहरुको आपत्ति छ । बिना लक्षण संक्रमित ल्याउने हुदाँ भोलि यस अस्पतालले कति बिरामी थेग्ला भन्ने विषयमा तयारी हुन नसकेको उनीहरुको भनाइ छ। हाल सो केन्द्र पोजेटिभसहित लक्षण देखिएका बिरामी राख्न १० वटा आइसियूसहितको ४० वटा आइसोलेसन शैया तयार अवस्थामा रहेको छ।

त्यसैगरि, प्रदेश एक सामाजिक विकास मन्त्रालयले समेत सो सन्र्दभमा समन्वय हुन नसकेको जनाएको छ। उदयपुर जिल्लाले प्रदेश सरकारसँग समन्वय नगरि संक्रमित र सामान्य दुवैलाई रातीनै विराटनगर पठाएको मन्त्रालयले उल्लेख गरेको छ।

पोजेटिभ बिरामी राख्नका लागि केन्द्र निर्माण गरिएको बताएका प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने, ‘पोजेटिभ बिरामी लिने हो। तर हिजो पोजेटिभसँगै ४ जना नेगेटिभ भएकालाई समेत सँगै पठाएको अवस्था छ। यस्तो अवस्थामा जिल्लाले समेत सबैलाई पन्छाउने हेतुले काम गरेको देखिएको छ।’

केन्द्रमा पोजेटिभ बिरामी मात्र राख्न मिल्ने कुरामा त्यहाँका जिल्लाका प्रमुख र जनस्वास्थ्य प्रमुखलाई समेत स्पस्ट रुपमा निर्देशन दिइएको मन्त्री घिमिरले बताए। तर, यस विषयमा जिल्लाले विचार नगरेको देखिएको छ।

तथापी संक्रमित बिरामी राख्नका लागि विराटनगरमा १ सय शैया क्षमताको तयारी भइसकेको र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत विरामी पठाउने मन्त्रालयले जनाएको छ। बिरामी उपचारका लागि विशेषज्ञ चिकित्सक टोलीको समेत अभाव हुन नदिन मन्त्रालयले काम गर्दै आएको जनाएको छ।

अर्कोतर्फ, उदयपुर जिल्ला जनस्वास्थ्य महाशाखा प्रमुख मोहन सुवेदीले भने पोजेटिभ विरामीसँगै ४ जना नेगेटिभ रिपोर्ट आएका व्यक्ति पठाएको स्वीकार गरे। उदयपुरमा सबैजनालाई राख्न सक्ने अवस्था नभएको बताएका जनस्वास्थ्य प्रमुख सुवेदीले प्रदेश सरकारले नमानिरहेको अवस्थामा संघीय सरकारसँग समन्वय गरेर सबैजनालाई विराटनगर पठाइएको जानकारी दिए।

नेगेटिभ र पोजेटिभ बिरामी पठाउन नमिल्ने भएपनि उदयपुरको क्वारेन्टाइनमा सुरक्षितसाथ थप ४ जनालाई समेत राख्ने अवस्था नहुदाँ सबै १६ जनालाई विराटनगर पठाइएको सुवेदीले बताए।

कोशी अस्पतालकी मेसु डा. मिश्राले भने बिरामी पठाउने विषयमा आफूहरुसँग कुनै समन्वय नभएको बताइन्। उनले भनिन्, ‘बिरामीको हिष्ट्रीदेखि हरेककुरा जानकारी दिएर कोभिड १९ उपचार केन्द्रलाई जानकारी दिएर संक्रमित पठाउनुपर्ने हो। तर त्यो देखिएन्। उहाँहरु जोगिने र पन्छाउनेतर्फ लागेको देखियो।’

उपचार केन्द्रले संक्रमित सबैको १४ दिनपछि पुनः स्वाब नमूना परीक्षण गर्ने जनाएको छ। त्यसबेलासम्म उनीहरुलाई कसरी कहाँ राख्ने विषयमा कोभिड १९ उपचार केन्द्रका चिकित्सक टोलीबीच शनिबार छलफल हुने बताइएको छ।

बैशाख ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्