विशेष रिपोर्ट

कोभिड–१९ः प्रवेशदेखि खोजपड्तालसम्म भएका यी त्रुटीहरु

संख्याका हिसाबले कोभिड-१९ बाट संक्रमित न्यून छन् नेपालमा तर यसको रोकथाम, नियन्त्रण र उपचारमा पर्याप्त तयारी नभएको देखिन्छ।

संक्रमण पहिचान भएकाको सम्पर्कमा आएका सबैको समयमै खोजपड्ताल (ट्रेसिङ) र विदेशबाट आएकालाई सुरक्षित क्वारेन्टाइनमा राख्न मात्र सरकारी संयन्त्र सक्षम भएको भए मनोवैज्ञानिक त्रासदीमा नेपाली बाँच्नु पर्ने थिएन।

सरकारी स्वास्थ्य सेवाको स्तरीयता, निर्णयको तौरतरिका र त्यसको कार्यान्वयन एकातिर र अर्कोतिर संक्रमितबारे अध्ययन गर्दा सरकार कयौँ ठाउँमा चुकेको पाइएको छ।

र, अब पनि संवेदनशिल नबने त्यसको मूल्य धेरैपछिसम्म सरकार, मुलुक र नागरिक चुकाउनु पर्ने देखिन्छ।

विमानस्थल र सीमा हेल्थ डेस्कमा भएको त्यो लापरवाही


भानुभक्त ढकाल स्वास्थ्यमन्त्री नियुक्त भएको २२ दिनपछि मंसिर २७ गते वुहान शहरमा ४१ जना बिरामीमा देखिएको अनौठो निमोनियालाई कोभिड-१९ संक्रमण नामकरण गरिएपछि विश्वका धेरै मुलुकले चीनबाट आउने यात्रुको निगरानी तत्कालै सुरु गरे।करिब एक महिनापछि पुस २८ गते थाइल्याण्डमा कोभिड-१९ संक्रमण फैलिएसँगै यात्रु संक्रमणको सबैभन्दा ठूलो जोखिम वाहक भएको ठहर गरियो।

यात्रु निगरानीको तयारी के छ? भन्ने देशसञ्चारको प्रश्नको जवाफमा त्यतिबेला मन्त्री ढकालले भने, ‘नेपाल डराउन पर्दैन। आवश्यक पर्दा तयारी गरिन्छ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेस्क’बाट यात्रुको विश्वासनीय र स्तरीय जाँच सुरुमै गरिएको भए पुस १६ गते वुहानबाट रुघाखोकीसहित कुनमिङ हुँदै काठमाडौँ भित्रिएका धनुषाका ३१ वर्षीय युवालाई विमानस्थलबाटै सिधै अस्पताल पुर्‍याइने थियो। उनका कारण अन्यमा संक्रमण भयो /भएन भन्नबारे खोजी गरिएन।उनीबाट संक्रमण फैलियो कि भन्ने त्रास मेटिन सकेको छैन।

विमानस्थलको हेल्थ डेस्कमा यी युवाको जाँच भए/नभएको र उनीसँगै को–को आएका थिए?, विमानबाट ओर्लिएपछि को–कोसँग सम्पर्क गरे? त्यसबारे खोजपड्तालको मुख्य जिम्मेवारीमा रहेको स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाकासँग कुनै ‘रेकर्ड’ या जानकारी छैन।

नेपाल छिरेको १३ औँ दिनमा ज्वरो बढेपछि मात्रै यी युवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भए। तर उनको ‘स्वाब’को रिपोर्ट आउनु पहिल्यै उनलाई ठिक भएको भन्दै अस्पतालले डिस्चार्ज गर्‍यो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएकाे थर्मल स्क्यानर। फाइल तस्बिर।

यस्तै हालसम्मका संक्रमितमध्ये नजिकका या पारिवारिक सदस्यबाहेक अधिकांशले चढेका जहाज, ट्याक्सी, सार्वजनिक बसलगायतका यात्रु र चालकको खोज पड्तालमा सरकार असफल भयो।

माघ १२ गतेको प्रधानमन्त्रीसहित मन्त्रीहरुको बैठकले विमानस्थलमा चिकित्सकसहित २४ सै घण्टा हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरेपनि ज्वरो नाप्ने ‘थर्मल स्क्यानर’ जुटाउन अर्को पाँच दिन लाग्यो। डेस्कमा जडान गरिएका दुई ‘थर्मल स्क्यानर’मध्ये एउटा तीन दिनमै बिग्रियो। एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको र ‘थर्मल गन’को व्यवस्था नहुञ्जेल कयौँ बिरामी स्वास्थ्य परीक्षण नगरी बाहिरिएको विमानस्थल स्रोत बताउँछ।

‘सिमित स्रोतसाधनका कारण हेल्थ डेस्क प्रभावकारी रुपमा सञ्चालन गर्न सकेका थिएनाैँ। तर पछि प्रभावकारी बनायौँ,’ महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे भन्छन्।

माघ १६ गते विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनस्वास्थ्य संकटकाल घोषणा गरेको र छिमेकी मुलुक भारतमा पहिलो संक्रमित देखिएको पृष्ठभूमिमा सरकारले तत्कालै विमानस्थलसँगै सीमा नाकामा पनि स्तरीय हेल्थ डेस्क स्थापना गर्नुलाई जरुरी ठानेन। फागनु २० गते मात्रै सरकारले विमानस्थल लगायत नेपाल प्रवेश नाकामा उपकरणसहित स्वास्थ्यकर्मीको व्यवस्था गर्ने निर्णय गर्‍यो। त्यसको पाँच दिन अर्थात फागुन २५ गते मात्रै ३७ स्थलमार्गका नाकामा स्वास्थ्यकर्मी पुगे।

सीमित स्वास्थ्यकर्मी परिचालन गरिएको नाकामा भारतबाट एकैपटक हजारौँको संख्यामा भित्रिएका नेपालीको राम्ररी ‘स्क्रिनिङ’ गर्न नसकेको त्यसमा संलग्न एक स्वास्थ्यकर्मी स्वीकार गर्छन्।

उनी भन्छन्,‘ यात्रुहरु हाम्रो नियन्त्रण बाहिर हुन्थे। एकातिर हामीले ज्वरो नआएकालाई भित्रन दियौँ भने अर्कोतिर कोभिड-१९ को लक्षण नदेखिन सक्ने जानकारीसहित तालिम लियौँ। अहिले पनि हामी ढुक्क छैनौँ यात्रुको ‘स्क्रिनिकङ’ गर्दा।’

होम क्वारेन्टाइनमा हदैसम्मको लापरवाही


चर्को दबाबपछि सरकारले फागुन ४ गते वुहानका १७५ नेपाली विद्यार्थीलाई सुरक्षित उद्धारसहित भक्तपुरस्थित क्वारेन्टाइनमा राख्यो। तर आफ्नो ढुकुटी रित्तिने देखिएपछि संक्रमणबाट प्रभावित अन्य मुलुकबाट आउनेलाई आफैले १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइनमा नराख्ने निर्णय सरकारले गर्‍यो।

होम क्वारेन्टाइनमा बस्ने शर्तमा विमानस्थल र नाकाबाट छुटेकाको सरकारले कुनै निगरानी गर्न सकेन। सरकारले अति आक्रान्त चीन, दक्षिण कोरिया, इरान, इटाली तथा जापानका नागरिकलाई ‘अन अराइभल भिसा’ स्थगन गर्ने निर्णय गर्‍यो, तर त्यो बेला पनि ती देशहरुबाट नेपालीहरु आउने क्रम जारी रह्यो।

फागनु १९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ प्रभावित, यसको उच्च जोखिममा रहेका र तेस्रो देशबाट ती मुलुक हुँदै आउने नेपालीलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्ने निर्णय गर्‍यो।

भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइन सेन्टर । फाइल तस्बिर।

‘वुहानबाट विद्यार्थीलाई निःशुल्करुपमा क्वारेन्टाइनमा राखेर सरकारले अति उत्साह देखायो ।खर्चिलो अनुभवका कारण पछि संक्रमण प्रभावित मुलुकबाट आएकालाई होम क्वारेन्टाइनमा राख्ने निर्णय गर्‍यो सरकारले, र फलोअपमा अत्यन्तै लापरवाही अपनाइयो’, सरकारका एक उच्च अधिकारी भन्छन्।

विदेशबाट आएकालाई विमानस्थलमा ज्वरो नाप्दै ‘होम क्वारेन्टाइन’मा बस्ने शर्तमा छोडियो। तर उनीहरुले भरेका व्यक्तिगत विवरण ‘रिचेक’ गरिएन। सम्बन्धित व्यक्ति होम क्वारेन्टाइनमा बस्यो कि बसेन? त्यो खोजिएन। ती विवरणहरुमा कतै फोन नम्बर, कतै ठेगाना, कतै नाम गलत भेटिए। सयौँको फोन ‘स्वीच अफ’ पाइयो।

खोजपड्तालमा खटिएका एक चिकित्सक भन्छन्, ‘विदेशबाट आएकाले कागजमा एउटा ठेगाना लेख्ने र तर बस्ने अन्तै गरे। सीमाको अभिलेख त झन् भद्रगोल थियो। भारतले भन्दा एक साताअघि मात्रै हामीले हवाई सेवा बन्द गरेको भए अहिलेको परिस्थितिमा तात्विक भिन्नता आउने थियाे।’

फागुन २८ गते कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले डाकेको सर्वदलीय बैठकमा मुख्य सुझाव पेश भयो– अत्यावश्यक सामग्रीबाहेक भारतसँगको नाका तत्कालै बन्द गर्ने। तर त्यो कार्यान्वयमा सरकारले विलम्व गर्दा संक्रमित असुरक्षितरुपमा  भित्रिए र जोखिम बढ्यो।

धादिङका यी पुरुष होटल बस्दा


चैत्र ६ गते दुवईबाट काठमाडौँ ओर्लिएका धादिङका ३२ वर्षीय एक पुरुष ट्याक्सी चढेर बसुन्धारास्थित एक होटल पुगे। होटलमा रहँदा उनले साथीहरुलाई पार्टी दिए। रुघाखोकी लागेपछि होटल बसाईको चौथो दिनमा जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगे।

उक्त अस्पतालले उनलाई टेकु पठायो। भर्ना भएको दुई दिनपछि चैत्र १२ गते उनमा संक्रमण पुष्टि भयो। हालपनि उनी सोही अस्पतालमा उपचारार्थ छन्। विमानस्थलदेखि बसुन्धारासम्म उनले चढेको ट्याक्सी, चालक, पैसा साट्न गएको गाेंगबुको पसल पहिचान भएन।

खोजपड्तालमा सामेल महाशाखाका एक स्वास्थ्यकर्मी भन्छन्, ‘सार्वजनिक बसको पहिचान हाम्रो क्षमताभन्दा बाहिरको कुरा भयो। विमानस्थलको सीसीटिभी सर्भिलेन्स क्षेत्रभन्दा बाहिरबाट निस्केको ट्याक्सी पत्ता लागेन।’

महाराजगञ्जबाट त्रिपुरेश्वरसम्म उनले चढेको साझा यातायातको बस पत्ता लागेन। अस्पताल आउँदा यी युवाले आधा घण्टासम्म बिताएको बसका यात्रु र चालक ‘ट्रेस’ नै हुन सेकनन्। नेपालमा ट्याक्सी या सार्वजनिक बस सञ्चालनको रकर्ड राख्ने सिस्टम छैन। न त यात्रुको हातमा टिकट नै पर्छ।

धापासी बस्ने सर्तमा छुटेका पुरुष धनगढी पुगेपछि


चैत्र ७ गते दुवईबाट आएका ज्वरोले ग्रस्त धनगढीका ३४ वर्षीय पुरुष धापासीस्थित मामा घरमा ‘होम क्वारेन्टाइन’ बस्ने सर्तमा विमानस्थलबाट छुटे। तर भोलि पल्टै उनी धनगढी पुगे। यी पुरुषले चढेका कुनै पनि सार्वजनिक यातायातका यात्रु पहिचान भएनन्। यता कुनै आधिकारिक क्वारेन्टाइनको व्यवस्था नभएकोले मामा घर बस्ने उनको आश्वासनलाई नै पर्याप्त मानियो।

उनी चढेको बुद्ध एयरका यात्रुको मात्रै परीक्षण गरियो। उनको सम्पर्कमा आएकाहरुको खोजपड्तालमा संलग्न एक चिकित्सक भन्छन्, ‘विमानस्थलबाट उनलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा छोडिएको थियो। ज्वरोसहित आएकाले उनको यात्रामा बन्देज गरिएको थियो। तर उनी धापासीस्थित मामाघर बसेर भोलिपल्ट घर हानिए।’

धनगढी पुग्दा उनलाई ज्वरोसँगै रुघाखोकी पनि लागेको थियो। तेस्रो दिन मात्रै सेती प्रादेशिक अस्पताल भर्ना भए उनी। उनको स्वाब टेकुमा ल्याएर परीक्षण गरियो। चैत्र १४ गते रिपोर्ट पोजेटिभ आएपछि उनी निकै आत्तिए।

बेल्जियमबाट आएका बाग्लुङका यी दुई महिला


चैत्र ४ गते बेल्जियमबाट काठमाडौँ आएकी बाग्लुङकी १९ वर्षीय युवती र त्यसको केही दिनमा उनीसँगै आएकी बाग्लुङकै अर्की महिलालाई संक्रमण देखियो। विमानस्थलमा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा संक्रमणको कुनै लक्षण नदेखिएको त्यसमा संलग्न कर्मचारी बताउँछन्।

तर काठमाडौँबाट पोखरासम्म उनीहरु गएको जहाजका यात्रुको खोजी गरिए पनि पोखराबाट माइक्रो चढेर बाग्लुङ पुग्दासम्म उनीहरु कति जना र कोसँग सम्पर्कमा आए? त्यसको खोजी हुन सकेन।

घरमा पुगेको १६ दिनपछि चैत्र १५ गते मात्रै ती युवतिमा संक्रमण देखियो। लगत्तै उनीसँगै आएकी अर्की वृद्धामा पनि चैत्र २० संक्रमण देखियो। यी दुबै धौलागिरी अञ्चल अस्पताल पोखरामा उपचार भएकोमा रिपोर्ट ‘नेगेटिभ’ आएपछि ती वृद्धा भने शनिबार डिस्चार्ज भइन्।

यता चैत्रको पहिलो साता विदेशबाट कति भित्रिए र कति क्वारेन्टाइनमा बसे भन्ने सरकारसँग कुनै रेकर्ड छैन।

गौरीफन्टा र ब्रम्देव नाकाबाट छिरेका यी दुई युवा


अघिल्लो दिन गड्डाचौकीबाट १३ हजार, सुनौलीबाट १८ हजार नेपाली एकैपटक भित्रिएको घटनाले सरकारलाई सम्भवतः भारतसँगको सीमा नाका व्यवस्थापनमा आफू कति फितलो रहेछु भन्ने आभास दियो चैत्र ९ गते। सर्वदलीय बैठकमा प्रतिपक्षीले दिएको सुझाव ११ दिनपछि कार्यान्वयमा आयो, भारतसँगका सबै सीमा नाका बन्द गरियो।

गाैरीफन्टा नाकामा भारतबाट आएका नेपालीहरु। फाइल तस्बिर।

सरकारले केही गम्भीरताका साथ लिन थाल्यो। लकडाउनको पहिलो दिन दिउँसो मेची पुल र राती इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट नेपाल छिर्न चाहानेहरुको भिडले थेगिनसक्नु भयो। सरकारले भारतसँग नाकामा कडाई गर्न सकेननै आफ्ना सबै नागरिकलाई सुरक्षित रुपमा ल्याएर क्वारेन्टाइनमा राख्न पनि असफल भयो।

लकडाउन घोषणाको पहिलो दिन नै भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै आएका कैलाली लम्किचुहाका २१ वर्षीय पुरुष, उत्तराखण्डबाट कञ्चनपुरको ब्रम्हदेव नाकाबाट भित्रिएका सोही जिल्लाका बदकोटका ४१ वर्षीय पुरुषमा चैत्र २२ गते संक्रमण देखियो। तर उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान हुन सकेन।

स्थानीय संक्रमित कैलालीकी यी महिला


माथि उल्लेख धनगढी ५ का युवालाई संक्रमण पुष्टि हुनासाथ उनको परीवारका सातै जनालाई अस्पताल पुर्‍याई क्वारेन्टाइनमा राखियो। तर संक्रमणका लक्षण नदेखिए स्वाब परीक्षण नगर्ने सरकारको तत्कालिन नीति अनुसार उनीहरु कसैको पनि स्वाब परीक्षण भएन। संक्रमित युवा बाहेक सबैलाई पाँचौँ दिन घर पठाइयो।

तर चैत्र २२ गते नेपाली सेनाको समूहले ‘र्‍यापिड डाइग्नोनिष्टक टेस्टिङ’ गर्ने क्रममा ती युवाकी भाउजुमा संक्रमण देखियो। ‘रियल टाइम पिसिआर’ विधिबाट परीक्षण गर्दा त्यो संक्रमणको थप पुष्टि भयो।

यी महिलामा संक्रमण पाइएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण ‘लोकल ट्रान्समिसन’ भएको घोषणा गर्‍यो। अर्थात संक्रमण दोस्रो चरणमा प्रवेश गरेको घोषणा गर्‍यो। यी पुरुषलाई संक्रमण पुष्टि भएकाे थाहा पाउनासाथ दिल्लीबाट उनीसँगै आएका विराटनगरका एक युवाले आफू ‘होम क्वारेन्टाइन’मा बसेको सुनाए।

तीन भारतीय नागरिकले ल्याएको भूँइचालो


वीरगञ्जमा चैत्र ३० गते संक्रमण देखिएका तीन जना भारतीय अहिले कोभिड–१९ संक्रमण विवादको केन्द्रमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट त्यहाँ खटिएका चिकित्सक बताउँछन्।

वीरगञ्ज–२ छपकैया मस्जिदमा बस्दै आएका ती तीनजना भारतको नयाँ दिल्लीस्थित निजामुद्धिनमा गत महिना आयोजित इस्लामिक भेलमा सामेल भएको प्रहरी स्रोत बताउँछ।

उनीहरु आफूहरुले चार महिनाअघि डिसेम्बर १५ मा नै प्रवेश गरेको दाबी गर्दै आएका छन्। उनीहरुसँग सोधपुछ जारी छ। कोभिड–१९ संक्रमण विवादसँगै नेपाल–भारत सीमा नाकाबाट आवजावत गर्नेहरुको ‘रेकर्ड’ राख्ने प्रणाली त्रुटीपूर्ण रहेको यसले देखाउँछ।

यी तीन भारतीय पुगेका स्थान र उनीहरुको सम्पर्कमा आएकाको खोजीका क्रममा उदयपुरमा शुक्रबार १२ जना अन्य भारतीयमा पनि संक्रमण पाइयो।

काेराेना संक्रमित तीन भारतीय बसेकाे वीरगञ्जको छपकैया क्षेत्र।

स्रोतका अनुसार यी १२ जना लुकेर बसेका थिए यतिका दिन। यस्तै शुक्रबार नै चितवनमा संक्रमण पुष्टि भएका दुई जनाको सम्पर्कमा आएकालाई पहिचान गर्न समेत कठिन भएको छ।

वीरगञ्जमा चिया पकाउने महिलामा कसरी देखियो संक्रमण ?


तीन जना भारतीयमा संक्रमण पुष्टि भएसँगै वीरगञ्जबासी त्रासमा छन्। उनीहरुमाथि आशंका कायमै रहेपछि वीरगञ्जका तीन स्थानमा करिब ३५ सय जनाको ‘र्‍यापिड डाइग्नोस्टिक टेस्टिङ’को अभियान सरकारले चलाएको छ।

वीरगञ्जमा चिया बेच्दै आएकी कैलालीकी एक महिलामा संक्रमण पुष्टी भएपछि झन् आशंका चुलिएको छ। यी महिलामा कसरीसंक्रमण  फैलियो ? यो प्रश्नहरुले सरकारी चिकित्सकलाई समेत घोचिरहेको छ।

साँचो कुरा बोल्न नचाहने बिरामी र आइटीविहीन स्वास्थ्य संयन्त्र


संक्रमितको सम्पर्कमा आएकाको खोजपड्तालमा खटिएका मन्त्रालयका एक चिकित्सक भन्छन्, ‘खोजपड्तालको काम जासुसी जस्तै हो। बिरामी र उनीहरुको आफन्तको मन जित्न सके मात्रै उनीहरुले साँचो कुरा बोल्छन्। हामीले त्यही अनुभव गरेका छौँ।’

कोभिड–१९ संक्रमितलाई कुनै बेला नेपालमा एचआईभी संक्रमितलाई गरिने व्यवहार दोहोरिएको छ समुदायमा यतिबेला। अपहेलित या बदनाम भइने त्रासमा संक्रमितले सकेसम्म आफ्ना पूर्ण विवरण र सम्पर्कमा आएकाको बारेमा बताउन चाहन्नन्।

वास्तविक सूचना लिन स्वास्थ्यकर्मीको नेतृत्वको समूहमा पत्रकार र स्थानीय व्यक्तिलाई सामेल गराउनु पर्ने चिकित्सकको ठहर छ।

भारतमा तीब्र रुपमा फैलिएको कोभिड–१९ संक्रमण निजामुद्दिनमा भएको इस्लामिक सभाका सहभागिहरुको ठूलो संख्यामा देखा परेपछि त्यसले कुनै किसिमको साम्प्रदायीक द्वन्द्व निम्त्याउने खतरा उत्पन्न भएको छ।

संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचानमा प्रहरीले सूचना प्रविधिको सहयोग लिइरहेको छ। तर महामारी तथा रोग नियन्त्रण महाशाखाले भने यो प्रविधि प्रयोग गरेको छैन। अधुरो हाते कागजको भरमा कति मानिस कहाँबाट आए कसरी खोज्ने? चुनौति बनेको छ।

लक्षण नदेखिएकालाई नजाँच्ने सरकारको गलत नीति


चीनमा कोभिड–१९ संक्रमणले तीब्र रुप लिएपछि डब्लुएचओको सहयोगबाट यसका लक्षणहरुबारे विश्वभरी जानकारी गराइयो। नेपालले यो संक्रमणका लक्षणबारे प्रचारप्रसार गर्‍यो। यो संक्रमणका ज्वरो आउनु, खोकी लाग्नु, स्वास फेर्न गाह्रो हुनु र घाँटी दुख्नुलाई मुख्य लक्षण मानियो।

यस्ता लक्षण नदेखिएकोहरुमा स्वाब परीक्षण गर्ने नीति स्वास्थ्य मन्त्रालयले लिएपछि विदेशबाट आएर अस्पतालमा पुगेकाहरुलाई लक्षण नदेखिएको भन्दै स्वाब परीक्षण नगरी फर्कायो। तर हाल आएर गरिएका परीक्षणमा लक्षण नदेखिएका मानिसमा पनि संक्रमण पुष्टि भएपछि सरकारले आफ्नो नीति बदल्यो।

शुक्रबार भेटिएका १२ जना संक्रमितमा कुनै लक्षण देखिएको थिएन। यता संक्रमण पुष्टि भएका ३० जनामध्ये तीन जना बाहेक अरुलाई ज्वरो नआएको पाइएको छ।

योसँगै सम्बन्धित चिकित्सकले नेपालको सन्दर्भमा थप अध्ययनका साथ कोभिड–१९ का लक्षणको परिभाषा परिवर्तन गर्न र सचेतना अभियान फैलाउन मन्त्रालयलाई प्रस्ताव गरेका छन्।

फ्रान्सबाट आएकी युवतीको सावधानी र दुःखलाग्दो भित्रिँदाको पल


संक्रमितमध्ये फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ र उनको परिवारले सबैभन्दा धेरै सावधानी अपनाएको पाइएको छ। चैत्र ४ गते फ्रान्सबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट काठमाडौँ आएकी १९ वर्षीय श्रेष्ठमा १० गते संक्रमण भेटियो।

मेडिकल पृष्ठभूमिको उनको परिवारले उनलाई उच्च सतर्कताका साथ विमानस्थलबाट घर पुर्‍याएका थिए। उनलाई अस्पताल पुर्‍याउँदा पनि त्यस्तै सावधानी अपनाइयो।

अस्पताल बसाईको २४ दिनपछि उनको शनिबार डिस्चार्ज भएको छ। तर उनले नेपाल प्रवेश गर्दाको परिस्थितिको भयाभह रुपबारे गरेको ट्वीटले विमानस्थलमा यात्रुको परीक्षण, अभिलेख राख्ने काममा कतिसम्म लापरवाही भएको थियो भन्ने स्पष्ट पार्छ।

उनी डिस्चार्ज भए लगत्तै उनका मामा नाता पर्ने विज्ञान लोहनीले उनले त्यतिबेला लेखेको ट्वीट सार्वजनिक गरेका हुन्।