पत्रकारसँग फेरि भड्किए ट्रम्प, गरे पुलित्जर विजेता पत्रकारको गम्भीर आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुलित्जर पुरस्कार विजेता पत्रकारको गम्भीर आलोचना गरेका छन् । ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्सको शनिबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले न्यूयोर्क टाइम्सकी पत्रकार म्यागी हेबम्यानको गम्भीर आलोचना गरेका हुन् ।
ट्रम्प लगातार पत्रकार तथा सञ्चारमाध्यमको आलोचना गर्दै आएका छन् । उनले शनिबार न्यूयोर्क टाइम्सकी रिपोर्टर हेबम्यानलाई निशाना बनाएका हुन् ।
यसको कारण हो, राष्ट्रपति कार्यालय ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोस रोएको सम्बन्धी खबर । हेबम्यानको सो रिपोर्टलाई लिएर ट्रम्प रिसाएका हुन् ।
पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘मैले पनि मार्क मेडोस रोएको सम्बन्धी स्टोरी पढेँ । यो स्टोरी लेख्ने तिनै म्यागी हेबम्यान हुन्, जसले रुसको स्टोरीका लागि पुलित्जर पुरस्कार पाएकी थिइन् । तर उनी रुसलाई लिएर गलत थिइन् । उनले त पुलित्जर पुरस्कार फिर्ता गर्नु पर्छ ।’
म्यागी न्यूयोर्क टाइम्सका ती रिपोर्टरमा पर्छिन् जसले सन् २०१८ मा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी दखल सम्बन्धी रिपोर्टका लागि पुलित्जर पुरस्कार पाएका थिए ।
ट्रम्पले भने, ‘म्यागी थर्डग्रेड रिपोर्टर हुन् । हामीले उनी कस्ती रिपोर्टर हुन् भन्ने बताएपछि उनले मार्क मेडोस रोएको भन्ने स्टोरी गरेकी हुन् । न्यूयोर्क टाइम्स अति बेइमान पत्रिका हो । यो मेरो धारणा हो । यसमा कुनै आंकलन छैन, सत्य कुरा हो ।’ पत्रकार म्यागीले ट्रम्पलाई जवाफ दिँदै ट्वीट गरेकी छन् ।
The president has gone from calling the Meadows cries story a fake to saying he was crying for another reason.
— Maggie Haberman (@maggieNYT) April 18, 2020