गोपाल नभए उनका नन्दी-नन्दिनीहरुको ख्याल कसले गर्छ?

फोटो तथा भिडियो- रविन आचार्य

विश्राममा छ, पशुपति अरु ठाउँजस्तै। लकडाउनका कारण चहलपहल शून्यजस्तै छ। आर्यघाटमा जल्दै गरेका लासबाट निस्किएको धुवाँ बादलमा गएर मिसिएको प्रष्टै देखिन्छ। हल्का हावाको झोँकाले रुखको हाँगाबाट छुट्टिएर पातहरु बयली खेल्दै झर्छन् अनि घरि यता त घरि उता गर्छन्।

मानिसहरुको चहलपहल भएको भए शायद त्यो आँखामा पर्ने थिएन । हजारौँ पाइलाले कुल्चिने पातहरु आनन्दले सुस्ताएका छन् । गौशाला चोकबाट पशुपति छिर्दै गर्दा अनुमान लगाउन सकिन्छ सायद पशुपतिले यति चयनसँग आराम गर्न आजसम्म पाएको थिएन।

आराम त पशुपतिलाई पो छ, त्यहाँको वातावरणलाई पो छ, गोपाललाई कहाँ छ र? गोपालले विश्राम लिए उनका नन्दी–नन्दिनीहरुको ख्याल कसले गर्छ?

गाेपाल न्याैपाने

गौशालाबाट छिर्दा मुख्य मन्दिर नपुग्दै बायाँतर्फ छ गोपालको ‘नन्दी सेवा स्थल’। यहाँ दुई सय नन्दी–नन्दिनीहरु (गाई–गोरु) छन्। यी सबै बाटोमा छोडेका टुहुरा हुन्। उनीसँगै उनका सहयोगी छन् जो दिन रात नभनी यिनको स्याहारमा जुटेका हुन्छन्। कुँडो खुवाउने, पराल खुवाउने पानी खुवाउने गोठ सफा गर्ने अनि चराउन लिने।

गोपाल आफैँ कुद्छन् बुलेट बाइकमा पछाडि ट्रली जोडेर गाईको लागि आहारा खोज्न। काठमाडौँमा तरकारी र फलफुल पसलमा बचेको समान उठाउँछन् ट्रली भर्छन् अनि आश्राम फर्कछन्।

तर लकडाउनले उनले आफ्नो मोटर साइकल निकाल्न पाएका छैनन्। पछाडि ट्रली जोडेर खानाको जाहो गर्न हिँड्न पाएका छैनन् । काठमाडौँका अधिकांश पसलहरु बन्द छन्। कहाँ जानु? चराउन लैजान पनि पाइएको छैन।

कसैले केही दिए ढुक्कसँग लिन जान सक्ने अवस्था छैन। ‘जिल्ला प्रशासनले पास दिएको छैन’, उनले गुनासो गरे। ‘सुरक्षाकर्मीले भने सहयोग गरेका छन्,’ लगाएको ज्याकेट देखाउँदै उनले भने, ‘यो ज्याकेट र मोटर साइकल अगाडि टाँसेको संस्थाको लोगो देखाउँछु छोडिदिनुहुन्छ।’

‘अब त आश मनकारीको छ जो जनावरलाई माया गर्छन्। जसबाट आश गरेको थिएँ, उनीहरुले त सहयोग गरेका छैनन्,’ निराश हुँदै उनले भने ।

शुक्रबार मात्र एक ट्रक पराल आयो। परालको जोहो सन्दिप अग्रवालले गरिदिए । गोठको एक कुनामा पराल थन्काउँदै गरेको अलि वरबाट नियालिरहेका गोपाल खुशी देखिन्थे। मुसुक्क हाँस्दै भने, ‘यसले तीन दिनसम्म पुग्छ।’ ७० हजारसम्म पर्ने पराल ५५ हजारमा आयो नवलपरासीबाट। खुशी हुने कारण उनीसँग अर्को पनि छ, बिहानै करिव १० हजार किलो मान्छेले खान नमिल्ने फलफुल र तरकारी खसीबजारबाट मित्र घिमिरेले पठाएका थिए। मुस्कुराउँदै उनले भने, ‘आज त नन्दी–नन्दिनीहरु (गाईगोरु) खुशी छन्।’

हामी पो भोक लाग्यो भनेर भन्न सक्छौँ, यिनीहरु कहाँ भन्न सक्छन् र? यी भोकै नरहून् भन्ने सोच्दै उनलाई फुर्सद हुँदैन। बिहीबार मात्र काभ्रे गएर परालको जोहो गरेर आए जहाँ उनको अर्को गाईको लागि आश्रम छ । खुशी हुँदै उनले भने, ‘गोदावरीमा एक जनाले परालको जोहो गरिदिएका छन्, त्यो लिन जानु छ।’

टुहुराको सहारा

आश्रममा गाईहरुको नजर उनीतिरै हुन्छ। उनको आवाज सुन्दा सबैको कान ठाडा हुन्छन् । प्रायको नाम राखिदिएका छन् । चौरमा खेलिरहेका गाई–गोरु नामले बोलाउँदा कानठाडो पारेर सुन्छन् । केही खान दिन्छ कि भन्ने आशले लुसुक्क आउँछन् । रंग अनुसार नाम राखिदिएका छन् । राते, काले यस्तै यस्तै । गोपाल उनलाई सुमसुम्याउँछन् । लाडे स्वरमा कुरा गर्छन् ।

तीन महिना अघि पशुपति भित्रैको कैलाशबाट उनले सुत्केरी गाइको उद्धार गरेर आश्रम ल्याए । बच्चा जन्मियो तर आमालाई बचाउन सकिएन आश्रमको एक कुनामा खेलिरहेको बाच्छो देखाउँदै उनले भने ‘यो त्यही बच्चा हो । ५ महिनाको भयो । यसको नाम ‘टुहुरो’ राखिदिएको छु ।’

‘टुहुराेलाइ’ सुम्सुम्याउँदै गाेपाल

आश्रमका सबै गाइगोरु टुहुरा हुन् । कोहि पशुपतिमा चडाएर छाडा छोडेका हुन भने कुनै सडकमा घाइते अवस्थामा भेटाएर ल्याएका हुन् । काम गर्न थालेको १५ बर्ष भन्दाबढी भयो ।

बानेश्वरमा बस्ने रामबहादुर न्यौपानेको दैनिकी पशुपतिबाट सुरु हुन्थ्यो । काभ्रेका उनि राजनीतिदेखि दिक्क लागेर काठमाडौँ बस्दै आएका थिए । हिँड्दै पशुपतिको दर्शन गर्न जाँदा हरेक दिन फरक मान्छेहरुमा उनको नजर पर्थ्यो । फरक अवस्थाका उनी साक्षी बने । एक दृश्य जसले उनको मन सधैँ पिरोल्थ्यो । सडकमा छाडिएका चौपाया र मानिसले उनीहरुलाई गर्ने व्यवहार ।

बुढो भएर दूध दिन छोडेका गाई, गोरु अनि बाच्छा–बाच्छी काठमाडौँका सडकमा त्यति बेला पनि थिए । गाडीले ठक्कर दिएर घाइते बनाएका गाइ बाच्छाहरुलाई कुकुरले लखेटेको देखेर उनको मनमा माया जाग्थ्यो । अनि रिस पनि उठ्थ्यो । उनलाई लाग्यो मान्छेमा मानवता छैन । राष्ट्रिय जनावर गाईप्रति मानिसले गरेको व्यबहार देखेरे उनको कन्सिरी तातिन्थ्यो । कुकुरको, जंगलका जनावरको स्याहार गर्ने संस्था थिए तर पशुपति पत्ता लगाउने गाईको स्याहार गर्ने कोही थिएनन्– निराश हुँदै उनले भने ।

करिव ६ बर्ष उनले सडकमा रहेका गाईलाई सडकमै सहयोग गरे । तर त्यतिले उनको चित्त बुझेन । संस्था नै दर्ता गरेर काम गर्ने निर्णयमा उनी पुगे । सुरुमा सबैले उनको योजनामा हो मा हो नमिलाए पनि उनले गरेरै छोड्ने संकल्प लिए ।

२०७१ सालमा उनले संस्था दर्ता गरे । संस्थाको नाम ‘मठ मन्दिर गाईबाच्छा बचाउ तथा समाज विकास अभियान ।’ तर भनेजस्तो सजिलो त कहाँ थियो सडकका गाई पाल्न । त्यतिबेलाका सदस्यसचिव डा. गोविन्द टण्डनले उनलाई साथ दिएको उनी अझै सम्झन्छन् । उनकै पहलमा पशुपति क्षेत्र विकास कोषको जग्गा उपलब्ध गराइदिए । पशुपति क्षेत्रका गाईहरुको उद्धार गर्दै सुरु भएको काम अहिले उपत्यकाभरिका गाईहरुको उनले उद्धार गर्छन् । आश्रम ल्याउँछन् घाइतेको उपचार गर्छ, आश्रय दिन्छन् । तर यो काममा चाहिने जति सहयोग सरोकारवाला निकायबाट नपाएको उनको बुझाइ छ।

मोटरसाइकलमा हालेर गाईबाच्छा आश्रममा ल्याउने उनको कथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमको पनि नजरमा परेको छ । उनीहरुका लागि गोपाल ‘एक्लो गोठालो’ हुन् । उनले एक अन्तर्राष्ट्रिय पुरस्कार पनि पाए । एक विदेशीले उनलाई बुलेट बाइक र ट्रली सहयोग गरेका छन् । बाइकको पछाडि ट्रली जोडेर उनी गाई बाच्छाको उद्धार गर्न हिँड्छन्, अरुबेला त्यो ट्रली तिनीहरुको आहारा खोज्न काठमाडौँका गल्ली हिँड्दा चाहिन्छ उनलाई।

भिडियो हेर्नुहोस्:

फाेटाे/भिडियाे: रविन आचार्य

बैशाख ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्