उदयपुरबाट ल्याइएका १३ जना कोरोना भाइरसका संक्रमितको अवस्था सामान्‍य- कोशी अस्पताल

मोरङ-उदयपुरबाट ल्याइएका १३ जना कोरोनाभाइरस कोभिड १९ संक्रमितको अवस्था सामान्य रहेको कोभिड १९ उपचार केन्द्र विराटनगरले जनाएको छ।

कोशी अस्पताल अन्र्तगत रहेको केन्द्रमा राखिएका सबै १३ जनाको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ। कोशी अस्पतालकी निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. संगीता मिश्राका अनुसार केन्द्रमा रहेको सबैको स्वास्थ्यमा कुनैपनि प्रकारको लक्षण हालसम्म देखिएको छैन।

कोभिड उपचार केन्द्रका अनुसार उदयपुरबाट ल्याइएका १६ जनामध्ये हाल केन्द्रमा १३ जना कोरोना संक्रमित राखिएको छ। जसमा ११ जना भारतीय र २ जना नेपाली नागरिक रहेकाछन्। त्यसैगरि, बाँकी ३ जना संकास्पदलाई मोरंगको मिक्लाजुंग ५ स्थित टाडी क्वारेन्टाइनमा राखिएको छ। यससंगै उपचारका लागि कोरोनाको नयाँ विरामी थप नभएको पनि केन्द्रले जनाएको छ।

उदयपुरबाट विराटनगर ल्याइएको १६ जना विगत ३५ दिनदेखि उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहदै आएका थिए। तथापी, भारतीय नागरिकहरु भने भारतबाट ट्रेनको माध्यमबाट गत मंसिरमा विराटनगर हुदै नेपाल प्रवेश गरेका हुन्। यसक्रममा उनीहरु विराटनगरको रानी मस्जिद, सुनसरीको दुहबी, इनरुवाका मस्जिद, र सप्तरी हुदै उदयपुर पुगेका हुन्।

यसैबीच प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले केन्द्रमा उपचाररत रहेका सबैजना चाडै निको भएर घर फर्कने विश्वास लिएको बताएकाछन्। अर्कोतर्फ, प्रदेश सरकारले कोरोनाभाइरस रोकथामका लागि आरडीटी र पीसीआर प्रविधीको परिक्षणलाई थप फराकिलो बनाएको छ।

यसक्रममा आइतबारसम्म आरडीटीबाट २ हजार २ सय ८१ र पीसीआरबाट ३ सय ८७ जना संकास्पदको परिक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयस्थित कोरोना डेस्कले जनाएको छ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल ६ सय ७६ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ६ महिला र १७ पुरुषसहित २३ जना बसिरहेका छन् ।

बैशाख ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्