कडा लकडाउन खुकुलो गर्ने तयारीमा न्यूजिल्याण्ड

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वमै सबैभन्दा सम्भवतः कडा लकडाउन लागु गरेको न्यूजिल्याण्डले आउँदो हप्तादेखि केही खुकुलो बनाउने भएको छ ।

प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले एक महिनादेखि जारी कडा लकडाउन संक्रमण कम हुन थालेकाले आउँदो हप्तादेखि केही खुकुलो बनाउने सोमबार बताएकी हुन् ।

५० लाख मानिसको बसोबास रहेको न्यूजिल्याण्डमा लेभल फोरको लकडाउन लागु छ गएको मार्चको अन्तिम हप्तादेखि । त्यसयता त्यहाँका सबै कार्यालय, विद्यालय तथा अत्यावश्यक बाहेकका बार, रेस्टुरेन्ट, क्याफे तथा खेलमैदान सहितका सबै सेवाहरु बन्द छन् ।

अप्रिल २७ देखि उच्च तहको लकडाउनलाई खुकुलो बनाउने तयारी भएको प्रधानमन्त्री आर्डर्नले बताएकी छन् । अप्रिल २७ पछि दुई हप्ताका लागि लेभल थ्री को लकडाउन हुने जनाइएको छ ।

न्यूजिल्याण्डमा कोरोना भाइरसको संक्रमणबाट एक व्यक्तिको पनि मृत्यु नहुँदै राष्ट्रिय आपतकाल घोषणा गरी सीमा बन्द गरिएको थियो । त्यहि कारण त्यहाँ संक्रमण निकै कम भएको बताइन्छ ।

सोमबार थप ९ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म मात्रै १२ जनाको कोभिड–१९ बाट मृत्यु भएको न्यूजिल्याण्डमा कुल संक्रमितको संख्या १४ सय ४० रहेको छ ।

लेभल थ्री को लकडाउनमा निर्माण तथा उत्पादन क्षेत्र र उद्योगहरु सञ्चालन हुन पाउने छन् । तर सामाजिक गतिविधि भने गर्न पाइने छैन । त्यसपछिको अवस्था कस्तो हुने भन्ने निर्णय मे ११ मा गर्ने प्रधानमन्त्री आर्डर्नले उल्लेख गरेकी छन् ।

बैशाख ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्