नेकपा नेता हरिबोल गजुरेलसँगको अन्तर्वार्ता

‘संसद विघटन गर्ने, मध्यावधी चुनाव गर्ने र राष्ट्रपतीय शासन सञ्चालन गर्ने डिजाइनमा ओली हुनुहुन्छ‘

काठमाडौँ – नेकपाका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने, मध्यावधी चुनाव गर्ने र राष्ट्रपतीय शासन सञ्चालन गर्ने डिजाइनमा भएको बताएका छन्।

त्यसैका लागि प्रधानमन्त्री ओलीले पार्टीसँग कुनै पनि सल्लाह नगरी एकाएक मन्त्रीपरिषदबाट राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पारित गराई राष्ट्रपतिबाट त्यो जारी गर्न लगाएको नेता गजुरेलको भनाइ छ।

मगंलबार देश सञ्चारसँग कुरा गर्दै गजुरेलले प्रधानमन्त्री ओलीको स्वेच्छाचारी शैलीले उग्ररुप लिएको बताएका छन्। सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। त्यो राजपत्रमा प्रकाशित समेत भइसकेको छ।

प्रस्तुत छ गजुरेलसँग गरिएको कुराकानीको सम्पादित अशं:

सोमबार जारी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशलाई यहाँले कसरी हेर्नु भएको छ?

यो घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। यो घटनाको विवरण सुनेपछि हिजोदेखि हामी आफै पनि ‘नर्मल’ अवस्थामा छैनौँ। कोरोना भाइरसको यस्तो महामारी फैलिएको बेला, देश र जनतालाई कसरी बचाउने भन्ने चिन्ता छाएका बेला र त्यसविरुद्ध सबै एक भएर लड्नु पर्ने बेला प्रधानमन्त्री, नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले यस्तो कदम चाल्दा हाम्रा लागि निकै लज्जाको विषय हो।

पार्टी एकतापछि यति कठिन र गम्भीरमा मोडमा हामी यसअघि कहिल्यै पुगेका थिएनौँ। जनताको घरघरमा पुगेर मलमपट्टी लगाउनु पर्ने बेला प्रधानमन्त्री जस्तो पदमा बसेको नेताको ध्यान कता रहेछ? यस्तो बेला नयाँ घाउ बल्झाउनु भयो उहाँले। यो उहाँका लागि र देशकै लागि दुर्भाग्यपूर्ण हो। यो घटनाले ओलीको पतनको सुरुवात भएको छ।

अच्चम त के भने उहाँ आफैले आफ्नो पतनको सुरुवात गर्नु भयो। नाकाबन्दीका बेला ‘ओली ओली’ भनेका थिए जनताले । अब ठिक उल्टो आफ्नो पतनको पराकाष्टातर्फ उहाँ जानु भयो। मेरो निष्कर्ष त्यही हो।

अब पूर्व माओवादी कसरी अघि बढ्ने रणनीतिमा छ?

यहाँ पूर्व माओवादीको मात्रै कुरा रहेन। समग्र नेकपा पार्टीको विषय गम्भीर मोडमा पुगेको छ। पूर्व माओवादीले केही कुरा उठाउँदा बहस त समग्र पार्टीभित्र चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी शैली कस्तो छ त्यो सबैलाई थाहा छ।

पार्टीको बैठकमा आफै बसेर निर्णय गर्ने अनि पछि मान्दिन भन्ने उहाँको शैलीले हामी पहिल्लैदेखि चिन्तित हो। उहाँले आफ्नो पार्टीको बैठकको निर्णय नमान्ने हो भने अरु कसले मान्छ? पार्टीको नेतृत्वले अनुशासन नमानेपछि अरु कसले मान्छ। विधिको शासनको पालना उहाँले गर्न पर्दैन।

नेकपा फुट्छ अब?

ओलीले अनौपचारिकरुपमा पार्टी फुटाइसक्नु भयो। अब हाम्रो बल पुग्यो भने पार्टी फुट्न दिन्नौँ। उहाँको बल पुगेको खण्डमा त्यसलाई औपचारिक रुप पनि दिनुहुन्छ। हाम्रो बल पुगे त्यसलाई जोगाउँछौँ। पार्टीलाई जोगाउन सचिवालयका नेताहरुले पहल गर्नुहोला, छलफल गर्नुहोला र हामीलाई सुनाउनुहोला भन्ने प्रतिक्षामा छौँ।

आन्तरिक छलफल नै अहिलेको महत्वपूर्ण कुरा हो। सचिवालयको हिजोको बैठकको कुनै अर्थ भएन। बैठक यता हुँदै थियो उता राष्ट्रपतिद्धारा अध्यादेश जारी भइसकेको थियो। त्यो जस्तो विडम्बना अरु के हुन्छ? अब स्थायी कमिटि बैठक पनि बस्नुपर्छ। त्यहाँ पनि छलफल हुनुपर्छ। हामीले हाम्रो तर्फबाट दबाब दिने काम जारी राख्ने छौँ।

यस्तो बेला नेकपा या अरु कुनै पार्टी पनि फुटाउन मिल्छ?

मिल्दै मिल्दैन। बेला उपयुक्त होइन, काम पनि उपयुक्त होइन। २०४६ सालतर्फ नेपालको राजनीतिलाई उहाँले मोड्नुभयो। यो त सरमको पराकाष्टा हो। यसलाई कसरी व्याख्या गर्ने शब्द पाइरहेका छैनौँ।

यसैपनि हामीलाई ओलीको कार्यशैलीका कारण लाज भइरहेको छ। आफ्नो नेता, आफ्नो सरकार भन्ने निकै लाज भइरहेको हो। यो घटनाले त झन हामीलाई कता लैजादैछ भनेर हामी आफै सोच्न बाध्य भएका छौँ। मुख देखाएर हिड्न गाह्रो भयो।

उहाँको उद्देश्य पूर्व माओवादीलाई लत्याउने हो भन्ने तपाईँको बुझाई हो?

पूर्व माओवादी भन्ने केही पनि होइन। उहाँको मुख्य कुरा पार्टीमा ४० प्रतिशत संसदीय दलमा पुर्याउने हो। अनि संसद विघटन गर्ने, मध्यावधी चुनावमा जाने र राष्ट्रपति शासन सञ्चालन गर्ने डिजाइनमा हुनुहुन्छ उहाँ। त्यसमा राष्ट्रपतिको पनि हात भएको बुझन् कठिन छैन।

पार्टीलाई कसरी जोगाउनुहुन्छ?

पार्टी जोगाउने एउटा उपाय हो छलफल। आन्तरिक छलफल तिब्र पार्ने हो । यो त आन्तरिक विषय बन्यो। अरु दलको कारणले उत्पन्न परिस्थिति होइन।

पार्टीलाई कसरी एकतावद्ध बनाउने? कसरी रुपान्तरण गर्ने भन्नेमा हामीले केन्द्रीत हुने छौँ। हामीमा रुपान्तरण हुन जरुरी छ। हैन भने हामीलाई जनताले विश्वास गर्नै छैनन्।

ओलीबाट यस्तो कदम चल्छ भन्ने थाहा थियो पहिले?

अलिअलि गाँइगुँई सुनेको हो । तर यस्तो बेला यसरी अघि बढ्नु होलो भनेर सोचेका थिएनौँ। तीन-तीन जना पूर्व प्रधानमन्त्री रहेको पार्टीमा आफ्नै ढंगले यसरी काम गर्नुहोला भनेर सोचेकै थिएनौँ।

बैशाख ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्