कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार

नेपाली सेनाले चीनसँग खरीद गरेका अत्यावश्यक मेडिकल सामग्री आगामी साताभित्र आउने

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे। तस्बिरः बर्षा शाह।

काठमाडौँ– नेपाली सेनाले सरकार–सरकार (जिटुजी) माध्यमबाट चीनसँग कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि ३४२ टन अत्यावश्यक मेडिकल सामग्री आयात प्रक्रियाले औपचारिकता पाएको छ। त्योसँगै त्यसको केही भाग अर्को सातासम्म मुलुकमा भित्रने भएको छ।

आगामी साताभित्रै अत्यावश्यक मेडिकल सामग्री नेपालमा वायु सेवा निगमको ‘चाटर्ड’ विमानमा ल्याइने र ढुवानी खर्चलाई ध्यानमा राख्दै बाँकी सामग्री स्थलमार्गबाट ल्याइने सेनाले जनाएको छ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनाले सबै गरेर विभिन्न ६७ प्रकारका सामग्री खरीदका लागि गत साता चीन सरकारसँग सहमति गरेको थियो।

सेनाले नेपालमा कोभिड-१९ को संक्रमणको फैलावट र अवस्था हेरेर सहमतिमा परेका बाँकी सामग्री स्थलगत या हवाई माध्यमबाट ल्याउने तयारी गरेको  पाण्डेको भनाइ छ।

सेनाले चीनसँग १ करोड ८४ लाख डलर बराबरको मेडिकल सामग्री खरीद गर्न लागेको हो।

मंगलबार सेनाले आयोजना गरेको भिडियो पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता एवं ब्रिग्रेडियर जनरल पाण्डेले चीन सरकारले आफ्नो सम्बन्धित संयन्त्रको माध्यमबाट आगामी साताभित्र गोन्जाओमा अत्यावश्यक सामग्री जम्मा गरिदिने र नेपालबाट जाने ‘चाटर्ड वाइडबडी’ले ती सामग्री ल्याउने बताए।

वाइडबडीले सामग्रीको ‘साइज’ र तौलका कारण एक पटक १८ देखि २० टन मात्रै सामग्री ल्याउने भएकाले ढुवानी खर्च धेरै लाग्ने देखिएपछि सेनाले स्थलमार्गबाट पनि सामग्री ल्याउने विकल्प अघि सारेको हो।

पाण्डेले भने, ‘नभई नहुने सामग्री गोन्जाओमा जम्मा भएको जानकारी आएपछि हामीले चाटर्ड वाइडवडी पठाएर ती सामग्री ल्याउँछौँ। हालको अवस्था यो भन्दा गम्भीर बनेमा भने हामी दिनमा दुई या ३ पटक भएर पनि ‘चाटर्ड’ विमान गरेर ल्याउने छौँ। हैन भने स्थलमार्गबाट ल्याउने छौँ।’

सेनाले मेडिकल सामग्री खरीदमा ढिलाई गरेको आरोप लागिरहेका बेला पाण्डेले सरोकारवाला सबै निकायसँग समन्वय गर्दै प्रक्रिया अघि बढाउँदा त्यसमा समय लागेको बताए। उनले भने, ‘यो हामीलाई मात्रै प्राप्त भएको जिम्मेवारी होइन। निर्णय, विभिन्न मन्त्रालयसँग समन्वय र प्रक्रियामा जाँदा समय लागेको हो। हामीले ढिलो गरेको होइन।’

पाण्डेले चीनले ८१ वटा राष्ट्रलाई कोभिड–१९ को संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक सामग्री दिइरहेको र त्यसमा नेपाल पनि प्राथमिकतामा पर्नु आफैमा सुखद भएको बताए।

सेनाले खरीद गरेको मेडिकल सामग्री स्थलगतमार्गबाट ल्याउँदा तातोपानी नाकासम्म आइपुग्न कम्तीमा सात दिन लाग्ने र त्यहाँ नेपाल ‘कस्टम’मा अर्को दुई दिन दिन लाग्ने देखिएको छ। त्यसैले गोञ्जाओबाट सिधै काठमाडौँको आफ्नो डिपोसम्म ती सामग्री ल्याउने गरी सम्बन्धित कम्पनीसँग छलफल भइरहेको पनि उनले बताए।

सेनाले यी सामाग्री झिकाउँदा कुनै ‘कमिसन एजेण्ट’ नराख्ने, सम्पूर्ण प्रक्रिया पारदर्शी हुने र चीनका सरकारी सयंन्त्रहरुद्धारा गुणस्तरको ‘ग्यारेन्टी’ हुनुपर्ने शर्तसहित चीन सरकारसँग सहमति गरेको हो।

सेनाले कोभिड–१९ को संक्रमणलाई लक्षित गर्दै भारतबाट ल्याउने भनेको ५३ प्रकारका औषधि भने अझै आउने टुंगो लागि नसकेको उनले बताए।

गत चैत्र १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत ‘जी टु जी’ को विधिबाट खरिद गर्ने’ निर्णय गरेको थियो।
उक्त निर्णयका आधारमा सेनाले औषधि खरीद प्रक्रिया अघि बढाएको थियो।

उसले चीन, भारतसँगै सिंगापुर, दक्षिण कोरिया र इजरायलसँग पनि मेडिकल सामग्री खरीदका लागि आग्रह गरेको थियो। तर ती मुलकहरुबाट कुनै पनि प्रतिक्रिया नआएको सेनाले जनाएको छ।

बैशाख ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्