२४ जना संक्रमित देखिएको प्रदेश १ को सुरक्षा व्यवस्था कडा, नेपालमा संक्रमण तेस्रो चरणमा प्रवेश

कोरोना भाइरस (कोभिड १९) का संक्रमितहरुको संख्या एकाएक प्रदेश एकको उदयपुर जिल्लामा बढ्दै गएको छ। गत शुक्रबार र मंगलबार उक्त जिल्लाबाट २४ जना संक्रमित फेला परेका छन्।

गत शुक्रबार ११ जना संक्रमितलाई उदयपुर ३ स्थित भुल्केको एक मस्जिदमा फेला पारेपछि सशंकित बनेको सरकारले सो क्षेत्रलाई नै कडा सुरक्षाबीच राखेको छ। कोभिड १९ का कुल ४२ जना संक्रमित फेला परेसँगै हाल ४ जना बिरामी उपचारपछि घर फर्किएको अवस्थामा ३८ संक्रमित उपचारका लागि अस्पताल भर्नामा छन्। समुदायमा कोरोना भाइरसको संक्रमण देखिएसँगै मंगलबारदेखि नेपालमा कोरोना भाइरस संक्रमण तेस्रो स्टेजमा प्रवेश गरेको छ।

विदेशबाट आएकाहरुमा कोरोना  भाइरसको संक्रमण भए पहिलो चरण मानिन्छ भने उनीहरुले परिवार र छरछिमेकमा संक्रमण फैल्याए दोस्रो चरण मानिन्छ। धनगढीका एक युवकले आफ्नो परिवारको सदस्यमा संक्रमण फैलाएपछि नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेको थियो। संक्रमितहरुले समुदायमा संक्रमण फैल्याए भने यसलाई तेस्रो चरणको अवस्था मानिन्छ।

मंगलबार पोजेटिभ नतिजा आएकाहरु १८ वर्ष उमेरदेखि ५८ वर्षसम्मका छन्। दुईजना महिलासमेत छन्। एक साताभित्र एकै क्षेत्रबाट कोभिड १९ का ठूलो संख्यामा संक्रमित फेला परेपछि प्रदेश एक सरकारले सो क्षेत्रमा सुरक्षा अवस्था कडा बनाएको जनाएको छ।

सुरक्षा अवस्थामा कडाइ गरेसँगै आवतजावतमा समेत रोक लगाएको र प्रदेश एकलाई उच्च सतर्कतामा राखेको प्रदेश एक सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन्। मन्त्री घिमिरेले अहिले उदयपुरबाट संक्रमितको अवस्थालाई ध्यानमा राखेर उदयपुर जिल्लाको नाकामा सुरक्षाकर्मी राखिएको र अत्यावश्यकबाहेक हिँड्डुलमा समेत रोक लगाएको जानकारी दिए।

त्यसैगरी मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा ८ जना र काठमाडौंमा गरिएको परीक्षणमा तीन जनाको नतिजा पोजेटिभ आएको हो। पोजेटिभ नतिजा आएका ८ जनाको सोमबार राति नै थ्रोट स्वाब पुनः परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पतालबाट नमूना धरान पठाइएको थियो। यसक्रममा कोशी अस्पताल पनि उनीहरुको नतिजालाई लिएर ढुक्क हुने प्रयासमा थियो। सोही शंकास्पदको नतिजा पोजेटिभ आएको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले बताइन्। डा. मिश्राका अनुसार पोजेटिभ नतिजा आएका सबै ८ जनालाई राति नै विराटनगर ल्याइएको छ।

त्यसैगरी अन्यलाई पनि ल्याउने क्रम रहेको छ। डा. मिश्रा भन्छिन्, ‘शुक्रबारदेखि राखिएका पोजेटिभ ब्यक्तिहरुमा अहिलेसम्म कोरोनाको लक्षण, ज्वरो, रुघाखोकी जस्ता कुरा देखिएको छैन। उनीहरुको अवस्थामा त्यस्तो गम्भीर हुनुपर्ने देखिँदैन।’

शुक्रबार संक्रमित पहिचान भएको भुल्केमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव परीक्षणका लागि पुगेका थिए। शनिबार उनकै उपस्थितिमा ६९ जनाको स्वाब नमुना संकलन गरिएको थियो। यादवका अनुसार, सोही ६९ जनामध्ये ८ जनाको नमूना पोजेटिभ भेटिएको हो।

यादवले भने, ‘शनिबार भुल्केमा रहेको मस्जिद वरिपरिको प्रत्येक घरको एकजनाको नमूना संकलन गरिएको हो। तथापि संक्रमितको अवस्था अबको दुई सातापछि देखिने छ।’

६९ जनामा ९ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र बाँकी ६० जना स्थानीयको स्वाब नमुना संकलन गरिएको हो। सो मस्जिद नेपाली सेनाको क्याम्पबाट पूर्वतर्फ छ। हाल सो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणमा समेत त्रास देखिएको छ। उदयपुरको सो क्षेत्रबाट ३ सय २० जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ। भुल्के क्षेत्रको आसपास करिब ५२ वटा घरधुरीका करिब ६ सय जनसंख्या छ। सो क्षेत्रलाई सुरक्षा निकायले हाल सिल गरेको छ।

हाल विराटनगरको कोभिड १९ उपचार केन्द्रमा १० वटा भेन्टिलेटर बेड सहित ५० वटा बेड क्षमता छ। सामाजिक विकास मन्त्री घिमिरेले केन्द्रमा १ सय संक्रमित विरामी राख्न सक्ने गरी क्षमता विकास गरेको दाबी गरे। भोलिका दिनमा संक्रमितको अवस्था बढ्दै गर्दा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत वार्ड थप्ने गरी काम भइरहेको मन्त्री घिमिरे बताए। मन्त्री घिमिरेले भने, ‘वीपीमा १ सय बेड तयार अवस्थामा राख्दै गर्दा थप संक्रमित बढेको खण्डमा अस्पताल नै खाली गराउनेतर्फ सोच भइहेको छ।’

बैशाख ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्