लकडाउनको एक महिनामा नेपालबाट ३४ वटा चार्टर्ड फ्लाइट, ४५७ नेपालीसहित ६४ देशका नागरिक बाहिरिए

काठमाडौँ – विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले देशब्यापी लकडाउन सुरु गरेको बिहीबार एक महिना पुरा हुँदै छ।

कोरोना भाइरसलाई फैलन नदिन जनतालाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन निर्देशन दिँदै लागु गरिएको लकडाउन अवधिभर नेपाल आउने सम्पुर्ण नियमित अन्तर्राष्ट्रिय उडान र घरेलु नियमित उडानसमेत बन्द रहेका छन्।

विदेशबाट आउने यात्रुले कोरोना भित्र्याउन सक्ने आँकलन गर्दै सरकारले अन्तर्राष्ट्रिय उडानलाई अप्रिल ३० तारिखसम्म बन्द गरिसकेको छ। यसबीचमा उद्धारका आन्तरिक उडान र बाह्य उडान भने सन्चालनमा रहे। तर नेपालले भने विदेशमा रहेका आफ्ना नागरिकलाई ल्याएको छैन। उनिहरुलाई स्वदेश फर्कन दिनुपर्ने चौतर्फि माग लगातार बढिरहेपनि भारतमै काम गरिरहेका नेपाली पनि सिमापारी आएर रोकिएका छन्।

देशका विभिन्न स्थानमा अलपत्र परेका मजदुरहरु पैदलै गाउँ फर्किरहेका छन्। बीचमा सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई सकेसम्म स्वदेश फर्काउन नत्र जहाँ छन् त्यहिँ खानेबस्ने र स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन सरकारका नाममा आदेश जारी गरेको थियो।

तर यस बिषयमा सरकारले कुनै कदम चालेको छैन। नेपालमै रहेका ज्यालामजदुरी गर्ने र असहायलाई राहत उपलब्ध गराउन स्थानीय निकायलाई सरकारले निर्देशन दिएपनि कार्यान्वयन पक्ष फितलो हुँदा उनिहरु गाउँ फर्कन बाध्य छन्।

आफु सम्बन्धित स्थानीय निकायलाई दबाब दिएपछि पछिल्लो समय स्थानीय जनप्रतिनिधीले काठमाडौँबाट आफ्ना जनता ओसार्न थालेका छन्। मंगलबार पूर्वी नेपालका विभिन्न जिल्लाका हजारौँ जनता स्थानीय जनप्रतिनिधीले बोलाएको भन्दै गाडि चढ्न कोटेश्वर-जडिबुटी- लोकन्थली क्षेत्रमा पुगेका थिए। हजारौँ मानिस सडकमा ओर्लिएपछि प्रहरीसहित स्थानीय प्रशासन अवाक् बनेको थियो। त्यसअघि गत साता सर्वोच्च अदालतले विच बाटामा अलपत्र परेका नागरिकलाई उनिहरुको गन्तव्यसम्म पुर्‍याउन सरकारका नाममा आदेश जारी गरेको थियो।

५ कार्गोसहित नेपालबाट ३४ चार्टर्ड फ्लाइट 

दोस्रो कोरोना संक्रमित भेटिएको भोलिपल्टै नेपालले लकडाउन लागु गरेको थियो। चैत ११ गते देशब्यापी लकडाउन सुरु भएयता दुईपटक लकडाउनको म्याद थपिएको छ, ८ दिन र १५ गरेर। यसबीचमा विभिन्न देशले नेपालमा रहेका आफ्ना नागरिकलाई उद्धार गरेका छन्।

अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, जापान, रुस, चेक गणतन्त्रलगायत देशले विमान चार्टर्ड गरि नेपालबाट आफ्ना नागरिक लगेका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार लगडाउन सुरु भएयता नेपालबाट ३४ वटा चार्टर्ड अन्तर्राष्ट्रिय फ्लाइट भएका छन् जसमध्ये ५ वटा कार्गोका छन्। कार्गोमध्ये चार वटा चिन र एउटा यूएईका लागि भएको थियो।

प्रवक्ता क्षेत्रीका अनुसार कतार एयरलाइन्सले १० वटा, नेपाल एयरलाइन्सले ९ वटा, कोरियन एयरले २ वटा, टाइटन एयरले ३ वटा, इतिहादले एउटा, चेक गणतन्त्रले एउटा, मालिन्दोले एउटा, मलेसियन एयरले एउटा, श्री एयरलाइन्सले एउटा, बुद्ध एयरले एउटा, एयर अरेबियाले एउटा, ड्रुक एयरले एउटा र रोयल फ्लाइट एयरलाइन्सले एउटा चार्टर्ड फ्लाइट गरेका छन् काठमाडौँबाट। यसैगरि अमेरिकाको जर्नी एभिएसनले पनि एउटा डिप्लोमेटिक सपोर्ट उडान गरेको प्राधिकरणले जनाएको छ।

४५७ नेपालीसहित ६४ देशका नागरिक बाहिरिए 

लकडाउन सुरुभएयता नेपालबाट ४ सय ५७ नेपालीसहित ६४ देशका नागरिकहरु बाहिरिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अनुसार फ्रान्सका ४१०, बेलायतका ५०६, जर्मनीका ६५०, अमेरिकाका ५३१, अस्ट्रेलियाका २२५, रुसका १०५, नेदरल्यान्ड्सका १३६, जापानका १६२, दक्षिण कोरियाका एक सय ६३ र क्यानडाका एक सय ५८ जना नागरिक नेपालबाट गएका छन्।

ब्राजिलका ३१, भुटानका २१, स्विजरल्यान्डका ४९, चिलीका २, चिनका ११, साइप्रसका ११, डेनमार्कका २०, फिनल्यान्डका १८, ग्रिसका २, हङकङका १, हंगेरीका १६, आयरल्यान्डका २१, इजरायलका १२, श्रीलंकाका १, लिथुवानियाका ४, लक्जेम्बर्गका ३, लाटभियाका १, मेक्सिकोका ३, माल्टाका २, मंगोलियाका ३, मलेसियाका ४४, नर्वेका ८, न्युजिल्यान्डका २७, बेलारुसका ४, कजाकस्तानका १, युक्रेनका १७, भारतका ११, मालदिभ्सका १२, बेल्जियमका ६२, स्पेनका ६३, इटालीका ४१, चेक गणतन्त्रका ४४, अस्ट्रियाका ३८, पोल्यान्डका ४८, पोर्चुगलका ७, सिंगापुरका १९, दक्षिण अफ्रिकाका २, सोमालियाका १, सर्बियाका १, स्लोभाकियाका ६, स्लोभानियाका २, स्वीडेनका २८, थाइल्यान्डका २, ट्रिनिडाड एन्ड टोबागोका १, ट्युनिसियाका १, ताइवानका २, भियतनामका १ र यमनका एक जना नागरिक लकडाउन सुरु भएयता नेपालबाट बाहिरिएका छन्।

यसैगरि आईसल्यान्डका १, यूएईका १, अर्जेन्टिनाका २, बंगलादेशका ११ र बुल्गेरियाका २ जना पनि नेपालबाट बाहिरिएका छन्।  संयुक्त राष्ट्र संघको राहदानी बोकेका चार जना पनि नेपालबाट बाहिरिएको त्रिभुवन विमानस्थल अध्यागमन स्रोतले जनाएको छ। नेपालबाट बाहिरिएका नेपालीको हकमा विमानमा रहेका नेपाली क्रु मेम्बरको संख्या पनि समावेश छ।

विदेशबाट आउने विमानका क्रु मेम्बरको इन्ट्रि र डीपार्चर दुवै हुँदैन। तर नेपालबाट जाने विमानका नेपाली क्रु मेम्बरको हकमा भने उनिहरुको डिपार्चर गरिन्छ। यसबीचमा नेपालबाट भएका चार्टर्ड फ्लाइटले एउटै देशको मात्र नभएर विभिन्न देशका नागरिक लिएर गएको अध्यागमन विभागले जनाएको छ।

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

बैशाख १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्