लकडाउनमा बर्दियामा भित्रिए आठ हजारभन्दा बढी मजदुर, आठ सय क्वारेन्टाइनमा

बकुवा क्वारेन्टाइनमा बसेका लक्षीराम थारु ।

सब ठिकठाक भएको भए यतिबेला वसन्तपुरमा बालुवा चालिरहेका हुन्थे बर्दियाका लक्षीराम थारु । लकडाउन सुरु भयो काम रोकियो । वसन्तपुरको काष्ठमण्डपमा कामगर्ने उनको हरेक साँझ भोलिको पर्खाइमा बित्यो । जुन भोलिले उनको दैनिकी फर्काउँथ्यो ।

उनी काष्ठमण्डपमा बालुवा चाल्थे, मसला घोल्थे अनि तसलामा हालेर मिस्त्रीसम्म पुर्‍याउँथे । तर उनको त्यो दिन आएन । दिन बित्यो, हप्ता बित्यो, महिना पुग्न लाग्यो । लकडाउन थपिँदै गयो । लकडाउन खुली हाल्छ नि भन्ने आशमा यतै बसेका थारुलाई लाग्यो त्यो भोलि चाँडै आउँदैन अब ।

उनले यात्रा तय गर्ने निधो गरे । काठमाडौँबाट बर्दियासम्मको करिब साढे ५ सय किलोमिटरको यात्रा । यात्रा लामो थियो, मनमा पिर । त्यही पिरले उनलाई आँट दियो, आत्मबल पनि । आफूजस्तै मजदुरहरु हिँडेरै जान कस्सिएका देखेरै उनले यात्रा तय गरे वैशाख ६ गते ।

बकुवा क्वारेन्टाइनमा बसेका लक्षीराम थारु ।

काठमाडौँ छिर्ने मुख्य नाका नागढुङगासम्म हिँड्दै गएका उनको बर्दियासम्मको बाँकी यात्रा ५ वटा गाडी बदलेर सम्भव भयो । मनकारीहरुले आफू जाने ठाउँसम्म छोडिदिए, लक्षिरामसहितको समूहलाई । कसैले भाडा लिए कसैले लिएनन् । तरकारीको गाडी, ट्रक अनि स्थानीय तहका प्रतिनिधिहरुको पहलमा एक जिल्लाबाट अर्को जिल्ला हुँदै उनी दुई दिन लगाएर बर्दिया पुगे ।

बर्दियाको भुरिगाउँ पुगेका उनीसहितको छ जनाको टोलीलाई स्थानीय अधिकारीहरुले ठाकुरबाबा नगरपालिका वडा नं ६ बकुवाको जनज्योती उच्च माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिदिएका छन् । ठाकुरबाबा नगरपालिकामा ४ वटा क्वारेन्टाइन सेन्टर छन् । बगनाहा, भुरिगाउँ, बकुवा र मढेला । बगनाहाका उनलाई करिब १५ किलोमिटर टाढा बकुवामा लगेर राखिएको छ । हाँस्दै उनले भने नजिक भए परिवार भेट्न आउँछन भनेर सरहरुले यहाँ राखिदिनु भएको हो । उनी घर जाने दिन गन्दै बसेका छन् । जहाँ उनको परिवार बाटो हेरेर बसेको छ । उनि मात्र हैन उक्त क्वारेन्टाइनमा मात्र विभिन्न जिल्लाबाट आएका १७ जना घर जाने दिन गनेर बसेका छन् ।

जिल्लाका अधिकांस क्वारेन्टाइनमा फरक वडाका मानिसलाई राखिएको छ । क्वारेन्टाइनको समन्वय नगरपालिकाको नेतृत्वमा वडाले गरिरहेको छ ।

बाहिरबाट नगरपालिकामा आउने सबैलाई निगरानी गरिरहेको ठाकुरबाबा नगरपालिकाका प्रमुख घन नारायण श्रेष्ठले बताए । ‘सुरुमा भारतबाट आउनेहरुको मात्र निगरानी गरेका थियौँ अहिले देशभित्रै पनि संक्रमण देखिएकाले सतर्क भएका छौँ’ उनले बताए । पहिला भारतबाट आउने बाहेककालाई प्रत्यक्ष निगरानिमा होम क्वारेनटाइनमा बस्न भनेका थियौँ अहिले भने नगरपालिकामा प्रेवस गर्ने सबैलाई १४ दिन क्वारेनटाइनमा बस्न अनिवार्य गरेका छाैँ । क्वारेनटाइनको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोरि रहेको छ ।

ठाकुरबाबा नगरपालिका मात्र हैन जिल्लाका सबै नगरपालिका र गाउँपालिकाले क्वारेनटाइन बनाएका छन् । जिल्लाको दक्षिणमा पर्ने राजापुर नगरपालिकामा ७ वटा क्वारेनटाइन छन् । नगर प्रमुख शिव प्रसाद चौधरीका अनुसार १०० भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ ।

मानिसहरु जिल्लामा भित्रने क्रम अझै भएकाले क्वारेन्टाइनमा थपिने र १४ दिन पुरा गरेर जाने भइरहेको उनले बताए । उनका अनुसार लकडाउनकाे अवधिमा नगपालिकामा १२ सय भन्दा बढि मानिसहरु भित्रिएका छन् । भारतबाट आएका र संक्रमण देखिएको जिल्लाबाट आएका बाहेक अरुलाई प्रत्यक्ष निगरानी रहने गरि होम क्वारेनटाइनमा बस्न आग्रह गरेका उनले बताए ।

जिल्लाका नगरपालिकाहरुले प्रवेश गर्ने सबैलाई क्वारेनटाइनमा राखेका छैनन्। क्वारेनटाइनमा बसेका बाहेककालाई प्रत्यक्ष निगरानिमा राखिएकाे भनेपनि कतिपय नगपालिकामा कति मानिस भित्रिए भन्ने तथ्याङ् नै छैन ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार मंगबारसम्म जिल्लामा भारत र विभिन्न जिल्लाबाट ८ हजार ३ सय ४४ जना भित्रिएका छन् । भित्रिने क्रम अझै जारि छ । जिल्लाका ४१ वटा क्वारेन्टाइनमा ८ सय ६८ जना क्वारेन्टाइनमा बसिसकेका छन् । ३ सय ८६ भन्दा बढिको र्‍यापिड डाइगोनेष्टिक टेष्ट (आरडिटी) गरिएको प्रशासनका सुचना अधिकारी बालकृष्ण अधिकारीकाले बताए ।

बकुवा क्वारेन्टाइन।

उनका अनुसार जिल्लामा १६ सय ८४ वटा क्वारेनटाइन बेड छन् । जिल्ला भित्रिने मध्य सामान्य चेकजाँचमा शंका लागेका व्यक्तिहरुलाई क्वारेनटाइनमा राखेर अन्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको र उनिहरुलाई स्थानिय निकाएको समन्वयमा आफूहरुले पनि निगरानि गरिरहेको उनले बताए ।

जिल्लामा ठाकुरबाबा, बारबर्दिया, मधुवन, राजापुर, बाँसगढी, गुलरिया नगरपालिका र गेरुवा, बढैयाताल गाउँपालिकागरि ५ नगरपालिका र २ गाउँपालिका छन् । जिल्लाको तथ्याङ अनुसार करिव ४ लाख ३० हजार जनसंख्या रहेको जिल्लामा अधिकांस ठाउँमा थारु जातिको बसोबास बाक्लो छ । आर्थिक रुपमा विपन्न परिवारहरु अवसरको खोजिमा भारत लगायत देशकै विभिन्न जिल्लामा जाने गरेका छन् ।

 

बैशाख १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्