उदयपुरको सिवाइमा ५८ घरपरिवारको स्वाब संकलन गरिने, छाउनीबाट सेनाको टोली जाँदै

उदयपुरको चौदण्डीगढी-५ सिवाइ स्कुलमा स्वाव संकलनको तयारी गर्दै सेना, सशस्त्र, प्रहरी र स्थानीय जनप्रतिनिधि।तस्बिर-भास्कर चौधरी

काठमाडौं- उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा रहेको २२ जना मुस्लिममा कोरोना पोजिटिभ देखिएपछि चौदण्डीगढी नगरपालिका-५ सिवाइमा स्वाव संकलन गरिने भएको छ।

नेपाली सेनाको छाउनीस्थित अस्पतालबाट आउने चिकित्सकले ५८ घरपरिवारका २७१ जनाको स्वाव संकलन गरिने चौदण्डीगढी-५का वडाध्‍यक्ष देवनारायण चौधरीले देश सञ्‍चारलाई जानकारी दिए।

उनले भने, ‘ उदयपुरको भुल्केमा रहेको मुस्लिम समुदायमा कोरोना पोजिटिभ देखिएपछि सिवाइ गाउँमा रहेका मुस्लिम समुदाय र उनीहरुसँग सम्पर्कमा आएका घरपरिवारको स्वाव संकलन गर्दैछौ। किनकी भुल्केमा आएका मुस्लिमहरु सिवाइमा पनि आएर दुई रात बसेर गएका थिए।’

उनका अनुसार सिवाइ ५८ घरपरिवारको स्वाव संकलन सिवाइस्थित स्कुल परिसरमा गरिनेछ। उनले भने, ‘आज सिवाइ स्कुलमा चौदण्डीगढीका मेयर, वडा अध्यक्ष, सेना, प्रहरी र सशस्त्र मिलेर हेलिप्याड, आवश्‍यक बस्‍ने ठाउँ व्‍यवस्था गरिसकेका छ। भोलि सेनाको चिकित्सक टोली छाउनीबाट आउँदैछ।’

यसअघि छाउनीस्थित सेनाको चिकित्सक टोली उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा तीनदिनसम्‍म स्वाब संकलन गरेको थियो। जहाँ एकै दिन १२ जनामा र अर्को दिन १० जनामा कोरोना पोजिटिभ देखिएको थियो।

यता, प्रदेश सरकारले उदयपुर जिल्लाको चारै नाका सिल गरेको छ। त्‍यहाँ अत्यावश्‍यक बाहेकका सवारी साधन गुड्न दिइएको छैन भने शंकास्पद रहेका व्‍यक्तिहरुको धमाधम स्वाव संकलन गरिरहेको छ।

यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले भुल्‍केमा रहेका स्थानीयहरुलाई निशुल्क मास्क, सेनिटाइजर वितरण गरिरहेको छ भने घरमै बस्‍न आग्रह गरेको छ।

बैशाख १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्