बारीभरि तरकारी कुहियो, १० रुपैयाँ किलो पनि बिक्दैन

तस्बिरहरु: बर्षा शाह

काठमाडौँ- धादिङको बेनिङघाट रोराङ-मझिमटारबाट दुई घण्टाको गाडी यात्रापछि पुगिन्छ सुकमाया चेपाङको घर। सुकमाया पेशाले किसान हुन् अर्थात तरकारी उत्पादन गरेर काठमाडौँलगायत विभिन्न ठाउँमा पठाउँछिन्।

यसपटक उनले बारीमा सिमी लगाएकी छिन्।  शुक्रबार उनले बारीमा लटरम्म झुण्डिरहेका सिमी टिपिन्, ६ जना जन (कामदार) लगाएर। दिनभर टिप्दा पनि उनको बारीमा आधाभन्दा बढी सिमी टिप्न बाँकी नै थियो। शनिबार बिहानै उनी पृथ्वी राजमार्गमा पर्ने बेनिङघाट रोराङ-मझिमटार आईपुगिन्, ८/१० बोरामा सिमी ‘ प्याक’ गरेर।

त्यहाँ रहेको सहकारी तरकारी संकलन केन्द्रले ती तरकारी काठमाडौँलगायत विभिन्न ठाउँमा पठाउँछ र बिक्री भएको मूल्यबाट करिब ३० प्रतिशत कट्टा गरी सहकारीलाई बाँकी पैसा आउँछ।

सहकारीले पनि प्रतिकेजी २ रुपैयाँ काटेर किसानलाई पैसा उपलब्ध गराउँछ। शनिबार बिहान १० बजेसम्म पनि सहकारीबाट तरकारी उठिसकेको थिएन। नजिकै सुकमाया टाउकोमा हात राखेर बसिरहेकी थिइन्। सहकारीका सञ्चालक भोजराज श्रेष्ठ कालिमाटीले ‘तरकारी बिक्दैन, नपठाउनू’ भनेकाले अन्योलमा थिए।

‘अब यो १० रुपैयाँ केजी बिक्री भयो भने भाग्य भन्नुपर्ने अवस्था छ। कालिमाटीका व्यापारीहरु तरकारी बिक्दै बिक्दैन, नपठाउनू भन्छन्। हामीले तरकारीको मूल्य राख्न सक्दैनौँ। व्यापारीले जतिमा बिक्री गर्छन् त्यसैका आधारमा किसानले पैसा पाउने हो’, श्रेष्ठ भन्दै थिए। उनका अनुसार व्यापारीले १५ रुपैयाँ केजी बिक्री गर्दा पाँच रुपैयाँ उनीहरुले आफ्नो भागमा राख्छन्।

यता किसान सुकमाया विगतमा आफूले सिमीको प्रतिकेजी ५०/६० रुपैयाँसम्म पाएको बताउँछिन्। ‘अब खोई कति पैसा पाइन्छ। बारीमा अझै यो भन्दा बढी सिमी छ’, निन्याउरो अनुहार लगाउँदै उनी भन्छिन्। सुकमायाका अनुसार गाउँबाट राजमार्गसम्म तरकारी ल्याउँदा प्रतिकेजी २ देखि चार रुपैयाँसम्म ढुवानी खर्च लाग्छ। तरकारी संकलन केन्द्रका श्रेष्ठ सामान्य अवस्थामा आफ्नो केन्द्रबाट ३/४ टनसम्म तरकारी बाहिर जाने गरेकामा अहिले एक टन पठाउन पनि मुस्किल भइरहेका बताउछन्। उनका अनुसार धादिङका राजमार्ग आसपासमा ३० भन्दा बढी तरकारी संकलन केन्द्रहरु छन्।

सञ्चालक भोजराज श्रेष्ठ।

भिडियो हेर्नुहोस्:

बैशाख ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्