टेनिसका स्टारहरु पुरुष तथा महिला टेनिस निकायको एकताको पक्षमा

टेनिसका स्टार खेलाडी रोजर फेडेररले पुरुष तथा महिला टेनिसको दुई प्रशासकीय निकायहरु मर्ज हुने पर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण हाल टेनिसका सबै गतिविधिहरु रोकिएका बेला यो संकटको समयलाई एकताको अवसरका रुपमा लिएर भिन्दा भिन्दै रहेका पुरुष तथा महिला टेनिसका प्रशासकीय निकायलाई एक गर्नु पर्ने उनले प्रस्ताव गरेका हुन् ।

२० पटकका ग्राण्डसलाम उपाधि विजेता फेडेररले श्रृङ्खलावद्ध ट्वीट गरेर एकता सम्बन्धी प्रस्ताव गरेका हुन् । उनले ट्वीट गरेर महिला टेनिस एसोसिएसन (डब्लुटिए) र पुरुषहरुको एसोसिएसन अफ टेनिस प्रोफेसनल्स (एटिपी) को एकता हुनु पर्ने बताएका हुन् ।

उनले उल्लेख गरेका छन्, ‘हामी दुई कमजोर निकाय वा एक सशक्त नियकायबाट यो समयको चुनौतिबाट माथि उठ्न सक्ने छौँ ।’ बुधबार एटिपी अध्यक्ष आन्द्रेया गौदेन्चीले फेडेररको प्रस्तावको समर्थन गरे ।

अहिलेको समय एकताको राम्रो अवसर रहेको उनले उल्लेख गरे । केही क्षेत्रहरुमा बृहत्तर एकताका बारे दुई निकायबिच प्रारम्भीक छलफल पनि भएको बुझिएको छ ।

फेडेररले बुधबार ट्वीट गरेर प्रतिस्पर्धाहरु होइन प्रशासकीय निकायको मर्जरको कुरा गरेको उल्लेख गरेका छन्।

डब्लुटिए स्थापनाका लागि पहल गर्ने मध्ये एक अमेरिकी टेनिस लेजेन्ड बिली जिन किङ्गले आफ्नो दीर्घकालको लक्ष्य नै मर्जर रहेको भन्दै डब्लुटिए प्लान बी का रुपमा स्थापना गरेको उल्लेख गरेकी छन् ।

१९ पटकका ग्राण्डसलाम विजेता राफालय नाडालले पनि एकताको प्रस्तावको स्वागत गरेका छन् । यस्तै सिमोना हालेप, पेट्रा क्वीतोभासहितले पनि समर्थन गरेका छन् । कोरोना भाइरसको महामारीका कारण सबै टेनिस खेलहरु कम्तिमा जुलाई १३ सम्मका लागि रोकिएका छन् ।

बैशाख ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्