अर्थविद् डा. गोविन्द नेपालसँगको कुराकानी

‘आर्थिक असमानताले सामाजिक असमानता ल्याउँछ, जसबाट समाजमा द्वन्द्व उत्पन्न हुनसक्छ’

कोराना भाइरसरको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ। लकडाउनका कारणले सम्पूर्ण व्यापार व्यवसाय ठप्प छन्। जसले गर्दा आर्थिक गतिविधि हुन पाएको छैन।

कोरोना भाइरस तथा लकडाउनका कारणले नेपालको अर्थतन्त्रमा परेको प्रभाव र भविष्यमा नेपालको अर्थतन्त्रलाई सामान्य अवस्थामा कसरी फर्काउन सकिएला भन्ने विषयमा केन्द्रीत भएर हामीले अर्थविद् डा. गोविन्द नेपालसँग कुराकानी गरेका छौँ।

१) कारोना भाइरसले अर्थतन्त्रमा कस्तो असर पार्छ र अबको विकल्प के हनसक्छ?

अर्थतन्त्रको धेरै क्षेत्रमा कोरोना भाइरसका कारणले प्रभाव परेको देखिन्छ। लकडाउनको समयमा सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको छ। किनभने आवगमन बन्द भएका छन्। यसले सबभन्दा ठूलो क्षति पर्यटन तथा यातायात क्षेत्रले बेर्होनु परेको छ।

त्यसैगरी उद्योग तथा कलकारखानाले उत्पादन गर्न सकिरहेका छैनन्। साना तथा मझौता उद्योगदेखि लिएर ठूला उद्योगहरुले पनि क्षति बेहोरिरहेका छन् ।कृषि क्षेत्रमा पनि त्यतिकै असर परिरहेको छ। ठूला परियोजनाहरु पनि ठप्प छन्।

सरकारले स्वास्थ्यलाई ख्याल गर्दै संचालन गर्ने भन्दा भन्दै पनि श्रमिक व्यवस्थापनको अभाव तथा सामग्रीहरुको अभावले राम्रोसँग सूचारु हुन सकेका छैनन्। जसले गर्दा अर्थतन्त्रमा ज्यादै नकारात्मक प्रभाव परिरहेको छ।

२) अर्थतन्त्रमा परेको प्रभावलाई कसरी सम्बोधन गर्न सकिएला?

केही विषयमा विभिन्न संस्थाहरुले अध्ययन गरिरहेकाे भन्ने जानकारी मैले पाइरहेको छु। नेपाल सरकारले राष्ट्रिय योजना आयोगलाई अर्थतन्त्रमा कोरोना भाइरसले सामाजिक, आर्थिक क्षेत्रहरुमा कसरी प्रभाव पार्छ र यसको ‘रिकभरी’का निम्ति कस्तो ‘स्ट्याटेजी’ अपनाउनु पर्छ, कति खर्चको व्यवस्था गर्नुपर्छ, भन्ने बारे अध्ययनका निम्ति निर्देशन दिएको अवस्था छ।

त्यस्तै गणेशमान फाउन्डेशनले नेपालका प्रसिद्ध विज्ञहरु सहितको टोली बनाएर यसबारेमा अध्ययन गरिरहेको छ। त्यस्तै गरी विएफआइडीको एउटा परियोजना छ–इपीआई, राष्ट्र बैंक तथा सिएनआई लगायतका संस्थाले यस सम्बन्धी काम गरिरहेको छन्।

मलाई लाग्छ यी अध्ययनबाट जे कुरा आउँछ ती कुरालाई समेटर राष्ट्रिय योजना आयोगले देशको एउटा डकुमेन्ट तयार गर्छ र त्यसका आधारमा ‘एक्सन प्लान’हरु बन्न सक्छन्।

३) अहिलेको अवस्थाले श्रम बजारमा कस्तो असर पार्छ?

सबैभन्दा ठूलो असर पर्ने श्रम बजार हो। श्रमको बजार भनेको हाम्रो खाडी मुलुकहरु जहाँ यो समस्याहरु देखिएको छ। विभिन्न संचार माध्यममा समाचारहरु पनि आइरहेका छन् कि त्यहाँ श्रमिकहरुले आफ्नो काम छोड्नु परेको छ। समस्या परेको छ। त्यसैले नेपाली युवाहरु त्यहाँबाट फर्कनु पर्ने स्थिति छ।

उनीहरु नेपाल आए भने त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने अहिलेको चूनौती पूर्ण काम देखिएको छ। खास गरी योजना आयोगले यो बारेमा के कस्तो असर पर्न सक्छ र कसरी समाधान गर्ने भन्ने बारेमा अध्ययन टोली बनाएर अगाडि बढाइ राखेको छ।

४) विदेशमा रहेका नेपाल फर्किन चाहने र फर्किएकाहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ?

सरकारले विदेशी कूटनीति नियोगसँग आफ्ना नागरिकहरुका लागि पहल गर्नुपर्छ। उनीहरुले आफ्नो कामलाई निरन्तरता दिन चाहन्छन् भने सरकारकारसँग कुरा गरेर जबरजस्ती ननिकाल्न कुटनीतिक पहल हुनुपर्छ। नेपालबाट बाहिर गएका युवाहरु नेपाल आउने हो भने तत्कालै त्यसको व्यवस्थापन हुन सक्ने त्यो किसिमको विकल्पहरु यहाँ तयार भइसकेको अवस्था छैन।

केही मानिसहरु कृषि क्षेत्रमा संलग्न हुन्छन् हाेला भने केही मानिसहरु अनौपचारिक रोजगार क्षेत्रमा जान्छन् होला तर जुन सारा स्केल छ कसरी व्यवस्थापन गर्ने कुरो बनिसकेको छैन।

त्यसले गर्दा अहिले पहिलो कुरो के हो भने उनीहरु जहाँ छन् या काम गर्न चाहन्छन् भने त्यहीँ व्यवस्थापन गर्नु पर्छ। दोस्रो कुरा के हो भने उनीहरु आइसकेपछि सरकारले आफ्ना परियोजनाहरुमा र त्यसलाई व्यवस्थित गर्न पहल गर्नु पर्छ।

५) विदेशमा रहेका र अब जान चाहने श्रमिकहरुका लागि विपतको घडीमा सरकारले उनीहरुको समस्या कसरी समाधान गर्नुपर्छ ?

सरकारले आफ्नो देशका नागरिकको जिम्मेवारी लिनुपर्छ। विदेशमा बसिरहेका बेला पनि नेपाल सरकारले उनीहरुको सुरक्षा तथा जीवनयापनका निम्ति विदेशी नियोगमार्फत पनि काम गर्नुपर्छ।

नियोगमार्फत भन्नाले कुनै पनि देशको सरकारको सहयोगमा उनीहरुको व्यवस्थापन त्यहाँ गर्नु पर्छ।

अर्को कुरा त्यहाँ बस्न नसक्ने अवस्था आयो भने सरकारले उनीहरुलाई यहाँ ल्याउने या सबै ल्याउनु पर्ने अवस्थामा नहोलान् तर जो ल्याउनै पर्ने अवस्थामा हुन्छन्, उनीहरुलाई ल्याएर क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ। त्यसपछि उनीहरुकाे सपाेर्टको सिस्टममा लग्नुपर्छ।

सुन्दा सामान्य मानिस जस्तो लाग्छ। तर नेपालमा आम्दानी गर्ने वा भनौँ नेपालको लाइफलाइनमा काम गर्ने मानिसहरु हुन् उनीहरु। उनीहरुले गर्दा नेपालको अर्थतन्त्रमा विदेशी मुद्राहरु आइरहेको छ। सात आठ खर्ब रुपैयाँ वर्षको रेमिटेन्स उनीहरुका कारणले आउँछ।

उनीहरुलाई निरुत्साहित गर्ने र उपेक्षा गर्ने कुरा आउँदै आउँदैन। उनीहरुको व्यवस्थापन गर्दा तहगत रुपमा व्यवस्थापन गर्दै जानुपर्छ। सरकारले आफ्नो देशको नागरिकको जुन देशमा भए पनि जिम्मेवारी लिनुपर्छ।

६) रोजगारीका अवसर कसरी सिर्जना गर्ने ?

यस्ता महामारी तथा विपत्तिबाट सिक्ने कुरा हामी नेपाली चाँडो बिर्सन्छौँ। दुःखद् घटनाहरु चाँडो बिर्सने पहिलेदेखि नै लागेको बानी हो नेपालीहरुको। भुकम्पको कुरामा पनि त्यस्तै गर्‍यौँ।

यस संकटले के अवसर दिएको छ भने विदेशमा बस्ने नेपालीहरुले पनि विदेशमा बस्नुभन्दा आफ्नै देशमा बस्नु सुरक्षित छ र आफ्नै देशको काममा लाग्नु पर्छ भन्ने किसिमको सोच उनीहरुमा पनि आएको छ।

विभिन्न मुलुकहरुले रोजगारीका अवसरहरु संकुचित बनाउँदै गएको जानकारी आइरहेको छ। यस्तो घडीमा ती देशहरुले आफ्ना नागरिकलाई रोजगारीको अवसरमा पहिलो प्राथमिकता दिने रणनीति लिए देखिन्छ।

अन्य मुलुकमा सबैभन्दा पछिल्लो पङ्तिमा आफू भइन्छ। आफ्नो देशमा आफू अघिल्लो पङ्तिमा भइन्छ। त्यसले गर्दा उनीहरु चाहीँ क्रमशः नेपाल फर्कने र नेपालमा नै स्वरोजगारमा लाग्ने अथवा अन्य रोजगारमा लाग्ने अवसरमा मेहनत गर्नु पर्ने हुन्छ। उनीहरुलाई सरकारले पनि रोजगारीका अवसर सिर्जना गर्नुपर्छ।

उनीहरु रहरले होइन, बाधयताले गएका हुन्। नीजि क्षेत्र तथा समुदायले समेत रोजगारीका अवसर सिर्जना गर्नुपर्छ। किनभने त्यहाँ गएर काम गरेका मानिसहरु नयाँ सीप, अनुभव, टेक्निक, काम गर्ने शैली लिएर आएका हुन्छन्। त्यो कुरा हाम्रा लागि अत्यन्तै फाइदाजनक हुन्छ।

यस्तै आईटी क्षेत्रको विकास गर्नु पर्ने देखियो। आइटी क्षेत्रमा राम्रो विकास नगर्ने हो भने हामीले लकडाउनको बेला सम्पूण आर्थिक क्रियाकलाप, अध्ययन अनुसन्धान सारा बन्द गरेर बस्नु पर्ने स्थिति देखिएको छ।

मुलुकमा आइटी क्षेत्रको विकासले सम्भावनाहरु बढेर गएका छन्। सरकारले स्वास्थ्य क्षेत्रमा बढी खर्च गर्नु पर्ने देखियो।

यस्तै उद्योग वाणिज्य क्षेत्रमा काम गर्ने र गरेका संस्थान, वित्तीय क्षेत्रमा काम गरेका संस्थाहरुमा उनीहरुको आकार हेरेर उनीहरुको स्किम मिल्दो काममा राख्न सरकारले अनुरोध गर्नुपर्छ। यसो गर्दा शौक्षिक संस्थाहरु , वित्तीय संस्था, औद्योगिक संस्था, र व्यापारी संस्थाहरुमा उनीहरुलाई रोजगारी दिने गर्‍यो भन्ने मलाई लाग्छ अलिकति त्यसको व्यवस्थापन हुन सक्छ।

७) कुन क्षेत्रमा बढी केन्द्रीत भयौँ भने रोजगारीको सिर्जना हुन्छ ?

यो महामारीले गर्दा धेरै व्यवसाय तथा उद्योगहरु धरासायी हुन सक्ने जोखिम छ। धरासाय हुन नदिन सरकारले सम्पूर्ण क्रियाशिल कम्पनीहरुलाई बैंक क्रप्ट हुन नदिन संचालन गर्न दिनु पर्‍यो।

सबैभन्दा बढी रोजगारी दिने क्षेत्र भनेको कृषि हो। अर्को चाहीँ साना तथा मझौता उद्योगहरुको विकास तथा विस्तारका गर्ने।

कृषिमा आधुनिकिरण लगायतमा जोड दिनुपर्छ। विशेषगरी कृषि क्षेत्र साना तथा मझौता उद्योगमा बढी केन्द्रीत हुन जरुरी छ।

८) अर्थतन्त्रलाई पुनर्जिवित गर्न के गर्नुपर्ला ?

हामीले अर्थतन्त्रलाई पुनर्जिवित गर्न योजनावद्ध हिसाबबाट अगाडि बढ्नु पर्छ। अर्थतन्त्रलाई रि–प्रायोटाइज गर्नुपर्छ। केही समयसम्म हाम्रो १५ औँ योजनालाई संशोधन गर्नुपर्ने हुन्छ।

अहिले जुन किसिमले धक्का पुगेको छ। यसका असरलाई न्यूनिकरण गर्न सरकारी स्रोत साधनको ‘लोकेट’ गर्नु पर्ने र निजी क्षेत्रले सामाजिक उत्तरदायित्व खर्च गर्नु पर्ने कुरा छ त्यसलाई पनि सही ठाउँमा खर्च गर्ने हुन्छ। सरकार र निजी क्षेत्रबीच हातेमालो गरेर अगाडी जानु पर्ने हुन्छ।

कृषि क्षेत्रमा बढी लगानी गर्नु पर्ने, उद्योगहरु संचालन भइराखोस् भनेर व्यवसायीलाई राहत दिने कुराहरुमा जानु पर्ने हुन्छ। कतिपयले चालु पूँजीको पनि सहयोग गर्नुपर्ने हुन्छ।

हेल्थ सेक्टरमा सरकारले बढी लगानी गर्नपर्ने हुन्छ। समग्रमा अहिले भइरहेको आर्थिक क्रियाकलापहरुमा संचालन गर्दै जानुपर्छ जस्तो लाग्छ।

९) लकडाउनका कारण सामान्य अवस्थामा जस्ताे खाद्यान्न आयात हुन सकेकाे छैन। नेपालको उत्पादनले मात्रै  धान्न सक्ने अवस्था देखिँदैन। यस्ताे अवस्थामा नेपालमा खाद्यान्न संकट उत्पन्न हुने कत्तिको देख्नुहुन्छ? 

अहिलेको अवस्थामा सरकारले आठ/नौ महिनालाई पुग्ने खाद्यन्न रहेको छ भनिरहेको छ। अब खाद्यन्न आयात गर्ने कुरा सजिलो छैन। किनभने भारत आफै संकटमा छ।

भारतमा कृषि सम्बन्धी कार्य गर्नेलाई स्वतन्त्रता दिएको छ। तर स्तन्त्रता भए पनि मानिसहरु यस अवस्थामा डराउँछन् । जसका कारणले भारतमा पनि कृषि उत्पादनमा पनि असर पर्न सक्छ।

भारत वा कुनै पनि देशले आफ्नो मुलुकको निम्ति खाद्यन्न पर्याप्त नभइ निर्यात गर्ने सम्भावना छैन। नेपालमा अहिले कृषि कार्य रोक्न हुँदैन। ठाउँको अवस्था हेरेर कृषि कार्य अगाडी बढाउनु पर्छ। कृषि कार्य रोकिएमा खाद्यन्न संकट उत्पन्न हुन्छ।

जहाँसम्म विदेशबाट आउने मानिसहरु छन् उनीहरुका विदेश गएका कारण उनीहरुको र उनको परिवारको आर्थिक स्थितिमा परिर्वत आएको हुन्छ। परिवारमा खर्च बढेको छ।

नेपालमा भएका र आउने वर्गहरुको आम्दानी रोकिन्छ। जसले अर्को समस्या हुन्छ। जसका कारणले अहिले हामीले पुरानो कृषिलाई ‘रि–भाइभ’ गरेर अगाडी बढ्नु पर्ने र सरकारले पनि उनीहरुका लागि योजना बनाएर काम गर्नुपर्छ। अहिले भन्ना साथ सबै कुरा व्यवस्थित हुन भने गाह्रो छ।

१०) अहिलेको अवस्थाले उत्पन्न हुनसक्ने परिस्थितिबाट समाजमा पर्ने प्रभावलाई कसरी विश्लेषण गर्नुहुन्छ?

सामाजिक प्रभावमा एउटा त अहिले असमानता बढ्न सक्ने देखियो। करिब ७० प्रतिशत मानिसहरु अनौपचारिक क्षेत्रमा काम गर्छन् । तिनीहरुले अब तलब पाउन बन्द हुन्छ र आम्दानी पनि। त्यसले गर्दा यसले एउटा हुने खाने वर्ग र नहुने वर्गबीचको आर्थिक असमानता सिर्जना गर्छ। त्यो आर्थिक असमानताले सामाजिक असमानता ल्याउँछ।

अहिलेकाे अवस्थाले मानिसहरु गरिबीको रेखामुनि जान सक्छन्। अर्को कुरा यदि यो बढ्दै गयो भने सामाजिक अराजकता बढ्न सक्ने सम्भावना हुन्छ। जब भोकमरीका समस्या, उपचार नपाएर आफ्नो अगाडि बच्चाहरु मरिराखेको देख्छन् त्यो बेला यो अराजकता निम्तिन सक्छ। जसबाट समाजमा एक किसिमको द्वन्द्व आउन सक्छ।

यसप्रति पनि सरकार सचेत हुनुपर्छ र कमजाेर वर्गको हितमा सरकार उभिएर जानुपर्छ र हुने खाने वर्गहरुले अलि उदारता देखाएर यो बेलामा मन फुकाएर सहयाेग गर्नुपर्छ। त्यसले सामाजिक सद्भाव कायम हुन सक्छ।

११) अर्थतन्त्र सन्तुलन राख्न कुन–कुन क्षेत्रमा ध्यान दिन जरुरी छ?

अब विशेषगरी पर्यटन क्षेत्रलाई तुरुन्त रिकभरीमा लग्नका निम्ति पर्यटन क्षेत्रलाई जोड दिनुपर्छ। बाह्य पर्यटन लागायत आन्तरिक पर्यटनको विकासका निम्ति बल गर्नुपर्छ।

प्रयर्टन क्षेत्रले जीडीपीमा दुई ढाई प्रतिशत योगदान गरे पनि आठ, दश प्रतिशतकाको लक्ष्य लिएर प्रर्यटनमा जोड दिन जरुरी छ।

अहिले काम रोकिएका क्षेत्रहरु छन् ती पूरा हुने योजनामा केन्द्रीत हुनु पर्‍यो। कृषिलाई निरन्तरता दिनु पर्‍यो । यसले के देखायो भने आफ्नो देशमा उत्पादन गर्ने कुरामा बढी फोकस हुनु पर्‍यो।

हाईड्रोपावर धेरै निर्माणको अवस्थामा छ। त्यसलाई चाँडोभन्दा चाँडो सम्पन्न गरे हामी उर्जामा आत्मनिर्भर हुन्छौँ। त्यसले गर्दा हाम्रो ठूलो आयात कटौती हुन जान्छ। र साना तथा मझौता उद्योगहरुलाई फोकस गरेर जानुपर्छ।

बैशाख ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्