आध्यात्मिक ज्ञानले नै विश्वलाई बचाउन सक्छ

ब्रम्हाण्ड सन्तुलनमा चलेको छ, टिकेको छ। पृथ्वीमा चक्र सन्तुलनको नियम छ। सबै प्राणी र वनस्पतिको सिर्जना एउटा सन्तुलनको लागि भएको हो र सबैको उपयोगिता छ। मानिस पृथ्वीमा सबैभन्दा चेतनशील भएर पनि अस्तित्वको सन्तुलन बिगार्ने, पृथ्वीको दोहन गर्ने र प्रकृतिको मौलिक ऋत बिगार्ने जीवको रुपमा प्रकट हुँदैछ। पृथ्वीमा जीवनको बासगाँस, प्रकृतिको हरेक अंगको क्रिया र विकास अनि मौसम परिवर्तन आदि सबै कुराहरु अस्तित्वको सदाबहार नियम र सत्य अन्तर्गत चलेको छ। त्यसैले प्रकृतिलाई चेतन र जड दुवै रुपमा बुझ्‌नुपर्छ र अस्तित्वको चेतना सबै भन्दा उच्च छ।

मानिसले प्रकृतिलाई असन्तुलित गर्दा कोर्स करेक्सन गर्न उसले सुक्ष्म रुपमा केही दण्ड सजायको व्यवस्था मिलाउला नै। कोरोना भाइरसको यो महामारी आउनमा प्रकृतिमाथिको अतिक्रमण र ज्यादतीको प्रतिफल नै हो। जगत कार्य कारणबाट चलेको छ।

कुनै पनि घटना आकस्मिक र बिनाप्रयोजन हुँदैन। प्रयोगशालाबाट आएको भए पनि वा जिवजन्तुको शरीरबाट आएको भए पनि यो आइसकेको आक्रमणमा मानिसको व्यवहार र शैली जिम्मेवार छ। प्रकृति आफू शान्त छ, तर उसलाई आघात पुगेपछि अशान्त हुन्छ र उसको शक्ति सुक्ष्म र विशाल छ। मान्छेले शक्तिशाली बन्न, सुख खोज्न र प्रतिस्पर्धा गर्न प्रकृतिको सन्तुलन विकासलाई ध्यान नदिई अतिक्रमण गरिरह्यो।  आकाशमा बादल नलाग्दा पनि सूर्यलाई प्रदूषणले ढाक्ने, जथाभावी जीव हत्या गर्ने, खाने नखाने र गर्ने नगर्ने कुरामा अन्धो बन्ने स्वभावले मानव जातिको भविष्यलाई अन्धकारमा पुर्‍याएको छ र यो कोरोना प्रकरण एउटा प्रतिफल हो। मानिसमा प्रेम, दया, करुणा र परोपकारका विषय कृतिम भइसके। अब आध्यात्मिक ज्ञानले मात्र विश्वलाई बचाउन सक्छ। यो भनेको थोथा साम्प्रदायिक धर्मको कुरा होइन, शास्वत नियम र ऋतको कुरा हो।

अध्यात्म ज्ञानले अनुशासित, मर्यादित र सन्तुलित बनाउन सिकाउँछ र यो विश्वजनीन सत्य हो। यसले सुख भन्दा आनन्दतर्फ लैजान्छ, प्रतिस्पर्धाभन्दा सामूहिक हितमा लैजान्छ। विकास पनि पुग्यो अब, विनासतर्फ लक्षित विकासको अर्थ छैन। सन्तुलन गुम्दै जाँदा मानवजातिको भविष्य झन् झन् खतरामा पर्दै जाने अवस्थाा अझ भयावह रुपमा आउने छ। त्यसैले अध्यात्मको ज्ञान र व्यवहारिक उपयोगले मात्र पृथ्वीलाई जोगाउन सक्छ। पूर्वीय अध्यात्म दर्शनका मूलभूत पक्षहरु मनन्‌योग्य छन्। मुख्य रुपमा गीता, उपनिषद, ब्रम्हसूत्र र बुद्धवाणीहरुलाई विश्वले राम्ररी अध्ययन र मनन गर्नु जरुरी छ, मानव जातिको अस्तित्व जोगाउन।

बैशाख ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्