दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको हलचल

महासचिव पौडेलसहित ६ जना भैँसेपाटीमा भेला, अध्यादेश खारेज गर्नुको विकल्प नभएको निष्कर्ष

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने आश्वासन दिएपनि त्यसको कार्यान्वयनमा ढिलाई भएको निष्कर्ष निकाल्दै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेललगायत ६ जना नेताहरु फेरि भैँसेपाटीमा भेला भएका छन्।

नेकपाका सचिवालय सदस्य वामदेव गौतमको निवासमा भेला भएका उनीहरुले अध्यादेशबाट उत्पन्न परिस्थतिबारे छलफल गरेका छन्। साथै उनीहरुले अध्यादेश खारेजको विकल्प नभएको निष्कर्ष समेत निकालेका छन्।

बैठकमा सामेल एक नेताका अनुसार प्रधामन्त्री ओलीले बिहीबार बिहान प्रचण्ड, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललाई अध्यादेश खारेजको आश्वासन दिएपनि त्यसको कार्यान्वयनलाई लिएर आशंक थपिएको भन्दै उनीहरु भेला भएका हुन्। बैठकमा प्रचण्ड,पौडेल,खनाल,नेपाल, गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सामेल भएका थिए।

उनीहरुले सामूहिक निष्कर्ष निकालेका छन्,‘ अहिलेको परिस्थितिमा दलबिभाजन सम्बन्धी अध्यादेश ल्याउनु सरकारको कदम गलत थियो। यसलाई खारेज गर्नेबाहेक अर्को बिकल्प छैन भन्नेमा हामीले अडान लिनुपर्छ। अध्यादेश खारेज भएपछि सबै परिस्थितिबारे छोटो भन्दा छिटो छलफल गर्न सचिवालयसँगै स्थायी कमिटि बैठक डाक्नुपर्छ।’

अध्यादेशको विरोधमा उत्रिएकाहरु भैँसेपाटीमा भेला भइरहेका बेला प्रधानमन्त्री ओली भने शितल निवास पुगेको स्रोतको भनाइ छ। त्यसलाई लिएर पनि भेलाका सहभागिहरुले आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच साँझ करिव सात बजेदेखि ८ बजेसम्म छलफल भएको थियो।

अध्यादेश खारेजका लागि मन्त्रिपरिषद्वारा सिफारिस भएर राष्ट्रपतिसमक्ष पुग्नु पर्नेमा त्यो भन्दा अघिनै प्रधानमन्त्री ओली शितलनिवास पुगेको बुझिएको छ।

नेकपाका एक नेताका अनुसार ओलीले बिहीबार बिहान प्रचण्डसँग संसदको अधिवेशन सुरु भएपछि नियमित प्रक्रियामार्फत विधेयक ल्याउने गरी जारी अध्यादेशलाई प्रयोगमा नल्याउने आश्वासन दिएका थिए।

सरकारले साेमबार राजनीतिक दलसम्बन्धी कानुन अध्यादेशमार्फत् संशोधन गर्ने निर्णय गरेपछि अध्यादेशविरुद्धकाे संघर्ष बढेको हो।

बैशाख ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्