उदयपुरमा भेटिएका संक्रमित बसोबास गरेको विराटनगर रानी क्षेत्रमा महानगरद्वारा परीक्षण

विराटनगर महानगरपालिकाले हालसम्म कोरोनाभाइरस कोभिड १९ को लागि गरेको परीक्षणमा सबै नतिजा नेगेटिभ आएको जनाएको छ।

महानगरका प्रमुख भीम पराजुलीले महानगरका विभिन्न वडामा केहीदिनदेखि जारी राखेको आरडीटी परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको बताए।

सीमित उपकरण किटसहित विदेशबाट आएकालाई प्राथमिकता दिदैं महानगरले स्थानीयको परीक्षण गर्दै आएको उनले बताए।

महानगरले पछिल्लो समय कोभिड १९ परीक्षणका क्रममा तीव्रता दिएको छ।

सोही क्रममा बिहीबार विराटनगर र भारतीय सीमा जोगबनी नजिक पर्ने रानीक्षेत्रका मदरसा तथा मस्जिदमा रहेका र सो क्षेत्रमा रहेका स्थानीयको आरडीटी परीक्षण गरेको छ।

महानगर प्रमुख भीम पराजुलीको सक्रियतामा गरिएको परीक्षणका क्रममा ९६ जनाको नतिजा नेगेटिभ आएको छ। पराजुलीका अनुसार उदयपुरको भुल्केस्थित मस्जिदमा फेला परेका जमाती बसेको मस्जिद र उनीहरुले भेटघाट गरेका मानिसहरुलाई रानी मरकज समितिको सहकार्यमा द्रुत परीक्षण गराइएको हो।

त्यसैगरी हालसम्म ३ सय ५ जनाको आरडीटी परीक्षण कार्य सकिएको महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।

प्रमुख कार्कीका अनुसार यसबीच परीक्षणका क्रममा शंकास्पद भेटिएका ४४ जनाको स्वाब संकलन गरी कोशी अस्पताल पठाइएको बताए। यसमा ६ वटा नतिजा नेगेटिभ नै आएको बताएका कार्कीले बिहीबार रानी क्षेत्रबाट संकास्पद २० जनाको स्वाब नमूना संकलन गरिएको बताए।

समितिका सचिव मोहम्मद इर्शादले भने, ‘उदयपुरमा कोभिड १९ संक्रमण भेटिएका ११ जना भारतीय नागरिक गत मंसिर २५ गते भारतको दिल्लीबाट विराटनगर आएका थिए। सो समय उनीहरु रानीकै मदरसामा करिब १ महिना बसेका थिए।’ इर्शादका अनुसार विराटनगर अघि आएका जमाती १ सय २० दिनपछि बैशाख २ गते फर्कने कार्यक्रम रहेको थियो। उदयपुरमा भेटिएका ११ जना जमातीमा समेत विदेशबाट आएका अन्य दुईबाट संक्रमण सरेको इर्शादको भनाइ छ।

महानगरले पछिल्लोसमय मुश्लिम अगुवा र समितिकै सहकार्यमा विभिन्न मस्जिदमा रहने नागरिकको जानकारी लिएको छ। मोरंगमा कुल ८९ वटा मस्जिद र रानी क्षेत्रमा १२ वटा मस्जिद मदरसा रहेको छ। मदरसामा ताला लगाउन नमिल्ने जनाएको मरकज समितिले नेपाल सरकारको निर्देशनलाई पालना गर्दै मस्जिदभित्र भौतिक दुरी कायम राख्दै बढिमा ५ जनाले नमाज पढ्ने गरेको जानकारी दिएको छ।

बैशाख ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्