धमाधम हुँदै छन् अनलाइन कक्षाहरु– विद्यार्थीलाई सिकाइबाट टाढा नराख्ने प्रयास

भक्तपुर– अवस्था सामान्य भएको भए यो वर्ष वैशाखमा मिसिका खड्का कक्षा दुईमा भर्ना हुन्थिन्। कोरोना भाइरस संक्रमणको जोखिम घटाउन सरकारले घोषणा गरेको ‘लकडाउन’ ले महिना दिन नाघिसकेपछि उनको भर्ना अन्यौल भयो। आमा अप्सरा कट्वाल भन्छिन्, ‘भर्ना भएको छैन तर स्कूलले कक्षा दुईको पाठ्यक्रमअनुसार पढाइरहेको छ।’ मिसिका घर बसेर कक्षा २ मा पढिरहेकी छन्।

मिसिकाको स्कूल ‘विङ्स स्कूल’ भक्तपुर घलातेमा छ। उनको स्कूलले कक्षा अनुसार फेसबुकमा समूह बनाएको छ। नयाँ कक्षा सुरु हुने समयमा लकडाउन भएपछि विद्यालय गएर पढ्न नपाए पनि मिसिका हरेक दिन बिहान १० बजे कापी कलम लिएर पढ्न बस्छिन्।

आमा अप्सरा भन्छिन्, ‘बिहान स्कूलले बच्चालाई के के गराउने भनेर प्रश्नहरु पठाउँछ, हामीले नानीलाई होमवर्क गराउँछौँ र फेरि त्यही ग्रुपमा राख्छौँ। दिउँसो १२ बजेसम्म उनी पढ्छिन्। उनलाई पढ्न रमाईलो लाग्छ।’

लकडाउनको समयमा अहिले विद्यालयले डिजिटल प्रविधिमार्फत विद्यार्थीलाई पढाइसँग जोडिरहेको छ।

जावलाखेलको सेन्ट मेरिज स्कूलले केही दिन अगाडिबाट २ कक्षा देखि कक्षा १० सम्मका विद्यार्थीलाई सोमबारदेखि शुक्रबारसम्म पढ्ने पाठहरु पठाउने गरेको छ। विद्यार्थीले उक्त पाठ पढेर ‘असाइनमेन्ट’ गर्छन्। कक्षा-कक्षाको शिक्षकले विद्यार्थीको होमर्वक हेर्छन्। दिनमा कम्तीमा दुई घण्टा बच्चाहरु पढाइलेखाइमा जोडिइन्छन्।

सेन्ट मेरिज स्कूलकी प्रधान्याध्यापक सिस्टर मारियाटका अनुसार पढ्ने सामग्रीहरु स्कुल एपमार्फत पठाइन्छन्। हरेक दिन फरक फरक विषयहरु हुन्छन्। त्यस विषय सम्बन्धित युटुयुब नोटहरु पढ्न-हेर्न पठाइन्छ। हरेक दिन १० बजे कक्षा सुरु हुन्छ र निश्चित समयसम्म विद्यार्थीले शिक्षकले दिएको कामहरु सकाउनुपर्ने हुन्छ।

विद्यार्थीको सिकाइ नरोकियोस् भन्नको लागि विद्यालयले यस्तो गरेको हो । सेन्ट मेरिज स्कूलको वेबसाइटमा पनि विद्यार्थीको लागि दिइएको क्रियाकलापहरु कक्षाअनुसार रहेका छन्। विद्यार्थीले एसाइमेन्टहरु इमेलमार्फत पठाउँछन्। इन्टरनेट अनलाइन कक्षाका लागि महत्त्वपूर्ण उपकरण हो।

यस्तै धेरै विद्यार्थी भएको अर्को विद्यालय मोर्डन इन्डियन स्कूल, चोभारका प्रधान्याध्यापक राजु पिटरले युट्यूब मार्फत विद्यार्थीलाई भिडियो सन्देश पठाएका छन्। उनले विद्यालय बन्द भएको अवस्थामा पनि आफू व्यक्तिगत रुपमा विद्यार्थीसँग जोडिएको बताएका छन्।

उनले शिक्षकहरु अनलाइन कक्षा सञ्चालनको लागि एक सातादेखि मेहनत गरिरहेको बताएका छन्। ‘स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो, अहिलेको अवस्थामा विद्यालयहरु बन्द छन्। अहिलेको अवस्था हेर्दा विद्यालय सामान्य रुपमा सञ्चालन हुन अझै समय लाग्ने देखिन्छ।’ पिटरले भनेका छन्, ‘हामी यो अवस्थामा नयाँ तरिकाले सिक्न सक्नु पर्छ।’

उनले यस्तो अवस्थाबाट धेरै प्रभावित हुने भनेको सिक्ने उमेरका विद्यार्थी भएको बताएका छन्। त्यसैले वर्ष र समय खेर जान नदिनलाई अनलाइन मार्फत नयाँ पठन तरिका बनाइएको र पढाउन लागिएको पिटरको सन्देशमा छ । कक्षा १५ अप्रिलबाट सुरु गरिएको छ। कक्षा साढे ९ बजेबाट ३ बजेसम्म कक्षा हुने छ। शिक्षकहरुले अनलाइनबाट कक्षा सञ्चालन गर्ने छन्।

कान्ति बाल अस्पतालकी ‘क्लिनिकल साइकोलोजिस्ट’ श्रृजना अधिकारी भन्छिन्, ‘बच्चाहरुलाई लाभदायक तालिका अनुसार काम गराउनु आवश्यक छ। महामारी नहुँदा पनि कतिपय बच्चाहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराइन्छ।’

समाजशास्त्री युवराज लुइटेल भन्छन्, ‘यो बाध्यताको उपज हो । तत्काललाई यसको विकल्प छैन, बालबालिकालाई त्यत्तिकै छोड्नु हुँदैन। समय बिताउन गाह्रो हुन्छ। यसलाई राम्ररी लिनु पर्छ। तर विद्यार्थी इन्टरनेटसँग सहज छ छैन, इसँग सँगै अभिभावक पनि लाग्नुपर्ने हुन्छ। स्कूलमा बच्चा मात्रै पढ्थ्यो भने अनलाईन कक्षामा साना बालबालिकाको लागि अभिभावक पनि साथ साथै लाग्नुपर्ने हुन्छ।’

यसको उद्देश्य बच्चालाई लय लगाउनु हो, उनीहरुको दैनिकी बनाउनु हो। अधिकारी भन्छिन्, ‘घर बसेको बेला यो चाहिँ मेरो क्लास समय हो, यो मेरो खेल्ने समय हो भनेर थाहा पाइराख्नु महत्वपूर्ण छ।’

अधिकारीका अनुसार पहिला चल्दै आएको विद्यालय शिक्षा पद्धति लामो समय सञ्चालन नहुँदा बालबालिकाको स्मरण शक्तिमा प्रभाव पार्न सक्छ। उनीहरुलाई बौद्धिक हिसाबले पनि ‘स्टिमुलेट’ गर्ने र नियमित क्रियाकलापमा जोडिइराख्ने प्रक्रिया पनि हो। बालबालिका चाँडै कुरा सिक्छन् र बिर्सन पनि सक्छन्, त्यसैले पढाइसँग जोडेर राखेमा उनीहरुको स्मरणशक्ति पनि राम्रो हुन मद्दत मिल्छ।

बालबालिकालाई अनलाइन कक्षामार्फत पढाउनु पर्ने अर्को महत्वपूर्ण कारण भनेको महामारीसम्बन्धि डरबाट टाढा राख्न मद्दत हुने पनि अधिकारीले बताइन्। ‘बालबालिकालाई रोगबारे राम्ररी थाहा हुँदैन। कतिपय अवस्था उनीहरुले बुझ्न पनि सक्दैनन्। उनीहरुको दैनिकीलाई सामान्य बनाउनको लागि पनि कक्षा सञ्चालन भएको राम्रो हुन्छ,’ उनले भनिन्।

यस्ता कक्षा स्कूले बालबालिकाको लागि मात्र सुरु गरिएको हैन। हालसालै मात्र त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान संकायको स्नातकोत्तरको कक्षा अनलाइनमा खुलेको छ। अहिले आंशिक भए पनि कक्षा सञ्चालन सुरु भएको मनोविज्ञानकी प्राध्यापक डा.नन्दिता शर्माले बताइन्। सार्वजनिक बिदाका दिन बाहेक अरु दिन कक्षा सञ्चालन भइरहेका छन्।

पाटन बहुमुखी क्याम्पसको केही संंकायले पनि अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्।

समाजशास्त्री युवराज लुइटेल भन्छन्, ‘यो बाध्यताको उपज हो । तत्काललाई यसको विकल्प छैन, बालबालिकालाई त्यत्तिकै छोड्नु हुँदैन। समय बिताउन गाह्रो हुन्छ। यसलाई राम्ररी लिनु पर्छ। तर विद्यार्थी इन्टरनेटसँग सहज छ छैन, इसँग सँगै अभिभावक पनि लाग्नुपर्ने हुन्छ। स्कूलमा बच्चा मात्रै पढ्थ्यो भने अनलाईन कक्षामा साना बालबालिकाको लागि अभिभावक पनि साथ साथै लाग्नुपर्ने हुन्छ।’

प्रविधिको विकासले गर्दा अनलाइन कक्षा संभव भएकोले यसलाई राम्रो रुपमा लिनुपर्ने र सरकार लगायत सम्बन्धित निकायले इन्टरनेटको पहुँचलाई विस्तार गर्न आवश्यक रहेको लुइटेलले बताए।

बैशाख १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्