अन्तर्वार्ता

कोरोना संक्रमण विरुद्ध भ्याक्सिन बने पनि तत्काल सबैलाइ उपलब्ध हुँदैन

कोरोना भाइरस संक्रमणलाई लिएर विश्व नै त्रसित छ। यो लेख लेख्ने क्रममा विश्वमा संक्रमित संख्या २७  लाख नाघिसकेको छ। संक्रमणका कारण करिब दुई लाखले ज्यान गुमाएका छन्। यो क्रम ओरालो लाग्नुको सट्टा क्षण प्रतिक्षण उकालोतिर गइरहेको छ।

संक्रमित हुने र हताहत हुनेहरुको समाचारका साथै विश्वका अनेकौँ देशमा यस संक्रमणका विरुद्ध भ्याक्सिन बनाउने कार्य तीव्र गतिले भइरहेको समाचार पनि प्रसारित भइरहेका छन्। यसै क्रममा बिहीबार नै इंग्ल्यान्डको अक्सफ़ोर्ड युनिभर्सिटीको अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इनिस्टीट्यूटले बनाएको chAdx1nCOV -१९ भ्याक्सिन मानवमाथि परीक्षण गरिएको छ। यो भ्याक्सिन चिम्पाञ्जीमा पाइने ‘ऐडीनो’नामक भाइरसभित्र सार्स-सीओभी २(कोरोना भाइरस) का स्पाइक प्रोटिन प्रत्यारोपित गरी बनाइएको हो।

वैज्ञानिकहरुका लागि भ्याक्सिन बनाउने कार्य जटिल किन छ? अनुसन्धानमा के कस्ता बाधा विध्न आउँछन? यस कार्यमा लामो समय किन लाग्छ? आम मानिसमा यस्ता जिज्ञासा हुनु स्वाभाविक हो। यिनै जिज्ञासालाई सञ्जय गान्धी पोस्ट ग्र्याजुएट इन्स्टिट्यूट अफ मेडिकल साइन्स (Sgpgi) लखनऊका ‘इम्यूनोलोजी’ तथा ‘रयुमटोलोजी’ (Rheumatologi) विभागका प्रोफ़ेसर तथा डाक्टर एबल लारेन्सले आफ्नो अन्तर्वार्तामा स्पष्ट पारेका छन्। अन्तर्वार्ताको नेपाली रूपान्तरण-

प्रश्न- कोरोना भाइरसविरुद्ध भ्याक्सिन बन्न गाह्रो किन भइरहेको छ?

कुनै पनि भ्याक्सिनको विकास गर्न केही महत्वपूर्ण चरण पूरा गर्नुपर्छ। सर्वप्रथम त भ्याक्सिन बन्नुपर्‍यो र भ्याक्सिन सम्बधित संक्रमण अथवा विषाणुका विरुद्ध प्रभावी हुनुपर्‍यो। यसको ‘साइड इफ़ेक्ट’ हुनु भएन। कहिलेकाहिँ भ्याक्सिनको प्रभाव मानव शरीर अथवा मानिसको प्रतिरोधक क्षमताका लागि हानिकारक हुन जान्छ। अहिले देखिएको कोरोना भाइरस झुक्याउने खालको छ। यसका विरुद्ध भ्याक्सिन बनाउन सोचे जस्तो सहज हुँदैन। तर ढिलोचाँडो जे भए पनि भ्याक्सिन बन्ने छ। हामीले ‘इम्युनोलोजी’को क्षेत्रमा निकै प्रगति गरिसकेका छौँ, यसका साथै भ्याक्सिन बनाउने प्रविधि र विज्ञानले पनि फड्को मारेको छ।

यस विषयमा सबैले बुझ्नु पर्ने कुरा के छ भने भ्याक्सिनले काम कसरी गर्छ?

कुनै पनि संक्रमणका लागि बनाइएका भ्याक्सिनले दुई स्तरमा काम गर्छन्। ‘एन्टीबड़ी’ नामक रक्षात्मक प्रोटिनको निर्माण गरेर तथा भाइरसका विरुद्ध लडन सबल हुने कोशिका जन्माएर। यसरी बनेका नयाँ कोशिकाले भाइरसबाट संक्रमित बनेका कोशिकालाई सखाप बनाएर शरीर भाइरसमुक्त बनाउँछन्।

यसरी बनेको ‘एन्टीबड़ी’ पनि अनेक प्रकारले काम गर्छ जस्तो कि ‘परट्यूसिस’ अथवा टिटनस संक्रमणका विरुद्धको भ्याक्सिनले बनेको ‘एन्टीबडी’ले संक्रमणको विषसँग (टक्सिन) टाँसिएर संक्रमणलाई ब्लक गरिदिन्छ। जस्तो कि हामीलाई थाहा भइसकेको छ कोरोना संक्रमणमा कुनै किसिमको विष छैन। यस्तो परिस्थितिमा भ्याक्सिनले बनाएको ‘एन्टीबडी’ले कसरी काम गर्छ? एउटा सम्भावना के छ भने यसरी बनेको ‘एन्टीबडी’ भाइरसको संरचनामा चारैतिर लेपझैँ टाँसिन्छ ( (भाइरसमाथि कोटिङ गरेर) र यसलाई अन्य स्वस्थ कोशिकामा प्रवेश गर्नबाट रोक्छ । यसले गर्दा भाइरसको स्वस्थ कोशिकामा प्रवेश गर्ने बाटो बन्द हुन्छ।

तर कैयन केसमा ‘एन्टीबडी’को सुरक्षा लेप भए पनि भाइरस अन्य उपायले स्वस्थ कोशिकामा प्रवेश गर्न सफल हुन्छन्। भाइरसले यसरी स्वस्थ कोशिकामा प्रवेश गर्ने सफलता पाए पनि कैयन संक्रमणका विषाणु हुर्किन पाउँदैनन्, नष्ट हुन्छन्।

कसरी?

कोशिका पनि कम चलाख छैनन्, यति चलाख र सक्रिय नभएको भए बहुकोशिकीय जीवको अस्तित्व कसरी हुन्थ्यो र अस्तित्व कायम कसरी रहन्थ्यो! स्वस्थ कोशिकाले आफूभित्र छिरेका विषाणुमा भएको ‘एन्टीबड़ी कोटिङ’ ले गर्दा तुरुन्तै चिनेर आफूभित्र भएका अनेकौँ प्रोटीनमध्ये एउटा खास किसिमको प्रोटिनसँग भाइरसलाई जोड़िदिन्छन्। यस प्रोटिनलाई ‘यूबीक्विटिन’ भनिन्छ। ‘यूबीक्विटिन’को लेपनले यो निश्चय हुन्छ कि यस संरचनालाई कोशिकाभित्रै समाप्त गर्नु छ। यो कोशिकाको आफ्नो सुरक्षात्मक कार्य प्रणाली हो।

‘यूबीक्विटिन’युक्त विषाणुलाई कोशिकाको ‘प्रोटियोजिम’भन्ने भागमा नष्ट गरिन्छ। यसरी नष्ट गरिएका विषाणुका अंशलाई कोशिकाले प्रतिरक्षक कोशिकाका सामु प्रस्तुत गरी प्रतिरक्षक कोशिकालाई विषाणुसँग लड़ने ट्रेनिङ पनि प्रदान गर्छन्।

कोरोना भाइरसलाई ‘छलिया’ किन भनेको हो? किनकि यस विषाणुसँग एउटा खास किसिमको प्रोटिन छ, यसलाई ‘पपेन -लाइकप्रोटिएज’ भनिन्छ। कोरोना भाइरससँग रहेको यस प्रोटिनले चमत्कारिक रूपमा काम गर्छ। यसले कोशिकाले विषाणुमा लगाएको ‘यूबीक्विटिन’को लेपलाई मेटाइदिन्छ। कल्पना गर्नुस्, पुलिसकर्मीले कुनै अपराधी समात्छ, उसलाई दण्ड दिने प्रक्रिया शुरू नहुँदै कुनै शक्तिशाली नेताको फोनले अपराधी थुनामुक्त हुनपुग्छ। कोरोना भाइरससँग यस्तो विशेष क्षमता छ।

एबल लारेन्स।

प्रश्न- के यो विशेष क्षमता यसै भाइरससँग छ अथवा अन्य भाइरससँग पनि यस्तो क्षमता हुन्छ?

विषाणु र ‘होस्ट’ कोशिका (मानव कोशिका) का बीच अनवरत संघर्ष चलिआएको छ, चलिरहन्छ। विकासवादकै अवधारणा अनुसार भाइरसले मानवमाथि आक्रमण गर्छन्।

मानिसको प्रतिरक्षातन्त्रले संघर्ष गरेर तिनलाई पराजित गर्छ, केही समयभित्र नै ती फेरि नयाँ क्षमताका साथ आक्रमण गर्न आइपुग्छन्। यो चक्र बारम्बार चलिरहन्छ। यहाँ बुझ्नु पर्ने प्राकृतिक र विकासवादको कीमिया के हो भने कुनै पनि भाइरसबाट संक्रमित भएपछि कोशिकाले आफ्नो छेउछाउ लगायत दूरस्थ कोशिकालाई अनेक प्रकारले चेतावनी र सन्देश प्रसारित गर्छन्। यस कार्यमा ‘इन्टरफेरन’ नामक रसायनको प्रमुख भूमिका हुन्छ। यस रसायनका कारण विषाणुले संक्रमित भएको कोशिकाका चारैतिर लड़ाकू प्रतिरक्षक कोशिका घेराबन्दी गर्न आइपुग्छन्। यसमा सीडी ८ भन्ने प्रमुख ‘पोजिटिभ लिम्फोसाइट’ हुन्छ। यस ‘लिम्फोसाइट’ले संक्रमित कोशिकालाई मारेर विषाणुलाई सखाप बनाउँछ।

तर कैयन व्यक्ति भने लामो समयसम्म संक्रमित भइरहन सक्छन्। यिनले अन्य व्यक्तिलाइ संक्रमित बनाई रहन्छन्। ‘मेडिकल साइन्स’मा यस्ता व्यक्तिलाई ‘सुपरस्प्रेडर’ भनिन्छ। ‘सुपरस्प्रेडर’ व्यक्तिहरुमा लड़ाकू प्रतिरक्षक कोशिका शक्तिशाली हुन्नन, अर्थात यी लड़ाकू कोशिकाले आफ्नो काम राम्ररी गर्दैनन्। लड़ाकू कोशिकाले संक्रमित भएका कोशिकालाई शिघ्रतासाथ नष्ट गर्दैनन्।

शरीरले विषाणुसँगको युद्ध तीन चरणमा लड्न सक् । पहिलो विषाणुलाई कोशिकामा प्रवेश गर्नमै बन्देज लगाएर, दोस्रो कोशिकामा प्रवेश गरेका विषाणुलाई ‘यूबीक्विटिन’ लेपनद्वारा ‘ट्याग’ गरी नष्ट गरेर र तेस्रो ‘सीडी ८’ कोशिकाको सुरक्षा चक्र बनाएर। यी तीन वटै चरणमा अनेक किसिमका गल्ती (इरर) पनि हुन्छन्, यसका अतिरिक्त विषाणुले आफ्नो सुरक्षाको अतिरिक्त प्रबन्ध पनि गर्छन्। उदाहरणका लागि डेंगी संक्रमणलाई नै लिउँ। डेंगी संक्रमित व्यक्तिलाई ‘भाइरल’ ज्वरो आउँछ। शरीरभित्र बनेको ‘एन्टीबड़ी’ले विषाणु नष्ट हुँदैनन्, झनै सुरक्षित र आक्रामक हुन्छन्। यस्तो हुनुलाई ‘एन्टीबड़ी-मिडिएटेड इनह्यान्समेन्ट’ भनिन्छ। यस स्थितिमा रोगी भाइरल ज्वरो आएको केही दिनभित्रै गम्भीर अवस्थामा पुग्छ, केहीको मृत्यु पनि हुन्छ। यहाँ बुझ्नुपर्ने के हो भने डेंगी संक्रमणको प्रहारमा शरीरभित्र बनेको ‘एन्टीबडी’ को दुर्गुण ‘एन्टीबड़ी- मिडिएटेड इनह्यान्समेन्ट’ले झनै नकारात्मक भूमिका निर्वाह गर्छ।

कोरोना संक्रमण विरुद्धको भ्याक्सिन विकसित गर्नेहरुले यस कुरामा अत्यन्त सजग हुनुपर्छ, उनीहरुबाट बनेको भ्याक्सिनबाट ‘एन्टीबड़ी- मिडिएटेड इनह्यान्समेन्ट’ हुने जोखिम नहोस्।

भ्याक्सिनले यस्तो ‘एन्टीबड़ी’ बनाओस् जुन विषाणुको त्यही भागमा टाँसियोस् जसका कारण (जुन भागको सहायताले) विषाणु कोशिकामा प्रवेश गर्छन्। अथवा भ्याक्सिन यस्तो होस् जसले बनेको ‘एन्टीबड़ी’ ले विषाणुलाई मार्ने लड़ाकू कोशिकाको निर्माणमा सघाउ पुर्‍याओस्। भ्याक्सिन बनाउन विषाणुको प्रोटिन, अन्य रसायन अथवा अन्य प्रोटिन प्रयोगमा ल्याउन सकिन्छ। यहाँ महत्वपूर्ण कुरा के छ भने विषाणुलाई मार्ने कोशिकाको निर्माणका लागि प्रोटिन उत्पादन कोशिकाभित्र नै हुनुपर्छ। बाहिरबाट गरिएको प्रोटिनको सप्लाईले हुन्न। यसैले ‘लाइभ एटेनुएटेड भ्याक्सिन’ (जीवित क्षीण विषाणुले बनाइएका भ्याक्सिन )’डीएनए भ्याक्सिन’ नै प्रभावशाली हुन्छन्।

प्रश्न- विश्व स्वास्थ्य संगठनले तीनवटा भ्याक्सिनको चर्चा गरेको छ जुन ‘क्लिनिकल ट्रायल’का लागि उपलब्ध छन्। अन्य ७० वटा भ्याक्सिन ‘प्रीक्लिनिकल ट्रायल’ अवस्थामा छन्। यति शिघ्र यो सब हुनुलाई कसरी हेर्नु हुन्छ?

साँच्चै नै यो सब अद्भुत कार्य भइरहेको छ। सम्पूर्ण विश्व आफ्नो समस्त संसाधनका साथ कोरोना विषाणुसँग लड्न जुटेको छ। भिन्नभिन्न व्यक्ति बेग्लाबेग्लै नीति-रणनीतिले भ्याक्सिन आविष्कार गर्न लागिपरेका छन्। केही प्रविधि द्रुत गतिले अगाडि बढिरहेका छन्। केही वैज्ञानिकहरुले विशेष प्रोटिन, निष्क्रिय भाइरस, आरएनए पद्धतिबाट खोजी कार्य गरिरहेका छन्। तर हामीले के बिर्सनु हुदैन भने ‘सबैभन्दा चाँडै बनेको भ्याक्सिनले सर्वोत्तम ढंगले काम गर्छ’ यसको कुनै ग्यारेन्टी हुन्न। पहिला बनेका भ्याक्सिनले राम्ररी काम गरेनन् भने अर्कोले ठाउँ लिन्छ। भ्याक्सिन बनाउन विश्वव्यापी दबाब छ, प्रतिष्पर्धा छ।

मेरो विचारमा अनुसन्धानकर्ताले भाइरसको ‘रिसेप्टसर – बाइन्डिङ डोमेन’लाई लक्षित गर्नुपर्छ। विषाणु यसै अंग (भाग)का माध्यमले मानव कोशिकासँग टाँसिन्छ। तर यसै भागलाई लक्षितगरेर भ्याक्सिन बनाउन सजिलो छैन। रोगको महामारीले गर्दा विस्तारै एकपछि अर्को भ्याक्सिन बनाउने समय छैन। यसैले पनि विश्वभरिका वैज्ञानिक भ्याक्सिन बनाउन लागिपरेका छन्। परीक्षणमा सफल भएको भ्याक्सिनको बृहद उत्पादन र वितरणमा पनि अनेकौँ जटिलता आउँछन्। सबैभन्दा पहिला बढी रिस्क हुने मानिस (चिकित्सक, पुलिसकर्मी, पब्लिक सेक्टरमा काम गर्ने वर्ग) लाई प्राथमिकता दिनुपर्छ। त्यसपछि बूढ़ाबूढी, रोगीमा वितरण हुनुपर्छ।

प्रश्न -बजारमा सफल भ्याक्सिन आउन कति समय पर्खिनुपर्ने हुन्छ, के यसमा भनेजस्तै एक डेढ वर्षको समय लाग्छ?

यो सत्य हो। परीक्षण पश्चात् सफल भएका भ्याक्सिनको व्यापक उत्पादन र वितरण कार्य सम्पन्न हुन कम्तीमा डेढ़देखि दुई वर्षको समय लाग्छ। त्यसैले संक्रमण प्रसारको गति जसरी भए पनि रोक्नुपर्छ। कुनै भ्याक्सिन सफल हुँदैमा सबै जनाका लागि तत्काल उपलब्ध हुन सक्दैन। उदहारणका लागि ‘रेमडेसिभिर’ नामक औषधिकै कुरा गरौँ। कोरोना संक्रमण विषयक शोधमा यो औषधि महत्त्वपूर्ण देखिएको छ। तर संसारभरि यसको उपलब्धता धेरै नै कम छ। संक्रमणका विरुद्ध प्रभावशाली औषधि अथवा भ्याक्सिन खोजी हुनु र उत्पादनका साथै यो सबैलाई उपलब्ध हुन वर्षौको समय लाग्छ। एकदुई वर्षको समय पर्याप्त होइन।

प्रश्न – एउटा शोधका अनुसार ‘बीसीजी भ्याक्सिन’ प्रचलित रहेका देशहरुमा कोरोना संक्रमणको दुष्प्रभाव कम भएको छ। के कोरोना भाइरस र ट्यूबरक्लोसिस ब्याक्टेरियामा कुनै साम्य छ?

तपाईँको प्रश्नमै स्पष्ट छ- बीसीजी ब्याक्टेरिया हो र कोरोना भाइरस हो। दुबै फरक हुन्। मानिसको ‘इम्युनिटी’ बड़ो ‘स्पेसिफिक’ हुन्छ। उदाहरणका लागि कसैलाइ डेंगीको कुनै खास ‘स्ट्रेन’ले संक्रमण हुन्छ। उसको शरीरले त्यै ‘स्ट्रेन’ को बिरुद्ध ‘इम्युनिटी’ विकास गर्छ। यसै व्यक्तिमा डेंगीको अर्को ‘स्ट्रेन’ को संक्रमणकाविरुद्ध पहिला बनेको ‘इम्युनिटी’ले काम गर्दैन। प्रमाण केसम्म भेटिएका छन् भने दोस्रोपटक दोस्रो डेंगी ‘स्ट्रेन’ ले संक्रमित हुँदा संक्रमण झनै गम्भीर हुन्छ। यसले के स्पष्ट हुन्छ भने ‘इम्युनिटी’ शरीरमा ‘जेनेरिक’ हुँदैन,  बरु ‘स्पेसिफिक’ रुपमा विकसित हुने गर्छ। भन्न सकिन्छ वर्तमानमा कोरोना संक्रमणका विरुद्ध यो संक्रमण झेलिसकेका मानिस मात्रै ‘इम्यून’ छन्, शेष विश्वका सबै मानिस यसका विरुद्ध ‘इम्यून’ छैनन्, यसैले त यसलाई ‘प्यान्डेमिक’ भनिएको हो। वर्तमानमा हामीले ‘इम्युनिटी’ शब्दको प्रयोग आफ्नो मन मुताबिक नगरेर अति सावधानीपूर्वक गर्नुपर्ने आवश्यकता छ।

प्रश्न- धेरै मिडिया र सामाजिक सञ्जालहरुमा ‘इम्युनिटी’ बढाउने अनेक किसिमका भोजनको चर्चा भइरहेको छ। विभिन्न परामर्श आदान प्रदान भइरहेका छन्। ‘इम्युनिटी’ विशेषज्ञका रुपमा तपाईँको धारणा के छ?

हामी सबैले बुझ्नु पर्ने अति महत्वपूर्ण कुरा के हो भने कोरोना भाइरस संक्रमणका विरुद्ध कसैसँग पनि ‘इम्युनिटी पावर’ छैन, नभएको कुरालाई बलियो पार्ने कुरा बाहियात हो। कोरोना केही महीना पहिला अस्तित्वमा आएको भाइरस हो। मानिसको ‘इम्यून सिस्टम’लाई यससँग जुध्ने पूर्व ज्ञान छैन। हो कोरोना संक्रमणबाट स्वस्थ भएका मानिसको ‘इम्यून सिस्टम’लाई यससँग जुध्ने आइडिया भएको छ। शेष व्यक्तिको हक़मा केही भन्न सकिँदैन।

‘इम्युनिटी’ बढाउने हक़मा शरीरमा कुनै पोषक तत्वको कमी छ भने मात्रै महत्त्तपूर्ण हुन्छ। मधुमेह जस्ता रोग छन भने तिनलाइ नियन्त्रित गर्नु पनि ‘इम्युनिटी’ बढाउनु नै हो। शरीरमा ज़िंक अथवा भिटामिनको कमी छ भने तिनको ‘सप्लीमेन्ट’ लिनु सहायक हुन्छ। ‘इम्युनिटी’ बढाउनु को अर्थ कोरोना संक्रमण विरुद्ध ‘इम्युनिटी’ बढाउनु होइन। बरु शरीरको ‘इम्युनिटी’लाई स्वस्थ राख्नपोषण गर्नु हो।

स्वस्थ व्यक्ति (शरीरमा कुनै भिटामिन अथवा खनिज पदार्थको कमी नभएको व्यक्तिमा) ले केही खाएर पनि कोरोना संक्रमण विरुद्ध ‘इम्युनिटी’ बढ़ने होइन।

(ज्ञान मित्रले अनुवाद गरेको यो अन्तर्वार्ताको मूल स्वरुप यहाँ हेर्न सकिन्छ।) 

बैशाख १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू