शिक्षामा प्रविधिको सदुपयोग

लकडाउनमा घरमै बसी-बसी चल्दैछन् क्‍याम्पसका ‘क्लास’

कोरोना भाइरसले महामारी ल्‍याउँदा देश नै लकडाउनमा छ। तर नयाँ वर्ष लागेसँगै शैक्षिक संस्थाहरुले आफ्नो शिक्षण भने सुरु गरिसकेका छन् अनलाइनमार्फत। त्रिभुवन विश्वविद्यालयले प्रेस विज्ञप्ति नै जारी गरेर त्रिविका क्याम्पस–स्कुल–विभागलाई अनलाइन कक्षा सञ्चालन गर्ने वातावरण मिलाउन अनुरोध गरेको छ।

यस्तै  कान्तिपुर सिटी कलेज (केसीसी), हिन्ट्स कलेज, आएइसएमटी कलेज लगायतका उच्च शिक्षाका संस्थानहरुले आ-आफ्नो पहलमा विभिन्न क्याम्पस स्कुल विभागहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन्।

त्‍यतिमात्रै होइन, त्रिविले स्नातकोत्तर, एमफिल र पीएचडी तहको पठनपाठन अनलाइनमार्फत शुरू गरिसकेको छ। त्रिविका शिक्षााध्‍यक्षको कार्यालयले विज्ञप्ति नै निकालेर पठनपाठन नियमित गर्न निर्देशन जारी गरेको छ।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल देश सञ्‍चारसँग भन्छन्, ‘हामीले लकडाउनमा पनि त्रिभुवन विश्‍वविद्यालयका शैक्षिक कार्यक्रमहरु चलाउने सोच गर्‍यौँ र त्रिविका क्‍याम्पस-स्कुल विभागलाई पनि अनलाइनबाटै कक्षा चलाउन आग्रहसहितको जानकारी दिइसकेका छौँ।’

उनका अनुसार अब नयाँ शैक्षिक सत्र सुरु हुने क्याम्पसका विषयहरु लकडाउन अवधिभर अनलाइनबाटै हुनेछ भने स्नातकोत्तर, एमफिल र पीएचडी तहको पठनपाठन पनि सोही अनुरुप हुने उनको भनाइ छ।

उनी भन्छन्, ‘देश लकडाउनमा छ। तर हामीले विद्यार्थीको भविष्‍यलाई लकडाउनमा लैजान सक्दैनौँ। किनकि यहाँ धेरै प्रविधि र विकासका नयाँ नयाँ आविष्कारहरु भइसकेका छन्। यसलाई आफ्नो पहुँच र प्रयोगमा ल्याएर शिक्षणलाई अगाडि बढाउनु पर्‍यो। हामी अहिले जुम एप्लिकेशनमार्फत सबै शैक्षिक कार्यक्रमहरु सञ्‍चालन गरिरहेका छौ।’

यस्तै पुतलीसडकमा अवस्थित कान्तिपुर सिटीकलेज (केसीसी)ले पनि आफ्नो ग्राजुएशनका विद्यार्थीहरुको नयाँ सेमेस्टर कक्षाहरु अनलाइनमार्फत नै सुरुवात गरेको छ।  मास कम्‍युनिकेशन एण्ड जर्नालिजम (एमए/एमसीजे) तथा मास्टर अफ कम्‍प्युटर एप्लिकेशन (एमसीए) को पहिलो र तेस्रो सेमेस्टरका कक्षाहरु अनलाइन मार्फत नै सञ्‍चालन भइरहेको कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेल बताउँछन्।

उनी भन्छन्, ‘ हामीले पनि लकडाउनको स्थिति र कोरोनाको माहामारीलाई मध्‍यनजर गर्दै मास कम्‍युनिकेशन एण्ड जर्नालिजम (एमए/एमसीजे) तथा मास्टर अफ कम्‍प्युटर एप्लिकेशन (एमसीए) को पहिलो र तेस्रो सेमेस्टरका कक्षाहरु सुरुवात गरिसकेका छौ। अहिले दोस्रो हप्तामा चलिरहेको छ।’

यसरी भर्चुअल कक्षाहरु अहिले समय सान्दर्भिक भएको र घरमै बसीबसी अनलाइनमार्फत क्‍याक्पसको क्लास लिन सकिने हुनेले प्रविधिमा नयाँपन आएकोमा उनी खुसी व्‍यक्त गर्छन्।  उनी भन्छन्, ‘ यो कोरोनाले प्रविधिमा विकास भएका नयाँ नयाँ उपलब्धिहरुलाई प्रयोग र पहुँचमा ल्‍याएर सदुपयोग गर्ने अवसर दियो। खासमा हामी नेपाली प्रविधिमा निक्कै पछाडि छौँ। अनलाइन प्लेटफर्महरु निक्कै कम प्रयोग गर्छौ शैक्षिक कार्यक्रमका लागि। अहिले भने यो आवश्‍यकता र अनिवार्यता भइसकेको छ।’

विश्‍व प्रविधिमा निक्कै अगाडि बढिरहेको बेला कोरोना भाइरसबाट बच्‍न साथै प्रविधिलाई मूल्‍यांकन गर्ने अवसर पनि शिक्षा क्षेत्रले पाएको उनको बुझाइ छ। उनी भन्छन्, ‘अहिले जुम, गुगल मिट, बी लाइभ लगायतका थुप्रै एप्लिकेशनहरु छन् जसले शिक्षण पद्धतिलाई भर्चुअली उपलब्धिमूलक मात्रै नभइ समयको सदुपयोग गर्न सिकाउँछ।’

यता, त्रिविले दिएको निर्देशन अनुरुप त्रिविमै  मनोविज्ञान विषयमा स्नातकोत्तर अध्‍यापन गर्दै आएका उपप्राध्यापक सन्जेश श्रेष्ठ पनि आउँदो हप्तादेखि अनलाइनमार्फत नै  मनोविज्ञान विषय अध्यापन गराउने तयारीमा छन्।’

उनी भन्छन्, ‘त्रिविले जारी गरेको विज्ञप्ति अनुसार मैले पनि जुम एप्लिकेशनबाट विद्यार्थीहरुलाई अनलानइनमै कोर्षहरु अध्यापन गराउने सोचेको छु। यसमा २४ जनासम्‍म एकैपटकमा कनेक्ट हुन्छन् होला।’  लकडाउन अवधिमा अनलाइनमार्फत  क्याम्पसको क्लास थप भरपर्दो र प्रभावकारी बनाउने  उनको सोच छ। तर उनले  प्रविधिमार्फत क्लास पहिलो पटक  दिन लागेकाले केही  प्राविधिक अप्ठेरोहरु आएको बताए। उनले भने, ‘त्रिविले नयाँ तरिकाले कक्षा लिने भनेको छ। यो जुम नयाँ एप्लिकेनशन भएकाले केही प्राविधिक अप्ठेरोहरु आउँछन् कि भन्‍ने मात्रै हो।’

यस्तै कान्तिपुर सिटी कलेजमै पीजीडीसी र एसीजे स्नातकोत्तरका विद्यार्थीहरुलाई अनलाइनमार्फत नै अध्यापन गराइरहेका छन् प्राध्यापक कुशल निरौला। उनले क्लास लिएको दुई हप्ता भइसकेको छ। उनी भन्छन्, ‘ लकडाउन हुनुभन्दा दुई दिन अगाडि ब्याचलर्सको फाइनल परीक्षा बाँकी छ। उनीहरुको अहिले परीक्षा नभएर रोकिएको छ। नत्र अनलाइनमै क्लास लिनु पर्थ्यो। तर स्नातकोतरको कक्षाहरु भने म अनलाइनमार्पत नै विद्यार्थीहरुलाई दिने गरेको छु।’

उनका अनुसार विद्यार्थीहरु जुम र गुगल मिटमार्फत अनलाइन आउने गरेका छन् भने अनलाइन च्याटमार्फत विषयवस्तुमा लागेका प्रश्‍नहरु गर्ने गरेका छन्। उनी भन्छन्, ‘भर्चुअल कनेक्शनमा आएपछि धेरे जना हुन्छन् विद्यार्थीहरु। तर पनि कोर्षहरुको स्लाइड शो र प्रेजेन्टेशनपछि कमेन्टहरु अनलाइन नै विद्यार्थीहरुबाट आउँछन्। कोही माइकमै प्रत्‍यक्ष रुपमा नबुझेका विषयमा सोध्नुहुन्छ भने कोही च्याटमार्फत। उहाँहरुको प्रश्‍नको उत्तर अनलाइनमै दिने गरेको छु। ‘

अनलाइनबाट विद्यार्थीहरु जहाँ रहे पनि इन्टरनेटको पहुँचमा भएपछि क्लास लिन सजिलो भएको बताउँछन् उनी।  भन्छन्,  ‘केही विद्यार्थीहरु उपत्यका बाहिर पनि हुनुहुन्छ अनलाइनमार्पत क्लास लिने । घर बसीबसी उहाँहरुले लकडाउन मै अध्‍ययन गर्न सजिलो भएको छ। तर कोहीसँग इन्टरनेट छैन। उहाँहरुलाई अनलाइनमै तर इमेल गरेर पठाएका छौ। बुझाएका छौ।’ उनका अनुसार अनलाइन मार्फत हाजिरी गराउने गरेको र ७० प्रतिशत उपस्थित भएका छन्।

यस्तै कान्तिपुर सिटी कलेजमा मास्टर्स अफ कम्प्युटर एप्लिकेशन (एमसीए) तेस्रो सेमेस्टरका विद्यार्थी हुन श्रीजन त्रिपाठी। उनी यो लकडानमा घरमै बसीबसी कोर्ष पढिरहेका छन् अनलाइन प्लेटफर्ममार्फत।

उनी भन्छन्, ‘म (एमसीए) तेस्रो सेमेस्टरको विद्यार्थी  हुँ। नयाँ सेमेस्टर क्लास हामी विद्यार्थीहरुले आफैले चलाएका हौ गुगल मिटमार्फत कलेजको सहकार्यमा। त्यहाँ  कलेजको सरहरु आउनुहुन्छ र अनलाइनमै पढाउनुहुन्छ कोर्षहरु। हाम्रो लागि निक्कै सुविधा भएको छ पढ्न। हामी घरमै बसेर अनलाइनबाट तेस्रो सेमेष्टरको कोर्षहरु अध्ययन गरिरहेका छौ। नजानेका कुराहरु त्यही नै भर्बल वा च्याटमार्पत सोधेर सिकिरहेका छौ।’

उनका अनुसार अनलाइनमार्फत गणित चाहि अनलाइनमार्फत बुझ्न गाह्रो भइरहेको छ भने सफ्टवेयर प्रोजेक्ट म्यानेजमेन्टमा भने ठीकै लाग्छ। उनी भन्छन्, ‘सबै विषय त राम्रै हो । तर गणित भने अलिक अनलाइनमा बुझ्न कठिन हुँदो रहेछ। हामी छलफल गर्छौ र सोलुशन निकाल्छौ। किनकी यसमा धेरै गणीतीय सूत्रहरु आफैले लेखेर गर्नु पर्ने भएकाले थोरै अप्ठेरो भएको हो।  सफ्टवेयर डिजाइन लगायतका अन्‍य विषय त ठीकै छ।’

बैशाख १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्