२०७७ सालको विस्तृत भविष्यवाणी र तपाईँको राशीफल

शाके संवत् १९४२ वीरविक्रमादित्य संवत् २०७७ भुक्तभोग्यले समाप्त नै भए पनि प्रचलन अनुसार यो संवत्सरको नाम प्रमादी हो। यस वर्षका राजा बुध हुन् भने मन्त्री पदमा चन्द्रमा पुगेका छन्। सौर्यमण्डलका ग्रहहरू आआफ्ना विभागमा सक्रिय रहने छन्। यसवर्षको ग्रह गठनमा शुभ ग्रहको प्रभाव वढिरहेको देखिन्छ। यसवर्षका राजा बुध नपुंसककारक ग्रह हुन् भने मन्त्री चन्द्रमा स्त्रीकारक ग्रह हुन्।

बुधले चन्द्रमालाई मित्र दृष्टि राखे पनि बुधलाई शत्रु भाव राख्ने हुँदा वर्षको आरम्भमा प्रशस्तै समयस्याहरू आउने सम्भावना रहन्छ। नपुङ्सक बुधले उपलब्धीहीन कार्यलाई अगाडि सार्ने र मनकारक ग्रह चन्द्रमाले भावुक, उत्तेजित कार्यलाई बढावा दिनेहुँदा राजनीतिलाई तरलता उन्मुख गराउन बल पुग्नेछ। बुद्घिजीवी र जिम्मेवार व्यक्तिहरू दिग्भ्रमित हुँदा मानव समाज विश्वभर तरङ्गित हुनेछ।

मनकारक ग्रह चन्द्रमा, मस्तिष्ककारक बुधको वर्षमा आधिपत्य रहेको छ। वेदनीतिले राजाले राज्य गर्ने र मन्त्रीले राजनीति गर्ने भन्ने छ। राजा र मन्त्रीबीचको असहमतिले राजनीति स्थिरभन्दा अस्थिर हुने सम्भावना रहन्छ। चन्द्रमा चन्चल ग्रह र मस्तिष्ककारक ग्रह बुधबीच ताल मेल नमिल्ने सम्भावना अधिक हुन्छ। विचार गरौँ मन अनियन्त्रित हुन्छ तर मस्तिष्क भने जिम्मेवार।

त्यसैले चन्द्रमाले बुधलाई शत्रु भाव राख्ने हुँदा बुधलाई नटेरी अघि बढ्न सक्छ। बुधले नियन्त्रणमा लिने प्रयास गर्दाराजनीतिमा स्वेक्षाचारीता बढ्ने सम्भाना रहन्छ। परिणामस्वरुप समाजमा विचलन आउन सक्छ, बौद्धिक वर्गहरू निराश हुँदै गर्दा पनि शुभ ग्रहहरु बाहुल्यता बर्षारम्भमा रहेकाले सबैले धैर्य धारण गर्दै सम्मन्वयतिर जोडिने प्रयास गर्नेछन्। त्यसबाट सकारात्मक प्रभाव लाइ बलपुग्ने छ। संयमा सजग भएमा ऐतिहासिक कार्य गर्ने अवसर मिल्ने र अलिकति पनि चुकेमा समाजमा अराजकता पैदा हुनेछ जुन नियन्त्रण गर्न हम्मे हम्मे पर्नेछ।

वर्षको बारेमा हेर्दा यसवर्षारम्भका राजा, मन्त्री र वर्ष प्रवेश लग्नलाई जोडेर प्रस्तुत गर्नु अनिवार्य हुन्छ। यसवर्षको वर्ष प्रवेशमा बृश्चिक लग्नमा भएको छ,यो स्थिर लग्न हो। लग्नेश,पञ्चमेश, भाग्येश र दशमस्थानले महत्वपूर्णले भूमिका खेल्दछन्। ग्रह वक्र र मार्ग, ग्रहको संयोग, उच र नीच सवैको अवस्थालाई मिलाउनुपर्दछ। यस वर्षको जगलग्न कुण्डली बृश्चिक लग्नमा भएको छ त्यो नेपालको रासि सङ्ग मिल्ने भएकोले नेपालको लागी शुभ हो। लग्नेश मंगल, पन्चमेश गुरु, भाग्येश चन्द्रमा, दशमेश सूर्य हुन्।

२०७७ वैशाख २७ गते सम्म वर्षारम्भ पूर्वनै मकरमा भएका मंगल मकरमै रहने छन् वैशाख २५ गतेदेखि वक्र भएका शनि आश्विन १० गतेसम्म वक्ररहने छन बक्र हुँदै मकर राशिबाट श्रावण २१ गते धनु राशिमा सर्नेछन्। वर्षारम्भ पूर्वनै मकरमा रहेका ज्येष्ठ ३ गते मकरमै वक्र हुने बृहस्पति पनि भाद्र ३१ गते सम्म वक्र हुने र वक्रमै मकरबाट श्रावण १ गते धनुराशिमा फर्कनेछन्।

यस वर्ष गुरु र शनि प्रायः साथमै रहने छन्।शनि गुरुको संयोग लाभहानि दुवै गराउन सक्ने हुन्छ। यो वर्ष पनि शुभ र अशुभ दुवै अवस्था छ। शनि गुरुको संयोगमा विशेष गरी धर्म तथा न्याय क्षेत्र प्रभावशाली हुन्छ। केही गरी सावधानी नअपनाएमा न्यायपालिकाले कार्यपलिकालाई कब्जा गर्न सक्छ।श्रावण १ गतेदेखि श्रावण २१ सम्म, कार्तिक २८ गतेदेखि मार्ग १ सम्म, चैत्र १६ गतेपछि ३१ सम्ममात्र शनि बृहस्पति संयोग हुने छैन। शनि, बृहस्पतिको संयोग त्योपनि धनुमा र मकरमा कहिले शनि स्वगृही, कहिले गुरुस्वगृही हुनेछन्।

यसरी हुने संयोग गुरुचण्डाल योग र निचभङ्ग योग हुने भएकाले सुजवुझका साथ काम गरे संकटबाट सहजतामा जाने उपयुक्त वातावरण बन्नेछ। थोरैमात्र चुक्यो भने अवस्था गम्भीर र जटिल हुनेछ। यस प्रशंगमा लग्नकुण्डलीको योगबल पनि महत्वपूर्णहुन्छ। यस वर्ष दुई महत्वपूर्ण योग परेको छ। एक कालसर्पयोग अर्काे लग्नादि योग। यी दुवैयोगको मुख्य फल प्राय उतारचढाव आउने हो।

यस्तो समयमा संकट र सफलता दुवैको सामना गर्नुपर्दछ। वर्षारम्भको दिन चन्द्रमा केतुबाट ग्रस्त छन। शनि, मंगल र बृहस्पतिको संयोगका साथै बैशाख ३ गतेदेखि ५ गते ३ बजेसम्म शनि, बृहस्पति, चन्द्रमा र मंगल एक साथ रहने छन्। यसलाई ग्रहका हिसावले शुभ र अशुभ दुवै कोणबाट बुझ्न सकिन्छ। चन्द्रमा, बृहस्पति एकसाथ रहँदा गजकेसरी योग बन्छ त्यो शुभ मानिन्छ। मंगलको सम्वन्ध पृथ्वी, आगो, हातहतियार र सेनामा रहन्छ। बृहस्पतिको सम्बन्ध धर्म, शिक्षामा, शनिको सेवासँग र निर्माण सङ्ग , चन्द्रमाको दयासँग सम्बन्ध रहन्छ।

शनिले पश्चिम दिशाको, मंगलले दक्षिणको, बृहस्पतिले उत्तरको र स्वधर्म तथा स्वदेशको प्रतिनिधित्व गर्ने हुँदा यस्तो स्थितिमा त्रिपक्षीय चलखेल हुने सम्भावना रहन्छ। आआफ्नो स्वार्थले प्रेरित शक्तिहरूको चलखेलमा राष्ट्रिय संकट आउन सक्छ। यस्तो समयमा विमान दुर्घटना हुने सम्भावनाका साथै भूकम्प, समुद्रिक आँधी, आगजनी, चोरी, अराजक कार्य,प्राकृतिक विपत्ति आउन सक्छ।

अविभावकीय भूमिका निर्वाह गर्नुपर्ने बौद्घिक वर्गहरू सुरक्षा, शिक्षा, प्रशासनिक र न्यायक्षेत्रमा न्यायोचित मार्गलाई वेवास्ता गर्दै स्वार्थमा प्रेरित हुन सक्ने सम्भावना बलियो रहनेछ। यस्तो अवस्थामा सुरक्षा, न्याय र धर्म एकसाथ जुटेर कार्यपालिकालाई अवज्ञा गर्दै राजनीतिलाई नियन्त्रणमा लिन खोज्दा बृहस्पति नीचभएकाले गलत मार्गमा लाग्न सक्छन्, राजनैतिक संकट आउन सक्नेछ।

चुनौती र अवसरमध्ये अवसरलाई उपयोग गर्दै विषम परिस्थितिलाई धैर्यका साथ नेतृत्वले कदम चालेमा देशले ऐतिहासिक सफलता हासिल गर्ने मार्ग अबलम्बन गर्नेछ। सचेत र सजग नभएमा जनधनको क्षति हुनुको साथै अर्थतन्त्रमा ठूलो नोक्सान भई राष्ट्र असफलता उन्मुख हुन सक्छ,सत्तासमेत परिवर्तन हुन सक्छ। विस्थापित शक्तिले अवसर पाउन सक्छन्, अकल्पनीय व्यक्तिको अकस्मात् उदय भई राजनीतिमा आमूल परिवर्तन हुन सक्छ ।

मिथुनमा उच्च राहु, केतु धनुमा उच्च भएको अवस्थामा बनेकोकाल सर्पयोग छ त्यो कालसर्प योग भाद्र २५ गते देखि हटेपनि मार्ग २५ गते पुनः शुरु भएर बाषान्त्य सम्म रहने छ। अर्कोतर्फ लग्नादि योग धनभावमा केतु र चन्द्रमा रहेको हुँदा राज्यकोषलाई उपलब्धिमुलक कार्यमा भन्दा अधिक व्यक्तिविशेषको भरणपोषणमा खर्च हुनेछ। लग्नेश मंगल सेनाकारक उच्च भई तृतीयेश, चतुर्थेश सेवाकारक शनि तथा धर्म,शिक्षा कारक बृहस्पति द्वितीय र पञ्चमको मालिक एक साथ रहेकोले सैनिक, बौद्घिक तथा युवा बर्ग र धार्मिक वर्गहरू एकसाथ राज्य निर्माणमा जुट्ने सम्भावना छ।

पञ्चमस्थानमा बुध नीच र पञ्चमेश बृहस्पतिसमेत नीच रहेकोले शैक्षिक, धार्मिक तथा वाणिज्य क्षेत्रमा विकृति र विसङ्गति वढ्नेछ। षष्ठभावमा रहेको उच्च सूर्यले शत्रु नास गर्ने भएपनि दशमेश भएकोले राजनीतिमा राज्यका शत्रुले ठूलो चलखेल गर्न सक्ने अवस्था रहनेछ।

सप्तम शुक्र स्वगृही भइरहेको र शुक्रको आधिपत्य विज्ञानमा गीत, सङ्गीत, चलचित्र, आधुनिक औषधि निर्माणसहित शुक्रको अधिकार विषेश महिला वर्गमा रहने भएकोले महिला शक्तिकै कारण राजनीतिमा संयम भए सफलता र अनिन्त्रित भएमा दुर्घटा हुन सक्नेछ। सातौँ भाव वैदेशिक तथा कूटनीति भएकोले शुक्रको अनुकूलताले वैदेशिक सम्वन्ध व्यक्तिका निमित्त हानिकारक रहे पनि देशका निम्ति भने सकारात्मक र समन्वयकारी रहनेछ। ज्ञान, विज्ञानमा सुझबुझका साथ अघि बढ्ने वर्ष हुनेछ। अष्टममा राहु रहेकोले देशको ऋणभार उच्चतम विन्दुमा पुग्नेछ।

भाग्य भावमा मङ्गलको नीच दृष्टि, गुरुको उच्च दृष्टि र शनिको शत्रु दृष्टि रहेपनि शनि, बृहस्पतिको संयोग भएकोले धार्मिक पक्ष र धर्मविरोधीहरूको संघर्षमा जनता आन्दोलित हुनेछन्। शनि, मङ्गलको संयोगले धार्मिक आवरणमा लुट्ने, धर्मलाई अपव्याख्या गर्ने, अधर्मीहरूको पराजय र सच्चा धर्म र राष्ट्रियताको जगेर्ना गर्न अग्रसर हुनेहरूको विजय सुनिश्चतजस्तै छ। दशमेश सूर्य षष्ठ भावमा रहेकोले राष्ट्र विरोधीहरू सलबलाउनेछन्।

शक्तिशाली ग्रहहरू राष्ट्रको पक्षमा रहेको हुँदा यो वर्ष राष्ट्रले नयाँ र युगान्तकारी परिवर्तन गर्दै स्वार्णीम युगमा प्रवेश गर्नेछ। सप्तमेष र द्वादशेस शुक्र स्वगृही भई सप्तम भावमा रहेको, शुक्र पूर्वदिशाको अधिपति भएकोले पूर्वीय देशको सहयोग एवं खबदारीले सवै वैदेशिक सम्वन्धलाई अत्यन्त सकारात्मक बनाउन बल पुग्नेछ। प्रजातन्त्रमा सार्वभौम जनता भन्ने भनाईलाई सार्थक बनाउन यस वर्ष ग्रहले साथ दिनेछ। श्रावण २१ देखि मार्ग १ गतेसम्म नेपाल देश अन्त्य साढेसातीको प्रकोपमा पर्नेछ। यो समयमा देश संकटग्रस्तभई परिवर्तनको दिशामा उन्मुख हुनसक्छ राम्रोको लागि।

भाद्र २५ गते राहु बृश्चिकमा केतु बृषमा सर्ने छन यस वर्ष पश्चिमा मुलुकहरू अवस्था २०४७ साल भन्दा कडा छ जुनवेला पश्चिमा हरु सवैमिले इराकमा होमियका थिए यस्तो स्थितिमा प्राकृतिक प्रकोप र राजनीति तरलता वढ्ने छ। विषेश गरि समुन्द्रिी ज्वालामुखि आँधिका कारण सन्सारनै तरङ्गित हुनसक्छन। अमेरिकाले राजनीति र प्राकृतिक प्रकोपको धेरै कठिनाईको सामना गर्नुपर्नेछ।

जापान, जर्मन पनि प्राकृतिक प्रकोपको भागीदार हुनेछन्।भारतले पनि राजनीति र प्राकृतिक प्रकोपको ठूलै पीडा भोग्नुपर्नेछ। चीन,रसिया भने पीडा हुँदाहुँदै पनि सफलता उन्मुख रहनेछन्। यसवर्षको विश्व राजनैतिक ध्रुवीकरण प्राचीन र आधुनिक पक्षबीच जबर्जस्त उभिने महाँयुद्ध उन्मुख हुँदै गर्दा आधुनिकतालाई प्राचीन सोचले निस्तेज वनाउन सक्नेछ।

यो वर्ष शनि साढेसातीवर्षारम्भमा मार्ग १ गतेदेखि धनुलाई अन्त्य साढेसाती, कुम्भलाई आद्य साढेसाती आरम्भ हुनेछ भने तुला तथा मिथुन राशिलाई अढैया शनि आरम्भ हुनेछ। श्रावण २१ गतेदेखि मार्ग १ गतेसम्म पुनः वृश्चिकलाई अन्त्य साढेसाती र कन्या तथा वृषराशिलाई अढैया शनि रहनेछ।साढेसाती शनिको प्रभाव जन्मकुण्डलीमा शनि राम्रो भएमा राम्रो फल, नराम्रो भएमा नराम्रो फल मिल्नेछ। अढैया शनिले जन्मकुण्डलीमा शनि राम्रो भएमा बिगार नगर्ने राम्रोभने कसैलाई पनि नगर्ने हुन्छ।

शनि साढेसाती वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने र शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी ‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने।

भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएको तर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने।बगेकोलाई नहेर्ने। यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यावाहारिक प्रयोगले थाहा भएको हो।

मेष
यस वर्ष ग्रहगोचर राम्रोछ,वर्षभरी जस्तै नवौँ र दशौँमा बलशाली भएर रहेका शनि तथा बृहस्पति तृतीयस्थानमा उच्च राहुको अनुकूलताले सफलताको मार्गलाई अत्यधिक मजबुत बनाउनेछ।आँटेका कामहरू धेरै सफल हुनेछन्। नयाँकामको आरम्भ पनि हुनेछ। अरुको विश्वास जितेर वैदेशिक व्यापारमा सफलता र कूटनैतिक कार्यमा विशेष लाभ मिल्नेछ। भाग्य बलियो हुनुको साथै धार्मिक र सामाजिक कार्यमा सफलता, सम्मान सोचेभन्दा बढी नै मिल्नेछ।

नयाँ प्रेममा प्रवेश र प्रेमलाई विवाहमा परिणत गर्ने, प्रेमविहीन अविवाहितहरूलाई विवाह बन्धनमा जोडिने अवसर मिल्नेछ। विवाहितहरूका लागि पुत्रलाभको अवसर पनि प्राप्त हुनेछ। स्वदेशी तथा विदेशी शिक्षामा छात्रवृत्ति सहितको उच्च शिक्षा प्रप्त हुने बलियो सम्भावना छ। वर्षभरी नै भाग्य भावमा र कर्म भावमा राजयोगले भाग्योदय र कर्म प्राप्ति हुने योग भए पनि उतारचढाव प्रशस्त आएपनि अन्ततः परिणाम सकारत्मक रहनेछ।

नयाँ नोकरी प्राप्त हुने र भएको नोकरीमा पदोन्नति हुने योग छ। राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुने समय छ। नयाँ घर, जग्गा र सवारीसाधन जोड्ने अवसर पनि यो वर्ष मिल्नेछ। अन्न आर्जनका विशेष अवसर यस वर्ष प्राप्त हुनेछ। लेखन मार्गमा ऐतिहासिक सफलता मिल्नेछ। खेलाडीहरूका लागि वर्ष उत्कृष्ट नै भन्नुपर्दछ।सहयोगीहरू, दाजुभाइ, पिता तथा पैतृक सम्पत्तिमा केही अवरोध सिर्जना भएपनि समग्रमा यो वर्ष फलदायी रहनेछ। निर्धक्क विश्वासमा अघि बढेमा धेरै कठिनाई आउने र विवेकपूर्ण तरिकाले अघि बढेमा ऐतिहासिक सफलता प्राप्त गर्ने अवसर मिल्नेछ। श्रावण, मार्ग, चैत्रमा कठिनाई आउन सक्ने, आषाढ, आश्विन, फाल्गुणमा धेरै सफलता मिल्ने र अन्य महिना मध्यम रहनेछन्।

वृष
समग्रमा यस वर्षको ग्रह गोचर राम्रो रहनेछ। अढैया शनिको अन्त्य भएकोछ। भाग्यभावमा बसेका गुरुले भाग्यलाई चम्काउनेछ। धार्मिक क्षेत्रमा रुचि बढ्नुको साथै सामाजिक कार्यमा अग्रसर हुँदा सफलता मिल्नेछ।

कर्मेश र भाग्य शनिवाट बनेको एकल राजयोगको प्रभावले आफ्नो वर्चस्व सवत्र फैलाउन सकिनेछ। शनि बृहस्पतिको संयोग अन्त्यन्त फलदाई रहने भएकोले नयाँ नोकरीमा प्रवेश र भएको नोकरीमा पदोन्नति हुने बलियो सम्भावना छ। सक्रिय राजनीतिमा सफताको साथै राजनैतिक नियुक्ति हुने सम्भावना छ। कूटनैतिक सफलता प्रशंसनीय हुनेछ।

पढाईमा सफलता मिल्नुको साथै निःसन्तानहरूका लागि सन्तान प्राप्ति हुने योग यस वर्ष परेको छ। आयेश, भाग्येश र कर्मेशको संयोग भने बलशाली रहनेछ। सहयोगी, दाजुभाइ तथा पिताका बीचका सम्वन्धमा केही ह्रास आएपनि धैर्य गरेमा सफताको मार्गमा बाधा आउने छैन। विदेशयात्राको अवसर पनि मिल्न सक्छ।

व्यापारमा राम्रै प्रगति हुनुको साथै प्रेममा संलग्न हुने र भएको प्रेमले वैवाहिक मार्ग अवलम्वन गर्नेछ। आर्थिक उन्नतिका हिसाबले यो वर्ष निकै राम्रो रहनेछ। स्मरण रहोस् श्रावण २१ देखि मार्ग १ गतेसम्म अढैया शनिको प्रभावको समयमा माथि उल्लिखित कार्य कुराहरू अघि नबढ्न सक्छ।त्यो १०० दिनको समयमा स्वास्थ्यमा बाधा, आर्थिक कठिनाई लेनदेनमा विवादका साथै शरीरमा चोटपटक लाग्न सक्ने र मनमा चिन्ता बढ्ने देखिन्छ।

पतिपत्नीबीचमा विवाद वढ्न सक्ने भएकोले त्यो समय संयम रहनुहोला। वैशाख, आषाढ, भाद्र, पौष महिनाप्रतिकूल र श्रावण, कार्तिक, चैत्र राम्रो तथा फलदायी र अन्य महिनाहरू मध्यम रहनेछन्।

मिथुन
वर्षारम्भमा अढैया शनि र अष्टम गुरुको प्रतिकूलताले स्वास्थमा बाधा आउनाले काम बिग्रनेछ। राजनीतिमा लाग्नेहरूका लागि कूटनैतिक असफलताले पदच्यूत गराउन सक्छन्। व्यापारमा र वैदेशिक कार्यमा अवरोध आउनेछ। भाग्य भावको शनि अष्टम अढैया शनिको प्रभावले आर्थिक संकट बढाउनेछ। धार्मिक र सामाजिक कार्यमा झुठा आरोपको सामना गर्नुपर्नेछ।

उच्च रक्तस्रावको साथै मुटु, मस्तिकमा पीडा हुने तथा हाडजोर्नीको समस्या पनि आउनेछ। नगद कारोबार गरे विवाद बढेर मुद्दामामला लाग्न सक्छ। विश्वासमा धोका हुनेछ। परिवारले साथ नदिने मित्रहरूपनि स्वार्थमा प्रेरित भईआफूलाई फसाउन सक्रिय हुनेछन्। पति, पत्नीबीचको विवादमा संयम नभए विछोडको स्थिति आउनेछ। पिता, पुत्रबीच सम्वन्ध बिग्रनाले घरझघडा निकै बढ्नेछ।

नोकरीमा झुठाआरोप लागेर अपठ्यारो पर्नेसक्ने, स्थनान्तरण हुने र छुट्ने योग छ। आम्दानीको मार्ग सबै बन्द हुनेछन्। सन्तानबाट पनि खुसी नमिल्ने अवस्था छ। श्रावण १देखि बृहस्पति अनुकूल हुनुको साथै श्रावण २१ देखि मार्ग १ गते सम्म शनि अनुकूल हुने हुँदा त्यो समय व्यापारमा लाभ हुनुको साथै व्यापारमा र वैदेशिक कार्यमा अपेक्षित सुधार आउनेछ।

पति पत्नीबीचको सम्बन्धमा पनि उल्लेखनीय सुधार आउनेछ। परिवारमा सकारात्मक सम्बन्ध बन्ने तथा नोकरीमा प्रगति, उन्नतिको साथै राजनीतिमा ठूलै फड्को मार्ने अवसर मिल्नेछ। आर्थिक लाभ प्रशस्त मात्रामा गर्न सकिनेछ। महत्वपूर्णकाम यही समयमा गर्नु उचित हुनेछ। अन्य समयमा संयम हुनु राम्रो वैशाख, भाद्र, मार्ग महिना राम्रो ज्येष्ठ, आश्विन, माघ नराम्रो अन्य महिनाहरु मध्यम छन्।

कर्कट
यस वर्ष ग्रहले पूर्ण साथ दिनेछ। आँटेका काममा सफलता सजिलै मिल्नेछ। बौद्धिक कार्यमा अग्रस्थान मिल्नेछ। पढाईमा सफलता मिल्नेछ। लेखन कार्यमा तीब्रता आउनेछ। साहित्य, कला, गीत, सङ्गीतमा हुनेहरूका लागि अति उत्तम रहनेछ। शैक्षिक उन्नति राम्रो छ। छात्रवृत्ति प्राप्त हुने योगको साथै व्यावसायिक यात्रामा संलग्न हुने सम्भावना छ। विदेशिएर भुलेकामित्रहरूले पुनः सम्झना गर्नेछन्।

आयात निर्यातमा लाग्नेहरूका लागि योवर्ष अनुकूल रहनेछ। कूटनैतिक कार्यमा लग्नेहरूका लागि यो वर्ष अति उत्तम रहनेछ। आम्दानीको अवसरहरू प्रसस्त मिल्नेछ। मित्रता प्रेममा बदलिने, प्रेम वैवाहिक यात्रातिर लम्कने समय छ। पतिपत्नीबीच सुमधुरसम्बन्ध निर्माण हुनेछ। नोकरीमा पदोन्नतिको साथै लाभप्रद स्थानमा स्थानान्तरण हुने बलियो सम्भावना छ।

राजनीतिमा ऐतिहासिक सफलता पाउने योग छ। जोश र जाँगर बढ्ने नयाँ कामको अवसर पनि मिल्नेछ। रोकिएको कामहरू सुचारु हुनेछन्। सन्तान प्राप्तीको पनि बलियो सम्भावना छ। भाग्य बलियो भएकोले सामाजिक क्षेत्रमा सम्मान मिल्नुको साथै धार्मिक कार्यको रुचिको साथै तीर्थयात्राको पनि सम्भावना छ।
श्रावण १ गतेदेखि बृहस्पति प्रतिकूल हुने हुँदा स्वास्थ्यमा बाधा आउने, शत्रु वढ्ने काममा अवरोध आउने, सामाजिक कार्यमा बदनाम हुन सक्नेछ। व्यापारमा उतारवचढाव आउने, यात्रामा संकट आउने, मित्र तथा परिवारसँग केही विमति रहने भएकोले संयम हुनु राम्रो। ज्येष्ठ, आश्विन, फाल्गुन शुभ र लाभदायक रहनेछन्। आषाढ, कार्तिक, फाल्गुन महिना संकट आउने र अन्य महिना मध्यम रहनेछन्।

सिंह
सिहं राशिलाई योवर्ष मध्यम रहनेछ। वर्षारम्भमा षष्ठ भावमा रहेका गुरुले स्वास्थ्यमा बाधा, शत्रु वृद्धि, काममा अवरोध आउन सक्छ। पढाईमा अवरोध आउनुको साथै सन्तानसँग विमति, लेखन मार्गमा बाधा आउन सक्ने सम्भावना छ। राहु, शनिको अनुकूल प्रभाव वर्षभरी नै रहनेछ। आम्दानीका अवसरहरू प्रशस्त मात्रामा मिल्नेछन्।

मनमा उत्साह र शरीरमा स्फुर्ति बढ्ने, रोकिएका कामहरू सुचारु हुने र नयाँ कामको अवसर पनि मिल्नेछ। ज्ञान, विज्ञानमा लागेकाहरूकालागि समय अनुकूल रहनेछ। आफन्त, मित्र तथा परिवारहरूबाट उचित सहयोग मिल्नेछ। व्यापारमा राम्रो लाभ उठाउन सकिनेछ। वैदेशिक र कूटनैतिक कार्यमा संलग्न हुनेहरूकालागि यो शुभ वर्ष हो। भाग्यले साथ दिनेछ। सामाजिक कार्यमा सम्मान पाउने योगछ।

नोकरीमा प्रगति र उन्नतिको अवसर मिल्नेछ। राजनीतिमा गुमेका स्थान पूनः प्राप्तीको अवसर मिल्नेछ। सहयोगीहरूको सहयोग पूर्णरुपमा पाइनेछ। दाजुभाइ, दिदीबहिनीको सहयोगले आर्थिक, सामाजिक, राजनैतिक कार्यलाई समेत अनुकूल प्रभाव पार्नेछ।श्रावण १ गतेदेखि कार्तिक २८ गतेसम्म बृहस्पति धेरै अनुकूल रहने हुनाले बौद्धिक उन्नति तथा लेखन मार्गमा विशेष सफलता मिल्नेछ।

सन्तान लाभ हुने सम्भावना पनि छ। न्याय क्षेत्रमा रहनेहरूका लागि महत्वपूर्ण स्थान मिल्ने वर्ष हुनेछ। राजनीतिमा सबैलाइ समेटेर नेतृत्व गर्ने स्वर्ण अवसर पाउने मौका हात लाग्नेछ। स्वदेश तथा विदेशमा सम्मान पाउने योग पनि छ। आषाढ, कार्तिक, माघ अनुकूल र श्रावण, मार्ग,चैत्र प्रतिकूल रहनेछन् भने अन्य महिना मध्यम रहनेछन्।

कन्या
समग्रमा कन्याराशिलाई यो वर्ष राम्रो रहनेछ। वर्षारम्भमा पञ्चम शनि बृहस्पतिको संयोग अतिनै महत्वपूर्ण हुनेछ। चतुर्थेश गुरु,पञ्चमेश शनिबाट हुने निचभङ्ग राजयोगका कारण ऐतिहासिक सफलता प्राप्त हुनेछ। नयाँ घर, नयाँ सवारी जोड्ने अवसर पनि मिल्नेछ। समाजमा तपाई र तपाईका शब्दले अरुको मन सजिलै जित्न सकिनेछ। न्याय क्षेत्रमा लाग्नेहरूका लागि योवर्ष निकै अनुकूल रहनेछ।

विद्यार्थीहरूले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरी स्वदेश तथा विदेशमा प्रस्थान गर्ने अवसर पनि मिल्नेछ। प्रगति उन्नतिका लागि मित्र तथा परिवारले राम्रो सहयोग गर्नेछन्। विदेशिएर भुलिरहेका मित्रहरूले पूनः सम्झना गर्नेछन्। व्यापारमा राम्रो उन्नति भई धन आर्जनका अवसर पनि प्राप्त हुनेछन्। नयाँ प्रेम हुने पुरानो प्रेमले वैवाहिक मार्ग प्राप्त गर्ने योग छ।

पति, पत्नीबीच हुने सुमधुर सम्बन्धले घरेलु र अन्य कार्यलाई समेत सहज बनाउनेछ। कूटनैतिक कार्यमा चमत्कारिक सफलता पाउन सकिनेछ। ज्ञान, विज्ञानका क्षेत्रमा हुनेहरूको लागि यो वर्ष फलदायी रहनेछ। सामाजिक कार्यमा उल्लेख्य सम्मान पाउने योग छ। नोकारीमा आफ्नो दक्षता देखाउँदै आफूलाई अग्रस्थानमा उभ्याउने अवसर मिल्नुको साथै पदोन्नति स्थानान्तरण उचित समय उचित स्थानमा हुनेछ।

राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ। श्रावण २१ देखि मार्ग १ गतेसम्म पूनः अढैया शनि प्रारम्भ हुँदा घरेलु समस्या बढ्ने, स्वास्थ्य गडवड हुने, मित्र तथ परिवारले साथ नदिने आर्थिक संकट बढ्ने हुँदा त्यो समय महत्वपूर्ण काम नगर्नु उचित हुनेछ।

तुला
वर्षारम्भमा अढैया शनि चतुर्थ स्थानमा नीच, गुरुको प्रतिकूल प्रभावले घरेलु समस्या निकै वढ्नेछ। मित्र तथा परिवारहरूको असहयोगले दैनिकीमा अप्ठ्याराहरू प्रसस्तै आउनेछन्। वहानले पटकपटक धोका दिनेछ। शत्रुसँग मिलेर परिवार र मित्रले फसाउने प्रयत्न गर्नेछन्। स्वास्थमा अनेक पीडा र विशेषतः पेटमा समस्या आउनेछ। विनाकारणको विवादले सामाजिक कार्यमा भएको प्रतिष्ठा धुमलिने सम्भावना छ। कामको बीचमा अवरोध आउने, सहयोगीहरूबाट धोका हुने, दाजुभाइहरूले सहयोग नगर्ने हुँदा सानो कामलाई पनि धेरै प्रयत्न गर्नु पर्नेछ।

परिवारिक समस्या र मित्रहरूको सहयोगमा व्यस्त हुँदा पढाईमा बाधा आउने, बौद्धिक कार्यमा बाधा आउनाले मन भरङ्ग हुनेछ। सन्तानसँग विमति आउने र लेखनमार्गमा बाधा आउने छ, शत्रु सक्रिय हुनेछन्। प्रेममा खटपट आउने, पतिपत्नीबीच बढ्ने विमतिले निकै दुःखी बनाउनेछ। व्यापार र वैदेशिक कार्यमा अवरोध आउने योग छ।

श्रावण २१ गतेदेखि मार्ग १ गतेसम्म शनि बृहस्पति दुवै अनुकूल भएकोले मनमा उत्साह र शरीरमा स्फुर्ति बढ्नेछ। रोकिएका कामहरू बन्नेछन्।नयाँ र आयमूलक कामहरू हात पर्ने छन्। सहयोगी र दाजुभाइहरूको सोचमा परिवर्तन आउनेछ। पढाईमा अपेक्षित सुधर आउनेछ। नोकरीमा आएको अवरोध हटेर जानेछ। राजनीतिमा भने सफलता मिल्नेछ।

महत्वपूर्ण काम यही समयमा गर्नुहोला। भाद्र, वैशाख, पौष, महिना उत्तम रहनेछन्। ज्येष्ठ, आश्विन, माघ प्रतिकूल र अन्य महिना मध्यम रहनेछन्। शनिदेवको आरधना गर्नु वेश हुनेछ।

वृश्चिक
वर्षारम्भमा ग्रह गोचर राम्रो रहने छ। सानातिना समस्या आए पनि समग्रमा सफलता धेरै पाउने वर्ष हो। पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग बलियोछ। सहयोगीहरूका सहयोग पर्याप्त मात्रामा मिल्नेछ। दजुभाइबाट पूर्ण सहयोग मिल्नेछ। बोलीको प्रभाव राम्रो हुनुको साथै अरुको विश्वास सजिलै जित्ने अवसर पनि मिल्नेछ।

कूटनैतिक कार्यमा महत्वपूर्ण सफलता पाइनेछ। पढ्नका लागि विदेश वा स्वदेशमा छात्रवृत्ति प्राप्त हुने योग छ। घर जग्गा जोड्ने तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ। सन्तान नहुनेका लागि सन्तान प्राप्ति हुने बलियो सम्भावनाका साथै भएका सन्तानहरूको तीब्र प्रगति हुने योग छ। व्यापारमा र वैदेशिक कार्यमा उचित लाभ उठाउन सकिनेछ। प्रेम गर्ने अवसर पनि मिल्नेछ।

वैवाहिक सम्वन्धमा बाँधिने योग पनि बलियो छ। भाग्य बलियो भएकाले सामाजिक कार्यमा उचित सम्मान पाउने योगछ। नोकरीमा उच्चस्थान प्राप्तीका साथै स्वीकार्य स्थानमा स्थानन्तरण हुनेछ। औद्योगिक कार्यमा संलग्नहरूकालागि वर्ष फलदायी रहनेछ। कृषि तथा निर्माण व्यावसायिक व्यक्तिहरूका लागि पनि ग्रह गोचर राम्रो रहनेछ।

श्रावण २१ देखि मार्ग १ गतेसम्म पुनः शनि साढेसाती आरम्भ हुने हुँदा समय अनि कठिन हुन्छ।धन हानि हुने अनावश्यक विवादमा फस्न सक्ने शत्रु बढ्ने स्वास्थ्यमा अवरोध आउने योग छ। घरेलु समस्याले सताउने छ नोकरी तथा राजनीतिमा उतारचढाव आउने समय हो। विश्वास गरेकाले धोका दिनेछन् मन अशान्त हुनेभएकोले यो समय धैर्य गर्नु उचित हुनेछ। आषाढ,, कार्तिक फाल्गुण महिना प्रतिकूल रहनेछन्। वैशाख, आश्विन, माघ अनुकूल रहनेछन्। अन्य महिना मध्यम रहनेछन्।

धनु
यसवर्ष ग्रह गोचर समग्रमा प्रतिकूल रहेपनि गुरुको अनुकूलताले बोलिको प्रभाव बढ्ने, अरुको विस्वास जितेर महत्वपूर्ण काम हरु प्राप्त गरी सफल बनाउन सकिनेछ। मान सम्मान पनि पाउने योगछ। मित्र तथा परिवारले पनि कुरा वुझेर सहयोग गर्नेछन। घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ। नयाँ मित्रको आगमन हुने र परिवारको सदस्य संख्या वृद्घि हुने सम्भावना पनि छ।

सन्तानबाट सहयोग र सद्घभाव मिल्नेछ। नोकारीमा पदोन्नति र राजनीतिमा प्रगति हुने बलियो सम्भावना रहेपनि श्रावण १ गते देखि कार्तिक २८ गतेसम्मको समय भने शनि, राहु र केतु तथावर्षारम्भमा मंगल समेत प्रतिकूल हुनाले सानो सानो काममा पनि सफलता पाउन गाह्रो छ। धन भण्डारणमा शनिको वाश रहेकोले धन सञ्चित हुन पनि गाह्रो छ।

शत्रु वृद्धि हुनुको साथै स्वास्थ्यमा बाधा आउनेछ। आर्थिक कारोवारमा विवाद बढ्नुको साथै लेनदेनमा समेत धेरै विवाद बढ्नेछ। सहयोगीहरुबाट सहयोग भन्दा बढि अवरोध हुने, दाजुभाइ बीच द्वन्द हुने तथा पारिवारिक कलह बढ्ने सम्भावना यस वर्ष रहन्छ। प्रेमवियोग हुनाले मन अशान्त हुनेछ। पति पत्नी बीचको विवाद निकै चर्कनेछ।

संयम नभएमा विछोडको अवस्थासम्म आउन सक्छ। व्यापारमा धेरै अप्ठ्यारो आउनेछ। वैदेशिक कार्यमा अवरोधको सामना गर्नु पर्नेछ। उच्च रक्तचााव बढ्नाले मुटुमस्तिष्कमा पीडा हुन सक्छ। विपरित लिङ्गीबाट झुटाअरोप लगाउने प्रयत्न हुन सक्ने हुँदा सचेत रहनु राम्रो।

यो समय महत्वपूर्ण काम र निर्णय नगर्दा उचित होला। ज्येष्ठ, कार्तिक र फाल्गुण राम्रो महिना हुन भने श्रावण र मार्ग तथा चैत्र अशुभ महिना हुन। अन्य महिना मध्यम रहनेछन।

मकर
साढे सातिको प्रभाव वर्षभरी नै रहनेछ। कहिले राशिमा नीच तथा केन्द्रादी राज्य भङ्ग योग वनाएर वसेको गुरु कहिले सासिमा कहिले बाह्रौ धन मान हानि गरेर बस्ने हुनाले यो वर्ष प्रतिकूल रहनेछ। अशान्त मन र कडा मिजासका कारण आफन्त हरुबाट समेत आक्रमित हुनु पर्नेछ। धार्मिक पक्षमा मन नजाने झुठा मुद्घामामला फस्ने सम्भावना छ।

उच्च रक्तचाव बढ्नुको साथै मुटु मस्तिष्कमा पीडा हुन सक्छ। धन माल हराउनुको साथै दाँत र मुखमा पीडा पनि धेरै हुनेछ। पेट दुखाई र हड्डी,नसाको समस्या वर्षभरी नै रहनेछ।नोकरीमा सचेत नभएमापटक पटक स्थानान्तरणका साथै पदमुक्तसम्म हुने अवस्था आउन सक्छ। राजनीतिमा प्रसस्तै अप्ठ्यारा हरुको सामना गर्नु पर्नेछ। सानो भूलको पनि परिणाम भयावह बन्नसक्छ।

निर्दोष भएपनि दोषीबनेर आफ्नो स्थान गुमाउनु पर्ने अवस्था आउन सक्ने भएकोले कसैको पनि विश्वास गर्नु सङ्कट निम्त्याउनुहो भन्न सकिन्छ। श्रावण १गते देखि कार्तिक २८ गते सम्मको समय कठिन छ। यो समयमा महत्वपूर्ण काम नगर्नु उचित होला। संयम भएमा पढाइमा उन्नति, सन्तानको प्रगति र व्यापारमा लाभ उठाउन सकिनेछ। वैदेशिक कार्यमा र कूटनैतिक कार्यमा राम्रै सफलता हासिल गर्न सकिनेछ।

नयाँ र भरपर्दो प्रेमको प्रस्ताव आउने र भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने पनि बलियो सम्भावना छ। धार्मिक कार्यमा र सामाजिक कार्यमा संयम भएर अघि बढेमा लाभ उठाउन सकिनेछ। आम्दानीका अवसरहरु प्रसस्तै मिल्नेछ। दिदीबहिनी र छोरीबुहारीको राम्रो सहयोग पाउनुहोला।बैशाख, भाद्र र पौष महिना अशुभ रहनेछन। आषाढ,मार्ग र चैत्र शुभ रहनेछन र अन्य महिना मध्यम रहनेछन।

कुम्भ
ग्रह गोचर वर्षको धेरै समय प्रतिकूल रहनेछ। वार्षारम्भमा आद्य साढेसाति र द्वितीय एकादशेस गुरु द्वादश भावमा बस्ने हुनाले सञ्चित धनको नास हुनुको साथै आम्दानिका सबै मार्ग बन्द हुनेछन। अनावस्यक विवादले मानसिक सन्तुलन कायम राख्न गाह्रो पर्न सक्छ। अरुबाट तिव्र आलोचना हुने र धन माल हराउने सम्भावना छ।

उपलब्धिहीन कार्यमा समय खर्च हुनेछ। दाजुभाइको र सहयोगीहरुको सहयोग प्राप्त भएपनि आफ्नै गलत विचारका कारण लाभ उठाउन सकिनेछैन। दाँत र मुखमा पीडा हुने, उच्च रक्तश्रावले गर्दा मुटु मस्तिष्कमा पीडा पनि बढ्न सक्छ। हड्डी र नसामा समस्या आउने सक्ने योग पनि छ। सन्तान सँग विमति रहने योग भएपनि श्रावण २१ देखि कार्तिक महिना भरी समय अनुकूल रहनेछ।

यो अनुकूल समयमा धन प्रसस्त कमाउन सकिनेछ।बोलिको प्रभावले अरुलाई विस्वासमा लिएर अगाडि बढ्ने अवसर मिल्नेछ। उच्च मनोवल र नयाँजोसका साथ अघि बढ्दा पुराना समस्या सुल्झाउनर नयाँ कामहरु सुरु गर्न सहज हुनेछ। परिवार र मित्रवाट उचित सहयोग मिल्नेछ। घर घडेरी तथा सवारी साधन जोड्ने अवसर मिल्नुको साथै नोकरीमा उपयुक्त स्थानमा स्थानान्तरण र पदोन्नति हुने योग छ।

राजनीतिमा गुमेको स्थान पूनः प्राप्त हुनेछ। विज्ञानमा अनुसन्धान गर्न लागिपरेका हरुले चमत्कारिक सफलता हासिल गर्नेछन। व्यापारमा र वैदेशेकि कार्यमा राम्रो सफलता मिल्नेछ।कूटनैतिक कार्यमा सफलता र राजनैतिक नियुक्तिको योग बलियो छ। महत्वपूर्ण काम यही समयमा गर्नु होला। बैशाख , श्रावण र पौष महिना राम्रो रहनेछभने ज्येष्ठ, आश्विन र माघ अशुभ रहनेछन।अन्य महिना मध्यम रहनेछन।

मीन
समग्रमा ग्रह गोचर अनुकूल रहेपनि चौथा रहुको प्रतिकूल प्रभावले केही कठिनाईको सामना पनि गर्नु पर्ला। वर्षारम्भमा एकादश भावमा रहेको शनि तथा गुरुको अनुकूलताले प्रसस्त आय आर्जन गर्न सकिनेछ। तपाईको सत्यतालाई सबैले स्विाकार्ने र साथ दिँदै सफल हुन सहयोग गर्ने योग छ। शरीर स्फुर्तिलो हुनाले रोकिएका पुराना कामहरु तिव्रगतिमा अघि बढ्नेछ।

नयाँ कामका अवसर हरुपनि मिल्नेछन। सहयोगीहरुबाट र दाजुभाइ तथा दिदीबहिनीहरुबाट राम्रो सहयोग पाइने हुँदा वर्ष निकै अनुकूल रहनेछ। न्यायिक, वैज्ञानिक र साहित्यिक क्षेत्रमा भएकाहरुले ऐतिहासिक सफलता प्राप्त गर्न सक्नेछन। सन्तान प्राप्ति र भएका सन्ताबाट सहयोग र सम्मान पर्याप्त मिल्ने योग छ। वैदेशिक व्यापार, वैदेशिक शैक्षिक छात्रवृत्ति र कूटनैतिक कार्यमा रहेका हरुलाई योवर्ष ग्रहले पूर्ण साथ दिनेछ।

नयाँप्रेमको प्रस्ताव र पुराना प्रेम तथा विनाप्रेमका हरुको पनि वैवाहिक बन्धनमा बाँधिने योग पनि छ। धार्मिक कार्यमा र सामाजिक क्षेत्रमा सफलताको साथै सम्मान पाउने योग छ। नोकरीमा लाभप्रद स्थानमा स्थानान्तरण र पदोन्नति हुने बलियो सम्भावना छ।

राजनीतिमा ऐतिहासिक सफलता मिल्नेछ।श्रावण २१ गते देखि केन्द्रादी दोष बोकेर गुरु चण्डाल योग समेत चतुर्थ राहु र दशम केतुको प्रतिकूलताले मित्रहरुसँग विमति, परिवारको असहयोग र आमा वुवा सँग केही मतभेद हुन सक्ने भएकोले त्यस प्रति सजग रहनु होला।

महत्वपूर्ण निर्णयहरु सके सम्म यो समयमा नगर्नु उचित हुनेछ। ज्येष्ठ, भाद र माघ अनुकूल रहनेछन भने अषाढ, कार्तिक र फाल्गुण प्रतिकूल रहनेछन। अन्य महिनाहरु मध्यम रहनेछन्।

बैशाख १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्