कोभिड–१९ सँग पराजित भइन् पाँच महिनाकी नाताली

अभिभावकका साथमा पाँच महिनाकी जे–नाताली।

अमेरिकाको न्यूयोर्क सिटीमा कोरोना भाइरसको संक्रमण भएकी पाँच महिनाकी बालिकाको कोभिड–१९ बाट निधन भएको छ ।

न्यूर्योक सिटीका अग्नि नियन्त्रक खेरेल ला सान्ता र शिक्षा बोर्डकी कर्मचारी लिन्ड्से ला सान्ताकी छोरीको कोभिड–१९ का कारण यो हप्ता निधन भएको परिवारका सदस्यले बताएका छन् ।

एक महिनासम्म अस्पतालमा जीवनसँग संघर्ष गरेकी पाँच महिनाकी जे–नातालीले कोरोना भाइरसलाई जित्न सकिनन् । उनलाई गएको मार्च २१ मा ज्वरो आएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो । उनको मुटुमा पहिलेदेखि नै समस्या थियो ।

एक महिना अस्पतालमा रहँदा जे–नातालीको स्वास्थ्यमा सुरुमा केही सुधार भएको र लगत्तै बिग्रिएको हजुरआमा वान्डा ला सान्ताले अमेरिकी सञ्चारमाध्यम एनबिसी न्यूजसँग बताएकी छन् ।

जे–नाताली अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने सबैभन्दा कम उमेरकी हुन् । यस्तै एक र १४ वर्षका बालबालिकाको पनि अमेरिकामा कोभिड–१९ का कारण ज्यान गएको छ । यसको अर्थ अहिलेसम्म कोभिड–१९ ले नातालीसँगै तीन बालबालिकाको ज्यान लिएको छ ।

बैशाख १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्