कोरोनालाई जितेका धनगढीका अमृत शाही भन्छन्ः बाँच्ने दृढ इच्छाशक्ति र उच्च मनोबल हुनुपर्छ

अमृत शाही। ट्रयाक सुट लगाएका।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने अमृत शाही मंगलबार उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। नेपालका चौथो संक्रमित शाही झन्डै एक महिना अस्पताल बसेपछि घर फर्किएका हुन्।

उनी चैत ७ गते दुवईबाट दिल्ली हुँदै काठमाडौँ आइपुगेका थिए भने चैत ८ गते बुद्ध एयरबाट नेपालगञ्ज हुँदै सोही दिन धनगढी घर पुगेका थिए।

चैत ११ गते कोरोनाको आशंकामा अस्पताल पुगेका शाहीलाई केन्द्रीय प्रयोगशालाले चैत १४ गते कोरोना संक्रमण भएको पुष्टि गरेको थियो। उनीपछि उनकी भाउजुमा पनि कोरोना देखिएको थियो। उनकी भाउजु पनि अहिले सोही अस्पतालमै उपचाररत छिन्।

अस्पतालका अनुसार शाहीको लगातार दुई पटक रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। यसै सन्दर्भमा हामीले अमृत शाहीसँग कुराकानी गरेका छौँ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनालाई पराजित गरेर घर फर्किनुभएको छ, घर फर्किएपछि दिनचर्या कसरी बितिरहेको छ ?

घर फर्किए पनि म अहिले होम क्वारेन्टाइनमै छु। अस्पतालमा डाक्टरहरुले एक हप्तासम्म यसरी नै बस्नु त्यसपछि फेरि एक पटक टेस्ट हुन्छ अनि रिपाेर्ट अनुसार नर्मल रुपमा बस्न सकिन्छ भन्नु भएको छ।

त्यसैले मेरो दिनचर्यामा चाहिँ खासै परिवर्तन आएको छैन तर मनमा भने छुट्टै किसिमको खुशी मिल्दो रहेछ घर फर्किएपछि।

तपाईंले अस्पतालमा २९ दिन बिताउनुभयो, यतिका दिन अस्पताल बस्दा मनमा कस्ता खालका सोचहरु उत्पन्न हुने रहेछ? सामाजिक सञ्जाल कतिको हेर्नुभयो?

अस्पतालमा एक हप्तासम्म त समय बिताउन मलाई एकदमै गाह्रो भयो। तर त्यसपछि चाहिँ आफू जति सक्दो छिटो निको भएर घर फर्किन्छु भन्ने सोच्न थालेँ र विस्तारै बानी पर्‍याे।

सुरुसुरुमा त दिन कटाउन एकदमै गाह्रो भएर सामाजिक सञ्जालमा अपडेट हुन्थेँ। तर संक्रमण निको भएर घर फर्किनेको भन्दा पनि मृत्युको बारेमा समाचार बढी देख्थेँ, यसले मनोबल एकदमै कमजोर बनाउँदो रहेछ। त्यसैले  अस्पताल बसुन्जेल सामाजिक सञ्जालबाट म टाढै रहेँ।

जब  तपाईंको रिर्पोट नेगेटिभ आयो, सामाजिक सञ्जाल लगायत प्रधानमन्त्रीले पनि ट्वीट गरेर बधाई दिनुभयो, त्यतिबेला कस्तो लाग्दो रहेछ?

त्यतिबेला एकदमै खुशी लाग्दो रहेछ। साथीभाई छरछिमेकीहरु सबैले बधाई दिनुभयो। म संक्रमण भएर अस्पताल जाँदा सबै आत्तिनु भएको थियो तर निको भएर फर्किँदा उहाँहरुमा पनि कोरोना भाइरसको त्रास पहिलेभन्दा केही हदसम्म हराएको देखेँ। खुशी छु सबेको व्यवहारप्रति।

आफूलाई संक्रमण भएको कसरी थाहा पाउनुभएको थियो? 

म आफै अस्पताल गएँ र जचाएँ। बाहिरबाट आएको भनेपछि चिकित्सकले क्वारेन्टाइनमा बस्नुपर्छ भन्नुभयो, र म बसेँ पनि। तीन दिनपछि रिपोर्ट आउँदा कोरोना पाजेटिभ आएको थाहा पाएँ।

त्यसपछि परिवारका सबैलाई टेष्ट गरियो तर भाउजुमा चाहिँ रिपाेर्ट पोजेटिभ आयो। उहाँ अहिले अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ।

तपाईंलाई कस्तो लक्षण देखिएको थियाे? 

दुई दिनअघि ज्वरो आएको थियो। त्यसपछि खोकी लाग्यो हल्का। अनि जचाउन गएँ। अस्पताल बसेको १५ दिनपछि चाहिँ डाइरिया भएको थियो।अरु त खासै केही भएन।

कोरोना पोजेटिभ देखिएपछि कत्तिको डराउनु भयाे?

त्यतिबेला मलाई एकदमै डर लाग्यो। विश्वभर महामारीको रुपमा फैलिएको भनेर सुनिराखेकोले गर्दा होला दुई चार दिन त तनावमै कट्यो दिनहरु। मनमा नकारात्मक विचार मात्र खेल्दो रहेछ।

तर पछि डाक्टरहरुले सरसफाईमा ध्यान दिनुपर्छ, धेरै चिन्ता गर्नु हुँदैन भनेर सकारात्मक सन्देशहरु दिनुहुन्थ्यो र पछि विस्तारै आफैले पनि बुझ्न थालेँ।

नेपालमा पनि कोरोना  संक्रमितको संख्या  दिनदिनै बढिरहेको छ, के भन्न चाहनुहुन्छ?

सबैभन्दा पहिला त आफूमा बाँच्ने दृढ इच्छाशक्ति र उच्च मनोबल हुनुपर्छ। आफूमा हिम्मत भयो भने जस्तोसुकै रोग पनि पराजय गर्न सकिँदो रहेछ। मुख्य कुरा त सरसफाईमा पनि ध्यान दिनुहोस् भन्न चाहन्छु।

बैशाख १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू