चितवनमा महत्त्वपूर्ण आयोजनाको लागि ‘लकडाउन’ खुकुलो

तस्बिरहरु: बर्षा शाह

चितवन- गृह मन्त्रालयले लकडाउनलाई थप कडा बनाउन निर्देशन दिएकै दिन चितवन जिल्लामा भने महत्त्वूपूर्ण आयोजना सञ्चालन गर्न जारी लकडाउन केही खुकुलो हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार सूचना जारी गर्दै जिल्लाका महत्त्वपूर्ण आयोजना निर्माण, अत्यावश्यक वस्तु तथा सेवा उत्पादन एवम् वितरण गर्ने उद्योगधन्दा सञ्चालन गर्नको लागि लकडाउन केही खुकुलो गर्ने बताएको हो।

यही बैशाख १२ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले संघ र प्रदेश सरकारबाट लकडाउनको समयमा पनि आयोजना सञ्चालनका लागि लेखी आएका आयोजनाहरुलाई काम गर्न दिने निर्णय भएकोले सोहीअनुसार सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए। यस्तै मनसुभन्दा अगाडि नै सम्पन्न गर्नुपर्ने आयोजना र विपद व्यवस्थापनसम्बन्धि आयोजना सञ्चालन गर्न बाटो खुला गरेको छ।

तर यी सबै काम गर्नको लागि प्रशासनले तोकेको मापदण्डको पालना गर्नुपर्ने प्रशासनले जनाएको छ। दैनिक सम्पर्कमा आउने कर्मचारी तथा कामदारको लागि कार्यस्थलमै क्वारेन्टाइन बनाएर राख्नुपर्ने, क्वारेन्टाइन व्यवस्थापनमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, आयोजना तथा उद्योगको प्रवेश विन्दुमै साबुनपानीले हात धुने व्यवस्था मिलाउनुपर्ने, तोकिएको काम गर्न नेपाल प्रहरीले सञ्चालन गरेको हटलाइन नं। १०० मा सम्पर्क गरी मौखिक अनुमति लिनुपर्नेलगायतका मापदण्ड पूरा गरेको हुनुपर्ने उनले बताए।

बैशाख १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्