श्रद्धाञ्जलि

कसरी सम्झौँ म साइँला बालाई?

जीवनमा दर्जनौं अबिच्युरी र ब्यक्तिमाथि सयौं फिचर लेखिए पनि आफूसँग जोडिएका र परिवारका मान्छेबारे लेख्न निकै गाह्रो हुने रहेछ। किन लेखौं ? जब कि मेरो मान्छे त अब फर्किने हैन। लेख्दा पनि कहाँबाट लेखौं र कहाँ लगेर सकौं? थाहा धेरै छ, कति लेखौं? के के लुकाउँदा र के लेख्दा चाहिँ बाँच्ने र पढ्नेले राम्रो मान्लान्? यस्ता धेरै प्रश्नको एकमुष्ठ जवाफ मनले खोज्ने रहेछ। लकडाउनको समयमा परदेशमा रहेका कारण देशमा दिवंगवत भएका आफन्तबारे एउटा साधारण लेखकले लेखेरै श्रद्धाञ्जलि दिनु अन्यथा पनि नहोला।

यहाँ श्रद्धाञ्जलि दिन खोजिएका पात्र मेरा साइँला बुबा डिल्लीराम गौतमबारे म केही लेख्न लागेको छु। उहाँ यही १० बैशाखमा मोरङको रतुवामाईस्थित घरमा ६० बर्षको उमेरमा दिवंगत हुनुभयो। ६० बर्षको उमेरमा भएको उहाँको मृत्यु सामयिक या असामयिक जे भए पनि उहाँको मृत्युका केही अनौठा पाटाबाट यो श्रद्धाञ्जलि लेख शुरु गर्दैछु।

उहाँको जीवनको अन्त्यतिर दुई साताभन्दा छोटो अवधिमा नै तीनवटा अनौठा घुम्ती एक साथ लगातार आए। शिक्षक जीवनबाट उहाँको अवकाश, उहाँकी आमा अर्थात् हाम्री हजुरआमाको बर्खान्त र आफूलाई क्यान्सर रोग देखिनु। चिकित्सा विज्ञानले के भन्छ कुन्नि, यस बिषयमा म केही पनि थाहा नभएको मान्छे हुँ। तर म चाहिँ उहाँको स्वास्थ्यको बिषयमा डाक्टरको टिप्पणी सुनेर स्तब्ध मात्र हैन, लगभग पागल जस्तै भएँ।

‘चुरोट पनि टन्न खानुहुन्छ? अनि अलिक निकै पिउनुहुन्छ हो ?’ भाइसँग डाक्टरले सोधेका रहेछन्। शरीरका भित्री अंगहरुको एक्सरे रिपोर्ट हेर्दा डाक्टरले खतरा देखेछन् र रोगको ‘नेचर’ अनुसारको प्रश्न गरेका रहेछन्।

केही दिनदेखि ढाडको तल्लो पाटो दुखेका कारण सामान्य समस्या ठान्दै उहाँ जँचाउन विराटनगर अस्पताल जानुभएको थियो। तर, जाँच गर्नेबित्तिकै थाहा भयो, उहाँको अवस्था सामान्य नभएर बढी नै गम्भीर पो रहेछ। पहिलो जाँचको रिपोर्टले नै उहाँको शरीरका भित्री अंग सबैतिर क्यान्सर फैलिसकेको देखायो। त्यस्तो केस बढी नै पिउने वा लगातार चुरोट खाने मान्छेमा मात्रै देखिने रहेछ। यहाँनेर अर्को अनौठो के छ भने साहिँला बाले जीवनमा अम्मलका जातमा पर्ने कुरामा सुपारी पनि चाख्नुभएको थिएन। घरमा नियम पुर्‍याएर पकाएको भोजन बाहेक उहाँले कहिल्यै केही खानुभएन। सामाजिक काम र भोजभतेरमा जाँदा पनि सकभर खान नपरोस् भन्ने उहाँको आशय हुन्थ्यो, फलफूल खाएर टार्ने। होटल वा यात्राका क्रममा भात नखाने, फलफूल खाएर गुजार्ने। पहिला चाहिँ होटलमा पकाएको खाना ‘बाहुनले खान नहुने’ परम्परा र पछि खानाको सरसफाइ र गुणस्तरका कारण उहाँको जीवनमा यस्तो अवस्था आएको थियो।

लेखक जगदिश घिमिरेले आफ्नो बहुचर्चित् किताब अन्तर्मनको यात्रामा एउटा अनौठो सन्दर्भ उल्लेख गरेका छन्। भारत बिहारका एक राजनीतिक परिवारका बाबु छोरामध्ये बाबु जाँडरक्सी, मासु र अन्य तामसी भोजनका पारखी भएर पनि सत्तरी बर्षको उमेरसम्म तगडै हुन्छन्। तर, सात्विक भोजनका पक्षधर उनका छोरालाई भने जवान उमेरमै रक्तचाप, मधुमेहलगायत अनेक रोग लागेर चाहेका कुरा पनि खान नसक्ने अवस्था आउँछ। चिकित्साशास्त्र वा विज्ञानले भनेका कुरा घाम झुल्किएजस्तै अकाट्य र सार्वभौम सत्य हुँदैन रहेछन्। त्यस्ता मान्यताहरु प्रमाणित भए पनि तिनका पनि अपवाद बेलाबेला देख्न पाइने रहेछ। उही हो कहिलेकाहीँ त्यस्ता दुर्लभ अपवाद अलिक टाढा देखिँदा पठनीय र रोचक बन्ने रहेछन्। आफ्नै र परिवारमा घटना हुँदा पीडादायी हुने रहेछन्। यस्ता घटना नजिकैबाट देखेपछि चाहिँ हामी अलिक बढी नै भौतिकवादी भई टोपलेका मान्छे पनि आध्यात्मिक भइने रहेछ।

साइँला बाको स्वास्थ्य रिपोर्टबारे सुनेपछि मलाई पनि त्यस्तै सोचले घेर्न थाल्यो। त्यस बेला यता युरोपमा काम बन्द हुँदै थियो, डरले अनौपचारिक लकडाउन शुरु भइसकेको थियो। म नेटमा मृत्युको नजिकबाट तंग्रिएर, बौरिएर फेरि सामान्य भएका मान्छेका अनुभूति र कथा सुन्न थालेँ। विज्ञान अर्थात् चिकित्सकले मर्‍यो भनेर घोषणा गरेको केही समयपछि पनि बौरिएर लामो समय सामान्य जीवन बाँचेका घटना संसारमा धेरै रहेछन्। नेपाल रहँदा मैले एक समय पार्ट टाइम काम गर्दा त्यहाँका साहुकी आमा डाक्टरले मृत घोषणा गरेको एक घण्टापछि ब्युँतेर करिब चार बर्ष बाँचेको घटना त्यस परिवारका धेरै जनाबाट सुनेको थिएँ। कोरोना लकडाउनका प्रारम्भिक पन्ध्र दिन मैले युट्युबमा यस्ता एनडिइ अर्थात् मृत्यु नजिकका अनुभवबारे निकै सुनेँ। कतिपय बिमारीका शरीरबाट पटकपटक प्रमाणित भएका रोग नै गायब भएका घटना पनि संसारमा रहेछन्। आफ्नै परिवारमा संकट परेको समयमा कताकता मेरै परिवारमा यस्ता सकारात्मक चमत्कार पनि पो भइहाल्छ कि भन्ने एउटा सपनाजस्तो आशा मनमा पलाउने रहेछ। शायद संकट र दुःखका यस्तै घटना र आशाले धर्मका नाममा अन्धविश्वासको पनि जन्म हुन्छ होला। किनकि धर्म मान्ने नै हो भने पनि त्यो ससाना घटनामा हस्तक्षेप गर्ने स्तरको हुँदैन। तर, मनको भित्री कुनामा जति अपेक्षा गरे पनि मेरो परिवारमा चमत्कार भएन। उपचारका लागि काठमाडौं पुग्नुभएका साँहिला बालाई डाक्टरले किमो दिन नमानेर घर फर्काइदिए। लक डाउनमै एम्बुलेन्सबाट घर लगेको दुई सातापछि उहाँले देहत्याग गर्नुभयो।

प्रारब्धको खेल वा प्रकृतिको लीला नै भन्नुपर्छ, मेरा साहिँला बाको पूरै जीवन एउटा सिधा राजमार्गमा मात्र दौडिएको थियो। जीवनमा उहाँ कहिल्यै पनि काम नपरी कतै गएको वा कतै बढी समय बिताएको मलाई थाहा छैन। कुनै एउटा दार्शनिकको भनाइ उहिल्यै पढेको थिएँ, जीवनको एक क्षण पनि कर्तव्यबाट खाली छैन। उहाँको जीवनमा यो कुरा यसरी लागु भयो कि आफ्ना न्युनतम कर्तव्य सकेपछि उहाँले धर्ती नै छाड्नुभयो। लाग्छ,उहाँलाई ठीक साठी बर्षको उमेरसम्म पढाउनु थियो र त्यसपछि यस लोकमा बस्नैपर्ने कुनै काम नै थिएन। केही नगरी बिताउने फाल्तु समय नभएकै कारण उहाँ अवकाशको दुई महिना नपुग्दै जानुभयो।

एसएलसी पास गरेर घरमै बसिरहेको समयमा उहाँलाई तत्कालीन सिजुवा गाउँ पञ्चायतका प्रधानपञ्च लैनबहादुर खड्काले अस्थायी शिक्षकमा काम दिलाएका थिए। म त्यस बेला पाँच कक्षामा पढ्थेँ। चार कक्षामा अंग्रेजी पढ्न थालेपछि मलाई त्यो भाषामा यति रुचि भयो कि, मैले किताबभरीका पढ्नु नपर्ने भागका पनि कुनै पनि शब्दको अर्थ जान्न बाँकी राखिनँ। यस सनकमा मलाई साहिँला बाले नै उक्साउनु भएको थियो। तर, यसको परिणाम यस्तो भयो कि मैले आठ कक्षासम्म अंग्रेजीमा दोस्रो हुनु परेन। उहाँको पढ्ने र पढिरहने, जान्ने र सबै कण्ठ पार्ने अनि सिर्जनशीलता पनि आफैंमा विकसित गर्ने शैलीले मलाई जीवनभर इर्ष्या जगाइरह्यो। धेरै पल्ट उहाँलाई पछ्याउने प्रयास पनि मैले गरिरहेँ। उहाँले माधब घिमिरेको गौरी र देवकोटाको मुनामदन कण्ठ पार्नुभयो। मैले उही शैलीमा ललिजन रावलको बिरानो यो ठाउँमा भित्रका गजल कण्ठ पारेँ।

कतिपय मानिस समाजमा पदीय प्रगतिका हिसाबले खासै उल्लेख्य ठाउँमा पुग्दैनन् तर तिनले खनेको इमान्दारी र सच्चरित्रको बाटो हिँड्दै धेरै मान्छे टाढासम्म पुग्छन्। तिनले आगाको बीउको काम गरिरहेका हुन्छन् जसले एउटा समाजलाई नै उज्यालो र न्यानोपन बाँडिरहेको हुन्छ। र, त्यही आगाको प्रयोगले मान्छे सभ्यताको अर्को छलांग मार्दै अघि बढ्छ।

बाल्यकालमा हजुरबा र हजुरआमाको काखमा हुने म चार कक्षा पुगेपछि चाहिँ साहिँला बाको पछिपछि लाग्न थालेँ। मेरो पढाइदेखि अन्य धेरै कुरामा उहाँले फलो गरिरहने भएकाले म स्वतः नजिक हुन्थेँ, आफैं पनि झुम्मिन्थेँ। कतै अलिक टाढा जाँदा मलाई पनि साथ लिएर जाने गरेका कारण म पछि लाग्दै नयाँ ठाउँ जान पाउथेँ। यस बाहेक‘डिल्ली सरको भतिजो’ बन्दै जताततै चिनिनुको मजा छुट्टै थियो। पहिलोपल्ट हवाइ जहाजदेखि रेलसम्म मैले उहाँकै पछि लागेर देखेको थिएँ। जिल्ला सदरमुकाम बिराटनगरदेखि झापाका आधा दर्जन गाउँका आफन्तको घरसम्म उहाँकै पछि लागेर पुगेको थिएँ। ती भ्रमणपछि कक्षामा मसँग पनि साथीहरुबीच कुराकानी गर्ने बिषय हुन्थ्यो। यसरी भनिन्थ्यो,‘ओइ, तँ सुरुंगा पुग्या छस्?’

डिल्लीराज गौतम।

म कक्षा ६ मा पढ्दाको समयको एउटा घटना बारम्बार सम्झन्छु। स्कुलका प्रधानाध्यापक रमानाथ भट्टराईले एक दिन एउटा ठूलो कापी बोकेर शिक्षकहरुलाई देखाउँदै चुनौती दिएछन्। तत्कालीन समयमा मलेसियाको रास्ट्रप्रमुखको नाम विश्वको सबैभन्दा लामो नाम रहेछ। हेड सरले पाँच मिनेट भित्र यो नाम कण्ठ गर्नेलाई त्यो कापी दिने प्रस्ताव गरेछन्। साहिँला बाले दुईपल्ट पढेर नाम कण्ठ गरेर कापी जितेर घर लिएर आउनुभयो। घर पुगेर उहाँले मलाई त्यही सर्त राखेपछि पाँच घण्टा जति प्रयास गरेर मैले त्यो नाम कण्ठ गरी कापी हात पारेँ। अहिले पनि मलाई याद भएको त्यो नाम थियो– अलमुत वकील अल्लाह सुल्तान मोहम्मद स्कन्दर इब्नी सुल्तान स्माइल अलहज यांग दी पर्तुआन अगोंग।

साहिँला बाले एसएलसी पास गर्दा सायद म दुई कक्षामा पढ्थेँ। शहर गएर पढ्ने खर्च निकाल्न नसक्नेले चाहेर पनि पढ्न नसक्नु अहिले पनि सामान्य हो, गाउँतिर। त्यसैले एसएलसी सकेको एक दशकपछि मौका मिलाएर बल्ल उहाँ पढ्न थाल्नुभयो। गाउँमा एसएलसी सकेपछि म काठमाडौं आएर पढ्न थालेँ। अर्को साल हाम्रो स्कुल माद्यमिकबाट उच्च माध्यमिक विद्यालय बन्न पुगेको थियो। उहाँले त्यहाँबाट १२ कक्षा अनि प्राइभेट पढेर बीए र लगत्तै मास्टर्स सक्नुभयो। सबैमा औसतभन्दा माथि नै नम्बर ल्याउनुभएको थियो। यससँगै केही स्थानीय र केही भारतका प्रान्तीय भाषा पनि उहाँले अपत्यारिलो तरिकाले सिक्नुभएको थियो। यी पनि कसरी भने, मानौं कसैले ‘….भाषा कसरी सिक्ने ?’ किताब उहाँको हात पारिदियो भने केही महिनापछि उहाँ त्यस किताबले सिकाउने स्तरको त्यो भाषा सिकिसक्नु हुन्थ्यो। उहाँकै शैली पछ्याएका कारण नेपाल छाड्ने समयसम्म म पनि आधा दर्जनभन्दा बढी भाषामा कुराकानी गर्न सक्ने भएको थिएँ। हामी काकाभतिज कहिलेकाहीँ घरमै बोल्दा पनि मजाक शैलीमा नेपालीभाषी रहेका भारतका बिभिन्न प्रान्तका भाषामा कुराकानी गर्थ्यौँ।

पढिरहने र नयाँ जान्ने रुचिका कारण उहाँलाई विशुद्ध प्राबिधिक बिषय बाहेक हाजिरी जवाफ वा सामान्य ज्ञानमा सितिमिति कसैले भेट्न सक्दैनथ्यो। उहाँले एक पटक कुनै लेखकको कुनै कृति पढ्नु भयो भने लेखकका अन्य किताब, उसको जीवनीदेखि सम्बन्धित सारा कुरा याद हुन्थे, गुगल जमानाअघि पनि। सामान्य जीवनमा आइपर्ने जोडघटाउ र ऐकिक नियमका लागि उहाँको मुखले नै क्याल्कुलेटरको काम गर्थ्यो। गाउँसमाज वा घरपरिवार जता र जहिले पनि उहाँ एक अनुशासित शिक्षक हुनुहुन्थ्यो। आफू पनि अनुशासनमा बस्ने र अरुबाट पनि सधैं त्यही अपेक्षा गर्ने। केही गरिरहने, सिकिरहने र सिकाइरहने।

कतिपय मानिस समाजमा पदीय प्रगतिका हिसाबले खासै उल्लेख्य ठाउँमा पुग्दैनन् तर तिनले खनेको इमान्दारी र सच्चरित्रको बाटो हिँड्दै धेरै मान्छे टाढासम्म पुग्छन्। तिनले आगाको बीउको काम गरिरहेका हुन्छन् जसले एउटा समाजलाई नै उज्यालो र न्यानोपन बाँडिरहेको हुन्छ। र, त्यही आगाको प्रयोगले मान्छे सभ्यताको अर्को छलांग मार्दै अघि बढ्छ। म अहिले उहाँका बारे यही सोचिरहेको छु। घर परिवार र आफन्त मात्र हैन, छात्रबृत्ति स्थापना गरेर बिपन्न वर्गलाई पनि उहाँले पढ्न प्रेरित गरिरहनु भएको थियो।

म नेपाल छँदा पछिल्ला केही बर्ष उहाँमा साहित्यमा रुचि झन् बढ्दै गएको थियो। नेपालीमा मास्टर्स गरेपछि पहिला देखिको साहित्यको रुचि झन् बढ्न थालेको थियो। दर्जनौं कथा लेखेर मलाई आठ बर्ष अघिको दशैंमा देखाउनु भएको थियो। लाग्छ, तिनलाई सुरक्षित राख्न लगाएर प्रकाशन प्रयास गर्नु अब मेरो दायित्व हो। र, भन्न मन लाग्छ, हामी तपाईंजस्तै सत्मार्गमा हिँड्ने प्रयासमा गर्छौं, है।

(पूर्व पत्रकार तथा कवि गौतमलाई ट्विटर @G_padam मा भेट्न सकिन्छ।)

बैशाख १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्