नेपालगञ्ज उपमहानगरपालिकाद्वारा १२ हजारलाई राहत वितरण

नेपालगञ्‍ज- नेपालगञ्ज उपमहानगरपालिकाले १२ हजारलाई राहत वितरण गरेको छ ।

पहिलो चरणमा वडाका स्थायी बासिन्दालाई राहत वितरण गरिएको थियो। वडाका विपन्न १२ हजार ४ सय ६ परिवारलाई राहत वितरण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

वडाले प्रति परिवार १५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, एक लिटर तेल, एक किलो नुन र एउटा सावुन वितरण गरेको थियो । कतिपय वडाले टोल विकास समितिमार्फत नामावली छनौट गरेर वितरण गरेका थिए।

‘वितरण भएको राहत पारदर्शी बनाउनका लागि उपमहानगरपालिकाको वेभसाईटमार्फत राहत प्राप्त गर्नेहरुको नाम सार्वजनिक भइरहेको छ, प्रबक्ता रिजालले भने, सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको थियो।’

कतिपय वडामा विपन्न परिवारले आफुहरु छुटेको भन्दै निवेदन दिएका कारण राहत प्राप्त गर्नेको संख्या अझै बढ्ने उपमहानगरपालिकाले जनाएको छ।

पहिलो चरणमा स्थायी बसोबास गर्ने विपन्न समुदायलाई राहत वितरण गरिएकोमा दोस्रो चरणमा नगरक्षेत्रमा भाडामा बस्ने दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्ग र विद्यार्थीका लागि राहत वितरण कार्य वडा कार्यालयमार्फत सुरु भएको छ।

पहिलो चरणका राहत वितरण पनि सहज रुपमा भएका थिएनन् । कति वडामा तालाबन्दी भएका थिए भने कति ठाउँमा चर्को विवाद भएको थियो।

बैशाख १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्