पर्यटन बोर्डका कार्यकारी अधिकृतसँग अन्तर्वार्ता

‘कोरोनापछि पर्यटन क्षेत्र उकास्ने पनि कृषिले नै हो, सरकारले कृषिमा शून्य करको नीति ल्याउनुपर्छ’

अहिले विश्व नै कोरोनाको माहामारीबाट ग्रसित छ । कोरोनाको संक्रमण यतिबेला नेपालमा पनि बढ्दो क्रममा छ। नेपालले पर्यटक र पर्यटनलाई उकास्‍न नयाँ योजना ल्याइरहँदा कोरोना भाइरसले यसलाई नराम्रोसँग प्रभावित गरेको छ।

पर्यटन क्षेत्र संकटमा परेको छ। हजाराैँकाे व्यवसाय र रोजगारी पनि धरासायी बनेको छ।

कोभिड-१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभाव तथा आगामी विकल्प, रोजगारी, लगायतका बारेमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीसँग देश सञ्चारकी पूर्णिमा विश्वकर्माले कुराकानी गरेकी छिन्।

१) यो लकडाउनमा कुन कुन क्षेत्रमा बढी प्रभावित भएका छन् ?

कुन क्षेत्रलाई कति असर परेको छ भन्‍नलाई हामीसँग डाटा नै चाहिन्छ । त्यसैले  हामीले एउटा सर्भे गरेका थियौँ। त्यो सर्भेमा सबैभन्दा धेरै प्रभावित एयरलाइन्समा देखिएको छ। त्यसपछि होटल व्यवसाय, पर्यटकीय भेइकल लगायतका अन्य क्षेत्रमा पनि प्रभाव देखिएको छ।

२) क्षतिको पूर्ण आंकलन कहिले सम्म गर्न सकिन्छ ?

हामीले क्षतीको सर्वे गर्‍यौँ। सर्भेमा देखिए अनुसार नेपालमा पयर्टनसँग आबद्ध विभिन्‍न फर्महरु १० हजारभन्दा बढी छन्। त्यसमध्ये ७ सय ८७ वटा फर्मले सर्वेमा भाग लिए। २ सय ५७ होटल व्यवसाय, २३ एयरलाइन्स, २ सय ९६ ट्राभल एण्ड टुरले भाग लिएका थिए।

यी क्षेत्रको १ खर्ब १४ अर्ब जति लगानी देखियो र अन्य क्षेत्रको पनि हेरेर डेढ खर्बको लगानी भएको अनुमान गर्न सकिन्छ। महिनामा ८५ करोड ब्याज मात्र तिर्नपर्छ।

कर्मचारीहरुलाई तलब लगायत गरी एक महिनामा एक डेढ अर्बको क्षति भएको छ। हामीले यति मात्र भन्‍नुको कारण आजसम्म हामीले तथ्याङ्क संकलनमा ध्यान दिएनौं। तर अहिलेको तथ्याङ्कको आधारले मोरल सपोर्ट गर्छ। तथ्याङ्क संकलनको कुनै आधार तयार गरिएको रहेनछ।

३) पर्यटन क्षेत्रको अर्थतन्त्रलाई कसरी प्रभावित गरेको छ?

खासमा हामी अहिले पर्यटन वर्ष २०२० मनाइरहेका थियौँ। तर बीचमा कोरोना भाइरसको आगमन भइदियो। यसले देशको अर्थतन्त्रसँगै पर्यटनको क्षेत्रमा पनि निकै प्रभावित गरेका छ।

उसो त अन्य देशको तुलनामा हाम्रो देशमा त्यस्तो क्षति भएको छैन। तर लामो समयसम्म यही अवस्था निरन्तर ६ महिना या वर्ष दिन भयो भने २० अर्बको नोक्सानी हुने भयो। यसको ब्याज नै तिर्न नसकिने भयो।

नेपालको अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकले ४ प्रतिशत नाफा खानु भएन। बैंकको सञ्‍चालनको जोडेर १ प्रशिशत मात्र नाफा खानु पर्‍यो। एउटा सेक्टरले मात्र नाफा खाने र अन्य व्यवसाय डुब्‍ने प्रवृत्ति हुनु भएन। विपतको समयमा समग्र क्षेत्रले सन्तुलित रुपमा अगाडि बढ्नुपर्छ।

पयर्टन क्षेत्रले हाराहारी ५ लाखका लागि रोजगारी सिर्जना गरेको छ। ती पनि बेरोजगार हुने भए। ५ लाख बेरोजगार भए भने पाँच जना परिवारको हिसाब गर्दा २० लाखमा असर पर्छ।अहिलेको अवस्थालाई मध्यनजर गर्दै सरकारले २० अर्ब रुपैयाँको राहत प्याकेज चाहिएको छ। त्यो प्याकेज भयो भने हामी रोजगारी सिर्जना गर्न सक्छौ।

६ महिनामा हामीले आन्तरिक पयर्टन चलायमान गर्न सक्छौँ। आन्तरिक पयर्टनबाट आएको आम्दानीले जेनतेन अर्थतन्त्र धानियो भने सरकारले २० अर्बको जुन राहत प्याकेज छ त्यसले ब्याज तिर्न, रोजगारीका कार्यक्रम लगायतका काम गर्न सकिन्छ।

समग्र अर्थतन्त्रलाई हामी धानेर लैजान सक्छौँ। तर मैले जुन राहत प्याकेजको कुरा गरे त्यो एक वर्षको कुरा गरेको हो। एक वर्षभन्दा बढी भयो भने हामीले अर्थतन्त्र धान्‍न नसक्ने अवस्था हुन्छ।

सरकारले लकडाउन गर्नु अघि विकास निर्माणका कामलाई बाधा नपर्ने गरी त्यहाँ चाहिने सामान उपलब्ध गराई र श्रमिकहरुका लागि खान, बस्नको व्यवस्था गरी काम गर्दा मानिसहरु बेरोजगार हुँदैन थिए।

सरकारले सबैलाई लकडाउनको समयमा कतै नजानुस जहाँ हुनुहुन्छ त्यही बस्नु खाने बस्‍ने व्यवस्था हामी मिलाउँछौ भनेको भए अहिलेको जस्तो समस्या आउने थिएन। अर्थतन्त्रलाई रोकेर राखेर भएन चलायमान बनाउनु पर्‍यो।

४) बेरोजगारी बढ्यो भने यसले सामाजिक रुपमा कस्तो असर गर्छ ?

बरोजगारी बढ्ने वितिकै मान्छेहरुसँग काम हुँदैन। एक व्यक्तिले पाँच जनाको परिवार धानेको हुन्छ। एक व्यक्ति बेरोजगार हुने वित्तिकै २० लाख मानिसहरुले भोकमरीको समस्या भोग्‍नुपर्छ। जसका कारणले समाजमा अपराधिक क्रियाकलाप बढ्न थाल्छन्। समाजमा यस्ता गतिविधि हुनुभन्दा अगावै रोजगारीकाे सिर्जना गर्न जरुरी छ।

उद्योग तथा कलकारखाना बन्द भए पनि कृषि क्षेत्रलाई प्रयोग गर्न सकिन्छ। कृषि क्षेत्र नै सबैभन्दा ठूलो आम्दानीको स्रोत हो। त्यसैले कृषिलाई आधुनिकिकरण गर्न जरुरी छ।

सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७६/०७७ माकुल ३४ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ। कृषि क्षेत्रमा मात्रै आत्मनिर्भर बन्‍न सक्यौँ भने विदेशिएका युवावर्गहरुलाई यस क्षेत्रमा लगाउन सकिन्छ।

उनीहरुले विदेशमा सिकेको सिप, काम गर्ने शैली प्रयोग गर्न सकिन्छ। यदि मानिसहरुसँग रोजगारी भयो भने भोकमरी हुँदैन र अपराधिक क्रियाकलाप पनि हुँदैनन्।

समाज नैतिकवान र चरित्रवान हुर्दै जान्छ। अहिलेको अवस्थामा जहाँ हुन्छ त्यहाँ रोजगारीको सिर्जना गरिहाल्नु पर्छ। सरकारले बजेट छ भने अहिले नै गर्ने हो। पछिका लागि पर्खनु पर्ने कारण छैन।

५) लकडाउनको समयमा कसरी काम भइरहेको छ ?

नेपाल पयर्टन बोर्डले टुरिजमसँग सम्पूर्ण कुराहरु कसरी खोल्नुपर्छ भनेर त्यसको कार्यविधि तयार गरेर मन्त्रालयलाई बुझाइसकेको छ। विपतलाइ समस्याको रुपमा नहेरी अवसरका रुपमा लिनुपर्छ। यदि सरकारले लकडाउन पहिले नै गरेको भए आज यति समस्या पनि हुने थिएन।

हामीले पहिलो, दोस्रो र तेस्रो चरणमा के गर्ने भनेर बाटो तोकर पनि राखेका छौँ। नेपालमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्काउन बोर्ड र मन्त्रालय मिलेर काम गर्‍यौँ। नीजि क्षेत्र र पयर्टन बोर्डसँगै मिलेर काम गर्‍यौँ। अहिले जो बाँकी छन् उनीहरुलाई सरकारले नै सहयोग नगरेर नत्र हामी उनीहरुलाई पठाउनेमा नै छौँ।

सधैँ सरकारले राहत दिएर पुग्दैन। त्यसैले आन्तरिक पयर्टनमा काम गर्ने योजना बनाएका छौँ। पयर्टन व्यवसायलाई अगाडि बढाउन मार्केटिङको काम गर्छौँ।

६) होटल, ट्रेकिङ, एयरलाइन्स लगायतका व्यवसायहरुको कस्तो प्रतिक्रिया छ ?

सबै व्यवसायीहरु निकै आत्तिएका छन्। अहिलेको अवस्थामा नआत्तिने भन्‍ने कुरा नै भएन। आर्थिक स्रोत ठप्प भएका छन्। बैंकको ब्याज, घर भाडा तिर्नु पर्ने छ। सरकारले के राहत ल्याउँछ भनेर पर्खिरहेका छन्। सरकारले पनि यस विषयमा काम गरिरहेको छ। सरकारले यस सम्बन्धी सकारात्मक रुपमा हेरिरहेकाले राम्रो प्याकेज आउने हाम्रो विश्वास छ।

हामीले ती व्यवसायीहरुलाई धैर्य गर्न भनेका छौँ। सरकारले तत्कालका लागि राहत ल्याएको छ। ५/६ महिनाको घर भाडा नतिर्नु, ब्याज तिर्ने समय बढाएको छ। ‘डिसिजन मेकिङको प्रबोलमले नै अर्थतन्त्र डुब्छ। त्यो अवस्था नआओस्।

७) निजी क्षेत्रको प्रक्रिया र सहकार्य कस्ता छन्?

निजी क्षेत्रका साथीहरुसँग हामीहरु छलफल गरेर अगाडि बढेका छौँ। उनीहरुका कुराहरु पनि बुझेका छौँ। सुनेका छौँ। हामीले गरेको सर्वे पनि निजी क्षेत्रसँग सहकार्य गरेर लिएका हौँ। निजी क्षेत्रले पनि आफ्नो सहभागिता जनाएको छ र सल्लाहा सुझाव पनि दिइरहेको छ।

उनीहरुले भनेको कुराहरु समेटेर सरकारलाई प्रतिवेदन पनि बुझाएका छौँ। पयर्टन क्षेत्रलाई टिकाइ राख्न के गर्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौँ। हामी कुनै दुविधामा छैनौँ।

८) लकडाउन खुलेपछि पयर्टन व्यवसाय कसरी अगाडि बढ्छ?

लकडाउन खुलेपछि हाम्रो पहिलो चरण भनेको आन्तरिक पयर्टनमा जोड दिन्छौँ। कसरी आन्तरिक पयर्टन सञ्चालन गर्ने भनेर प्रोटोकल बनाइसकेका छौँ। हामीले ६ वटा प्रोटोकल बनाएका छौँ। होटल व्यवसाय कसरी सञ्चालन गर्ने, सुरक्षाका विधि कसरी अपनाउने, रिसेप्शन देखि रुमसम्मका लागि निकै गहिरेर काम गर्ने विधि बनाएका छौँ। हामीले त्यो मन्त्रालयमा बुझाएका पनि छौँ।

अन्तराष्ट्रिय उडान सूचारु भएपछि त्यसका लागि संसारभर डुल्दैनौँ। भारत र चाइनालाई बढि फोकस गरेर काम गर्ने योजना छ। यसमा हाम्रो मात्र तयारी भएर हुँदैन। सरकारले निर्णय गर्नु पर्‍यो।

९) त्‍यसो भए अबको विकल्प के हो ?

अहिलेको विकल्प केहि पनि हुँदैन । दृर्घकालिन विकल्प भनेको कृषि क्षेत्रको विकास नै हो। जति सक्यो कृषि क्षेत्रमा लगानी गरेर रोजगारीका अवसर सिर्जना गर्नु हो। कृषि क्षेत्रलाई विकास गर्न सकियो भने समग्र अर्थतन्त्रलाई धानेर लैजान सक्छौँ।

पहाडी क्षेत्रमा ५ लाख रोजगारी कृषि क्षेत्रमा लगाउन सकियो भने या तराईमा हामीले कृषिजन्य वस्तुको आयात घट्छ। आज हाम्रो रेमिटेन्स घटेको छ। अहिलेसम्म पोर परारको रेमिटेन्स थियो। पर्यटनले कमाएको पैसा थियो। यस वर्ष रेमिटेन्स, पयर्टन, बन्द भएका छन्। हाम्रो निर्यात गर्ने देश हो। आयात बढी हुन्छ।

यस्तै हामीले हिमाली क्षेत्रमा रहेका पर्वतारोहीलाई त्यहाँको सरसफाइ गर्न लगाउन तयारी गरेको छ। ट्रेकिङ क्षेत्रमा काम गर्ने सरसफाइ गर्न लगाउने, र्‍यापटिङ क्षेत्रमा काम गर्नेलाई नदीका किनारहरु सरसफाइ गर्न दिने, होटल तथा रेष्टुरेन्टबाट बेरोजगार भएकालाई सहरी क्षेत्रमा रहेका पर्यटकिय गन्तव्यहरुको सरसफाइमा लगाउने लगायतका विकप्पहरु छन्। पयर्टन बोर्डले मात्र १८ सय रोजगार दिन सक्छौँ भनेका छौँ।

तर सबै भन्दा ठूलो र सम्भावित क्षेत्र कृषि नै हो। यस विपतले कहिल्यै गाउँघर नगएका र गाउँ घरका विदेशबाट गएकाहरुलाई गाउँघरको महत्व बुझाएको छ। अहिले उनीहरुले आ-आफ्नो गाउँ गएका छन्।

यदि उनीहरुलाई कृषि क्षेत्रमा लगाउन सकियो भने १५ देखि २० वर्षको अवधि विदेशमा आर्जन गरेको ज्ञान, शिक्षा सिप, अनुभव, शैली यस क्षेत्रमा प्रयोग गर्न सक्छन्। जसले कृषिमा रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ।

त्यसका लागि सरकारले पनि उनीहरुलाई बिना धितो २०-२५ लाख रुपैयाँ ऋण उपलब्ध गराउनु पर्छ। कृषिको कर शून्य गराउनु पर्छ र कृषि कार्य गर्नेलाई सरकारले उच्च सम्मान पनि दिनुपर्छ।

अहिले नेपालको मात्र नभएर विश्व अर्थतन्त्र नै ठप्प छ। हाम्रो लागि यो सुनौलो अवसर हो। धेरै देशहरु यस्तो विपत पछि नै आर्थिक रुपमा सम्पन्न भएका हुन्। हामी पनि बन्न सक्छौँ। त्यसका लागि सरकारले सहि समयमा सहि नीति ल्याउनु पर्‍यो।

१०) अब अवस्था  सामान्य हुन कति समय लाग्छ होला ?

खासगरी दुईतीन वटा प्रक्षेपण गरिएका छन्। संसारभर डब्लुएचओले कहिले कोभिड–१९ मुक्त हुन्छ भन्छ थाहा छैन भनेकाे छ। कोभिड कहिले मुक्त हुन्छ भन्ने अन्यौल छ। तत्काल यसको भ्याक्सिन पनि निस्किसकेको छैन।

सुरक्षाका उपायहरु अपनाएर चलायमान गर्ने हो। हामीले भएको स्रोत साधनलाई कसरी उपयोग गर्छौँ त्यसमा भर पर्छ। ‘स्माटली’ जसले प्रयोग गर्छ सामान्य हुन धेरै समय लाग्दैन।

बैशाख १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्