स्पेनले सार्वजनिक गर्‍यो जनजीवन नयाँ स्वरुपको सामान्यमा फर्काउने योजना

स्पेनले चार चरणमा लकडाउन खुकुलो बनाउने र आउँदो जुनको अन्त्यसम्म जनजीविन ‘न्यू नर्मालिटी’ अर्थात नयाँ स्वरुपको सामान्यमा फकाउने योजना सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री पेद्रो सान्चेजले देशका हरेक क्षेत्रमा भिन्दा भिन्दै स्वरुपमा लकडाउन खुकुलो पार्दै लगिने बताएका छन् । कोरोना भाइरस महामारीको अवस्था अनुसार क्षेत्रहरुमा लकडाउनको अवस्था कस्तो हुने निर्धारण गरिने उनले उल्लेख गरेका छन् ।

स्पेनका चार आइल्याण्डमा आउँदो मे ४ देखि लकडाउन केही खुकुलो पार्ने छन् वा ती क्षेत्रमा लकडाउन खुलाउने पहिलो चरणको लागु हुनेछ । स्पेनका अरु क्षेत्रमा भने त्यसको एक हप्तापछि मात्रै लकडाउन खुकुलो पार्न थालिने छ ।

युरोपमा सबैभन्दा बढी प्रभावित मध्ये एक स्पेनमा कोरोना भाइरसका कारण हालसम्म २३ हजार ८२२ जनाको ज्यान गएको जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले उल्लेख गरेको छ । यस्तै संक्रमितको संख्या स्पेनमा दुई लाख ३२ हजार भन्दा बढी पुगेको छ ।

स्पेनमा मार्च १४ देखि कडा लकडाउन लागु भएको छ, जसका कारण मानिसहरु घरमै सीमित भएका छन् । ६ हप्तासम्म घर बाहिर निस्कन नपाएका बालबालिकाहरुलाई आइतबारदेखि दिनको एक घण्टा नजिकैका क्षेत्रमा जान पाउने छुट दिइएको छ ।

स्पेनमा हाल कोरोना भाइरसको महामारी घट्दो क्रममा छ । तर मंगलबार पनि कोभिड–१९ का कारण ३०१ जनाको मृत्यु भयो । यस्तै मंगलबार १३ सय ८ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।

संक्रमण तथा त्यसका कारण हुने मृत्यु घट्ने क्रम जारी रहेमा मे २ देखि वयश्कहरुलाई पनि घर बाहिर निस्कन दिइने छ ।

स्पेनले अप्रिल १३ देखि नै उत्पादन तथा निर्माण क्षेत्रलाई काम गर्ने छुट दिएको थियो । प्रधानमन्त्री सान्चेजले मंगलबार लकडाउन खुलाउने चार चरणको योजना सार्वजनिक गरे ।

हरेक चरणबिचको अवधी दुई हप्ताको हुनेछ । जनजीवन सामान्य अवस्थामा फर्किन ६ देखि ८ हप्ता लाग्ने अनुमान प्रधानमन्त्री सान्चेजले गरेका छन् । उनले भनेका छन्, ‘जुनको अन्त्यसम्ममा हामी न्यू नर्मालिटीमा प्रवेश गर्ने छौँ, यदी महामारी नियन्त्रणमै रह्यो भने ।’

चार चरण सुरु हुनु पूर्व मे ४–११ सम्म फेज जिरो कायम रहने छ, जसमा अपोइन्टमेन्ट लिएर सैलुन तथा अरु व्यवसायहरु खोल्न पाइने छ । मे ११ देखि सामाजिक दूरी कामय गरी साना व्यवसाय र होटलहरु खोल्न पाइने छ । केही विद्यालयहरु मे को अन्त्यमा खुले पनि अधिकांश विद्यालयहरु सेप्टेम्बरमा नयाँ शत्र सुरु हुने बेलासम्म बन्द हुने छन् ।

मे को मध्य देखि रेस्टुरेन्टहरु ३० प्रतिशत क्षमतामा खुल्न पाउने छन् । यस्तै मे ११ देखि भवनको क्षमताको एक तिहाई मानिसको उपस्थिति हुने गरी धार्मिक गतिविधि गर्न पाइने छ । मे को अन्त्यदेखि खुला हुने चलचित्र हलका लागि पनि एक तिहाइ मात्रै क्षमताको नियम लागु हुनेछ ।

जुनको अन्त्यसम्ममा पसलहरु आधा क्षमतामा खुल्न पाउने छन् र ६ फिटको दूरी कामय हुनु पर्ने छ । समुद्री किनारहरु जुनको अन्त्यतिर खुला हुने जनाइएको छ ।

बैशाख १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्