ब्याट्रीबाट चलेको यो जिन्दगी

दिक्क लाग्दो छ यो महामारीको अवस्था, कहाँ जाउँ कसलाई भनुँ जस्तो लाग्छ तर सकिँदैन, हाम्रो यो चित्कार कसैले भएपनि सुनिदियाेस्  र हाम्रा यी बाध्यताहरुलाई सुनि बुझि दिए हुन्थ्यो जस्तो लाग्छ। तर…

भेटिरहेका छन् साथीहरु सामाजिक सञ्जालमा, तर बन्धन भित्र थुनिएर बसेका छन्, प्रस्तुत गर्न सकेका छैनन्, उनीहरुका आफ्ना बाधाहरु।

‘दिदी, हाम्रो जिन्दगी त ब्याट्रीबाट चल्ने हो हैन त दिदी, अब त साच्चि नै बहिरा नै हुने भइयो के गर्ने दिदी? ब्याट्री सकिएको पनि निकै दिन भइसक्यो नजिकै केही पाइँदैन। बाबुले बोलाएको,रोएको पनि सुन्दिन। आजकल हेरिङ एड लगाउन नपाएर अति नै गाह्रो भयो। कसरी, कहाँ लिन जाने हो दिदी ब्याट्री?’

‘म्याम हजुरलाई थाहै छ भर्खर मेरो कानको अपरेशन गरेको। डक्टरले फलोअपमा बोलाएको थियो आज। सफा पनि गर्न पर्ने थियो फेरी यो कान जाँच गराउन पाएन भने मेरो अहिले जति सुन्ने आशा थियो यो फेरि बन्द होला कि भन्ने डर लागिरहेको छ मलाई के गर्ने होला म्याम?? यो लकडाउन त हाम्रै लागि हो तर, खै यसले त हाम्रो लागि त झन् बिकराल रुप लेला कि जस्तो लाग्छ।’

‘म त यतै गाउँतिर नै बसिराखेको छु। इन्टरनेट उताको जस्तो सजिलो पनि छैन। मोबाइलको पैसा पनि सकिन थालेको छ। टिभीमा पनि के–के भन्छ पूरा सुन्दिनँ बुझ्दिनँ, डर मात्रै लाग्छ। काठमाडाैँमा हुँदा हजुरहरुसँग कुरा हुन्थ्यो र थाहा पाउथेँ। अहिले त के हो के। म त चाँडै फर्किन खोज्दै छु। हजुरले खबर दिइसेला है कहिले आए हुन्छ म, यातायात सहज भएपछि?’

‘म त यता उदयपूर गाउँमा नै छु म्याम, यता त लकडाउन निकै कडा छ। इन्टरनेटको राम्रो सुविधा छैन। एनटीसी पनि राम्रोसँग चल्दैन। रेडियोबाट समाचार सुन्नु पर्ने बाध्यता छ मलाई त, तर बुझ्दै बुझ्दिनँ म्याम्। हामी सुस्त श्रवणलाई त निकै गाह्रो छ म्याम के गर्ने होला?’

‘म्याम यता लाउड स्पिकरमा के–के भन्छ के–के मैले बुझ्दै बुझ्दिनँ। सोध्न खोज्यो ऊ क्या कोरोनाको बारेमा भनेको मात्र भन्छन् कहिले काहीँ दिक्क लाग्छ। सबै कुरा भनिदिए त हुन्थ्यो नि स्पिकरमा के के भनेको हो भनेर कोरोनाको बारेमा भनेको त थाछ तर के भनेको हो भनेर बुझ्ने कति इच्छा छ। नेपालमा के–के भनेर बोल्दै हिँड्छन् भनेर बुझ्न मन थियो र एउटा लेख लेख्न मन थियो। तर खै भनेको कुरा नबुझेपछि के लेख्नु भनेर चुप लागिराखेको छु म्याम।’

मेरो आजकलको दिनचर्चा यस्तै कुराहरुमा च्याट गर्दै बितिरहेको छ। मुटु पोलिरहेको छ। सुस्त श्रवण संस्थाको अध्यक्ष भइकन पनि केही गर्न सकेको छैन यस्तो विकराल अवस्थामा। समय कटाउन, यसो टिभी हेर्‍या‍े उही अरू सुस्त श्रवण साथीहरुका प्रश्नहरु मतिर वाण झै मुटु छियाँछियाँ हुने गरी फालिएको अनुभव हुन्छ।

यसो परिवारको सहयोगबाट भर्खर गुगलले निकालेको बोलेको अक्षरमा आउने मोबाइल एप्लिकेसन (लाईभ ट्रान्सक्राइब)बाट भएपनि अलिकति सहजिकरण गराउन कोशिस गरेँ तर यो एप्लिकेसन त्यति धेरै प्रयोगमा नआएको हुनाले शुद्धतामा प्रश्न चिह्न आउन गयो र साथै इन्टरनेटले पनि बेला बेलामा धोका दिन थालेकोले मैले यो कोशिस बन्द गरेँ।

यसो बजारमा बिहान सामान किन्न गयो मास्क लगाउँछन् सबै जना। आफू त कुरा बुझ्नको लागि ओठको चालमा भर पर्ने गरेको, सामानको भाउ पनि नसोधिकन यसै झ्वाम्म पैसा तिरेर हिँड्छु। वडाका मान्छे गाडिबाट माइकिङ गर्दै हिँडेका थिए मलाई देखेर कुन्नि के ल है भने। मैले पनि हस् हजुर भन्दै हिँडे कुरो बुझे पो!

स्थानीय निकायहरुले पनि आफ्नो वडामा रहेका सुस्त श्रवणहरुको आँकडा संकलन गरी वा अहिलेको अवस्थामा तुरुन्तै नै लिखित रुपमा प्रत्येक घर घरमा वडाद्वारा प्रसारण गरिएको सूचना दिइएमा, सूचनामा पहुँच भई धेरै नै राहत हुने थियो। नत्र त अहिले हामी बाहिर केही आवाज आयो कि डराएर बस्न पर्ने अवस्था सिर्जना भएको छ। मानसिक तनाव निकै नै भएको छ।

यो महामारीको अवस्थामा, मैले स्वास्थ्य मन्त्रालयलाई सम्पर्क गरी हरेक दिन दिने मिडिया ब्रिफिङ तथा मुख्य–मुख्य सूचनामा ‘क्लोज क्याप्सनिङ’द्वारा प्रसारण गरिदिन अनुरोध गरी बुझाउन कोशिस नगरेको पनि हैन। तर खै मन्त्रालयको व्यस्तताले भनुँ या खै सुस्त श्रवणको लागि सञ्चारको पहुँचको आवश्यकता नबुझेको ले हो यो क्लोज क्याप्सनिङ प्रसारणमा सफल हुन सकिरहेको छैन।

बहिराहरुको लागि सांकेतिक भाषाको आवश्यकताको बारेमा चाहीँ बुझेर नै सांकेतिक भाषामा पनि प्रसारण हुन सक्यो, यो ठूलो उपलब्धि पनि हो। वास्तवमा अधिकांश सुस्त श्रवणहरुलाई अपांगतामा नलिएको कारणले गर्दा र सुस्त श्रवणहरुको आवाज पनि उठ्न सकिरहेको छैन। प्राथमिकतामा नै परेको छैन । के बोलिरहेको छ भन्ने कुरा नै थाहा नपाएपछि के बोल्ने, चुप लागेर बस्ने त हो नि हैन र? जे पायो त्यही बोल्दै, विरोध गर्दै हिँड्ने कुरा पनि भएन, फेरि कस्तो एकोहोरो हो आफ्नै कुरा मात्रै गर्छ यस्तो माहामारिको अवस्थामा पनि यसले त भन्ने कुराको दोष पाउन पनि के बेर छैन। आ… चुप्प लाग्यो बस्यो, मरे मरिन्छ बाँचे बाचिन्छ। हैन त साथी।

यसो कुरा गर्‍याे ‘तिमी त ठिकै छौ हैन र?  तिमीलाई त केही गाह्रो त भा छैन होला नि’ भन्छन्। मैले पनि ठिकै छु भनिराखेको छु। मेरो बाध्यता पनि धेरै नै भएको कुरा कसरी भनुँ? भर्खरै माईनस र प्लस एउटैमा भएको चस्मा भाँचिएछ। भएन फसाद! कति धेरै साथीहरुसँग कुरा गर्न थियो मोबाइलमा ल्यापटपमा केही देख्दिनँ। यसो पहिलाको प्लस नभएको चस्मा झिकेर लगाए पनि नजिकको कामै गर्न सकेको छैन। सुनुँ पूरा सुन्दिनँ। हेरुँ नजिक देख्दिनँ। के गरूँ?

यो चस्माले पनि मेरो आधा दिन जस्तो दैनिक काममा बाधा गराइदिएको छ। यसो स्वतन्त्र र स्वाभिमानका साथ समाचार हेर्ने गरिराखेको थिएँ र  ‘वेविनार’हरु ज्वाइन गरिराखेको थिएँ, अब त खै के सकुला र? छोराछोरीहरुलाई घरिघरि सोधेर भएन। उनीहरुको पनि जाँच आइराखेको छ। श्रीमान्‌लाई पनि कति डिस्टर्ब गरिराखु खै!

अन्य अपांग क्षेत्रका साथीहरु ठाउँठाउँमा राहत वितरण गर्ने, आफ्नो समूहका साथीहरु भेटेर सरसल्लाह गर्ने गरिराखेका छन् म चाहीँ लाजले केही गर्न नसकि मुन्टो लुकाई बसेको छु। आशा छ यो लकडाउन सकिएपछि सबै साथीहरु माझ फेरि उभिने छु।

अहिलेको यो महामारीको आपतकालिन अवस्थामा हामी सुस्त श्रवणहरुको सूचनाको पहुँचको बारेमा ध्यान दिई सरकारी समाचार तथा सूचनाहरु टेलिभिजनमा प्रशारण हुँदा ‘क्लोज क्याप्सनिङ’ राखि प्रसारण गरिदिए हुन्थ्यो। यो गाह्रो पनि छैन। स्क्रोलिङ विज्ञापन जस्तै गरी बोलेको कुरा प्रसारण गरिदिए हामी कान कम सुन्नेहरूलाई लेखेको समाचार पढेर बुझ्नको लागि धेरै राहत हुने थियो।

साथै स्थानीय निकायहरुले पनि आफ्नो वडामा रहेका सुस्त श्रवणहरुको आँकडा संकलन गरी वा अहिलेको अवस्थामा तुरुन्तै नै लिखित रुपमा प्रत्येक घर घरमा वडाद्वारा प्रसारण गरिएको सूचना दिइएमा, सूचनामा पहुँच भई धेरै नै राहत हुने थियो। नत्र त अहिले हामी बाहिर केही आवाज आयो कि डराएर बस्न पर्ने अवस्था सिर्जना भएको छ। मानसिक तनाव निकै नै भएको छ।

(भट्टराई श्रुतिकी अध्यक्ष हुन्।)

बैशाख १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्