प्रदेश–१ मा आरडीटी किट अभाव, कोभिड उपचार केन्द्रका स्वास्थ्यकर्मीको पनि नमुना संकलन

माेरङ– कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिने परीक्षण किटको अभाव हुँदै गएको प्रदेश एकका विभिन्न जिल्ला समन्वय समितिका प्रमुखहरुले गुनासो गरेका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग भिडियो संवाद गर्ने क्रममा उनीहरुले कोरोना परीक्षणको लागि आरडीटीको दायरा बढाउनु  पर्ने माग गरेका हुन्।

विभिन्न जिल्लाको क्वारेन्टाइनमा रहेका सर्वसाधारणको परीक्षण गर्नुपर्ने बताएका उनीहरुले मन्त्रालय समक्ष आरडिटी किट उपलब्ध गराउन माग गरेका छन्।

भिडियो संवादका क्रममा आरडिटी किटको अभावमा क्वारेन्टाइनमा रहेका सर्वसाधारणको कोभिड परीक्षण हुन नसकेको गुनासो इलामका जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले गरेका छन्।

इलाममा स्वास्थ्यकर्मी र औषधिको समेत अभाव रहेको बताउँदै समिति प्रमुख बरालले मन्त्रालयसमक्ष किटको आपूर्ति गर्न आग्रह गरेका थिए।

त्यसैगरि झापाका प्रमुख सोमनाथ पोर्तेलले आरडिटी किटकै अभावमा परीक्षणको कार्य गर्न समस्या भएकाे बताएका छन्। झापामा हाल भारत लगायत तेस्रो मुलुकबाट ९ सय सर्वसाधारण प्रवेश गरेको बताएका उनले सबैको परीक्षण गर्नका लागि समस्या भएको उल्लेख गरेका हुन्।

सुनसरीमा समेत किटको अभाव हुँदा परीक्षण कार्यलाई गति दिन नसकिएको समिति प्रमुख गोपालराज भण्डारीले बताएका छन्। दक्षिणी सीमावर्ती क्षेत्रतर्फ उच्च सतर्कता अपनाइएको बताएका भण्डारीले हाल क्वारेन्टाइनमा रहेका सर्वसाधारणको समेत किट अभावका कारण परीक्षणका लागि समस्या भएको उल्लेख गरे।

समितिका समस्यालाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक जिल्लालाई दोस्रो चरणमा ३ सय ६० का दरले किट पठाइसकिएको जानकारी दिए।

प्रकोप भएका जिल्लामा आवश्यकताका आधारमा थप किट पठाइने मन्त्री घिमिरेले बताए। काठमाडौँ लगायतका विभिन्न जिल्लाहरुबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्नेमा जोड दिएका मन्त्री घिमिरेले घडी हेरेर लकडाउन नखुल्ने स्पस्ट पारे। यद्यपि विस्तारै वडा, पालिका, जिल्ला गर्दै लकडाउन खुल्ने उनको भनाइ छ।

कोशी अस्पतालमा केही दिन मात्रै पुग्ने सामाग्री


यसैबीच विराटनगरस्थित कोशी अस्पतालमा पीसीआरबाट गरिने थ्रोट स्वाब नमूना परीक्षणका लागि आवश्यक सामाग्री केहीदिनका लागि मात्र पुग्ने जनाइएको छ। अस्पतालकी मेडिकल सुप्रिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार हाल नमूना परीक्षण कार्य म्यानुअल्ली हातबाट गरिँदै आएको छ।

पीसीआरको लागि आवश्यक किट भए पनि स–साना अन्य आवश्यक सामाग्री सकिँदै गएको हुनाले मन्त्रालयमा माग गरिएको उनले बताइन्।

म्यानुअल्ली काम गर्नुपर्दा समय बढी खर्च हुने जनाएको अस्पतालले पीसीआर मेशिनको सबै सामाग्री नहुँदा शत प्रतिशत संख्यामा रिपोर्टको नतिजा दिन सकेको छैन। यद्यपि बुधबार विहान करिब ३६ वटा नमुना परीक्षण गरिएको अस्पतालले जनाएको छ।

यस्तै कोरोना संक्रमितको उपचारमा खटिएका कोभिड–१९ उपचार केन्द्रका २४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकाे पनि थ्राेट स्वाबकाे नमुना संकलन गरिएको केन्द्रका संयोजक डा. दिपक सिग्देलले जानकारी दिए।

बैशाख १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्