अलबिदा

इरफानसँग नेपाली कलाकारको सम्झना

बलिउडका एक उत्कृष्ट अभिनेता इरफान खान २९ अप्रिल बुधबार संसारबाट बिदा भए। जसरी उनको यो यात्रा तय भयो, त्यो सबैलाई स्वीकार्न सहज थिएन।

सन् २०१८ मा दुर्लभ किसिमको क्यान्सर पहिचान हुँदा इरफानलाई के अब के हुन्छ ? भनेर आत्तिएका उनको शुभचिन्तकको मन थामिएको थियो, सन् २०२० मा उनी अभिनित चलचित्र ‘अंग्रेजी मिडियम’ प्रदर्शनमा आउने भएपछि।

एक वर्षको उपचारपछि भारत फर्कनु र चलचित्र छायाँकनमा फर्कनुले इरफानका शुभचिन्तकलाई आशा दिलाएको थियो, एउटा राम्रो कलाकारलाई पर्दामा फेरि देख्न पाइनेछ भनेर।

इरफानको अभिनयलाई हेर्ने, काम सम्झने र उनीबाट प्रेरणा लिनेहरुको मन र मथिङ्गल हल्लिएको छ। बुधबार एकाएक खबर आयो, ‘अब उनी छैनन्।’ यो खबर सामान्य थिएन।

इरफान व्यक्ति पनि सामान्य थिएनन्। त्यसैले त बलिउडमात्र है उनको छवी विश्वभर फैलिएको थियो। भनिन्छ, ‘इरफान यस्ता कलाकार हुन्, जसको अभिनय गर्न अरु कलाकार चाहन्छन्।’

आफ्नो अभिनय विश्वभर नै धेरैको मन जितेका इरफान नेपालीको मनमा पनि बसेका छन्। उनी नेपाली कला क्षेत्र र कलाकारसँग पनि जोडिएका छन् । नेपाली चलचित्रमा काम नगरेको भए पनि सन् २००८ मा गुरुकुलले आयोजना गरेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन श्रीमती सुतापासहित आएका थिए।

यही मौकामा नेपालका केही कलाकारहरुले इरफानलाई भेटने अवसर पाएका थिए । नेपालमा त्यतिबेला ५-६ दिन बिताएका इरफानसँग संगतमा परेका केही कलाकारहरुको सम्झना यस्तो छ,

सौगात मल्ल

लगभग २० वर्ष अगाडि मैले उहाँलाई देखेको थिएँ। मलाई एकदमै दु:ख लागको छ, मैले कल्पना नै नगरेको कुरा हो यो। राम्रो कलाकार हुनुहुन्थ्यो। ठूलो क्षति भयो, उहाँको चलचित्र आउँदा खुसी बनाएको थियो। राम्रो कलाकार गुमाए।

मैले उहाँ नेपाल आएको बेलामा उहाँलाई दुई पल्ट भेट्न पाएको थिएँ। मैले भेट्न पाए हुन्थ्यो भन्ने कलाकार मध्येमा उहाँ एक हुनुहुन्थ्यो।

आफ्नो पहिलो चलचित्र सलाम बम्बैमा इरफान खान।

विपिन कार्की

म स्तब्ध छु। यो कुरा हो की होइन भन्ने पक्का गर्नको लागि मैले सुनिल सरलाई सोधेर पक्का गरे। उहाँ नाटक महोत्सवमा पाहुना भएर आउनुभएको थियो । साथीसँग फोनमा कुरा गर्दै थिएँ।

कलाकारलाई केही कुरा हुँदा आफैलाई भएको जस्तो हुँदो रहेछ । सुनेर दुख लाग्नु र मनमा साँच्चैनै दु:ख लाग्नु फरक रहेछ। मलाई परिवारको सदस्य गुमाएको जस्तो भएको छ। मैले उहाँलाई याद गरेको चन्द्रकान्ता टेलिश्रृंखलाबाट हो। उहाँलाई क्यान्सर भएको बेलामा पनि दु:ख लागेको थियो, अहिले यस्तो भएछ भन्ने लाग्यो।

त्यो बेलामा इरफानको मृत्यु भयो भन्ने फेक समाचार आएको थियो। एक हिसाबले यो कुरा पहिला नै मनमा बसिसकेको थियो तर पनि अहिले बिते भन्दा धेरै नराम्रो लागिरहेको छ।

दयाहाङ राई

इरफान खान मेरो आइडल कलाकार हुन्। मैले उहाँलाई चन्द्रकान्तामा अभिनय गर्दादेखि याद गरेको । त्यसपछि उहाँलाई चलचित्र अनि मिडियामा देखेँ।

मैले उहाँको बारेमा मिडियाबाट भन्दा पनि मेरो गुरुहरुबाट सुनेको छु। ‘नेशनल स्कूल अफ ड्रामा’ मा शुनिल पोख्रेल सर र इरफान खानसँगै पढ्नुभएको हो। अनुप बराल सर इरफान खानभन्दा जुनियर हुनुहुन्थ्यो। अनुप सरले उहाँको बारेमा धेरै भन्नुभएको थियो।

मलाई उहाँ मेरो निकट लाग्थ्यो। सन् २००८ मा उहाँ नेपाल आउँदा दोहोरो गफ गर्ने मौका पाइन। म उहाँको फ्यान भएर त्यहाँ उपस्थित थिएँ।
उहाँले जसरी युवा अभिनेतालाई उत्प्रेरणा दिइरहनुभएको छ, सायद लाग्छ दक्षिण एशियामा उहाँ एउटा तारा हो। पुरानो पिढीका नरुसिद्धिन शाह र ओम पुरी जत्तिकै रुपमा लिन सकिन्छ।

‘लाइफ अफ पाई’ ‘स्लम्डग मेलेनियर’ लगायत हलिउडका धेरै चलचित्रहरुमा काम गरेर उहाँले विश्वमा नाम कमाउनु भएको छ।

उहाँको मृत्यु हाम्रो लागि दुखद् छ, ठूलो क्षति भयो। उहाँले पहिलो पल्ट रोग पहिचान भएपछि आएको अभिव्यक्ति पढेको थिए, अंग्रेजी मिडियम चलचित्रको ट्रेलर सार्वजनिक गर्ने बेलामा आएको अडियो सन्देशबाट पनि संकेत पाइएको थियो। उहाँलाई आइसीयूमा भर्ना गरिएको भनेपछि मनमा चिसो परेको थियो।

यस्तै हो, उहाँ बितेर गएपछि उहाँले गरेको काम, उहाँको अभिनयले हामीलाई प्रेरणा दिन्छ होला। पहिला पनि उहाँको काम, अन्तर्वार्ता हेर्थे, उहाँ गज्जब कलाकार हुनुहुन्छ ।

भोला राज सापकोटा

गुरुकुलमा दुईपल्ट भेट भएको थियो। म त्यतिबेला कलाकार अनि स्टेज म्यानेजर भएर काम गरीरहेको थिए। उहाँ सबैसँग मिल्नुहुन्थ्यो, स्टेजमा पनि आउनुहुन्थ्यो। भारतको दिल्लीमा पनि हामी धेरैपल्ट भेटेका छौ।

मुम्बईमा म गएको बेला थियो त्यो, इरफानको ‘बिल्लु बार्बर’ चलचित्र प्रदर्शनमा आइसकेको थियो। म बर्फिको लागि दोस्रो अडिसन सक्काएर बसेको थिए। इरफान सम्मानित हुने बेलामा सुनिल सर जानुभएको थियो, त्यो बेलामा पनि भेट्न पाएको थिए।

उहाँलाई पेन्टिङ धेरै मन पर्थ्यो, एकदुई पल्ट भारत जाँदा मेरो फोनमा कुराकानी पनि भएको छ। मैले के मन पर्छ भनेर सोधेको पनि थिए। गुरुकुलमा नै हुँदा मैले किरण मानन्धरको चित्रकला र केही बट्टा सूर्य चुरोट लगिदिएको थिए। उहाँलाई सूर्य चुरोट मन पर्थ्यो।

अन्तिम चलचित्र अंग्रेजी मिडियममा इरफान खान।

मलाई बर्फिको सुटिङ यूनिटले होटलमा राखेको थियो, त्यहाँ मलाई इरफानको बुढाबुढी आउनुभएको थियो, त्यो मेरो लागि पनि अविस्मरणीय थियो।

कलाकार कहिले को बित्छ कहिले को। हामीले जीवनमा जति कमाएपनि आखिर छोड्ने मानवता नै हो। मान्छेले कस्तो व्यवहार गर्‍यो भन्ने कुराको ख्याल हुन्छ। क्यान्सरको उपचारबाट फर्केपछि र नयाँ चलचित्र छायंकनमा सक्रिय भएपछि मैले उहाँ ठीक हुनुभयो भन्ने सोचेको थिए, मेरा एक मित्र जो मुम्बईमा नै हुनुहुन्छ उहाँसँग कुरा हुँदा ठीक भयो भन्नुभएको थियो, तर आज यस्तो कुरा सुन्नुपर्‍यो, दु:ख लाग्यो।

‍‍‍…

इरफान खानलाई अभिनेत्री करिश्मा मानन्धर सबैलाई बाध्न जान्ने कलाकार भन्छिन्। उनी भन्छिन्, ‘धेरैलाई उहाँको निधन धेरैलाई मनैदेखि ओहो ! भएको छ । उहाँको चलचित्रमा छोटो भूमिका भए पनि मानिसलाई प्रभाव पार्ने खालको हुन्थ्यो।’

करिश्माले यो खबरले उनलाई नराम्रो लागेको बताइन्, उनले भनिन्, ‘गतवर्ष नै जब उहाँलाई क्यान्सर भएको खबर सुने, तब नै उहाँको उमेर स्मरण भएको थियो। मेडिकल साइन्सले यस्तो प्रगति गरेको अवस्थामा उहाँलाई निको होला भन्ने सोचेको थिए तर यस्तो नराम्रो भयो।’

बैशाख १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्