१०० वर्षीय वृद्धको यो साहस…

आज उनको १०० औँ जन्मदिन। जन्मदिनको असीम शुभकामना क्याप्टेन टम मुर।

एकजना वृद्ध जो सहारा वेगर उभिन पनि सक्दैनन्। तर उनले आधा किलोमिटर जति हिँडेर करिब ३२ लाख अमेरिकी डलर बराबरको रकम संकलन गरे भन्दा सबै जना छक्क पर्छन् होला।

हो, त्यसैले उनको साहसको प्रशंसा अहिले विश्वव्यापी भइरहेको छ। उनकाे नाममा दुइ वटा गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम भएको छ।

९९ वर्षीय यी वृद्धले आज अर्थात् अप्रिल ३० मा आफ्नो १०० औँ जन्मदिन मनाउनका लागि एक हजार पाउण्ड उठाउने योजना बमोजिम दुई हप्ताअघि आफू बसेको घरको बगैँचाको एक सय फन्को मार्ने योजना बनाएका थिए। उनले २५ मिटर लामो त्यो बगैँचालाई सय फन्को पनि मारे तर यो योजना उनले सोचेभन्दा नितान्त भिन्न भयो। उनको सम्मानमा यति धेरै रकम उठ्यो कि सबै जना चकित भए।

इंग्ल्याण्डका एक पूर्वसिपाहीले गरेको यो साहसिक घटनालेअहिले विश्वभर चर्चा पाएको छ। उनको नाम क्या. टम मुर हो। उनी हाल उत्तरी इंग्ल्याण्डको वेडफोर्डसायरमा छोरीसँग बस्दै आएका छन्।

यो कुराे दुई हप्ताअघिको बिहीबार बिहानको हो। आफू १०० वर्ष पुग्न लागेको उपलक्ष्यमा आफ्नो बगैँचालाई वाकरको सहायताले एक सय फन्को मारेर एक हजार पाउन्ड चन्दा संकलन गरी आफ्नो उपचारमा संलग्न इंग्ल्याण्डको राष्ट्रिय स्वास्थ्य सेवाका नर्स तथा डाक्टर लगायत कर्मचारीलाई प्रदान गर्ने योजना बनाएका थिए।

२०१८ मा उनको जाँघको शल्यक्रिया र छालाको क्यान्सरको उपचार भएको थियो। तर अनपेक्षित रुपमा उनको यो प्रयास र साहसलाई देखेर मानिसहरु यति भावुक भए कि चन्दा नदिइकन बस्नै सकेनन्। करिब सात लाख मानिसले उनको यो प्रयासमा साथ दिए र हालसम्ममा करिब ३२ लाख अमेरिकी डलर बराबरको रकम संकलन भयो।

यति मात्र होइन, उनको साहसको प्रशंसा र सुस्वास्थ्यको कामना गर्दै देश विदेशबाट एक लाख २५ हजार वटा शुभकामना कार्ड प्राप्त भएका थिए। हालसम्म कसैले पनि यति धेरै कार्ड प्राप्त गरेका छैनन्।

उनको यो साहसलाई प्रधानमन्त्री वोरिस जोन्सन मात्र होइन, महारानी एलिजावेथ, राजकुमार ह्यारी लगायत उच्चपदाधिकारीहरुले खुलेर प्रशंसा गरेका छन्।

ह्यारीले उनलाई बधाई दिँदै एक उत्कृष्ट कार्य गरेकोमा नाइटिंगेलको उपाधिले आगामी हप्ता सम्मान गरिने जानकारी दिए भने जोन्सनका प्रवक्ताले उनलाई जनताको मुटु छोएकाे व्यक्ति भनेर सम्मान व्यक्त गरेका छन्। उनलाई गार्ड अफ अनरले सम्मान गरिनेछ।

उनले संकलन गरेको यो रकम राष्ट्रिय स्वास्थ्य सेवाका विभिन्न एक सय ५० वटा च्यारिटीमा हस्तान्तरण गरिने जनाइएको छ। जसले कोरोना रोकथाममा अग्रपंक्तिमा रहेर कार्य गर्ने नर्स तथा डाक्टरहरुलाई सहयोग हुनेछ। यस्तो होला भन्ने कहिल्यै नसोचेको मन्तव्य दिँदै सन्चारकर्मीहरुसँग उनले भने, ‘म सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने अपेक्षा गरेको छु।’

एकै व्यक्तिले इंग्ल्याण्डमा यति धेरै रकम उठाएको यो पहिलो अवसर भएको बताइएकाे छ।

धेरै धेरै बधाइ क्याप्टेर मुर !

मुर द्वितीय विश्वयुद्धका योर्कसायर रेजिमेन्टका क्याप्टेन हुन्। उनको विशेषज्ञता भनेको सिभिल इन्जिनियरिंग हो। उनको छातीभरि विभूषण तथा पदक छन्। दोस्रो विश्वयुद्धका बेला उनले वर्मा तथा भारतमा पनिआफ्नो सेवा दिएका थिए।

(विभिन्न पत्रपत्रिकाकाे आधारमा तयार गरिएको।)

बैशाख १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्