प्रधानमन्त्रीको प्राविधिक सुझाव र कोरोना भाइरसको वास्तविकता

मैले फेसबुकमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले कोरोनाभाइरसबारे दिनु भएको सुझावबारे सामाजिक सञ्जालमा आलोचना भइरहेको पढेँ । त्यो कुरा खासमा एकजना मित्रले प्रधानमन्त्रीको भनाइलाई बचावट गर्ने हेतु आलोचनाको प्रतिवादमा गरेको पोस्टबाट थाहा पाएको थिएँ ।

मैले पनि बाली विरुवामा लाग्ने भाइरसबारे थोरै पढेको र पढाउने पनि गरेको हुनाले त्यससम्बन्धमा जान्न चाख लाग्यो। प्रधानमन्त्रीज्यूले खासमा के भन्नू भा रहेछ त भन्दै खोजेँ। एउटा युट्युबमा “कोरोना भाइरस विज्ञ तथा नेपालका प्रधानमन्त्री ओलीले कोरोना भाइरस बोसिय तत्व भएकाले अथवा बोसो भएकाले चिसो नखाऔंः जनचेतनामा जारी” शिर्षकमा १ मिनेट ४३ सेकेन्डको छोटो श्रब्यदृष्य (भिडियो) भेट्टाएँ ।

त्यसलाई हेरेँ, सुनेँ । कतै यो प्रधानमन्त्रीको विरोध प्रयोजन कसैले फेक भिडियो त बनाएको होइन भन्ने पनि लाग्यो । त्यसको जाँच गर्ने विधि त मसँग थिएन । तथापि फेसबुकमा आइरहेका प्रतिक्रियाहरु देख्दा र उहाँले बेलाबखत नितान्त प्राविधिक कुराहरुमा गर्नुहुने टिप्पणीहरु सम्झिँदा पक्कै पनि उहाँले बोल्नु भएकै हो भन्ने लाग्यो ।

उहाँको सरल र सबैले बुझ्ने भाषाको सुझावलाई एकपटक सरसर्ती सुनिसकेपछि एउटा कुरामा चाहिँ चित्तै बुझेन । पक्कै पनि भन्न भुल्नु भएको हो कि भन्ने पनि लाग्यो । किनकि उहाँले जे बोल्नु भयो त्यो आफ्नो मनगढन्ते तालले बोल्नु भएको त पक्कै होइन । कसैबाट सुनेर, कहीँ पढेर बोल्नु भएको हो । त्यसमाथि प्रधानमन्त्रीलाई राजनीतिका कुराबाहेक अरु नितान्त प्राविधिक विषयमा त्यसै बोल्ने छुट हुँदैन पनि ।

फेरि उहाँले बोल्नुअधि कम्तीमा पनि सम्बन्धित विज्ञहरुसँग कोरोनाभाइरसबारे केही परामर्श त गर्नु भएकै होला । त्यसैले प्रधानमन्त्रीले दिनु भएको सुझावहरुलाई सिधै गलत भन्ने कुरा पनि आएन । त्यसमा केही न केही सत्यता पक्कै पनि हुनुपर्छ भन्ने लाग्यो ।

राती अबेला भइसकेको थियो, निन्द्रा लागेन । उहाँको सुझावहरु मनमा खेल्न थाल्यो । त्यस विषयमा नेटमा खोजी गरेँ, आफुसँग भएका किताब पनि पल्टाएँ । एउटा सुझावमा चित्तै बुझेन । त्यसैले एउटा सुझावबाहेक अरुमा खासै असहमति नजनाई आज बिहान फेसबुकमा साबुनबिनाको तातोपानीले हात धुँदा भाइरसलाई केही असर नपर्ने व्यहोराको प्राविधिक कुरा शेयर गरेँ । छोटो अवधिमै धेरै‘लाइक’ आयो ।

यो लेख तयार गर्दासम्म २ सयभन्दा बढी ‘लाइक’ र आधा सयभन्दा बढी ‘शेयर’ भइसकेको थियो । यी कुराहरुले मलाई विषयको गाम्भीर्यतामा अझ बढी बोध गरायो ।

भिडियो खोजेँ । प्रधानमन्त्रीले दिनु भएका मौखिक सुझावलाई हुबहु शब्दमा उतारेँ । जुन यस प्रकार छन् –

“यो भाइरस भनेको निर्जीव तत्व हो। यो निर्जीव तत्वमा जुन बोसिय, त्यो बोसोजस्तो फाट्टिय तत्व हुन्छ, त्यसले त्यसलाईचैने एउटा जिवित तत्वको रुपमा सक्रिय बनाई दिन्छ। त्यसकारण तातोपानीको बाफ लिने, तातोपानी खाने, चिसोमा बढी जोड नदिने, आइसक्रिमजस्ता कुरा नखाने । हात धुँदा खेरि सकिन्छ भने तातोपानीले धुने, मुख धुँदा अलिकति तातोपानीले धुने, अलिकति मन तातोपानीले, यो ठूलो विधि हो।

जहाँ भाइरस छ भने पनि तातोपानीले हात धुने बित्तिकै त्यो भाइरस चैने, त्यसको बाहिरी लेयरको बोसो पग्लेपछि त्यो त निर्जीव हो, त्यो समाप्त हुन्छ। मर्ने होइन, त्यसको जुन जीव तत्वको रुपमा चैने त्यो बोसिय लेयरको बाहिरिय तत्वले चैं उपद्रो मच्चाउन सक्थ्यो, त्यो समाप्त हुन्छ। भाइरस किन मार्न सकिँदैन भन्दा निर्जीव तत्व हो ।

त्यसकारण निर्जीव तत्वको अब यो गीता ज्ञानतिर जानुपर्ने खतरा हुन्छ । यो निर्जीव तत्व हो, त्यसकारण यो निर्जीव तत्वलाई चैं मार्न सकिन्न। जसको जीवन छैन त्यसलाई कसरी मार्ने? त्यसकारण यो मर्दैन। यसलाई जीव तत्वको रुपमा सक्रिय गर्ने इलेमेन्टहरु छन् । ती इलेमेन्टहरुबाट चैं हामी मुक्त हुने हो। म साथीहरुलाई भन्न चाहन्छु । मास्क मात्र लगाएर पर्याप्त हुँदैन ।

मास्कसँगै चश्मा पनि लगाउनुस् । सबभन्दा बढी छिटो सर्ने मुखबाट, त्यसपछि दोस्रो आँखाबाट सर्छ, त्यसपछि मात्रै नाकबाट सर्छ । आँखाबाट झन् छिटो सर्छ। त्यसकारण चश्मा भरसक लगाउनु बाञ्छनीय हुन्छ। अरु कुराहरु मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन ।”

यी माथि उतारिएका छोटो र मिठो लाग्ने प्रधानमन्त्रीको सुझाव केलाउँदा मैले बुंँदागतरुपमा यसरी बुझेँ

(१) भाइरस निर्जिव तत्व हो ।

(२) भाइरसमा हुने बोसिय तत्वले त्यसलाई जिवित तत्वको रुपमा सक्रिय बनाउँछ । भाग हो त्यसले भाइरसलाई जिवित तत्वको रुपमा सक्रिय बनाइ दिन्छ।

(३) त्यो बोसिय तत्व तातो पानीले हात धुने बित्तिकै पग्लेर समाप्त हुन्छ ।

(४) बोसिय तत्व समाप्त भएपछि भाइरस स्वतः समाप्त हुन्छ ।

(५) भाइरस मर्दैन, मार्न सकिन्नँ ।

(६) तातोपानीको बाफ लिँदा, तातो पानी पिउँदा भाइरस निको हुन्छ ।

(७) चिसोबाट बच्ने, आइसक्रिम नखाने ।

(८) सबभन्दा बढी मुखबाट, त्यसपछि आँखाबाट र त्यसपछि मात्र नाकबाट सर्छ ।

(९) त्यसैले मास्क मात्र लगाएर पुग्दैन, चश्मा पनि लगाउने।

माथिका बुँदाहरुमा केही कुरा राख्ने अनुमति चाहन्छु ।

(१) भाइरसलाई निर्जीव र जीव दुवै मान्न सकिन्छ । आजभोलि धेरैले निर्जीव नै मान्छन् । हुन सक्छ, लाखौँलाख वर्षदेखि चल्दै आएको विभिन्न जीवहरुको सह–विकास (को–इभोल्युसन) को क्रममा विभिन्न वनस्पति तथा प्राणीहरुको जीनका अंश छुट्टिएर भड्किएर रहेका जीनका टुक्राहरु नै भाइरस हुन् । त्यसैले यो जीव पनि हो निर्जीव पनि हो ।

(२) सबै भाइरसमा लिपिड (बोसिय तत्व) हुँदैन । कोरानाभाइरसमा बोसिय तत्व छ। मानिसको शरीरबाहिर रहँदा यसले बढी तापक्रम र सुख्खा सहन सक्दैन भन्ने छ । त्यही कारणले यसलाई नष्ट गर्न सजिलो पनि भएको छ । यो होइन कि बोसिय तत्व मात्रै नै भाइरसको जिवित अंश हो । प्रोटिन र न्युक्लिक एसिड भाइरसका सार तत्व हुन् ।

(३) यो लेखको खास विषयवस्तु यही हो । यसलाई तल छुट्टै वर्णन गरिएकाे छ ।

(४) हो, बोसिय तत्व नष्ट भएपछि भाइरसले आफ्नो काम गर्न सक्दैन ।

(५) निर्जीव मान्ने हो भने अरु पदार्थलाई जसरी नष्ट गर्न सकिन्छ, नष्ट हुन्छ, यसलाई पनि नष्ट गर्न सकिन्छ, नष्ट हुन्छ । मात्र यति हो कि यो पृथ्वीबाटै भाइरसलाई नष्ट गर्न सकिन्न । जिवित मान्ने हो भने यो मर्छ, मार्न सकिन्छ ।

(६) शुरुमा अलिअलि लक्षण देखिँदा तातोपानीको बाफ लिँदा, तातो पानी पिउँदा बिरामीलाई केही सहज अनुभव होला र कोरोनासँग लड्न केही सहज होला । कोरोनाले च्याप्दै लगेपछि तातो बाफ लिन सक्दैन । कहीँबाट पनि अहिलेसम्म तातोबाफले कोरोना निको भएको प्रमाणित भएको छैन । हो, हामीले घरघरमा रुघा लाग्दा, रुघाले च्याप्दा तातो पानीको बाफ, अझ त्यस्मा भिक्स मिसाएर लिन्छौं । त्यसले केही राहत दिन्छ। तर त्यही नै औषधि हो भन्ने चाहिँ होइन । खासमा तातोले भाइरसको बोसिय तत्व पग्लेर भाइरस समाप्त हुन्छ भन्ने कतैबाट प्रमाणित भइसकेको छैन ।

(७) चिसोबाट बच्ने, आइसक्रिम नखाने ठिक छ । रुघाखोकी लाग्दा चिसोबाट बच्नै पर्छ ।

(८) पक्कै पनि मुख धेरै चलिरहने, खुल्ला रहने हुनाले यो भाइरस मुखबाट प्रवेश हुने सम्भावना बढी हुन्छ, त्यसपछि सुतेको बेलामा बाहेक आँखा अक्सर खुल्लै रहने हुँदा आँखाबाट भाइरस प्रवेशको संभावना बढी हुन्छ । तर पनि कसैले हाच्छिउँ गर्दा वा खोक्दा निस्कने भाइरस नजिकैको मानिसको कुन भाग (मुख, आँखा, नाक) मा सिधैपर्छ, अथवा आफ्नै हातमा भाइरस परिसकेको छ भने त्यो हातले मुख, आँखा, नाकका प्वालमा छुन पुग्छ त्यहीँबाट संक्रमण शुरु हुने संभावना बढी हुन्छ ।

(९) चश्मा लगाउने सुझाव मलाई मन पर्‍यो किनकि हात सिधै आँखामा पर्दैन ।

अब बाँकी रह्यो ३ नम्बर बुँदा जसमा भनिएको छ – भाइरसको बोसिय तत्व जुन तातो पानीले हात धुने बित्तिकै पग्लेर समाप्त हुन्छ। तातो पानीले मात्रहात धुँदा भाइरस जान्छ भन्ने कतै कहीँ उल्लेख भएको पाइनँ । हुन सक्छ, हात धुँदा पानीको फोर्सले केही भाइरस पखालिएर जानचाहिँ सक्ला। सबै पखालिन्छ भन्नेचाहिँ छैन । कि पानी पोल्ने गरी तातो हुनुपर्‍यो, पोल्ने पानीले त हात धुन सकिन्न।

मानिसले सहन सक्ने तापक्रम भाइरसले पनि सहन सक्छ भन्ने छ । खासमा कोरोनाभाइरसको जुन कण (भाइरस पार्टिकल) छ, त्यसको सबैभन्दा भित्र न्युक्लियोप्रोटिनले बेरिएको आरएनए (राइबोन्यूक्लिक एसिड) हुन्छ। त्यसको बाहिर अरु किसिमका प्रोटिन र लिपिड (बोसो) ले ढाकेको हुन्छ। कसैको हातमा भाइरस परेको छ भने साबुनपानीले हात धुँदा साबुनको कणले लिपिडलाई छेड्छ र भाइरसको बाहिरी भाग छिन्नभिन्न भएर पानीसँगै पखालिएर जान्छ।

यसरी साबुन पानीले हात धुँदा तातो पानी भयो भने अझ बढी प्रभावकारी हुन सक्छ भन्नेचाहिँ छ । जस्तै जाडो महिनामा लुगा धुँदा पानी चिसो हुने भएकोले जति साबुन दले पनि राम्ररी फिंज आउँदैन। तातो पानी मिसाएपछि लुगा धुन सजिलो हुन्छ। युनिसेफको हातधुने गाइडलाइनमा त पानी चिसो वा न्यानोले फरक पर्दैन, साबुनचाहिँ चाहिन्छ भन्ने प्रष्ट उल्लेख छ ।

साबुन पानीले दुई हात एकआपसमा रगडेर धुँदा साबुनको कणहरु छुटिन्छन् । ती कणहरुको आकार शुक्रकिटजस्ता हुन्छन्, टाउका र पुच्छर भएका। चित्रमा हेर्नोस् । टाउकाको भागले पानी खोज्छ, पुच्छरको भागले बोसो वा चिल्लो पदार्थ खोज्छ। त्यही पुच्छरको भाग गएर कोरोनाभाइरसको बोसिलो भाग (लिपिड) लाई छेड्छ र भाइरसको बाहिरी भागलाई छिन्नभिन्न बनाई दिन्छ।

त्यसैले हात धुँदा कम्तीमा २० सेकेन्ड लगाएर राम्ररी रगडेर फिंज प्रशस्त निस्कने गरी धुनुपर्छ भनेको हो। यसरी हात धुँदा भाइरस, ब्याक्टेरियालगायत अरु हानीकारक सुक्ष्म जीवहरु पनि हट्छन्।

साबुन पानीलेझैं कम्तीमा ६० प्रतिशत अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्दा पनि भाइरसको बाहिरी भाग छिन्नभिन्न हुन्छ तर पखालिएर जान्न। त्यस्तो अवस्थामा भाइरसका कुनै कण संग्लै बाँकी रह्यो भने त्यसले रोगाउन सक्छ।

तलको चित्र (साभारः MJonathan Corum and Ferris Jabr,  The New York Times) मा सबैभन्दा माथि कोरोनाभाइरसको स्वरुप देखाइएको छ। त्यसमा रातो लामो ग्लाइकोप्रोटिनकामुकुट (स्पाइक्स्) हुन् ।

यिनै मुकुटले गर्दा यो भाइरसलाई कोरोना परिवारमा राखेर भाइरसको नाम ‘सार्स–कोभ–२’ र रोगको नामचाहिँ ‘कोभिड–१९’ राखिएको हो । मुकुटका बीचमा हल्का सुन्तला रंगका लिपिड हुन् र खैरो रंगकाचाहिँमेम्ब्रेन प्रोटिन हुन् ।

सबैभन्दा भित्र तारजस्तो न्युक्लियोप्रोटिनले बेरिएका सिंगल स्ट्रान्डेड राइबोन्युक्लिक एसिड हुन् । साबुनका कणचाहिँ शुक्रकिट आकारका छन् । तिनैका पुच्छरले भाइरसबाट लिपिडलाई छुट्याएर लगेका छन् ।

बैशाख १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्