डा.सञ्जीव उप्रेतीको हंसबारे समीक्षा

हंसका इनार र यसका पात्रहरु

शुरु गर्नु अघि
“हामी आफैंमा मग्न छौं। हामी हाम्रो इतिहास, हाम्रो मनोविज्ञान, हाम्रो दर्शन, हाम्रा देवताहरूको अध्ययन गर्छौं। हाम्रो धेरैजसो ज्ञान हामी आफैं वरिपरि घुम्दछन्, मानौं हामी ब्रह्माण्डमा सबैभन्दा महत्त्वपूर्ण चीज हौं“। (कार्लो रोभेलीको रियालिटी इज नट ह्वाट इट सिम्सः दि जोर्नी टु क्वाण्टम ग्रायाभिटी बाट ) डा सञ्जीव उप्रेतीको उपन्यासले यहि कुरा भत्काएर मनाबेत्तर प्राणीको कथा भनेको छ।

मेरा कुरा
सिर्जना (साहित्य र अन्य) र समालोचनामा के फरक? १२ बर्ष लगाएर लेखिएको भनिएको सिर्जनालाई १२ घन्टे तलबार चलाउन खोजेको हो? होइन, पटक्कै होइन। समालोचना बुचरी होइन; मैले तलवार खेलाउदिन। त्यसो भने सर्जरी गर्न खोजेको? रोला बार्थले भनेझै चिरेर, हेरेर अनि जोड्न खोजेको हो? होइन, सर्जन हुने रहर पनि छैन र सर्जनले जस्तो मिहिन पाराले साना कैची चलाएर जोड्ने धैर्यता र सिप मसंग छैन पनि। त्यसो भने समिक्षा गर्न लागेको?

समीक्षाको भरमा धेरै नेपाली पुस्तक किनेर धोखा खाएको हुनाले समिक्षामा विश्वास उडिसक्यो। ए बा ! क्यार्न लागेको हो? सिंहावलोकन? हैट, त्यो पनि होइन। यस्ता निराशावादीले किन लेख्ने त त्यसो भने? निराशावादीलाई जब केहि चिज खास लाग्छ, त्यसपछि लेख्न थाल्दो रैछ। यो लेख्न खोजेको भन्दा पनि आफ्नै मनमा लेखिएका कुरालाई टंकन गर्न खोजेको हो। जब यो निराशावादीले एक फरक र नयाँ उपन्यासको रस पान गर्यो, तब उसको मानसरोबरमा तरङ्ग उत्पन्न भए। त्यहि मनका तरङ्गलाई यस उपन्यासमा जोड्न खोजेको मात्र हो।

रमाइलो सत्य
हंस उपन्यास सन् २०१९ को सेप्टेम्बरतिर मेरो हातमा परेको थियो। लामो समय पढ्न सकिन। कारण दुइवटा मात्र छनः औपचारिक पाठ्यक्रमले थिचेकोले र प्रमात्र बिज्ञान (क्वाण्टम फिजिक्स वा मेकानिक्स)को हावाले छोएकोले। मान्छेको चाहना अनौठो हुँदोरहेछः आईएस्सी गरेको म, बिएस्सी गरिन। मलाई गणित विज्ञानको डेरिभेटिभ र म्याँट्रिक्सले जीवनको रस चुसेको अभास भएकोले। तर अधबैसे यो उमेरमा क्वाण्टम फिजिक्सले तान्यो। किन? किनभने गणितबिनाको क्वाण्टम फिजिक्स एक सुन्दर कविता हो। क्वाण्टम फिजिक्सको लेन्सबाट यो उपन्यासलाई हेर्दा बडो आनन्द आउँछ। तर यसको बारेमा पछि लेख्ने छु। यो उपन्यास ढिला पढेर जे गरियो, त्यो सर्वथा राम्रो गरियो। कम्तिमा यो उपन्यासलाई क्वाण्टम फिजिक्सको लेन्सबाट हेर्न सक्ने सामथ्र्य जुटाउन पाइयो।

बिनाश
हंस उपन्यास पढ्ने क्रममा बिनाश भएको अनुभव गरेको छु। साधारणतः कुनै पनि पुस्तक पढ्दा मैले महत्वपूर्ण र मनछुने वाक्यहरु अण्डरलाईन गर्ने गर्छु र आवस्यक ठानेमा सन्दर्भहरु जोड्नको लागि किताबमा नै लेख्ने गर्छु। कुरो त के रह्यो भने यस पुस्तकमा मैले धेरै ठाउमा अण्डरलाईन गर्नु पर्यो। पढ्दै जाँदा धेरै सन्दर्भहरु लेख्नु पर्यो। यसका केहि उदाहरणः हारारिको होमो सेपियन्समा ब्यक्त कथाको अवधारणा, अर्चना थापाको कथा संग्रह ’कठपुतला’को धारणा, भिक्टर फ्रान्क्लिनको “अ म्यानस सर्च फर मिनिङ्ग“को कल्पनाको कुरो, शेक्सपियरको ह्यामलेटियन (द्विविधाको कथा, र टमस किङ्गको ’दि ट्रुथ अबाउट स्टोरिज’मा लेखिएको ’कथाको शक्ति र दुरुपयोगको मिथ र इतिहास’। फलस्वरुप पुस्तक साहर््ै फोहोर भएको छ। मैले फेरी अर्को प्रति पुस्तक नेपालबाट मगाउन पर्ने वाध्यता आइपरेको छ। खैर, बिनाश पनि त सृजनाको शुरुवात जो रहेछ।

के गर्दै?
यस आलेखमा मैले उपन्यासका केहि पात्रहरुलाई हेर्ने जमर्को गरेको छु। उपन्यासको महत्वपूर्ण बिषयलाई छोटकरीमा उपन्यासको केहि इनार भनेर चर्चा गर्ने छु। मुख्य बिषय पात्रलाई नै हेर्ने हो। प्रायः सबै पात्रका अपुरो र अधुरो कथा रहेको छ, त्यसैले मलाई यी पात्रहरु जीवन्त लागेका छन्। अर्थात् पात्रहरु वास्तविक जीवनदेखि नजिक छन्। सुखान्त अन्त्य गर्नु पर्छ भन्ने सस्तो ह्यांग उपन्यासकार सञ्जीव उप्रेतीमा देखिदैन र दुखान्त अन्त्य भनेर मानव पात्रहरुको अवसान पनि देखिदैन।

लहडे हाँसको निधनलाई पर्यावरणको बिनाशको यथार्थको रुपमा बुझेको छु। नायक को? खलनायक को? नायीका को? अँह, मैले त भेटिन। सबै पात्रको समान उपस्थिति प्रतित हुन्छ। उपन्यासकारले कुनै पात्रलाई न्याय वा अन्याय गरे भन्ने भेटिदैन। सबै पात्रहरुले आफ्नै स्वभाव र नियति भोगेका छन। पात्रहरुको नायकी र खलनायकीपन कथा र उपकथाबाट खुल्छन। मान्छेले प्रकृतिको दोहन गर्दा अन्य प्राणी र समग्र पर्यावरणमा बिनाश भएको कुराले मानिसको खलनायकीपन छताछुल्ल हुन्छ। यो “लुआ लाउनेको कथा“ छुट्टै हेर्नु पर्ने हुन्छ।

शेर सिंह, राम कार्की र अशरफ जस्ता पात्रको माध्यमबाट बिदेशी जीवनलाई उनेका छन उप्रेतीले। यिनका कथा उपन्यासमा नै पढ्न बढी मजा आउला भन्ने मेरो ठम्याइ हो। अन्तमा माथि उल्लेखित सबै इनारहरु बारे अर्को कुनै बसाईमा खन्ने र सँग्लो पानी तान्‍ने नै छु।

उपन्यासका केही इनारहरु
पात्रको बारेमा लेख्नु भन्दा पहिले उपन्यासका केहि महत्वपूर्ण इनारबारे छोटो चर्चा गर्छु। उपन्यास भन्छः दौदहमा इनारैं इनार छन, म थप्छु उपन्यासमा पनि दौदहमा जस्तै धेरै इनार छन्। ती हुन्ः

१) इतिहासको इनारः काका हाँसले इतिहासको कहालीलाग्दो सत्य बाहिर ल्याउँछ। तर इतिहासको सत्यता भन्दा हामीलाई कथा नै मन पर्छ, “सत्यले ति सबै कथालाई भताभुंग पार्छ (पृ १७१)“। इतिहासको क्रुरताबाट जोगिने उपाय नभएपछि “रसिला कथाहरुलाई पनि भत्काउनु हुँदैन (पृ १७१)“। होमो सेपिएन्समा हरारीले ठिकै भनेका हुनः साम्यवाद, समाजवाद, पुँजीवाद, मानवअधिकार जस्ता कथाहरु बेला बखत सृजना नगर्ने हो भने त मान्छेलाई बाँच्न निकै कठिन हुन्छ नै।

२) आप्रवासी अनुभूतिका इनारै इनार छन्। शेर सिंह, राम कार्की र अशरफका आ–आफ्नै इनार छन् र इनारभित्र नै बिदेशी जीवन बिताउन वाध्य छन। बिदेशी भूमिको अत्यासलाग्दो परिस्थितिले कसरि विवाहित महिला तथा पुरुष पात्रका मनस्थितिमा बदलाब आउछ र कसरि उनीहरुको परिवार बिग्रिन्छ भन्ने बिरहलाग्दो यथार्थलाई उपन्यासकारले मिहिन पाराले केलाएका छन्।

३) पर्यावरणीय संकटको इनारलाई उपन्यासले विभिन्न तरिकाले दर्शाएको छ। प्राणी जगतको सुन्दर आवाज हराएका छन। चरा उड्न छोडेका छन र माछाको पौडी खेल्ने स्थान मासिएका छन। ’लुआ लगाउने फटाहा’ले कसरी पर्यावरणीय संकट निम्ताएका छन भनि उपन्यासकारले मानबेत्तर पात्रको माध्यमबाट अति नै रमाइलो र पेचिलो तरिकाले वर्णन गरेका छन।

४) भाषाको सिमितताको कुरा गहन पाराले विभिन्न ठाउँमा प्रकट भएका छन। अरु प्राणी जगतको भाषा बुझ्न मनले छाम्न सक्नु पर्छ।

५) मानबेत्तर पात्रहरुको माध्यमबाट ’लुआ लगाउनेका कथा’ भनिएको छ र मानव(केन्द्रित विश्वदृष्टिलाई भत्काउने प्रयत्न भएको छ। ’लुआ लगाउनेका कथा’ पढ्दा सारै मजा आउँछ।

पात्रहरुको बारेमा
पात्रहरु आकाशमा उड्छन, जलमा तैरिन्छन, पोखरीमा पौडीन्छन, जमिनमा हिड्छन र प्रत्येक सेटिङ्गले पात्रको मनोदशालाई टपक्क टिपेका छन्। लहडे हाँस उडेर कालीलाई पाउन नसकेपछि माहात्मा बनेको व्यङ्ग पढ्दा मजा जो आउँछ। काका हाँस पोखरीमा डुबेर इतिहास त खोजे तर कथामा नै अल्झे।

कथाको मिठास लिन छोडेर मान्छे किन इतिहासको अत्यासमा छिर्न चाहन्छ र? किङ्गले भने झैँ कथाबाहेक संसारको केन्द्रबिन्दु अन्त छैन हो? (पृ ३२)।
पुरुष पात्रहरु जस्तै प्रेम र अनुज महिलालाई स्वामित्वको रुपमा उनीहरुलाई कठपुतली बनाउन खोज्छन। बिडम्बना, आफ्नै नियत र नियतिको कठपुतला बन्छन। अर्चना थापाको भाषामा भन्ने हो भने अनुज त झन् “यान्त्रिकताको फगत कठपुतला भएको छ“ (कठपुतला, पृ ८५)।

१) प्रेमः प्रेम ’म’ पात्र हो। प्रेमले प्रेम गर्न जान्दैन, मात्र प्रेम लेख्छ। एमए गरेर लेखक हुने चाहना बोकेको यो पात्र सत्यलाई अङ्गाल्न सक्दैन किनकि सत्यले “कथाहरुलाई भताभुंग पार्छ“ (पृ १७१)। जारको घाटी छिनाउन पटक–पटक भोजपुरे खुकुरी हेरी बस्ने र सम्झी बस्ने यो पात्र हयाम्लेटियन द्विविधाको शिकार बन्छ। जारको कथाले नै अलमल्लमा बस्छ।

कलमले रुपान्तरण खोज्ने प्रेम आफ्नै जीवनलाई रुपान्तरण गर्न सक्दैन। रास्ट्रवादीको कुरा सुनेर सिमालाई गुमाउछ। ओथेलो इआगोको शिकार भए जस्तो। यो पढ्दा म झसंग हुन्छुस् कतै कथित राष्ट्रवादको कुराले सिमानै त गुम्ने होइन? उपन्यासकार उप्रेतीले प्रेम गर्ने नजान्नेलाई प्रेम नामकरण गरेर बिडम्बना (आइरोनि) घोलेका छन्। उपन्यासको अन्तमा प्रेमलाई हस्पिटल लगेको चर्चा छ। लाग्छ मानवीय प्रेम अहिले हस्पिटलमा छ र संसार घृणाको घनचक्करमा फसेको छ।

२) बिजयः प्रेमको कथानकको दुइ–लाइनमा आउने बिजयलाई धेरैले पात्र नमान्न सक्छन। उँ प्रेमको भाई हो जो बन्दुकबाट समाज रुपान्तरण गर्ने सोच लिएर माओबादी बन्छ तर माओबादी मुलधारमा आएपछि कतारतिर उड्छ (पृ ४४) र टाढा मरुभूमिमा उँट चराउन ब्यस्त छ। मलाई लाग्छ ठिकै गर्योः मुलधार नै गनाएको छ। जे छ त्यही टिपेका छन् उप्रेतीलेः अहिले कलम हस्पिटलमा छ र क्रान्ति कतारको मरुभूमिमा। अर्को विजय पनि छ जो न्युयोर्कमा ट्याक्सी चलाउदै छ। बिजयहरु पराजित छन् र पराजितहरु सत्तामा। यस अर्थमा विजय अर्को बिडम्बना हो उपन्यासको।

३) अनुजः अनेक हण्डर र ठक्कर खाएर न्युयोर्क पुगेको अनुजले सिमा, माया र आफुलाई जोड्न सक्दैन। कम्तिमा अघिल्लो पुस्ताले परिवार जोडेर त राखेका थिए जुन हामी प्रेम, सिमा र अनुजका बा–आमाको कथामा भेट्छौ। तर अनुज जो पछिल्लो पुस्ताको अर्थ दिन्छ उँ कर्तब्य बाट भागेको छ। बैदेशिक रोजगारीको बिजोग स्थिति पो देख्छु म। सिमा र मायालाई न्युयोर्कमा छाडेर भागेको अनुज, नेपाल आएर हनुमन्ते र मनहराको दोभान पुग्छ। दोभानमा बसेर भक्तपुरकी माया, लगनखेलकी सिमा र काठमाण्डुको आफुलाई जोड्न नसकेको झोकमा तिनवटै जिल्लातिर ढुंगा बर्साउछ (पृ १८४)। जोड्न नसक्नेले गर्ने एउटै कर्म होः तोड्ने, ढुंगाले हान्ने। प्रेमको कथावाचनबाट थाहा हुन्छः अनुज अन्तमा हलाखोरियाको जंगल पस्यो रे (पृ १८६)। कर्म गर्न नसकेपछि जंगल नै छिर्ने हो। यसो भन्दाभन्दै पनि जंगलनै छिर्नु नराम्रो नहोला। जंगलमा के गरिन्छ र यसबाट समाजमा के ल्याहिन्छ त्यो मुख्य कुरा हो। जस्तै बुद्ध जंगल छिरे, ध्यान गरे र फर्केर मानवजातिलाई मुक्तिको पाठ पढाए। पुष्पकमल प्रचण्ड हुँदै मुक्तिको खोजीमा जंगल छिरे, हिंशा मच्याए र सत्तामा बिराजमान छन्। उनैका लाल–लडाकु बिजय कतारमा उँट हेर्दै छ। संसारमा जे भैरा’छ त्यहि छ हो उपन्यासमा।

४) मायाः काकाको जबर्जस्तीको पन्जाबाट आफ्नो तन जोगीए पनि अनुजबाट मन भाचिएकि पात्र हुन् माया। काकाको जबर्जस्तीले भकभकाउने भएकी माया अनुजको भगाईले गुमनाम भएकी छ। माया नै मायाबाट बन्चित छस बिडम्बना थपिदो छ। लाग्छ संसार बिडम्बना नै विडम्बनाको खेल हो। देबब्रतको बिडम्बना भिष्मपितामहको बिडम्बनामा टुंगिने अस्तित्वको बिडम्बना हो? प्रदीप गिरि भन्छन, इतिंईंहास. इतिहास, माने यहाँ यस्तै यस्तै हुन्छ। काका हाँसले आफ्नो इतिहास खोजे पनि यहाँ यस्तै–यस्तै हुन्छ। हंस पढ्दा यस्तो लाग्छ म बिडम्बनाको संसार पढ्दै छु।

५) सिमाः प्रेम र मायाको सिमाना मिचेर, अनुजलाई सम्हाल्न पुग्छे सिमा। नियत र नियतिले पन्जाभित्र हुल्न खोजे पनि उँ बचेकी छ। प्रेमको ’कुटाई’ र अनुजको ’भगाई’को दुई धारे तलवारबाट बिचलित छैन सिमा। त्यसैले त लाग्छ सिमा पुरुषमाथि शान्तिपूर्ण थप्पड हो। प्रेमको ’कुटाई’लाई न्युयोर्क सम्मको यात्राले थप्पड मार्छे र अनुजको ’भगाई’लाई उसैको मायाको बच्चा हुर्काएर थप्पड मार्छे। सिमा क्रान्ति र समन्वयको नमुना लाग्छ मलाई। क्रान्तिपछि समन्वय गर्न नसकेर वैलाएको पुष्पकमल होइन सिमा। उसलाई सिमा मिच्न वाध्य गराउने पुरुषको बच्चा हुर्काउने समन्वय हो सीमा।

शेर सिंह, राम कार्की र अशरफ जस्ता पात्रको माध्यमबाट बिदेशी जीवनलाई उनेका छन उप्रेतीले। यिनका कथा उपन्यासमा नै पढ्न बढी मजा आउला भन्ने मेरो ठम्याइ हो। अन्तमा माथि उल्लेखित सबै इनारहरु बारे अर्को कुनै बसाईमा खन्ने र सँग्लो पानी तान्‍ने नै छु।

(साहित्य, अध्यात्म र दर्शनका बारेमा रुची राख्ने पौडेल हाल टोरोन्टो, क्यानडामा सपरिवार बसोबास गर्दछन्।)

बैशाख १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्