पिएसजी फ्रेन्च लिग वानको उपाधि विजेता घोषित

फ्रेन्च लिग वान फुटबल लिगको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई प्रदान गरिएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका बाँकी खेल नहुने भएपछि लिग वानको उपाधि शीर्ष स्थानको पिएसजीलाई प्रदान गर्ने निर्णय भएको हो ।
दोस्रो स्थानमा रहेको मार्सेइली भन्दा पिएसजी एक खेल कम खेलेर पनि १२ अंकले अघि थियो । लिग वानमा हालसम्म २७ खेल खेलेको पेरिस सेन्ट–जर्मेन ६८ अंकसहित शीर्ष स्थानमा छ । २८ खेलबाट ५६ अंकसहित मार्सेइली दोस्रो स्थानमा रहेको छ ।
लिग वानका खेलहरु महामारीका कारण गएको मार्च १३ देखि रोकिएका थिए । फ्रान्स सरकारले आउँदो सेप्टेम्बरसम्म बन्द रंगशालामा पनि खेल हुन नपाउने नियम लागु गरेपछि लिगका बाँकी खेल नहुने घोषणा यसअघि नै गरिएको थियो ।
उपाधि विजेता घोषित भएको पिएसजीले यो सिजनको उपाधि स्वास्थ्यकर्मीसहितका सम्पूर्ण ती व्यक्तिहरु जो यो महामारीका बेला अरुको सेवा र जीवन रक्षाका लागि खटिएका छन्, उनीहरुमा समर्पित रहेको बताएको छ ।
पुछारमा रहेका एमिएन्स र टुजुल लिग वानबाट रेलिगेशनमा परेका छन् ।