बुढानिलकण्ठ–११ लसुनेटारस्थित रोहिंग्या शरणार्थी शिविर । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

अभाव र सन्त्रासमा गुज्रिरहेको छ रोहिंग्या शरणार्थीहरुको रमजान

जस्तापाताको छानो र त्यसकै बार लगाइएका टहराहरु छन् । लस्करै जोडिएका टहरहरु प्रवेश गर्ने मुल गेटमा तगारो लगाइएको छ । यहाँ बाँसको तगारो लगाएको झण्डै एक महिना भयो ।

अहिले मुजुर रहमानसहितका साना बालबालिकालाई यो खेल्ने ठाउँ भएको छ । तगारो चढ्छन् । माथि पुगेर हाम्फाल्छन् । तगारोमा पाँच वर्षका मुजुरसहित उनकै उमर आसपासका केही अरु बालबालिका पनि छन् । तगारो किन लाग्यो उनीहरुलाई थाहा छैन ।

तगारो बाहिर बाटोमा उभिएका पाको उमेरका व्यक्तिले स्पष्ट पारे, कोरोना भाइरसको महामारी फैलिएको छ विश्वमा । संक्रमण नहोस् भनेर यहाँ पनि लकडाउन भयो । हामीले त्यसपछि यो शिविरमा रहेका बाहिर ननिस्किउन् र यहाँ बाहिरबाट प्रवेश नगरुन् भनेर तगारो लगाएका हौँ ।

मुजुर रहमान (बायाँबाट पहिलो) र उनका साथीहरु बुढानिलकठ नगरपालिका–११ लसुनेटारमा रहेको रोहिंग्या शरणार्थीै शिविरको प्रवेशद्वारमा बनाइएको तगारोमा झुण्डिरहेका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार

यसरी जानकारी दिने ६६ वर्षका सैयद अकबर हुन् । उनी म्यानमारको रखाइन राज्यमा अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायमाथि भएको हिंसाबाट जोगिनका लागि त्यहाँबाट भागेर बंगलादेश, भारत हुँदै नेपाल आइपुगेका झण्डै चार सय रोहिंग्या शरणार्थी मध्ये एक हुन् ।

तगारोको उद्देश्य सैयदले बताउँदै गर्दा मुजुरसहितका तीन बालबालिका बाहिर बाटोमा निस्किए । सैयदले उनीहरुलाई भित्र पठाए । सैयदले हामीतिर फर्केर भने, ‘साना छन् बुझ्दैनन्, बाहिर निस्केर खेल्न खोज्छन् । अवस्था त्यसै हिँड्न मिल्ने छैन ।’

आफू पनि बाटोमै रहेकाले उनले थप प्रष्टिकरण दिए, ‘मेरो टहरा चाहिँ यो हो । तगारो भन्दा बाहिर पर्छ ।’ उनको जस्ताको टहरो बाटोकै आडमा तगारो भन्दा बाहिर रहेछ । उनको घरको ढोका एक महिला भर्खरै उखेलेको लसुन सकाउँदै थिइन् ।

असजिलोसँग चलेकै छ गुजारा

रोहिंग्या शरणार्थी सैयद अकबर । तस्बिर : बर्षा शाह/देश सञ्चार

सैयदले आफू बाटोमा उभिनुको कारण हामीले नसोधी जानकारी दिएपछि उनको छटपटाहटको पोको फुकाए । ‘रमजानको महिना छ । मुश्लिमहरुको पवित्र महिना, तर विगतका वर्षमा जस्तो छैन अहिले ।’ काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ११ लसुनेटारमा आफू बस्दै आएको रोहिंग्या शिविरमा रहने सबैको अवस्था त्यस्तै थियो ।

उनले भने, ‘अघिल्लो वर्ष त अलिअलि ज्याला मजदूरी गरेर भए पनि रमजानका बेला रोजा (वर्त) बस्नका लागि चाहिने सामग्रीको व्यवस्था गरिन्थ्यो । यो वर्ष त रोजाकै लागि पनि समस्या भएको छ ।’

पाँच जनाको परिवारका लागि मुश्किलले अबको केही दिनका लागि खाने कुरा बाँकी छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) र सरकारले राहत दिन्छ कि भन्ने आश मरेको छैन सैयदको । वडा कार्यालयमा पनि आफ्नो समस्या सुनाएको उनले बताए । केही भएमा जानकारी गराउने वडाको जवाफसहित फर्किएको उनले बताए ।

लसुनेटार रोहिंग्या शरणार्थी शिविरमा रहेको मस्जिदमा लगाइएको ताला, कोरोना भाइरसका संक्रमण फैलिन सक्ने त्रासका कारण मस्जिदमा ताला लगाइएको हो । तस्बिर : बर्षा शाह/देश सञ्चार

रमजानको बेला बिहान सूय नउदाउँदै खाएपछि एकैचोटी बेलुका रोजा सूर्यास्तपछि तोडिन्छ । सात वर्ष भन्दा माथिकाले अनिवार्य रुपमा रोजा राख्नु पर्ने नियम छ । ‘तर अहिले कसैले मजदूरी गर्न पाएका छैनन् । रोजाका लागि चाहिने चनासहितका अनिवार्य सामग्री पनि जोड्न सकिएन ।’ सैयदले भने, ‘पाए त मासु पनि चाहिने हो रोजा सकेपछि खानका लागि । अहिले त राहतमा पाएको चामल मात्रै छ, तरकारी पनि किन्न सकिएको छैन । यो पटकको रमजान अति मुश्किलले काटिँदै छ ।’

सैयदले कुरा गर्दैगर्दा तगारो नजिक सुफियान हुसैन आए । उनी सोही शिविरमा आमा र चार दाजुभाइसहित बस्छन् । १५ वर्षका सुफियानले केही दिनअघि सहयोगीहरुले आएर आधा बोरा चामल तथा चना दिएर गएको बताए । रोजामा रहेका उनले भने, ‘सहयोग पाएको चामल र चनाको भरमा छौँ । त्यो सकिएपछि के हुन्छ थाहा छैन ।’

उनकी आमा बिरामी छन् । थाइराइड र जोर्नी दुख्ने समस्या छ । अहिले झन रोगले चापेको बताउँदै सुफियानले भने, ‘अस्पताल लैजान पैसा छैन । लगे पनि धेरै पैसा लाग्छ । आमाले अहिले घरको काम पनि गर्न सक्नु भएको छैन । दाइ (२१ वर्षका रिजवान) पनि बिरामी भएर भर्खर उठेको छ । लकडाउन सकिए काममा जान्थ्यो । तर त्यसै निस्कने कुरा भएन यस्तो महामारीको डर छ ।’

राम मन्दिर रोहिंग्या शरणार्थी शिविरकाे मुल गेटमा लगाइएको ताला । तस्बिर : बर्षा शाह/देश सञ्चार

लसुनेटारको जस्तै त्यो भन्दा केही माथि राम मन्दिरस्थित अर्को शिविरको मुल गेटमा पनि ताला झुन्डिएको छ । बाँसको भाटामा जस्तापाता ठोकेर बनाएको गेटबाट अत्यावश्यक सामग्री लिनका लागि मात्रै सीमित व्यक्तिलाई बाहिर निस्कन दिइन्छ । बाहिरका मानिसलाई भित्र पस्न नदिइएको शिविरका बासिन्दा मोहम्मद अ‍ैयुबले बताए ।

रोजामा रहेका उनले भने, ‘सहयोग पाएको चामल छ अहिलेलाई तर चामल मात्रै भएर पुगेन, तरकारी किन्न पैसा छैन । यो रमजानको महिनामा सिमी, मासु पनि चाहिने थियो । अहिले तरकारी नै जुटाउन मुश्किल परेको छ ।’

सेतो तेकिया (टोपी) लगाएका मोहम्मद सलिमले अ‍ैयुबको कुरामा थपे, ‘चामल सहयोग पाएका छौँ । त्यो केही दिनलाई छ, तर दिनभरि केही नखाई रोजा बसेका हामीले त रुखोसुखोमा चित्त बुझाउँला, बालबच्चालाई त सारै गाह्रो भएको छ ।’

लुसुनेटारको शिविरमा भन्दा राममन्दिरमा बालबालिकालाई लकडाउन बढी असजिलो भएको छ । उनीहरु महिना दिनभन्दा लामो समयदेखि शिविरका साँघुरो गल्ली र साँघुरा घरमा सीमित भएका छन् । लसुनेटारको शिविरमा भने बालबालिकालाई खेल्न पुग्ने संयुक्त आँगन छ ।

अ‍ैयुब र सलिमले सहयोगी संस्थाबाट केही राहत सामग्री आउँदा वडा कार्यालयलाई जानकारी गराएर उनीहरुको रोहबरमा वितरण गर्ने गरिएको बताए । दयालुहरुले दिएको केही राहतले अहिलेसम्म गुजारा चले पनि अब उपरान्त समस्या हुने देखिएपछि वडा कार्यालयमा सहयोग माग्न गएको अ‍ैयुबले बताए ।

मस्जिदमा ताला

लसुनेटार र राम मन्दिर दुवै शिविरमा रोहिंग्याहरुले संयुक्त नमाज पढ्नका लागि मस्जिद बनाएका छन् । सामान्य अवस्थामा ती मस्जिदमा शिविरका पुरुषहरु भेला भएर नमाज पढ्ने गर्थे विशेष गरी शुक्रबार । रमाजानको महिनामा त हरेक दिन संयुक्त रुपमा नमाज पढ्ने चलन थियो ।

तर अहिले कोरोना भाइरसको महामारी फैलिन सक्ने जोखिमका कारण रमजानको रोजा नमाजको स्वरुप फेरिएको छ । दुवै शिविरका मस्जिदमा ताला लगाइएको छ । सबैले आफ्नै टहरामा दैनिक पाँच पटक नमाज पढ्ने लसुनेटार शिविरका सैयद अकबरले बताए ।

उनले मुलगेटमा लागेको तगारोसँगै जोडिएको मस्जिद देखाउँदै भने, ‘उ त्यसरी ताला लगाएका छौँ मस्जिदमा । सबैले घरमै पढ्छौँ नमाज । शुक्रबार एक दिन पाँचजना पाका व्यक्ति मात्रै भेला हुन्छौँ, त्यो पनि एकअर्कासँग दूरी कायम गरेर नमाज पढ्छौँ ।’ लसुनेटारको जस्तै राम मन्दिर शिविरको पनि सुरुमै मस्जिद छ, त्यहाँ पनि ताला लागेको छ।

मस्जिदमा भेला हुँदा संक्रमण फैलिन सक्ने त्रासले ताला लगाएको बताएका सैयद, अ‍ैयुब वा सलिम कसैले पनि मास्क भने लगाएका थिएनन् । कारण उनीहरुकै भनाईमा, ‘पहिला त खानाको जोहो गर्नु पर्यो, त्यसमै त अरुको आश गर्नु परेको छ । मास्क त पाए पो लगाउने ? हामी त सक्रमणबाट जोगिन शिविरबाट बाहिर ननिस्कने उपाय मात्रै अपनाइरहेका छौँ । खाने कुराको चिन्ता नभए बाँचिन्छ कि भन्ने हो ।’

मोहम्मद अ‍ैयुब

असजिलो र आशंकाको कुरा गर्दा पनि सद्भावको पाटो नभुलेको पक्ष देखाए सैयद अकबरले । उनले भने, ‘रोजा नमाजको रहेक दुआ (प्राथर्ना) मा आफ्नो लागि मात्रै होइन सबै मानव जातिका लागि अहिलेको यो संकटबाट मुक्ति मिलोस् भन्ने कामना गर्छौँ ।’

‘के मुस्लिम, के हिन्दू, के बुद्धिस्ट । हामीले सबैका लागि दुआ गरेका छौँ । रोहिंग्याका लागि मात्रै होइन, बर्मिज बुद्धिस्टका पनि हाम्रो दुआमा सामेल छन्, आखिर सबैे अल्ला (उपरवाला) का बन्दा (सन्तान) हुन् ।’

अकबरले यस्तो भनिरहँदा मुजुर रहमान र उनका साथीहरु तगारोमै खेलिरहेका थिए ।

सबै तस्बिर : बर्षा शाह/देश सञ्चार

बैशाख १९, २०७७ मा प्रकाशित