लकडाउनपछि आत्महत्याले भयावह रुप लिनसक्ने मनोविद्को चेतावनी

साङ्केतिक तस्बिर

काठमाडौँ– चालिस दिनअघि सरकारले लकडाउनको घोषणा गर्‍यो। लकडाउन अवधिभर सर्वसाधारणलाई अवश्यक काम बाहेक अन्य समयमा घर बाहिर ननिस्कन आग्रह गर्‍यो।

सरकारले देशभर लकडाउन घोषणा गर्नुको एक मात्र उद्देश्य विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा फैलन नदिनु नै हो।

लकडाउनको मौका छोपेर उपत्यकामा कतिपय राम्रा कामहरु पनि भइरहेका छन्। यही समयमा उपत्यकामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्याङ्क अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा चैत महिनामा १९ जनाले मात्र आत्महत्या गरेका छन्। यो लकडाउन अघिका महिनाको तुलनामा केही हदसम्म कम हो ।

लकडाउनको सुरुवातदेखि वैशाख १९ गतेसम्मको अवधिमा काठमाडौँमा ११ जना, ललितपुरमा ३ जना, भक्तपुरमा १ जनाले झुण्डिएर आत्महत्या गरेका र काठमाडौँमा १ जना, ललितपुरमा २ जनाले विष सेवन गरेर आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। यस्तै ललितपुरमा एक आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

चैत महिनाको तथ्याङ्क हेर्ने हो भने लकडाउन सुरु भएपछि आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको प्रहरीले बताएको छ। यस्तै फागुन महिनाको तथ्याङ्कलाई हेर्ने हो भने उपत्यकाका तीन जिल्लामा २७ आत्महत्या सम्बन्धि घटना दर्ता भएका थिए।

चैत महिनामा आत्महत्याका घटनामा कमी देखिनुको मुख्य कारण लकडाउन रहेको प्रहरीले बताएको छ। त्यस्तै लकडाउन हुनु भन्दा पहिला उपत्यकामा दैनिक एक देखि दुई जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

लकडाउनका समयमा परिवारका सदस्यहरु एकै ठाउँमा रहने र घर बाहिर निस्कन नपाइने भएका कारण मानिसहरुमा आत्महत्याको मनसाय उत्पन्न नभएको हुन सक्ने प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए।

लकडाउनका कारण आत्महत्या गर्नेहरुको संख्यामा कमी आएपनि लकडाउन खुल्ने बित्तिकै आत्महत्या गर्नेहरुको संख्या बढ्न सक्ने बताउँछन्, लगनखेलस्थित मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारी।

उनले भने,‘सुसाइडलाई मेन्टल्ली रुपमा काम गर्ने हामीले मेन्टल रोग हो भन्ने गछौँ । आधिकारिक तथ्याङ्क अनुसार ८० प्रतिशत आत्महत्या कुनै न कुनै मानसिक रोगसँग जोडिएकै हुन्छ। नेपालमा लकडाउन भन्दा अगाडिको तथ्याङ्क हेर्ने हो भने देशभरमा दिनमा १५/१६ जनाले आत्महत्या गर्ने गरेका थिए।’

हाललाई कम भएपनि लकडाउन पछि भने नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा रोजगारी गुमाउने र असहज परिस्थितका कारण आत्महत्याको घटना वृद्धि हुन सक्ने डा. अधिकारीले बताए।

‘यो क्षणिक समयका लागि पोस्टपोन्ड भएको हुन सक्छ, अर्को भने परिवारसँग बसिरहँदा परिवारका अन्य सदस्यले ख्याल राखेका हुन सक्छन्। यो अवधिमा मानिसहरु एक्लै हुन पाएका छैनन्। उनीहरुले झुण्डिनका लागि ठाउँ पाएका छैनन्। औषधि सेवन गर्नका लागि बाहिर निस्केका छैनन्। हाम फाल्नका लागि उचित वातावरण नपाएका हुन सक्छन् किनभने यो समयमा सबै जना परिवारसँग घुलमिल भइरहेका छन्। रमाइलोमा भुलिरहेका छन्।’

उनका अनुसार आत्महत्याका लागि सबै भन्दा धेरै झुण्डिने, औषधि खाने, हाम फाल्ने विधी प्रयोग गरिएको पाइन्छ। यो कुराहरु लकडाउनको समयमा अधिक कम भयो। सबै जना परिवारमा बसिरहेका छन्। जसले गर्दा वातावरण ‘होम्ली’ पनि भएको छ। यही कारणले गर्दा आत्महत्या गर्नेहरुको संख्या कम भएको हुन सक्छ।

‘हरेक समस्याले पछिसम्म मनोवैज्ञानिक, आर्थिक, सामाजिक रुपमा समस्या उत्पन्ने गर्ने काम गर्छ। लकडाउन सकिने बित्तिकै मानिसहरुमा आफ्नो भविष्य प्रतिको अनिश्चितता, लकडाउनै कारण कतिको जागिर छुटेको हुन सक्छ, कति बिना तलब काम गरिरहेका छन्, जसको असर लामो समयसम्म पर्न सक्छ। जसले गर्दा मानिसहरुमा ‘डिप्रेसन्’, ‘एन्जाइटी’, मनोसामाजिक समस्या धेरै देखिने र यसले मानिसहरुको मानसिक स्वास्थ्यमा समस्या देखिन सक्ने हामीले अनुमान गरेका छौँ’, डा. अधिकारीले भने,‘मनोचिकित्सक विश्लेषणलाई उद्धृत गरिएको छैन। उहाँहरु उपचारको पहुँचमा आउन पाउनु भएको छैन भने लकडाउन खुल्ने बित्तिकै अत्याधिक हुन्छ। लकडाउन खुल्नेबित्तिकै आत्महत्याको केस बढ्ने भएका कारण उक्त समयमा सबै जना सचेत हुन जरुरी छ।’

अहिले घटना कम घटेका छन् भनेर आनन्दसँग कोही पनि बस्न नमिल्ने उनी बताउँछन्।

उनी भन्छन्, ‘यो क्षणिक समयका लागि पोस्टपोन्ड भएको हुन सक्छ, अर्को भने परिवारसँग बसिरहँदा परिवारका अन्य सदस्यले ख्याल राखेका हुन सक्छन्। यो अवधिमा मानिसहरु एक्लै हुन पाएका छैनन्। उनीहरुले झुण्डिनका लागि ठाउँ पाएका छैनन्। औषधि सेवन गर्नका लागि बाहिर निस्केका छैनन्। हाम फाल्नका लागि उचित वातावरण नपाएका हुन सक्छन् किनभने यो समयमा सबै जना परिवारसँग घुलमिल भइरहेका छन्। रमाइलोमा भुलिरहेका छन्।’

उनका अनुसार आत्महत्याका घटना रोकिएका होइनन्, केही समय पछाडि धकेलिएका हुन सक्छन्। तुलनात्मक रुपमा लकडाउनमा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएपनि लकडाउन सकिएसँगै यो ह्वात्तै बढ्ने सम्भावना धेरै नै छ।

अब आउने दिन फरक खालको हुने भन्दै अहिलेबाटै सबै जना तयारी अवस्थामा बस्न आवश्यक रहेको भन्दै लकडाउन खुलिसकेपछि आउने समस्याहरुलाई समस्याको रुपमा नलिन उनले सबैलाई आग्रह गरेका छन्।

‘यो पछिको स्थितिमा उच्च महत्वकांक्षा राखेर बस्नु हुँदैन। भविष्यमा सामान्य प्राथामिक कुरा भनेको ‘मेरो जीन्दगी’ हो, मेरो फिजिकल र मेन्टल हेल्थलाई मैले मेन्टेन गर्छु अरु उपलब्धीहरु भए पनि ठिक छ नभएपनि म आफूलाई स्थिर राख्छु भन्ने खालको ‘माइण्ड मेकअप’ अहिले नै गरिरहनु आवश्यक छ’, उनले भने।

आत्महत्या गर्नेको संख्यामा कमी आएपनि कोरोना भाइरसका कारण यो अवधिमा मानिसहरुमा मनोवैज्ञानिक रुपमा धेरै असर परेको उनी बताउँछन्।

बैशाख २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू