कोरोना महामारीले बढ्दो बरोजगारी

कोरोना भाइरस (कोभिट–१९) हालसम्म विश्वका २१० देशमा फैलिएको छ । विश्वभर ३३ लाख भन्दा बढीमा यसको संक्रमण फैलिएको छ । भाइरसको कारण दुई लाख ३८ हजार भन्दा बढीले अकालमा ज्यान गुमाएका छन् । विश्वव्यापी रुपमा यो फैलिने क्रम जारी छ ।

भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिका र युरोपमा परेको छ । हालसम्मको तथ्यांक हेर्दा संक्रमित मध्ये २० प्रतिशतले ज्यान गुमाएक छन् । भाइरस कति समय सक्रिय रहने हो यो अहिले नै अनुमान गर्न गाह्रो छ ।

पर्याप्त पूर्वतयारी र आवश्यक सावधानी नअपनाउँदा विश्वले ठूलो माहामारीको सामना गर्नु परेको छ । कोरोना महामारीले अहिले विश्वमा ठूलो क्षति पुगेको छ । यो एक किसिमको जैविक युद्ध जस्तो भएको छ । एउटा भाइरसले सारा विश्व हल्लाएको छ ।

संसार भरका वैज्ञानिकहरुलाई चुनौती दिएको छ । भाइरसको खोप र औषधि निर्माणमा सारा विश्वका वैज्ञानिक लागिपरेका छन् । यद्यपि अझैसम्म यसको आधिकारीक खोप र औषधि पत्ता लागेको छैन । संसारभर करिब एक तिहाई मान्छे लकडाउनले घरमा बस्न विवश छन् । लकडाउनलाई अन्तिम विकल्पको रुपमा प्रयोग गरिएको छ । लकडाउन गर्दा अर्थतन्त्र धराशायी हुँदै गएको छ । उद्योग धन्दा कलकारखाना बन्द हुँदा लाखौँले रोजगारी गुमाएका छन् ।

कोरोनाको कारण विश्वभर करिब २५ मिलियन नागरिकले जागिर गुमाउने आइ.एल.ओ को प्रक्षेपण छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्नेछ । झण्डै ४५ लाख नेपाली वैदेशिक रोजगारीका लागि देश बाहिर छन् । कोरोनाको कारण अहिले अधिकांश उद्योग धन्दा बन्द छन् ।

रोजगारीको ठूलो गन्तव्य खाडी मुलुकबाट लाखौँ नेपाली युवा जागिरबाट निकालिएका छन् । कति नेपाल फर्किसके त कति लकडाउनका कारण घर फर्किन पाएका छैनन् । आफूले पाउने मासिक तलब प्रति महिना घर पढाउदा कतिपय कामदार बेखर्ची बनेका छन् ।

नेपालको ठूलो श्रम गन्तव्य खाडी मुलुकहरु मात्र होइन जापान, कोरिया, युरोप अमेरिकामा रहेका आप्रवासी कामदारको अवस्था पनि जटिल बन्दै गएको छ । कति संख्यामा कामदारहरु नेपाल फर्केलान त्यो अहिले नै अनुमान गर्न नसकिएला । यद्यपि लकडाउन अन्त्य सँगै अन्तर्राष्ट्रिय उडान सुरु भएमा अधिकांश कामदार नेपाल फर्किनेछन् । रेमिन्यास अर्थतन्त्रको मेरुदण्ड बनेको नेपाल जस्तो मुलुकमा रेमिन्यास घट्दा त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा पर्ने देखिन्छ । एकजनाको कमाइले एउटा परिवारको निर्भर थियो ।

रोजगारीको गुम्दा उसको परिवारको भरणपोषण, शिक्षादिक्षा, औषधि उपचार, दैनिक गुजारा गर्न कठिन हुनेछ । विदेशबाट फर्किएका कामदारको मात्र समस्या होइन नेपालमा दैनिक ज्याला मजदुरी गर्ने लाखौँ कामदार समेत काम बिहीन भएका छन् । अब उनीहरु पहिलेकै काममा फर्किन पनि समय लाग्नेछ । झण्डै डेढ महिना लामो लकडाउनमा परेका उद्योगधन्दा, कलकारकाना र बजार पहिलेकै गतिमा फर्कन पनि केही महिना कुर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा एकै पटक सबैले रोजगारीको अवसर पाउदैनन् । पहिलेको अवस्थामा अर्थतन्त्र फर्कनै केही महिना एवं वर्ष लाग्न सक्छ । भुकम्प र नाकाबन्दीको प्रभावबाट तग्रिदै गरेको नेपालको अर्थतन्त्रमा कोरोनाको प्रभावले झनै ठूलो समस्या पर्नेछ ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०७४ का अनुसार नेपालको औसत बेरोजगारी दर ११.४ प्रतिशत छ भने प्रदेश अनुसारको तथ्यांक फरक फरक छ । सबैभन्दा बढी प्रदेश नं २ मा २०.१ प्रतिशत बेरोजगार छन् । प्रतिवर्ष करिब ५ लाख नेपाली युवा श्रम बजारमा प्रबेश गर्दछन् । देशमा रोजगारीको अवसर नहुँदा ती युवा विदेशिएका थिए । तर अब विदेशमा पनि कामदारको माग नहुँदा ती युवालाई देशमा कसरी व्यवस्थापन गर्ने यो आजको मुख्य चुनौती हो । बेरोजगारी समस्या बढदै जाँदा त्यसले गरिबी बढाउँछ ।

गरिबीको कारण मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थामा परिर्वतन आउँछ । युवाहरुले आफ्नो भुमिका खोज्न थाल्छन । चरम भ्रष्टाचारको दलदलमा फसेको राजनीति प्रणाली र नेताहरु प्रति युवाहरुको आक्रोश अझ बढ्छ । उनीहरुले सामाजिक विकृति एवं बेथिति विरुद्ध आवाज उठाउने छन् ।

जसले गर्दा राजनीतिक पार्टि, नेता र सरकारलाई ठूलो दबाव पर्नेछ । त्यसको प्रभाव नेपालको राज्यव्यवस्थामा पर्नेछ । त्यसैले युवाहरुलाई रचनात्मक काममा संलग्न गर्न सकिएन भने यसले अर्को विद्रोह अवस्था सृजना गर्दछ । यस्तो अवस्थामा युवाहरुलाई काम लगाउने भनेको कृषि र सेवा क्षेत्र नै हो । त्यसका लागि तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, योजना र कार्यक्रम निर्माण गर्नुपर्दछ । यसका लागि सरकारले निम्न कुराहरुमा ध्यान दिन जरुरी छ ।

खेर गएको गाउँका बाँझो जग्गालाई कसरी हराभरा बनाउने ? उत्पादन कसरी बढाउने? त्यसको बजार र मूल्यको सुनिश्चिता कसरी गर्ने ? ज्ञान, सिप, पूँजी र प्रविधिको कसरी प्रयोग गर्ने ? सरकारले कती लगानी गर्ने? कृषिमा अनुदान की सहुलियत कर्जा दिने? कृषि विमा कसरी प्रभावकारी बनाउने? कृषिमा युवाहरुलाई कसरी आर्कषण गर्ने ? यो अहिलेको मुख्य चुनौती हो । नेपालको सन्दर्भमा अहिलेको रोजगारीको ठुलो क्षेत्र भनेको कृषि नै हो । निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीक बनाउन सके लाखौं युवालाई अवसर दिन सकिन्छ । कोरोनाले एउटा गतिलो शिक्षा पनि दिएको छ । शहर र विदेशमा नै भविष्य देख्ने युवा जमातलाई एक पटक आफ्नै घरगाँउ र खेतवारी सम्झाएको छ । यो हाम्रो लागि ठुलो अवसर पनि हो । यो अवसरको सदुपयोग गर्न सके हामी बिस्तारै कृषि उत्पादनमा आत्म निर्भर हुनेछौँ ।

मुलुक पूर्ण लकडाउनमा छ । लकडाउनको समय भनेको सरकारलाई आवश्यक तयारी गर्ने समय पनि हो । यद्यपि सरकारले यो समयको सदुपयोग भने गर्न सकेन । कोरोना प्रभावितलाई राहत र परिक्षणको नाममा केही खर्च गरेपनि अरु विषयमा प्रभावकारी काम गरेन । दैनिक ज्याला मजदुरीको भरमा गुजारा चलाउने कामदारहरुलाई आर्थिक सहयोग गर्नुपर्ने । गरिब र विपन्न परिवारको पहिचान गरी राहत प्याकेज घोषणा गर्नुपर्ने । साना व्यवसायहरुलाई सहुलियत दिनुपर्ने । कृषि व्यवसायिहरुको उत्पादन बढाउन प्रोत्साहन गर्दै आर्थिक सहायत दिनुपर्ने । कामबाट निकालिएका विदेशी नागरिकलाई सम्बन्धी देशको दूतावास मार्फत राहत र पुनर्स्थापनाको लागि सहयोग गर्नुपर्ने ।

विदेशमा जुनसुकै कामले गएका भएपनि घर फर्किन चाहेने नागरिकलाई सम्बन्धित देशको राजदूतावाससँगको सहकार्यमा देशमा ल्याउनुपर्ने । वैदेशिक रोजगारीको शिलशिलामा होस वा अध्ययन जुनसुकै काममा विदेशिएका नेपाली जहाँभएपनि उद्धार र राहत प्रदान गर्नु राज्यको दायित्व हो । देशमा वा विदेशमा जहाँभएपनि आफ्ना नागरिकको सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्दछ । नागरिकलाई सरकार भएको अनुभुति गराउनु पर्दछ । विकसित देशले समयमै आफ्ना नागरिकलाई खोजी गरी घर सम्म पु¥याए तर बिडम्बना हाम्रो सरकारले देशमै नागरिकको दुःख पीडा बुझेन । विदेशिएका नागरिकको दुःख पिडा सुन्ने फुर्सद झन कसलाई हुनु ।

सरकारसँग स्रोतको अभाव होइन स्रोतको प्रभावकारी परिचालन कसरी गर्ने सोचको कमी हो । वैदेशिक रोजगार कल्याणकारी कोषमा भएको अर्बौँको रकम प्रयोग बिहीन छ । संसद विकासको कोषको रकम एवं विपद व्यवस्थापन कोषको रकमलाई कोरोना प्रभावित नागरिकको सहयोगका लागि खर्च गर्न सकिन्छ । ७५३ वटै स्थानीय तह प्रदेश सरकार र संघिय सरकारको समन्वयमा एकद्धार प्रणाली मार्फत राहत उद्धार र पुनस्र्थापनाको कार्यक्रम सञ्चालन गर्नुपर्दछ । लकडाउनलाई लामो समयसम्म जारी राख्दा अर्थतन्त्र त धरासाशी हुन्छ नै त्यसले मनोसामाजिक समस्या समेत पैदा गर्दछ । त्यसैले लकडाउन विस्तारै खुकुलो बनाउदै अध्यावश्यक बस्तु तथा सेवाका क्षेत्रहरु क्रमश खोल्दै जाने । जोखिम क्षेत्रहरु पहिचान गरी जोखिक कम भएका स्थानीय तह भित्र सेवा सुचारु गर्दै लैजाने । देश भित्र सहज अवस्था भएमा मात्र अन्र्तराष्ट्रिय उडान र सिमा नाका पूर्ण सुरक्षा सतर्कता अप्नाई सुरु गर्ने । व्यक्तिगत सुरक्षा सतर्कता अप्नाउर्दै सामाजिक दुरी कायम गरी नियमित काममा फर्किन सकिन्छ ।

संकटले अवसर पनि बोकेर आएको हुन्छ । हामीसँग भएको बाँझो जमिनलाई कृषि उपजको रुपमा प्रयोग गरी कृषि उत्पादन बढाउन सकिन्छ । परिवारसँगै बसेर नयाँ योजनाका साथ नयाँ कामको थालनी गर्न सकिन्छ । परम्परागत ज्ञान, सीपको उपयोग गर्दै मौलिक उत्पादनले हाम्रो पहिचान समेत झल्काउनेछ । देशमै युवाहरुलाई रोजगारी सृजना गर्ने यो उपयूक्त अवसर पनि हो । रोजगारी र उद्यमशीलताले ग्रामीण अर्थ व्यवस्थालाई दीगो र भरपर्दो पनि बनाउने छ ।

जबसम्म हामीले युवाहरुको लागि मुलुकमा अवसर सिर्जना गर्दैनौँ तबसम्म मुलुकको विकास हुन सक्दैन । त्यसैले युवा उद्यमशीलता र राजगारीका लागि सरकारले समयमा ध्यान दिनुपर्दछ । युवालाई आर्थिक क्रियाकलापमा संलग्न गरे मात्र देश विकास सम्भव छ । युवाहरुको उन्नती र प्रगतिमा नै मुलुकको समुन्नती निर्भर हुन्छ ।

(लेखक राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष हुन् ।)

बैशाख २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्