नेकपाको राजनीति

तत्कालका लागि ओलीको जित, वामदेवलाई उधारो आश्वासन, माधव अझै संशयमा

काठमाडौँ– शक्ति बाँडफाँटलाई लिएर सुरु भएको नेकपाको ‘युद्ध’ को ‘राउण्ड वान’ मा अन्ततः प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्।

योसँगै प्रधानमन्त्री ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने आफ्नो मागबाट असन्तुष्ट नेताहरु पछि हट्न बाध्य भएका छन्। यस्तै सचिवालयका सबै शीर्ष नेताहरु सामूहिक आत्मालोचनामा सीमित बन्न पुगेका छन्, फेरि एकपटक।

शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा नेता वामदेव गौतमले उपयुक्त समयमा प्रतिनिधिसभा प्रवेशका लागि ओलीबाट अनुमति पाएका छन्। समय किटान नगरी प्रतिनिधिसभामा प्रवेश गराउने ओलीको उधारो अनुमतिमा नेता गौतमले चित्त बुझाउनु परेको छ। तर गौतमले ओलीको यो निर्णयलाई तत्कालै स्वागत गर्दै पार्टीले ढिलै भए पनि आफ्नो योगदानको कदर गरेको बताएका छन्।

यता असन्तुष्ट पक्षले प्राप्त गरेको एक मात्र उपलब्धि बन्यो – बैशाख २५ गते निर्धारित स्थायी कमिटी बैठक। वामदेव गौतमसँगै महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादलले आफ्नो अडान परिवर्तन गरी प्रधानमन्त्री ओलीलाई साथ दिन पुगेपछि र नेता नारायणकाजी श्रेष्ठले बीचको धार समातेपछि असन्तुष्ट पक्षले हाललाई पराजय व्यहोर्नु परेको छ।

खासगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उनको समूहले ओली पार्टी र सरकार सञ्चालनमा असफल भएको भन्दै उनले कम्तीमा एक पद छोड्नुपर्ने दबाब दिएका थिए ।

तर ओलीले पार्टीको अध्यक्ष पनि नछोड्ने र प्रधामन्त्रीबाट पनि नहट्ने भन्दै आफ्नो पक्षमा संसदीय दलमा बहुमत पुर्‍याउने कसरत गरे। साथै उनी नेता गौतमलाई कोरोना सकंटपछि प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेर प्रचण्ड–माधव–झलनाथको गठबन्धनबाट आफूतर्फ ल्याउन सफल भए।

माधव नेपाल, ‘अब दुई अध्यक्षले चोचोमोचो मिलाएर मात्रै हुन्न’

स्रोतका अनुसार शनिवारको बैठककै सुरुमै प्रधानमन्त्री ओलीले विगत केहीदिन यता तितामिठा अनुभवहरु सबैले बटुलेको तर पार्टी एक ढिक्का बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका थिए।

‘हामी पार्टीमा विवाद चुलिने दिशातर्फ जानै हुँदैन थियो। तर पनि कसरीकसरी हामी तातियौँ। हामीबाट कमीकमजोरी पनि भए होलान्। सबैभन्दा धेरै दोष मैले लिनपर्छ भने पनि म त्यो लिएर आत्मालोचना गर्छु। तपाईँहरुले पनि आफूले गरेको कमीकमजोरीको आत्मालोचना गर्नुहोस्। मिलेर अघि बढ्नुको विकल्प छैन,’ ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो।

रक्षात्मक अवस्थामा पुगेका अर्का अध्यक्ष प्रचण्डले पनि ओलीको भनाइमा समर्थन जनाए। उनले पार्टीलाई बचाउन मिलेर जानुको विकल्प नभएको र यही अवस्थामा स्थायी कमिटीको बैठक बोलाउनु पर्ने बताएका थिए।

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने यसअघिको आफ्नो अडान त्याग्दै प्रचण्ड नरम शैलीमा प्रस्तुत भएका थिए।

‘हामीमाथि पार्टी बचाउने चुनौती आइपरेको थियो। अब मिल्नु र सामूहिक आत्मआलोचना गर्नुको विकल्प छैन । जे भयो भयो अब पार्टी र सरकारले गति लिनुपर्छ,’ सचिवालय स्रोतले प्रचण्डलाई उद्धृत गर्दै भन्यो।

तर, नेता नेपाल भने आक्रोशित नै देखिन्थे। उनमा अझै ओलीसँग प्रचण्डमा सशंय कायमै छ। ओलीको एकलौटी कार्यशैली अब नचल्ने र उनले एक पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका नेता नेपालले विधि र पद्धतिमा पार्टी सञ्चालन गर्नुपर्ने, दुईजना मात्रै मिलेर पार्टी चल्छ भन्ने ठान्न नहुने, फेरि पनि आफ्नै नेतालाई झुक्काएर एकलौटी निर्णय गर्न नहुने बताएका थिए।

‘अब माथि माथि दुई जनाले चोचोमोचो मिलाएर पार्टी चल्दैन। सामूहिक निर्णयमा पार्टी र सरकार चलाऔँ । तत्कालै स्थायी कमिटी बैठक बोलाऔँ,’ नेता नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

बैठकमा नेता खनालले नेता नेपालकै लय समातेर आफ्नो धारणा राखेका थिए। यता नेता श्रेष्ठले भने लामो संघर्षपछि बनेको पार्टी फुट्ने हो कि भन्ने त्रास उत्पन्न भएपनि त्यो अब मेटिएको बताएका थिए। ‘अब व्यक्ति स्वार्थ केन्द्रित पार्टी सत्ता संघर्षको औजार बन्ने कुनै पनि छलफलमा भाग लिइने छैन भन्नेमा हामी सबै प्रतिबद्ध हुनुपर्छ,’ श्रेष्ठलाई उद्धृत गर्दै स्रोतले भन्यो।

यसैगरी बैठकमा आगामी वैशाख २४ गते बस्ने सचिवालय बैठकमा नेताहरुबीच आत्मआलोचना गर्नुपर्ने ठोस कमीकमजोरीबारे बुँदा तयार पार्ने सहमति भएको छ। त्यसको भोलिपल्ट २५ गते स्थायी कमिटी बैठक बस्ने भएको छ।

साथै बैठकमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे सार्वजनिकरुपमा के भन्ने त भन्ने प्रश्न उठेको थियो। त्यसबारे कुनै प्रतिक्रिया नदिएका ओलीले एकाएक उपयुक्त समयमा उपचुनाव गराएर प्रतिनिधिसभामा लैजाने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावको समर्थनमा सचिवालयका सबै सदस्य उभिएका थिए।

बैठकअघि ओलीको प्रचण्ड र राष्ट्रपतिसँगको भेट

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए। राष्ट्रपति भण्डारीलाई भेटेपछि ओलीले हिजो शुक्रबार आफू प्रधानमन्त्रीमा मात्रै रहने बरु पार्टी अध्यक्षको पूर्ण जिम्मेवारी दिने प्रस्ताव गरेका प्रचण्डसँग फेरि केही बेर छलफल गरेका थिए।

सचिवालय बैठक अघि ओलीले नेता गौतम, पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलसँग समेत छुट्टाछुट्टै भेटेका थिए।

प्रधानमन्त्री ओलीले यही वैशाख ८ गते पार्टीका शीर्ष नेताहरुसँग कुनैपनि सल्लाह नगरी दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय लिएपछि पार्टीभित्र विवाद चुलिएको थियो।

त्यसैदिन आकस्मिकरुपमा बालुवाटारमा डाकिएको सचिवालय बैठकमा प्रचण्डसहित बहुमत सदस्यले सरकारले आफ्नो निर्णय फिर्ता लिनुपर्ने भन्दै अडान लिइरहेका बेला राष्ट्रपति भण्डारीले ती दुई अध्यादेश जारी गरेकी थिइन्।

त्यसपछि ओलीले नेकपाका सचिवालयसँगै स्थायी र केन्द्रीय किमिटीका अधिकांश नेताहरु मात्रै नभई प्रमुखप्रतिपक्ष दल नेपाली काँग्रेससँगै अन्य दल तथा नागरिकस्तरबाट चर्को विरोधको सामना गर्नुपरेको थियो । विरोध बढ्दै गएपछि वैशाख १२ गते ओली आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका थिए।

तर प्रधानमन्त्री ओलीले गलत नियतका साथ अध्यादेश ल्याएको र योसँगै सरकार तथा पार्टी सञ्चालनमा समेत असफल भएको भन्दै उनले राजीनामा दिनुपर्ने माग असन्तुष्ट नेताहरुले मागेका थिए।

अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बरु गौतमलाई कोरोना संकटपछि उपचुनाव लडाएर या राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गरी प्रधानमन्त्री बनाउने मौखिक प्रस्ताव गरेका थिए। यस्तै नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए। तर, यी प्रस्तावहरु औपचारिक रुपमा भने पेश गरिएको थिएन ।

यो बीचमा शीर्ष नेताहरुबीच आआफ्नो पक्षमा शक्ति प्रदर्शन गर्ने होड समेत चलेको थियो। सँगै नेताहरुले एकआपसमा भेटघाट र आफ्ना समूहबीचको छलफललाई पनि सघन बनाएका थिए । ती छलफल र भेटघाटको प्रमुख उद्देश्य आजको सचिवालयको बैठकमा आफ्नो ‘पोजिसन’ दह्रो बनाउने थियो ।

त्यहीभएर पनि आज साँझको बैठकले पार्टीको शिर्ष तहमा विधि र पद्दतीका आधारमा पार्टी र सरकार नेतृत्वको कार्यशैली स्थापित गर्ने भन्दै सुरु गरिएको ‘युद्ध’ एउटा ठोस निकास पाउने अनुमान समेत गरिएको थियो ।

तर, यो ‘युद्ध’ अन्ततः नेता गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमा लैजाने र स्थायी कमिटी बैठक बोलाउने विषयमा सहमति भएसँगै समाप्त भएको छ । र ओलीले फेरि एकपटक प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाड्नु पर्ने अन्य शीर्ष नेताको मागलाई पर धकेदिदिएका छन्।

बैशाख २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्