ओलीले कविता लेखेपछि नेकपा नेताहरु त्यतैतिर

तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार समसामियक विषयतर्फ इंगित गर्दै कविता लेखे। पार्टीभित्रका नेताले दुवै पदबाट राजनीनामा दिन दबाब दिइरहेका बेला आफू राजनीतिक स्थिरताको पक्षमा रहेको सन्देश दिने गरी ओलीले ‘अब आँसु खसाउनु पर्दैन’ भन्ने शिर्षकको कविता सार्वजनिक गरे।

ओलीले ‘देश अघि बढ्यो, विकासमा पछि पर्दैन’ भन्दै कविता लेखेपछि सामाजिक सञ्जालमा त्यसको खुबै चर्चा समेत भयो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नै कविता लेखेपछि नेकपाका अरु नेताले पनि राजनीतिक विषयलाई बिम्बका रुपमा प्रयोग गर्दै कविता, हाइकु सार्वजनिक गरेका छन्।

भलै शनिबार बेलुका बसेको नेकपा सचिवालय बैठकपछि राजनीतिक घटनाक्रम एकाएक फेरिएको छ। ओलीलाई दुवै पदबाट हटाउने पक्षमा उभिएका नेताहरु ‘युद्धविराम’ गर्दै एकताको पक्षमा उभिएका छन्।

ओलीले शनिबार फेरि ‘बन्छ नमूना नेपाल’ शीर्षकमा कविता लेखेर आफ्नै नेतृत्वमा देशले सम्वृद्धि हाँसिल गर्ने दाबी गरेका छन्।

ओलीको शुक्रबारको कवितापछि स्थायी समिति सदस्य भीम रावलले पनि कविता सार्वजनिक गरे। उनले ‘श्रमको रक्षा होस्’ भन्ने शीर्षकमा
‘संसारकै मजदुर एक हौं भन्ने भावना नटुटोस्
कम्युनिष्ट पार्टी श्रमिकको झण्डा कहिल्यै नझुकोस्’ भनेका छन्।

उनले पार्टी टुटफुट हुने मनसाय सबै नष्ट हुन् भन्ने कामना व्यक्त गरेका छन्।

त्यस्तै नेकपाका अर्का स्थायी समिति सदस्य जनार्दन शर्माले देशमा लकडाउन भइरहँदा नेतृत्वको ध्यान भने अन्यत्रै गएको आशय प्रकट गरेका छन्। शर्माको कविताको अन्तिम हरफले भनेको छ,

‘तर मलाई आश्चर्य लाग्छ
तिम्रो हेर्दा विवेकमै लक डाउन’

प्रधानमन्त्री केपी ओलीका कट्टर समर्थक पूर्व मन्त्री गोकुल बास्कोटाले भने हाइकु लेखेका छन्। उनले शनिबार बेलुकाको नेकपा सचिवालय बैठक तर्फ इंगित गर्दै लेखेका छन्,

औँशीको रात
कालोबादल
चाँदीको घेरा
नेकपा बैठक ।

बैशाख २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्