लकडाउनका चुनौति र अवसरहरु

सन् २०१९ को डिसेम्बरदेखि चीनको बुहानबाट सुरु भएको नोवेल कोरेना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारीको रुप लिएको छ ।

सुरुको अवस्थामा चीनमा भएका संक्रमित र मृत्यु संख्या देख्दा नै मनमा एकप्रकारको त्रास महसुस हुन्थ्यो, तर यसले यसरी विश्वव्यापी महामारीको रुप लेला भनेर शायद सोचिएको थिएन ।

विश्वका स्वास्थ्य प्रविधिमा शक्तिशालि मानिएका राष्ट्रहरु पनि यो महामारीबाट बच्न सकेनन् र उनीहरुले यो भाइरसविरुद्ध लड्न बनाएका रणनीतिहरु पनि प्रभावकारी हुन सकेका छैनन्, जसले गर्दा संक्रमित र मृत्यु हुनेको संख्या बृद्धि हुने क्रम रोकिएको छैन ।

औषधि र भ्याक्सिनको खोज भैरहेको भएता पनि अहिलेसम्म पनि पत्ता लगाउन नसकिएकोले रोकथाम र नियन्त्रणको विकल्पका रुपमा अधिकांश राष्ट्रले बन्दाबन्दीको नीति अवलम्बन गरेर आफ्ना जनताहरुलाई भाइरसको संक्रमणबाट जोगाउने कोशिष गरेका छन् ।

नेपालले पनि भाइरसबाट जोगिन गरेको बन्दाबन्दीको नीतिले संक्रमण रोकथाममा ठूलो भूमिका निभाएकोछ । यद्यपि यसले मुलुकको अर्थतन्त्रमा ज्यादै नै ठूलो धक्का लागेको छ भने पूर्व तयारीबिना बन्दाबन्दीको निर्णयले धेरै जनताहरु, जो दैनिक मजदुरी गरी खाने र मजदुरीका लागि घरबाहिर बसेकाहरुले साह्रै नै सास्ती बेहोर्नुपरेकोछ । सम्पूर्ण काम ठप्प प्राय नै छन् र सबैजना घरमा बसेका छन् । कथित व्यस्त जीवनशैलीबाट फुर्सद पाएको जस्तो भएता पनि समय लामो भएकाले अब भने दिक्क लाग्न थालेको पनि देखिन्छ ।

लामो समयसम्म घर मै बस्दा, संक्रमणको त्रास र दैनिक अभावले मानिसमा नैरास्यता, हतोत्साहित र नकारात्मक सोचले गर्दा घरेलु हिंसा र झैझगडामा बृद्धि भएको पनि देखिन्छ । कतिपय हत्या, आत्महत्या र बलात्कारका घटनाहरुका कुरा पनि बाहिरिएकाछन् । सरकारको बेथितिको व्यवस्थापन, सहयोगीको गिरफ्तारी र राजनीतिक चलखेलको चौतर्फि आलोचना भैरहेकोछ ।

कैयौँ दिन लाएर आफ्ना गाँउघर फर्किनेहरुले भोगेका दुःख, सास्ती संचार माध्यमबाट प्रसारण भैरहँदा पनि राज्य संयन्त्रणको दृष्टि नपुग्नु र यस्तो बेलामा पनि भ्रष्टाचार गर्न पछि नपरेको देख्दा अब भने जनतामा नेता र तिनिहरुको चुनाव सम्बन्धी चेतना जागृत हुन सक्ने देखिन्छ । आफ्नै गाउँठाउँमा उत्पादित तरकारी फलफूल सडेर फाल्नु परेकोछ उता भारतबाट नियमित भित्रिएको देख्दा कुन किसानको मन रोएको छैन होला । यो कोरोना भाइरसले ल्याएको भवितव्य हो त्यसैले समय सापेक्ष व्यवस्थापन राम्रो भएन जसले गर्दा निम्न आयस्रोत हुनेहरु, सडक मानवहरु, बृद्धबृद्धा, बालबालिका, गभैवति, सुत्केरी र बिरामीहरुलाई ज्यादै नै गाह्रो भयो भने कलकारखाना, निर्माण र उधोगहरु बन्द हुनु र कृषि उत्पादनले बजारसम्म जान नपाउनाले पनि आर्थिक घाटा भएकोछ ।

तथापि, सकारात्मक पक्षलाई हेर्ने हो भने अहिले लामो समयदेखि रित्तिएका गाँउघरहरुमा चहलपहल बढेकोछ, बुढाबुढी बाबुआमा मात्र भएका घरहरु परिवारले भरिएका छन् । वर्षौदेखि बाँझा खेतवारीमा खेती लगाइदै छन्, तरकारी रोपिँदैछन् भन्ने समाचारहरु देखिएका छन् । शहरमा बसेर मम, चाउमिन खाने बच्चाहरुले मकै, भट्टमास पनि मन पराउन थाले रे, टेलिभिजन र मोबाइलमा रमाउने बच्चाहरु खेतबारीका ढिस्का र कान्लाहरुमा उफ्रिएर रमाएका छन् रे र कतिले त शहर नगई गाउँघरमा नै बस्ने निर्णय पनि गरेका छन् रे भनेको सुन्दा कसलाई खुशी लाग्दैनहोला ।

जीवनयापनको लागि भागमभागको दैनिकिबाट फुर्सद भएकाले परिवारसित रमाइलो समय बिताउने, परिवारका सदस्यहरुमा एकअर्काको मनोभाव बुझ्ने, घरको काममा एकअर्कालाई सहयोग गर्ने, बच्चाहरुलाई घरको काम सिकाउने र सिर्जनशिल बनाउनको लागि पनि अभिभावकहरुलाई अवसर प्राप्त भएको छ । यद्यपि यो आ–आफ्नो रुचीमा निर्भर हुने कुरा हो।

वातावरणीय दृष्टिकोणले पनि विश्व आकाश नै स्वच्छ भएको छ भने नेपालको सन्दर्भमा पनि चारैतिरको वातावरण स्वच्छ र रमणिय देखिएको छ । खासगरी काठमाडौँ उपत्यकाको वातावरण सफा र स्वच्छ भएकाले पनि एकप्रकारको आनन्दित बनाएको छ ।

अहिलेको अवस्थामा कतिपय युवाहरुलाई गाँउघर घरपरिवार छोडेर जान वितृष्णा जागेको पनि होला, आफ्नै गाँउठाँउमा केही गरौँ भन्नेलाई स्थानीय सरकारले ऋण उपलब्ध गराई स्वरोजगार सिर्जना गर्न प्रोत्साहन गर्नुपर्ने देखिन्छ र रोगको डरले गर्दा भोकका कारण कसैको मृत्यु नहोस भन्नाका लागि सुक्ष्म रुपमा अनुसन्धान र अनुगमन गरी प्रभावकारी रणनीति कार्यान्वयन गर्नुपर्दछ जसले गर्दा एउटा आम नागरिकले आधारभूत अधिकारबाट वञ्चित हुन नपरोस् ।

बैशाख २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्