घन्टौँ सम्झाएपछि बल्ल आइसोलेसनमा आउन माने नेपालगञ्जका संक्रमित

नेपालगञ्ज– आइतबार कोरोना संक्रमण देखिएका १५ जनालाई खजुरास्थित आइसोलेसन कक्षमा लगिएको छ। प्रहरी, स्थानीय अगुवाले घण्टौँसम्म सम्झाएपछि संक्रमितहरु बल्ल आइसोलेसन कक्षमा जान तयार भएका हुन्।

यसअघि संक्रमण देखिएका ६० वर्षका मदरसाका शिक्षकलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ।

प्रदेश सरकारले खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेसन कक्ष बनाएको हो।

नेपालगञ्जमा संक्रमण देखिएका १६ जनालाई त्यहाँ पुर्‍याइएको छ। ६० वर्षका व्यक्तिमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका ९० जना व्यक्तिको स्वाव परीक्षण गरिएको थियो। त्यसमध्येमा ५५ जनाको रिपोर्ट आउदा १५ जनामा कोरोना देखिएको छ। अझै ३५ जनाको रिपोर्ट आउन बाँकी छ। आइतबार थप चार जनाको स्वाव लिइएको छ।

नेपालगञ्जका पहिलो संक्रमित व्यक्तिको सम्पर्कमा रहेका चार जनाको स्वाव लिइएको हो। ६० वर्षका ती व्यक्तिले पढाएका चार जना विद्यार्थीको स्वाव लिइएको स्वास्थ्यकर्मीले बताएका छन्।

उनको सम्पर्कमा रहेका अरुको पनि खोजी भइरहेको छ। अहिले देखिएका संक्रमितहरु सबैजसो वडा नं. ८ को जुलाहनपुरुवाका हुन्। यो टोललाई सुरक्षाकर्मीले सील गरेका छन्।

बैशाख २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्