कविता

सबै रहर कल्पनामै सीमित राखेकै छु

महिना बित्यो, अझै घर भित्रै छु
म पनि कोरोना भाइरसको त्रासमै छु
लकडाउनको पलना गरेकै छु ।

नयाँ स्कूलमा पढ्ने रहर
नयाँ ड्रेस लाउने, नयाँ झोला बोक्ने रहर
नयाँ–नयाँ साथी बनाउने रहर
सबै–सबै कल्पनामै सीमित भो ।

कति मात्र सुन्नु कोरोनाकै कुरा
हात धुने…मास्क लगाउने
दूरी कायम गर्ने, सबै कण्ठ भइसक्यो ।

न त यो प्रश्न परीक्षामा सोध्छन्
न त यहाँ पाउन बाँकी नै केही छ ।

बाबा–ममी सधैँ ज्ञानी बना मात्रै भन्नुहुन्छ
घरभित्र कोठामै सीमित छु
मोबाइल, आइप्याड र टिभीमा निर्भर छु
टिभीमा आउने सबै विज्ञापन कण्ठ भए ।

सबै रहर लुकाएकै छु
सबै नियम पालना गरेकै छु
अब कति ज्ञानी बन्ने ?
अब कति सीमित हुने ?
अब कति साँघुरिने ?

बैशाख २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्