अमेरिकामा कोभिड–१९ बाट अहिलेसम्म १४ नेपालीको मृत्यु

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की

अमेरिका – कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा अहिलेसम्म १४ जना नेपालीको मृत्यु भएको छ । अमेरिकास्थित नेपाली राजदूतावासले १४ जना नेपालीको कोभिड–१९ कारण ज्यान गएको जनाएकाे छ ।

नेपाल छोडिसकेका र अन्य मुलुकबाट आइ अमेरिकाका विभिन्न राज्यमा बस्दै आएका नेपाली भाषीको कोभिड–१९ का कारण मृत्यु भएको दूतावासले जानकारी दिएको छ ।

नेपाल अमेरिका पत्रकार संघसँगको भिडियो साक्षात्कारमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले भने, ‘कोरोना भाइरसका कारण अहिलेसम्म १४ जना नेपालीले ज्यान गुमाएको सूचना पाएका छौँ ।’

अमेरिकामा कोरोना भाइरसको इपिसेन्टर रहेको न्यूर्योकमा १० नेपालीको मृत्यु भएको सूचना आएको उनले बताए । यस्तै अरु तीनजना कोलोराडो र एकजनाको भर्जिनियामा मृत्यु भएको हो ।

नेपाली दूतावासले कोरोना भाइरसका कारण चार किसिमको समस्यामा नेपालीहरु परेको गुनासो आउने पनि जानकारी दिएको छ ।
नेपाली विद्यार्थी तथा उनीहरुको परिवारलाई भेट्न भिजिट भिसामा आएकाहरु, यही समयमा फर्किनुपर्ने भए पनि हवाइजहाज नचलेर ओभरस्टे भएकाहरु, युरोपियन मुलुकको पानीजहाजमा काम गर्नेहरु अहिले यतै आएर समस्या परेको राजदूत कार्कीको भनाई छ ।

राजदूत कार्कीले भने, ‘खान र बस्नै गाह्रो भयो भन्नेहरु अहिलेसम्म कोही नभए पनि विद्यार्थीहरुको मुख्य समस्या भनेको काम गर्न नपाएर भाडा तिर्न नसकेको, भिजिट भिसामा आएकाहरु फर्किन नपाएकाहरु रहेका छन् ।’

उनले अघि भने, ‘समयमै नेपाल फर्किन नपाएकाहरुको ओभरस्टे हुनबाट सुरक्षित पार्न अमेरिकी सरकारलाई पत्रचार गरिसकेका छौँ, यस्तै भाडा तिर्न नसक्ने विद्यार्थीका लागि समुदायबाट समाधन भइरहेको छ ।’

अहिले नेपाल फर्किन चाहनेहरुको संख्या ३६० हाराहारी रहेपनि सरकारले उनीहरुलाई नेपाल फर्काउन नसक्ने उनको भनाई छ । विश्वभर ६० लाख नेपालीहरु रहेका छन्, यसरी नेपाल सरकारले नेपाल फर्काउने नीति नबनाएको उनको भनाइ थियो ।

त्यसमाथि, तत्काल हवाइजहाज चल्न लागे पनि जहाजमा सामाजिक दूरीको सुविद्या नहुने भएकाले अमेरिकाबाट नेपाल फर्किन चाहनेहरुको आफू फर्किँदा नेपाल पुगेर सक्रमित हुन्छु कि भन्ने सोच्नु पर्ने उनको भनाई थियो ।

भूकम्पको जस्तो राहत संकलनका लागि नेपाल सरकारको निर्देशन नरहेकाले राहत संकलन गरी कोरोनाबाट प्रभावित लाई सहयोग गर्ने केही योजना नरहेको उनको भनाई छ ।

कोरोनासँग लड्नका लागि अमेरिकी सरकारले ५० मिलियन अमेरिकी डलर अर्थात ५ अर्ब रुपैयाँ दिने भएको पनि राजदूत कार्कीले जानकारी दिए ।

उनले भने, ‘त्यो बाहेक अन्य सहयोगका लागि अमेरिकी सरकारसँग माग्ने केही योजना नरहेको र आवश्यक परे सहयोग माग्न सकिने अवस्था छ।’

बैशाख २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू