कृतज्ञता ध्यान

हाथ जख्मी है तो पलकों से गुले मंजर उठा,

फूल तेरे है न मेरे, वाग किस का है न पूछ ।

नासिर काजमी एक मित्रका साथ बगैंचामा टहलिँदै थिए। मित्र यताउताका प्रसङ्ग उठाएर केही सोधिरहेका थिए, काजमी चुपचाप रंगीचंगी फूलहरूको सौन्दर्यपान गरिरहेका थिए।

जहाँ ढकमक्क फुलेका फूलहरूले वातावरण मनमोहक बनाएका छन्, जहाँ हावामा सुवास बहकिरहेको छ त्यहाँ मुग्ध हुनु मनासिव हो। कुनै पनि बहानामा प्रकृतिको अनिन्द्य सौन्दर्यलाई नजरअन्दाज गर्नु शोभनीय होइन, कृतज्ञता जाहेर गर्नु उचित हो।

उनी कवि थिए, यही भावमा अनायासै शायरी बन्यो –हात घाइते छन् भने परेलाले फूलका थुँगा सहलाऊ। फूल तिम्रा हुन् कि मेरा, बगैंचा कसको हो यी सवाल नउठाऊ।

सन्त, भक्त र कविहरूकासामुन्ने जे उपलब्ध हुन्छ त्यसप्रति उनीहरूको मनमा धन्यवादको भाव पैदा हुन्छ, उनीहरूले खुलेर कृतज्ञता प्रकट गर्छन्।

कृतज्ञता प्रकट गर्दा मनको उत्साह दुगुना हुन्छ, मनमा ऊर्जा भरिन्छ । मन जति ऊर्जावान् हुन्छ उति उमङ्गयुक्त हुन्छ।

यतिखेर महामारीको मौसम छ। एउटा अदृश्य भाइरसले संसारलाई त्राहित्राहि बनाइदिएको छ। यो भारइसलाई समूल नष्ट गरिहाल्ने रामवाण औषधि वा खोप पत्ता लागिसकेको छैन। विश्व स्वास्थ्य संगठन, आयुर्वेद संस्थानहरू र खोजअनुसन्धाता वैज्ञानिकले एउटै सुझाव सबैलाई दिइरहेका छन्– आफ्नै शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुहोस्।

योग–आयुर्वेद

रोग प्रतिरोधी क्षमता बढाउने सल्लाह मनासिव हो। यो सजिलो पनि छ र दीर्घकालीन रूपमा लाभदायी पनि। किनभने हामीले आफ्नै शरीरको रोग प्रतिरोधी क्षमता बढाउँदा कोरोना भाइरस मात्र होइन, अन्य भाइरस, व्याक्टेरिया र पछि उत्पन्न हुने यस्तै घातक किटाणुको आक्रमणबाट पनि बच्न सक्छौँ।

रोग प्रतिरोधात्मक क्षमता शरीरका अनगिन्ती क्षमतामध्ये एक हो। जस्तो पाचन प्रणालीमा पाचन क्षमता हुन्छ, स्वासप्रश्वास प्रणालीमा त्यही क्षमता हुन्छ। ग्रन्थीहरूमा हार्मोन निसृत गर्ने क्षमता हुन्छ। समग्र शरीर स्वस्थ भयो भने रोग प्रतिरोधात्मक क्षमता स्वतः बढोत्तरी हुन्छ।

अतः शरीर, स्वस्थ, चुस्त र फूर्तिलो बनाइराख्न नियमित योगासनहरूको अभ्यास, प्रातः भ्रमण, करेसावारीमा काम गर्नु, खाना बनाउनु, लुगा धुनु वा सरसफाइ इत्यादि काममा समय, रुचि र अनुकूलता हेरेर आफूलाई व्यस्त राखिरहनु सर्वोत्तम उपाय हो।

एउटा कहावत छ, ब्रह्माले मानिसको सृष्टि गर्दा आफ्नो शरीर हेरेर मानिस दंग भयो र ब्रह्मालाई सोध्यो, ‘प्रभु’ यो शरीरलाई कसरी सञ्चालन गर्ने हो?, ब्रह्माले मुसुक्क हाँस्दै भने, ‘शरीरलाई हर्दम सक्रिय राख्नु, मनलाई सकेसम्म स्थिर राख्नु।’

शरीर सक्रिय हुँदा स्वस्थ हुन्छ, मन स्थिर हुँदा, शान्त रहँदा स्वस्थ हुन्छ । शारीरिक क्रियाकलाप गरेर शरीर स्वस्थ राख्न सकिन्छ, ध्यानको अभ्यास गरेर मनलाई स्थिर र शान्त राख्न सकिन्छ ।

यो भाइरसले सबभन्दा पहिला स्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुँदा यो प्रणालीलाई बलियो बनाउनु अत्यावश्यक हुन्छ। खुला हावा आउने स्थानमा बसेरनियमित रूपले प्राणायामको अभ्यास गर्दा स्वासप्रश्वास प्रणाली सबल हुन्छ। चिसोको एलर्जी, दम, रुघाखोकी, पिनास जस्ता स्वासप्रश्वाससँग जोडिएका रोग निको हुन्छन्।

जडिबुटी चिया पिउँदा पनि शरीरमा रोग प्रतिरोधक क्षमता बढ्छ। दिनहुँ तुलसी, गुर्जो, रोजमेरी, क्यामोमाइल जस्ता जडिबुटीको चिया बनाई पिउनु उत्तम विकल्प हो।

बेसारमा एन्टिव्याक्टेरियल गुण हुने तथ्य जगजाहेर छ। मसला चियाले शरीरमा पाचन रस पैदा गर्न सहयोग गर्नुका साथै खाना स्वादिष्ट बनाउने हुँदा आवश्यक हार्मोनहरू निसृत गर्छ। नेपाल र भारतका आयुर्वेद संस्थानहरूले प्रतिरोधी क्षमता बढाउन यी सुझावहरूदिएका छन्।

हरेक बिहान स्नानपछि अनुकूलता अनुसार ३० मिनेटदेखि एक घण्टासम्म सूर्य नमस्कार लगायत योगासन गर्ने, पन्ध्र या बीस मिनेटसम्म अनुलोमविलोम, कपालभाती, भस्त्रिका, भ्रामरी प्राणायाम गरेपछि पूरक, रेचक, कुम्भक गर्दै महाबन्धको अभ्यास गर्ने र आधा घण्टा ध्यानको अभ्यास गर्ने हो भने पूरा दिन सकारात्मक सोचविचार मनमा पैदा हुन्छन्, मन आनन्द र अहोभावले भरिन्छ।

योगासन र प्राणायामले शरीरमा संकलित भएका विजातीय पदार्थ बाहिर निकालिदिन्छन्, एकाग्रता र ध्यानको अभ्यासले मनमा खेलिरहने विचारको गति थामिन्छ या मन्द हुन्छ र मन हलुका हुन थाल्छ।

कृतज्ञता भनेको धन्यवादको भाव हो । परिवारप्रति, समाजप्रति, अस्तित्त्वप्रति धन्यवादको भाव पलाउनासाथ मनमा नजानिँदो रुपान्तरण आउन थाल्छ । बोझिलो मन हलुका हुन्छ, निधारमा तनावका रेखा मेटिन थाल्छन्, मानिसले लामो स्वास लिन्छ, सारा शरीर र मन एकसाथ शिथिल हुन्छ, रिल्याक्स हुन्छ । मनलाई अपार विश्राम पुग्छ ।

स्वास्थ्य स्वाभाविक प्रकृति हो, रोग आगन्तुक हुन्। आयुर्वेदको प्रमुख सिद्धान्तले भन्छ – विजातीय पदार्थलाई निस्कासन गर्नु निरोग रहनका लागि सबभन्दा कारगर विधि हो।

आरोग्यका यी विधि हजारौँ वर्ष अघिदेखि अभ्यासद्वारा प्रमाणित विधि हुन् । यी विधिको नियमित प्रयोगले रोग प्रतिरोधक क्षमता बढ्ने मात्र होइन, मानिसको व्यक्तित्त्वका सारा सम्भावना खुल्न थाल्छन्।

यी तमाम साधनाले शरीर र मनमा पार्ने प्रभाव मानिस कति सकारात्मक, आशावादी र प्रेमपूर्ण छ त्यसमा भर पर्छ।

होमियोपेथी डाक्टर शुद्ध एस रौनियार आफ्नो अनुभवका आधारमा भन्छन्, ‘प्रशन्न रहने हो भने योग–व्यायाम केही गर्नु पर्दैन, प्रशन्न नरहने हो भने जति योग–व्यायाम गरे पनि अपेक्षित लाभ हुँदैन।’

जो व्यक्ति सकारात्मक सोचविचार गर्छ, आशावादी छ र सबैप्रति प्रेमपूर्ण छ ऊ प्रशन्न रहन्छ। नकारात्मकता, निराशावादी सोच र मनमा द्वेष पालेर बस्ने मानिसको मन बिरलै प्रशन्न रहन सक्छ।

सकारात्मक या आशावादी हुनु, सबैप्रति प्रेमपूर्ण हुनु कसरी त?

कृतज्ञता ध्यानले मानिसलाई हर्दम सकारात्मक, आशावादी र प्रेमपूर्ण रहन मद्दत गर्छ।

कृतज्ञता ध्यान

कृतज्ञता भनेको धन्यवादको भाव हो । परिवारप्रति, समाजप्रति, अस्तित्त्वप्रति धन्यवादको भाव पलाउनासाथ मनमा नजानिँदो रुपान्तरण आउन थाल्छ । बोझिलो मन हलुका हुन्छ, निधारमा तनावका रेखा मेटिन थाल्छन्, मानिसले लामो स्वास लिन्छ, सारा शरीर र मन एकसाथ शिथिल हुन्छ, रिल्याक्स हुन्छ । मनलाई अपार विश्राम पुग्छ ।

कृतकृत्य हुनु पर्ने, धन्यधन्य हुनु पर्ने हजार–हजार, लाख–लाख कारण हाम्रै वरिपरि हर्दम विद्यमान छन् । तर हाम्रो मन व्यर्थका यादहरूको चिहान उधिनेर बस्ने बानी परेको छ । भविष्यको कल्पनामा पनि मनले उत्तिकै ऊर्जा क्षय गर्छ । मनमा रडाको मच्चाउने विगत या आगतकाविचारहरूको धङधङी केही छिनलाई थाती राखेर वरिपरि हेर्न सक्यौं भने ती हजार, लाख कारणहरू देख्न समय लाग्दैन ।

पृथ्वी बाहिर लाखौँ किलोमिटर परसम्म अक्सिजन छैन । यो प्राणवायु हामी सबैले यथेष्ट लिन पाएका छौँ । यसका निम्ति हामी अस्तित्त्वप्रति जति नै कृतज्ञता जाहेर गरे पनि कम हुन्छ ।

हामीलाई जति तापक्रम उपयुक्त हो त्यति नै यो ग्रहमा उपलब्ध छ । यस्तो अनुकूलता अन्यत्र कतै फेला परेको छैन । यसका निम्ति अस्तित्त्वप्रति जति नै कृतज्ञता जाहेर गरे पनि पुग्दैन ।

पृथ्वीले हजारौँ प्रकारका अन्न, फलफूल र औषधीय जडिबुटी उत्पादन गरिरहेकै छ । कुनै जीवको हिंसा नगरे पनि मानिसलाई स्वादिष्ट र पोषिलो आहार उपलब्ध छ । यसका निम्ति पृथ्वीप्रति जति अहोभाव व्यक्त गरे पनि कम हुन्छ ।

कृतज्ञता मानिसको मनको सबैभन्दा स्वस्थकर भाव हो । कृतज्ञतापूर्ण मनमा आनन्द तत्क्षण दोब्बर हुन्छ । हामीसँग जे छ त्यसप्रति कृतज्ञ हुनासाथ जे छैन त्यो पनि स्वतः हामीतिर आकर्षित हुन्छ ।

मनमा धन्यवादको भाव पैदा हुनु पहिलो चरण हो, कृतज्ञता प्रकट गर्नु दोस्रो चरण हो । तेस्रो चरण के हो? तेस्रो चरण आनन्दै–आनन्द हो, आरोग्यै–आरोग्य हो । कृतज्ञता ध्यानको अभ्यास गर्ने हरेक साधक स्वयंले यो अनुभूति गर्नेछन् ।

कृतज्ञता ध्यानमा अभ्यस्त भएपछि हरेक स–साना खुशीहरूप्रति अहोभाव पैदा हुन थाल्छ । सन्तहरू एक वृक्षमा हजारौँ हरिया पात देखेर नाच्न थाल्थे । चराको चिरबिर सुन्दा मन्त्रमुग्ध हुन्थे । हाम्रो देशमा महामारीले हताहती निम्त्याएको छैन ।

यसको एउटा कारण हाम्रो प्रकृतिसँगको निकट सम्बन्ध हो । ‘यहाँ ढुंगाढुंगामा देवताको बास छ, यहाँ थुम्काथुम्कामा आफ्नो पनको आभास छ ।’

यो आस्था कृतज्ञता भावकै अभिव्यक्ति हो । यो आस्था विस्तार गरौँ, निरोग रहौँ । सबैको मंगल होस् ।

बैशाख २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्