पुलित्जर पुरस्कार २०२०

अश्वेत लेखकको कीर्तिमानी दोस्रो पुलित्जर पुस्कारदेखि कश्मीर फोटो पत्रकारसम्म

अमेरिकी लेखक कोल्सन ह्वाइटहेड आख्यान (फिक्सन) तर्फ दोस्रोपटक पुलित्जर पुरस्कार जित्ने चौथो लेखक बनेका छन् ।

अफ्रिकन–अमेरिकन लेखक ह्वाइटहेडले द निकल बोइजका लागि यो वर्ष (सन् २०२०) को पुलित्जरमा फिक्सन तर्फको पुरस्कार जितेका हुन् । फ्लोरिडाको बालसुधार विद्यालयमा अश्वेत बालकमाथि हुने गरेको दुर्व्यवहारको कथा उनले द निकल बोइजमा प्रस्तुत गरेका छन् ।

न्यूयोर्कका ५० वर्षे ह्वाइटहेडले सन् २०१७ मा अख्यान तर्फ नै पुलित्जर पुरस्कार जितेका थिए । उनले त्यसबेला अण्डरग्राउण्ड रेलरोड पुस्तकका लागि पुस्कार जितेका थिए । यसअघि बूथ तार्किङ्गटन, विलियम फोक्नर र जोन अपडिकले आख्यान तर्फ दुईपटक पुलित्जर जितेका थिए ।

कोरोना भाइरसको महामारीका कारण यो वर्षको पुलित्जर पुरस्कारको घोषणा केही हप्तापछि धकेलिएको हो । सोमबार पुलित्जरकी व्यवस्थापक डाना केनेडीले आफ्नो घरको लिभिङ्ग रुमबाट यो वर्षको पुरस्कार विजेताको घोषणा गरेकी हुन् ।

पहिलो पुलित्जर पुरस्कारको घोषणा सन् १९१७ मा स्पेनिस फ्लूको महामारी भन्दा एक वर्ष पहिले घोषणा भएको कुरा उनले त्यसक्रममा बताइन्।

अमेरिका कर्मथलो बनाएका पत्रकार तथा लेखकका लागि पुलित्जर सबैभन्दा ठूलो सम्मानका रुपमा रहेको छ ।

यो वर्ष पत्रकारिता तर्फ द न्यूयोर्क टाइम्सले सबैभन्दा धेरै तीनवटा विधामा पुरस्कार जितेको छ । न्यूयोर्क सिटीको कर उद्योगमाथि गरेको खोजमुलक रिपोर्टिङ्गका लागि न्यूयोर्क टाइम्सका ब्रायन रोजेन्थलले पुलित्जर जितेका छन् ।

ब्रेकिङ्ग न्यूज रिपोर्टिङ्ग फर्त केन्टुकीको द कुरियर–जर्नलले राज्यका गभर्नरले अन्तिम समयमा गर्ने गरेका विवादास्पद फैसला सम्बन्धी खबरका लागि पुलित्जर जितेको छ ।

कोल्सन ह्वाइटहेड

एक्सप्लानेटरी रिपोर्टिङ्ग तर्फको पुस्कार द वासिङ्गटन पोस्टले जितेको छ । यस्तै स्थानीय रिपोर्टिङ्गका लागि द बाल्टिमोर सन तथा राष्ट्रिय रिर्पोटिङ्गका लागि प्रोपब्लिकका टी. क्रिष्टियन मिलर, मेगन रोज तथा रोबर्ट फातुची र द सियाटल टाइम्सका डोमिनिक गेट्स, स्टिभ मिलेटिच, माइक बाकर र लेविस काम्बाले पुलित्जर जितेका छन् ।

अन्तर्राष्ट्रिय रिपोर्टिङ्ग तर्फ रुसमा भ्लादिमिर पुटिनको शासनबाट उत्पन्न जोखिम सम्बन्धमा गरिएका स्टोरीका लागि द न्यूयोर्क टाइम्सले पुलित्जर जितेको छ । यस्तै फिचर लेखन तर्फ द न्यूयोर्ककरका बेन ताउबले पुरस्कार जितेका छन् ।

कमेन्ट्रीमा द न्यूयोर्क टाइम्सकी निकोल हाना–जोन्स, क्रिटिसिज्ममा लस एन्जलस टाइम्सका क्रिष्टोफर नाइट, एडिटोरियल लेखनमा टेक्सासको प्यालेस्टाइन हेराल्ड प्रेसका सम्पादक जेफरी ग्यारेट तथा एडिटोलियर कार्टुनिङ्गमा द न्यूयोर्करका कन्ट्रिब्युटर ब्यारी ब्लिटले पुलित्जर पुरस्कार जितेका छ्न ।

यसैगरी ब्रेकिङ्ग न्यूज फोटोग्राफीमा समाचार संस्था रोयटर्सको टोफोग्राफी टिम र फिचर फोटोग्राफीमा समाचार संस्था एसोसिएट प्रेस (एपी) का चेन्नी आनन्द, मुख्तार खान र दार यसिनले पुलित्जर पुरस्कार जितेका छन् । फिचर फोटोग्राफीमा पुरस्कार जित्ने तीनैजना कश्मीरका फोटो पत्रकार हुन् ।

अडियो रिपोर्टिङ तर्फ दिस अमेरिकन लाइफले लस एन्जलस टाइम्सकी मोली ओ’टूल र भाइर न्यूजकी प्रिल्यान्सर एमिली ग्रिन तथा पब्लिक सर्भिस तर्फ अलास्काको एङ्करेज डेली न्यूजले पुलित्जर जितेको छ । एङ्करेजले प्रोपब्लिकको सहयोगमा अलास्काको गाउँमा प्रहरीको सुरक्षा नरहेको सम्बन्धमा गरेको सिरिज रिपोर्टिङ्गका लागि पुलित्जर दिइएको हो ।

यस्तै ड्रामा तर्फ अ स्ट्रेज लूपका लागि माइकल आर, ज्याक्सन, हिस्ट्रीका तर्फ स्वीट टेस्ट अफ लिबर्टीः अ ट्रू स्टोरी अफ सेल्भरी एण्ड रेस्टिच्युसन इन अमेरिकाका लागि डब्लु. कालेब म्याकडेनियल, बायोग्राफी तर्फ सोन्ट्यागः हर लाइफ एण्ड वार्कका लागि बेन्जामिन मुसर, कविता तर्फ द ट्रेडिसनका लागि जेरिको ब्राउन र संगीत तर्फ द सेन्ट्रल पार्क फाइभ ओप्राका लागि एन्थोनी डेविसले पुलित्जर जितेका छन् ।

यसैगरी जनरल ननफिक्सन तर्फ द अनडाइङ्गः पेन, भल्नराबिलिटी, मोर्टालिटी, मेडिसिन, आर्ट, टाइम, ड्रिम्स, डाटा, एक्जोक्सन, क्यान्सर एण्ड केयरका लागि एनी बोयर र द इन्ड अफ द मिथः फ्रम द फ्रन्टियर टू द बोर्डर वाल इन द माइन्ड अफ अमेरिकाका लागि ग्रेग ग्रान्डिनले यो वर्षको पुलित्जर पुरस्कार जितेका छन् ।

यो वर्ष अफ्रिकन अमेरिकनमाथि हुने लिन्चिङ्गका सम्बन्धमा गरेको उत्कृष्ट रिपोर्टिङ्गका लागि आइडा बी वेल्सलाई पुलित्जरले विशेष सम्मान गरेको छ । उनलाई विशेष प्रशस्ति पत्र प्रदान गरिने भएको हो ।

बैशाख २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्