हाम्रो शरीरले कसरी कोरोना भाइरससँग जुध्छ?

कुनै पनि संक्रमणविरुद्ध शरीरको प्रतिरक्षात्मक संरचना (इम्यून सिस्टम) ले कसरी काम गर्छ? कथा बिल्कुलै मानवले संसारसमरमा शत्रुसँग गर्ने युद्धजस्तै छ। मानवीय युद्धझैँ संक्रमण विरुद्धको युद्धमा सेनापति, सैनिक, आक्रमण शैली, सहायक सैन्य शक्ति (ब्याकफोर्स) का रुपमा अग्र मोर्चाका (फ्रन्टियर) सैनिकलाई स्थानापन्न (कभर) गर्ने सैन्य दस्ता, छलयुद्ध गर्न सिपालु गुरिल्ला सैनिकका साथै फरकफरक सैनिकले प्रयोग गर्ने विभिन्न अस्त्रशस्त्र भण्डारण हुन्छ, मानव शरीरमा। यी सबैको परस्पर संयोजनले संक्रमणरूपी विषाणुको (भाइरस) शत्रु सेनासँग शरीररूपी किल्लाभित्र भीषण युद्ध हुन्छ।

तर अफसोच, आधुनिक एवं पश्चिमा ज्ञानको कमजोर आलोकमा तपाईँ आफूलाई एक्लो ठान्नु हुन्छ। वास्तवमा तपाईँभित्र अर्बौँ जीवन छन्। हिन्दू धर्मशास्त्रले शरीरलाइ ‘पुर’को संज्ञा प्रदान गरेका छन्। पुरको अर्को अर्थ शहर हुन्छ। भनाइको आशय के हो भने तपाईँ एक्लै होइन, तपाईँभित्र समृद्ध शहर नै विद्यमान छ, जसको ‘डेन्सिटी’ (घनत्व) तपाईको कल्पनाभन्दा बाहिर छ।

अब युद्धको परिणाम सबै युद्धमा एक जस्तो हुँदैन, कहिलेकाहिँ आफ्नो सानो गल्ती वा कमजोरीले जितेको युद्ध पनि हारिन्छ। कोरोना संक्रमण विरुद्धको युद्धमा जीत शरीरकै हुन्छ किनकि शरीरको क्रमिक विकासरूपी (सिस्टम) सुरक्षा चक्र कोरोना भाइरसभन्दा अति नै स्वस्फूर्त ,सचेत एवं शक्तिशाली छ।

आजसम्म संसारभरि संक्रमणलाई जितेका ११ लाखभन्दा बढी व्यक्ति यसका ज्वलन्त उदाहरण हुन्। हो, आफ्नै कमजोरी वा गल्तीले (पहिलादेखि शरीरमा रहेका यावत रोग, भय त्रास, हताशा, निराशा र संक्रमण लागेपछि गरिएका आत्मघाती गतिविधि) गर्दा करिब अढाइ लाखले  कोरोनासँगको युद्ध हार्नु परेको छ। मानवीय बुद्धि, समझ, धारणा एवं विचारका दृष्टिकोणले यो दुखद घटना भए पनि यस विषयक अनेकौँ चर्चा चिन्तन र लेखाजोखा गरिए पनि प्रकृति भने हार्नेका लागि संवेदना व्यक्त गर्नमा कुनै रूचि नराखेर विजेताहरुको वंश परम्परा वृद्धि गर्ने अभियानमा केन्द्रित हुन्छ। प्रकृतिको यसै शाश्वत गुणधर्मलाई आधुनिक पश्चिमा विज्ञानले अनेक थरीका महिमामन्डित शब्दसँग (सरभाइभल अफ द फिटेस्ट) सरलीकृत गर्ने चेष्टामा झनै दुरूह बनाएको छ।

संसारभरी कोरोनाकै चर्चा व्याप्त छ। दस-बीस-पचास अथवा लाख वर्षकै इतिहासमा पृथ्वीको प्राणीश्रेष्ठ मानिने मानव पहिलो पटक समग्ररूपेण दूलो पसेको छ। मानवले यसभन्दा पहिला पनि अनेको त्रासदी नभोगेको होइन। अनेकौँ महामारी आए, भोकमरी लागे, नरपिशाच आक्रांता देखा परे, भीषण युद्ध विभीषिका भए तर योभन्दा पहिला लिखित वा मौखिक इतिहासमै मानिस यसरी आफ्नो गुँडभित्र थुनिएर बसेको कुनै दस्तावेज (रेकर्ड) छैन। यस हिसाबमा हाम्रो पुस्ता विश्वमा अहिलेसम्म जन्मिएका १०५ अर्ब मानिसभन्दा सौभाग्यशाली भएको मान्नुपर्छ। उसले यो अनुभव पनि आत्मसात गर्ने अवसर पायो।

कोरोना हौवा होइन। अति प्राणघातक पनि होइन। लाखौँ मानिस यसबाट संक्रमित भइ निको भएका छन् कुनै औषधि प्रयोग नगरी नै। भय र त्रासभन्दा ठूलो शत्रु अरु कोही होइन, कोरोना पनि होइन। तपाईँसँग प्रकृति प्रदत्त कोरोना संक्रमण /आक्रमणसँग जुध्ने क्षमता छ। सम्यक जीवनयापन, उच्च मनोबल, सकारात्मक सोचले आफ्नो सेनापति (इम्यून सिस्टम) लाइ बलियो बनाई राख्नुस्।

कोरोनाको भय अथवा राज्यको गलत नीतिका कारण घरमा थुनिएर रहेका पाठकहरुसँग आज मानव शरीरको सामर्थ्य र व्यूहचक्र विषयक चर्चा गर्न अभिप्रेरित भएको छु। आशा छ- यसले तपाईँलाई मनोरञ्जन दिनुका साथै आफ्नो शरीररूपी संरचनाको सामर्थ्य बोध गराएर केही मात्रामा भए पनि भयबाट विमुख बनाई आशाको नवसञ्चार गर्नेछ।

जस्तो कि तपाईँलाई थाहै छ कोरोना कुनै शक्तिशाली भाइरस होइन। यूरोप र अमेरिकाबाहेक यसको मृत्युदर (मोर्टालिटी) असामान्य होइन। यूरोप, अमेरिकामा पनि लाखो मानिसले कोरोनासँगको युद्धमा विजय पाएका छन्। आउनुस् हेरौँ- कोरोना संक्रमण विरुद्ध हाम्रो प्रतिरक्षा प्रणाली (‘इम्यून सिस्टम’)ले कसरी काम गर्छ?

संक्रमणका अधिकांश मामलामा कोरोनाका भाइरस शरीरमा प्रवेश गरेर ४-५ दिनसम्म घाँटीमा रहन्छन्। यसपछि भाइरस फोक्सोतिरको यात्रामा लाग्छन्। फोक्सो नै यसको ताण्डव मच्चाउने संग्रामभूमि हो। फोक्सोको कुनै एउटा कोशिकामा प्रवेश गरेर यसले कोशिकाको पुनरुत्पादन (रिप्रोडक्सन) प्रविधिबाट नै आफ्नो प्रतिकृति ( रेप्लिकेशन) निर्माण गर्न थाल्छ। आफूजस्तै आफ्ना प्रतिलिपि (कपी) बनाउन थाल्छ। स्मरण रहोस्- घाँटीमा रहुन्जेल यसले आफ्नो कपी बनाउने अवसर पाएको हुन्न। यसले आफ्नो कपी बनाउने मौका फोक्सोमा प्रवेश गरेपछि मात्रै पाउँछ। अहिलेसम्म प्रमाणित त भएको छैन कि घाँटीबाट यसलाई सोझै पेटमा पठाउन सकियो भने त्यहाँ रहेका विभिन्न एसिडले यसलाई सखाप बनाउन सक्छन्। तर संक्रमणबाट जोगिनका लागि तातो पानी, चिया आदि सेवन गर्ने जुन ‘एड्भाइजरी’ जारी भएको छ त्यसले यस सम्भावनाबारे संकेत त दिएको छ।

फोक्सोमा बासको प्रबन्ध गरेपछि यसले भावी युद्धको तयारीका लागि द्रुत गतिले आफ्नो जनसंख्या वृद्धिको अभियान प्रारम्भ गर्छ। सफलतापूर्वक आफ्ना धेरै कपी बनाएपछि मात्रै यसले शरीरको अन्य अंगका कोशिकामा आक्रमण गर्ने रणनीति लिएको हुन्छ। यो पनि त आखिर प्रकृतिकै ‘प्रोडक्शन’ हो। आफ्नो वंशवृद्धि, सुरक्षा, शत्रुदमन, बचाव र प्रतिकार एवं आक्रमण गर्ने कौशल र कला यसमा पनि ‘अटो इनबिल्ट’ हुन्छ, प्रकृतिका अन्य सबै संरचनाहरु जस्तै।  फोक्सोमा जनसंख्या वृद्धि भइसकेपछि सबैभन्दा पहिला यसले फोक्सोका ‘एपिथेलियल’ कोशिकामाथि युद्धको शंखनाद गर्छ। युद्ध आरम्भ भएपछि पनि यसले सैन्य विस्तार गर्ने अर्थात प्रतिकृति निर्माण गर्ने कार्यमा कुनै किसिमको कमजोरी आउन दिँदैन। रक्तबीजको कथा स्मरण छ नि तपाईँहरुलाई! रक्तको प्रत्येक थोपाले रिपुको दुरुस्त अर्को सक्कल वा नक्कल तयार हुन्थ्यो। यो पनि रक्तबीजकै गुणले भरिएको छ। रक्तबीजलाई मार्न देवीरूपी शक्तिले मोर्चामा आउनु परेजस्तै अक्सफोर्ड विश्वविद्यालयका सराह गिल्बर्टले ChAdox1nCov भ्याक्सीनरूपी आयुधले रक्तबीजको संहार गर्ने योजना बनाएकी छन्। शक्तिको योजना क्रियान्वयन गर्न ‘देवी भागवत’ को योगिनी झै इंग्लैंडकै एलिसा ग्रानाटो नवनिर्मित आयुधको परीक्षणका लागि प्रस्तुत भएकी छन्। रक्तबीजरूपी भाइरसको बढ्दो जनसंख्या र प्रहारले फोक्सोको कार्य प्रणाली नै छिन्नभिन्न गरेर श्वास फेर्न गाह्रो बनाई दिन्छ । विस्तारै अन्य अंगमा पनि यसको प्रहारले प्रतिकूल प्रभाव पर्न थाल्छ। अंग ‘फेलियर’ हुने अवस्था नै आउँछ।

माथि मैले भनेँ, भाइरससँग आफ्नो सुरक्षा एवं आक्रमणको ‘अटो इनबिल्ट सिस्टम’ हुन्छ। तपाईँ र मसँग पनि यो खुबी छ। शरीरमा यसरी भाइरसरूपी शत्रुले प्रवेश गर्नासाथ शरीररूपी किल्लाका सुरक्षा जासुसगण मार्फत सेनापतिलाई सन्देश पुग्छ। शरीरको ‘इम्यून सिस्टम’ नै प्रधान सेनापति हो। यस सेनापतिसँग सबै खाले शत्रुको बहीखाता हुन्छ। कुन शत्रुमाथि कुन अस्त्रले प्रहार गरी शत्रु दमन गर्न सकिन्छ ‘इम्यून सिस्टम’सँग यसको संज्ञान हुन्छ। प्रधान सेनापतिले तुरुन्तै ‘एन्टीबडी’ नामक सेनादस्ता तयार गरी शत्रु दमन हेतु ‘मार्च’ गराउँछ।
‘इम्यून सिस्टम’ नामक प्रधान सेनापति सिफारिस वा लेनदेनले यस पदमा विराजित भएको होइन। हजारौँ वर्षको संघर्ष, अनुभव, योग्यता र स्मरण शक्तिले प्रधान पदमा नियुक्त भएको हो।

हजारौँ वर्षको अनुभवले उसलाई थाहा छ कुन शत्रुका विरुद्ध कस्तो खाले ‘एंटीबड़ी’ सेना गठन गर्नुपर्छ। शत्रु यदि पूर्व परिचित छ भने पूर्वमा प्रयुक्त भएका ‘एंटीबडी’ सैनिकलाई पुनः सेवामा नियुक्त गरी मोर्चामा पठाउँछ। तर यदि शत्रु नयाँ छ भने प्रधान सेनापतिले ‘हिट एन्ड ट्रायल’ सेना गठन गर्छ। कोरोना संक्रमण शरीरका लागि नयाँ शत्रु हो, सेनापतिसँग यस शत्रुलाइ पराजित गरेको वा यससंग संघर्ष गरेको पूर्व रणनीति वा स्मृति छैन।

तसर्थ सेनापतिले आफ्नो सबैभन्दा विश्वस्त सैनिक ‘इम्मुनोग्लोबुलिन जी’ (immunoglobulin G -‘आइजीजी’ ) लाइ शत्रु दमन हेतु आदेश दिन्छ। ‘आइजीजी’ एक प्रकारको ‘एंटीबडी’ हो। यसलाई शरीरको प्रमुख सैनिक अथवा ‘एंटीबडी’ भने हुन्छ। मानिस शरीरमा भएका ‘एंटीबडी’ मध्ये झण्डै ७५ प्रतिशत मात्रा यस्कै रहेको हुन्छ। यसको निवास प्लाज्माका ‘बी’ कोशिका (B cell) भित्र हुन्छ अर्थात यिनको उत्पादन र निष्काशन ‘बी’ कोशिकाबाट हुन्छ। शरीरमा संक्रमणरूपी कुनै पनि बाहिरी आक्रमण हुँदा लड्ने भिड्ने र विजयपताका गाड्ने जिम्मा यिनकै काँधमा हुन्छ। ‘आइजीजी’ सैनिक (एंटीबडी) ले रिपुदलमाथि आक्रमण गरी सफाया अभियान प्रारम्भ गर्छन्। तर सेनापति अति चनाखो एवं जिम्मेदार छ।

भाइरससँग आफ्नो सुरक्षा एवं आक्रमणको ‘अटो इनबिल्ट सिस्टम’ हुन्छ। तपाईँ र मसँग पनि यो खुबी छ। शरीरमा यसरी भाइरसरूपी शत्रुले प्रवेश गर्नासाथ शरीररूपी किल्लाका सुरक्षा जासुसगण मार्फत सेनापतिलाई सन्देश पुग्छ। शरीरको ‘इम्यून सिस्टम’ नै प्रधान सेनापति हो।

उसलाई थाहा छ- शत्रु नयाँ हो, अग्र मोर्चाका सैनिकलाई सहायताको आवश्यकता पर्नसक्छ। यो अभिभारा वहन गर्न सेनापतिले ‘इम्मुनोग्लोबुलिन एम’ (immunoglobulin M) नामक ‘एंटीबडी’ सैनिक ‘ब्याकफोर्स’का रुपमा नियुक्त गर्छ। शरीरमा पहिलो ‘एन्टीजेन’ निर्माण गर्ने कार्य यिनै ‘ब्याकफोर्स’का ‘एंटीबडी’ (आइजीएम) ले गर्छन्।

‘आइजीजीएम’ सैनिकले आक्रमण गर्छन्। दुबैतिरका सैनिकमा भीषण युद्ध प्रारम्भ हुन्छ। ‘आइजीजी’ सैनिक भाइरसको संहार गर्नका साथै शरीरका अन्य कोशिकालाई संरक्षण दिँदै तिनलाई जोगाउने प्रयास पनि गर्छन्। शत्रु दलको भय एवं युद्धको विभीषिकाले कोशिकाको आत्महत्या गर्ने सम्भावना हुन्छ । शत्रुदल अझै सशक्त छ, हुन त उसको दलका सैनिकको भीषण संहार भइसकेको छ। दुबै पक्षको रण संग्रामले युद्धभूमि तातेको छ, भनाइको अर्थ शरीरमा ज्वरो आएको छ। आधुनिक चिकित्सा शास्त्र मान्दैन तर आयुर्वेद भन्छ, धेरै किसिमका ज्वरो आउनुको अर्थ शरीरको प्रतिरक्षात्मक प्रणालीले आएको विकार विरुद्ध प्रतिकार गरिरहेको छ। ज्वरो आउने बित्तिकै औषधि सेवन गर्नु आवश्यक छैन।

युद्धमा वीर गति पाएका भाइरस सेनाको शवले पनि आफ्नो दललाई पर्याप्त सहायता दिइरहेको हुन्छ। फोक्सोमा टाँसिएर यी शवले सास फेर्न गाह्रो बनाएर जीवित भाइरस सैनिकको मनोबल बढाइरहेका हुन्छन्। संक्रमित व्यक्तिको मनोबल तथा शारीरिक शक्ति क्षीण हुँदै गइरहेको हुन्छ। तर शरीरको सेनापतिले विचलित नभई रणनीति बनाउने र क्रियान्वयन गर्ने कार्य गरिरहेको हुन्छ।

अब सेनापतिले स्थितिको गम्भीरता मूल्याङ्कन गरी आफ्ना गुरिल्ला सैन्य दस्तालाई आक्रमणमा पठाउँछ। यी गुरिल्ला सैनिक तीन प्रकारका हुन्छन्। पहिलो गुरिल्ला सैनिकको पहिचान ‘बी’ कोशिकाका (B cells ) रूपमा हुन्छ। यिनलाई ‘बी लिम्फोसाइट’ (B lymphocytes) पनि भनिन्छ। ‘सुपर कप’ जस्तै यिनलाई युद्ध आक्रमण र सुरक्षाबारे सबै कुरा थाहा हुन्छ। अर्को गुरिल्ला सैनिक ‘टी’ कोशिका (T cells )हो। यसले सबै खाले सैनिकलाइ मद्दत गर्छ। यसैगरी तेस्रो गुरिल्ला सैनिकको पहिचान प्राकृतिक मारक कोशिका (Natural Killer cells – NK cells) का रूपमा हुन्छ। ‘इम्यून सिस्टम’मा यिनलाई ‘large granular lymphocytes -LGL’ का रुपमा चिनिन्छ। यिनलाई आत्मघाती सैनिकका रुपमा वर्णित गरिन्छ। यिनको मारक क्षमताले शत्रु त्राहिमाम त्राहिमाम गर्न बाध्य हुन्छ। युद्ध जति लम्बिँदै जान्छ रगतमा ‘बी’, ‘टी’ र ‘एनके’ कोशिकाको मात्रा उति नै बढ्दै जान्छ।

युद्धमा जीत शरीरकै हुनु निश्चित छ। हजारौँ वर्षदेखि यसै सैन्य शक्तिको बलमा मानिस अनेको किसिमका ज्ञात अज्ञात रोग, विकार र संक्रमणबाट सुरक्षित हुँदै आएको हो। आधुनिक चिकित्सा पद्धतिको विकास भएको कति नै समय भएको छ? अन्य प्रकारका रोग अथवा संक्रमणका लागि पूर्ण रूपमा सत्य नभए पनि भाइरस संक्रमण विरुद्धका खोपले सेनापतिको शक्ति बढाउने ( इम्यून पावर बुस्ट गर्ने) बाहेक अर्को काम गर्दैन। अहिले बनेका अथवा बनिरहेका तमाम भ्याक्सिन पनि वास्तवमा नयाँ प्रकारको भाइरस मात्रै हुन्। सजिलोका लागि के बुझौँ भने वैज्ञानिकहरुले कोरोनाजस्तै देखिने कोरोनाभन्दा कमजोर भाइरस बनाएर पहिला ‘इम्यून सिस्टम’ लाई यसरी बनाइएको कमजोर भाइरससँग लडन प्रशिक्षण दिनु नै भ्याक्सिनको कीमिया हो। बनाइएको भ्याक्सिन कमजोर भाइरस हो, शरीरको ‘इम्यून सिस्टम’ले यसलाई सजिलै सखाप बनाउँछ। ‘ट्रायल’ खोप दिएका मानिसको ‘इम्यून सिस्टम’ले वैज्ञानिकबाट निर्मित भाइरस (भ्याक्सिन) लाइ १५ दिनभित्र नै निमिटयान्न बनाउँछ। अब यिनै ‘ट्रायल’ खोप दिएका मानिसमा यसपछि असली कोरोना भाइरस पठाइन्छ। दुबै भाइरसको बाहिरी संरचना दुरुस्त उस्तै छ। ‘इम्यून सिस्टम’सँग पहिला यस्तै भाइरससँग लडेर विजय पाएको ‘मेमोरी’ सञ्चित छ। अब उसले यसका लागि ‘हिट एन्ड ट्रायल’को परीक्षण गरिरहनु पर्दैन। पूर्वको स्मृतिले ‘इम्यून सिस्टम’ले सोझै विजयी हुने आक्रमण गर्छ।

भ्याक्सिनको काम हनुमानलाई जामवन्तले उनको बलको स्मरण गराउनु जस्तै हो। तर एउटा कुरा बिर्सनु हुन्न, बल भएको मानिसलाई मात्रै उसको बल स्मरण गराउन सकिन्छ जो कोहीलाई स्मरण गराउनुको कुनै अर्थ हुन्न्न। वैज्ञानिकद्वारा यसरी बनाइएको भाइरस (भ्याक्सिन) लाइ ‘वीकंड रिकम्बीनैंट भाइरस’ (weakened recombinant virus)भनिन्छ। यसले ‘इम्यून सिस्टम’लाई उत्प्रेरित गरी ‘एंटीबड़ी’ बनाउने र त्यसको जानकारी सुरक्षित गरी फेरि असली भाइरसका विरुद्ध प्रयोग गर्ने जामवंतगिरीलाई ‘मेमोरी लास्ट सेल’ (memory last cell ) प्रक्रिया भनिन्छ।
कोरोना संक्रमणमा व्यक्तिको मृत्यु हुनुको कारण ‘इम्यून’ रूपी सेनापति युद्धको अन्य मोर्चामा खटिएका कारणले गर्दा हो। शरीरमा भएका पुराना रोगसँग लडिरहेको ‘इम्यून’ शक्ति धेरै मोर्चामा बाँडिएको हुनाले भाइरससँगको युद्धमा पूरा पराक्रम देखाउन पाउदैँन। युद्ध लम्बिदै जादा फोक्सो लगायतका संक्रमित अंगले काम गर्न छाड्छन्, फलस्वरूप व्यक्तिको मृत्यु हुन्छ। तसर्थ कोरोना संक्रमित व्यक्तिले सकेसम्म आराम गर्नुपर्छ। पुरानो रोगको औषधि नियमित सेवन गर्नुपर्छ।

कोरोना हौवा होइन। अति प्राणघातक पनि होइन। लाखौँ मानिस यसबाट संक्रमित भइ निको भएका छन् कुनै औषधि प्रयोग नगरी नै। भय र त्रासभन्दा ठूलो शत्रु अरु कोही होइन, कोरोना पनि होइन। तपाईँसँग प्रकृति प्रदत्त कोरोना संक्रमण /आक्रमणसँग जुध्ने क्षमता छ। सम्यक जीवनयापन, उच्च मनोबल, सकारात्मक सोचले आफ्नो सेनापति (इम्यून सिस्टम) लाइ बलियो बनाई राख्नुस्। मलाई त आफ्नो सेनापतिमाथि विश्वास छ मेरो सेनापतिले कोरोना संक्रमणलाई ‘कमन फ्लू’ जस्तै ‘ट्रीट’ गर्छ। मेरा लागि इंग्लैंड अथवा अन्य कतै बनेको भ्याक्सिन ‘कागलाइ बेल पाके’ सरह हो ।भ्याक्सिन विकसित गर्न करोडौँ डलर खर्च भएको  छ। कुनै भ्याक्सिन कोरोना संक्रमणका विरुद्ध सफल भए पनि मलाई थाहा छ यसको दाम मेरो हैसियतभन्दा धेरै माथि हुन्छ । एक वर्षको अवधिमा बनेका ५-७ करोड़ भ्याक्सिन सर्व साधारणको पहुंचभन्दा पर हुन्छन्। नेपालको म जस्तो सामान्य व्यक्तिसम्म भ्याक्सिन आइपुग्न कम्तीमा दस वर्षको समय लाग्छ। मसम्म यो आइपुग्न पनि विश्व स्वास्थ्य संगठनले विभिन्न दाता राष्ट्रहरुसंग ‘फंड’ एकत्र गरी विश्वव्यापी अभियान चलाए पछि मात्रै संभव हुन्छ। मैले आफ्नै सेनापति ‘इम्यून सिस्टम’को विश्वास गर्दै  यसकै भरमा बच्नु छ।

बैशाख २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्