कोभिड–१९ः विश्वभर साढे दुई लाख भन्दा बढीको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार भन्दा बढी पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वभर कोभिड–१९ बाट दुई लाख ५१ हजार ५८० जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ३५ लाख ८४ हजार भन्दा बढी रहेको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कम्तिमा ६८ हजार ९३४ जनाको ज्यान गएको छ । त्यहाँ संक्रमितको संख्या ११ लाख ८० हजार भन्दा बढी रहेको छ ।

यसैगरी इटालीमा २९ हजार ७९, बेलायतमा २८ हजार ८०९, स्पेनमा २५ हजार ४२८ तथा फ्रान्समा २५ हजार २०४ जनाको ज्यान गएको छ ।

यसैबिच अमेरिकामा सोमबार कोभिड–१९ बाट एक हजार १५ जनाको ज्यान गएको छ । पछिल्लो एक महिनामा एक दिनमा कोभिड–१९ बाट ज्यान गुमाउनेको यो कम संख्या हो ।

बैशाख २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्