किसानको पीडा

‘तरकारी बेच्न बजार लैजाउँ पुलिसले लखेट्छन्, गाउँमा ग्राहक आउँदैनन्’

दाङ– बाटोको छेउमा खरले छाएका साना–साना झुपडी बनाइएको छ। ती झुपडीमुनि खरभुजा, भिन्डी, करेला, लौका लगायतका तरकारी बेच्न बसेका केही मानिस पनि छन्। खेतबारीमा फलेको तरकारीले बजार नपाएपछि किसानले आफै सडक किनारमा पसल थापेका हुन्।

तर, यी पसलमा तरकारी किन्ने ग्राहक नै भेटिदैनन्। लकडाउनका कारण किसानले फलाएको तरकारीले बजार नपाएको हो।

हरेक वर्ष रामबहादुर चौधरी तरकारी विक्री गर्न घोराही, तुलसीपुरसम्म पुग्थे। तर यो वर्ष उनी आफ्नो गाउँभन्दा टाढा गएका छैनन्। तरकारी फलेर कुहिन थालिसकेको छ। तरकारी विक्री नहुँदा किसानलाई छटपट्टी भएको छ।

‘लकडाउनले गर्दा धेरै समस्या परेको छ। केही गरौँ भने गर्न मिल्दैन। बजारतिर जाउँ भन्दा पुलिसले लखेट्छ’, उनले भने, ‘त्यही भएर बाटाेको छेउमा झुपडी बनाएर बेचिरहेको छु। अली टाढा जाउँ भन्दा मोटरसाइकलमा जान दिँदैनन्। टाउकोमा राखेर बेच्न जाउँभन्दा टाढा जान सकिँदैन।’

तरकारी उत्पादन गर्न लागेकाे लगानीसमेत उठाउन नसक्ने अवस्था रहेको अर्की किसान गंगा चौधरीले बताइन्।

‘दुई चार पैसा आउँछ भनेर तरकारी खेती गरियो। फाँटा बारीमै कुहियो। भिन्डी, करेला अहिले तयार भएको छ’, उनले भनिन्, ‘गाडी चल्न पाएको छैन। यो बाटोमा हिँड्ने मानिसले अलिअलि किन्छन्।’

लक्ष्मी योगी विहानबाट तरकारी पसलमा बसिन्। तर व्यापार नै भएन। ‘विहानबाट बसिरहेकी छु। अहिलेसम्म बोहोनीसम्म भएको छैन। खरभुजा, बोडी, करेला, भिन्डी, भान्टा, गाँजर छ’, उनले भनिन्, ‘विक्ला कि भनेर बेच्न राखियो। तर राम्रोसँग बिकेन। कहिलेकाहीँ थोकमा किन्न गाडी आउँछन्।’

अहिले राप्ती नदीको बगरमा खरभुजाको खेती छ। किसानले खरभुजा फलाएका छन्। लकडाउनले गर्दा किसानले उत्पादन गरेको खरभुजाले समेत बजार पाएको छैन। बगरमै खरभुजा कुहिन थालेको छ।

‘कति मानिसहरुले तरकारी खान पाएका छैनन्। तर हामीकहाँ तरकारी न बिकेर कुहिन थाल्यो’, अर्की गंगा चौधरीले भनिन्, ‘यहाँ फलेको तरकारीलाई बजारसम्म पुर्‍याउने व्यवस्था भैदिए सहज हुने थियो। नत्र हामी किसान नै भोकभोकै रहनुपर्ने अवस्था आउन सक्छ।’

बैशाख २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्